‘पावर पोलटिक्स’मा रमाउँदा माओवादी कमजोर भयो | Khabarhub Khabarhub

‘पावर पोलटिक्स’मा रमाउँदा माओवादी कमजोर भयो



यात्रा त उकालो कै गर्न खोजेको हो । माओवादी आन्दोलनलाई अलि विस्थापित र घनिभूत तरीकाले अगाडि लैजाने हाम्रो कोसिस हो । तर संसदीय अंक गणितको कोणबाट यो कमजोर भएको जस्तो देखिएको छ । यसका दुई पक्ष छन् , एउटा माओवाद संसदीय व्यवस्थामा आएर आफूलाई उकालो यात्रामा लैजाने सैद्धान्तिक पक्षसँग मिल्छ, मिल्दैन भन्ने बृहत् सैद्धान्तिक विषय हो ।

माओवाद र संसदीय व्यवस्था एकै ठाउँमा हुँदैन । त्यस कारण माओवादीले संसदीय व्यवस्थामा कुनै ठाउँ पाउँदैनन् र घट्दै जाने हुन् भन्ने पनि सैद्धान्तिक मान्यता छ ।

दोस्रो व्यवहारिक पक्षमा पुराना पार्टीले गर्न सकेनन् भन्ने भाष्य र माओवादी पनि अरु जस्तै भयो, नेताहरू अनैतिक भए, आफ्नो बारेमा मात्र सोचे भन्ने भाष्य सिर्जना भएको कारण परिणाममा अभिव्यक्त हुन सकेन ।

हामी जनता, कार्यकर्ता र मतदाताको बीचमा जान्छौँ । उनीहरूले उठाएको विचार हाम्रो जीवन, व्यवहार र दैनिकी सँग नमिलेको जस्तो देखिन्छ । जस्तो : कम्युनिष्टहरुको त्यसमा पनि पछिल्लो माओवादीको नजरबाट हेर्दा आधारभूत तहका जनतालाई शक्तिशाली बनाउने एजेण्डा उठाएका थियौँ । तर आज यहाँसम्म आइपुग्दा त्यो वर्ग तल तल भासिरहेको छ । यसको अर्थ हामीसँगको सम्बन्ध कमजोर हुँदै गएको छ । यो कोणबाट हामीले हेर्नु पर्छ । कसैले लगाएको आरोप मात्रले निर्धारण गर्दैन ।

इतिहासमा ठुलोठूलो योगदान गरेर लामो इतिहास बनाएर आएका पार्टीहरूले आफैभित्र समय क्रमसँगै रूपान्तरण गर्नु गुन्जाइस बोक्दैनन् भने त्यो ठाउँमा अर्कोले लिई हाल्छ । त्यसैले इतिहासमा योगदान गरेका पार्टीले समय क्रमसँगै राम्रोसँग आफूलाई रूपान्तरण गर्नुपर्छ ।

मान्छेले जुन धरातलमा टेक्छ, त्यही अनुसारको दृष्टिकोण बनाउँछ । नेताहरू जुन भूमिका सेवा सुविधा उपभोग गर्ने ठाउँमा हुनुहुन्छ उहाँहरूले हामी कहाँ बिग्रेको छौ र ? भन्ने अव्यक्त भाषा त्यसमा आउँछ । धेरै प्रश्न आएपछि रूपान्तरण हुने भनेर मुखले भन्ने त अलिअलि सुनिन्छ तर त्यो कहिले पनि मैले कहीँ कहाँ गल्ती गरेर कसरी सच्याउने भन्नेमा नेतृत्व सचेत छैन ।

व्यवहारमा आएको विचलनलाई यदि सैद्धान्तिक हिसाबले ठीक ठाउँमा छौं, र विकास–समृद्धिको यात्रामा लागेका छौँ भने सच्चिन धेरै समय लाग्दैन । तर सैद्धान्तिक हिसाबले बाटो बदलिसकेपछि वा स्खलित भइसकेपछि त्यसैको मार्ग निर्देशनमा व्यवहार अगाडि बढ्ने हो । वैचारिक हिसाबले समस्या हुँदा हुँदै पनि व्यवहारमा जनपक्षिय व्यवहार कायम भइराखेको भए यति छिटो जनस्तरमा अविश्वास चुलिन्थेन । किनकि जनताले सिद्धान्त हैन व्यवहार हेर्छन् ।

अहिले पनि माओवादीलाई मतदान गर्ने १५ देखि १६ लाख मतदाता छन् । त्यो सानो जनमत हैन र त्यो जनमत ठूलो पनि हैन । पछिल्लो चलेको हावाहुरीले पनि त्यसलाई हल्लाउँदैन । त्यो हाम्रो सम्भावना अझै छ अगाडि जान सक्छौं भन्ने आधार चाहिँ छ । त्यसलाई बढाउन माओवादीको सैद्धान्तिक विषयवस्तुको खोज र रूपान्तरण चाहिएको छ । यति भयो भने पहिलाका रूपमा नै मतदाता आउँछन् । हामीले कति पनि सुधार गरेनौँ भने त्यो जनमत लामो समयमा चुनावी कोणबाट टिक्दैनन ।

०६४ सालपछि यसको आकार कमजोर हुने र उठाएका मुद्दाहरूलाई पनि ठीक ढंगबाट क्यास गर्न नसक्ने मुख्य दुई कारण छन् । एउटा पहिलो संविधानसभाले संविधान बनाउन सकेन, त्यसमा सबैभन्दा ठूलो दल र  संविधानसभा पछि पहिलो सरकार बनाएको हुनाले उ तर्फ  प्रश्न सोझिन्छ ।

अर्काे धेरै वैचारिक र सैद्धान्तिक विषयवस्तुको कारण पार्टी टुटफुट विभाजनको लामो श्रृंखलामा फस्यो र त्यो कारण पनि माओवादी कमजोर भयो ।

हामीले समीक्षा गर्दा ०६३ पछि पार्टी निरन्तर संसदमा छ । एकाध बाहेक सबै क्याबिनेटमा कहिले नेतृत्व गरेको छ र कहिले सहभागी भएको छ । त्यसो गर्दा हाम्रो पहिचान पनि कमजोर हुने र संगठनात्मक आकार पनि क्रमश : कमजोर हुँदै जाने भयो ।

यो विषयमा पार्टी सरकारमा जाँदा केही राम्रो काम गर्दा वा जनतालाई सेवा दिँदा त्यसको आकार वृद्धि हुँदै जानुपर्ने त्यसो गर्दा हामी सरकारमा गएको विषयवस्तुलाई पुष्टि गर्न सक्ने आधार हुन्थ्यो । तर सरकारमा निरन्तर जाने हाम्रा साथीहरू निरन्तर मन्त्री, प्रधानमन्त्री, सांसद हुने  तर यता संगठन चाहिँ निरन्तर कमजोर हुने यो काहीँ न काहीँ मिलेन । त्यसैले एक पटक सरकारमा नगई संगठनरत क्षेत्रमा काम गरौँ, त्यसले परिणाम दिन्छ । त्यसपछि तुलनात्मक अध्ययन गरौला भन्ने विषय वस्तु पनि ०७९ को चुनावपछि छलफल भएको विषय हो ।

तर यो ‘पावर पोलिटिक्स’मा रमाइलो गर्ने बानी परिसकेपछि यस्ता विषयले छलफलसम्म सहभागिता पाउने र त्यसमाथि संगठित आकार लिन नसक्ने रहेछ । माओवादीले इतिहासमा एउटा योगदान गर्‍यो तर पछिल्ला दिनमा आफै कमजोर हुँदै गयो । त्यसपछि उसले गर्ने कामहरू त्यसै कमजोर हुन्छन् भन्ने बुझ्नु पर्छ ।

केन्द्र सरकार हाम्रो नेतृत्वमा छ । त्यसको ठूलो पार्टी भएकोले सरकारको नेतृत्व गरी राख्दा त्यसले समग्र राज्यसत्ताको अरु आयामहरूमा पार्ने मनोवैज्ञानिक प्रभाव ठुलो पार्टीले नेतृत्व गर्दाको भन्दा कमजोर हुने रहेछ । हामी शान्ति प्रक्रिया सम्झौता मार्फत अगाडि  बढ्दै जाँदा सम्झौतामा सहभागी मध्य पुराना पक्ष बलियो हुँदै जाने र नयाँ जनयुद्धबाट आएको शक्ति सम्झौतामा भएको मुद्दालाई कार्यान्वयन गर्ने सन्दर्भमा कमजोर हुँदै जाने पनि देखिन्छ ।

कार्य विभाजनमा को मान्छेलाई कहाँ जिम्मेवारी दिँदा राम्रो हुन्छ ? कसको के क्षमता छ ? भनेर पार्टी भित्र छलफल गर्ने संस्कृति नै छैन ।

उपभोक्तावाद भएकोले सबै मान्छे पार्टीको सेवा गर्ने सेवा सुविधा दिने भन्दा पनि आफ्नो सेवा गर्ने, आफूलाई राम्रो गराउने तर्फ जान्छ ।

गुटहरू पार्टीभित्र शक्तिशाली भएकोले जस्तै कमजोर भए पनि, असफल भए पनि एउटा बलियो गुटको पछि लागेपछि गुटको गुठियारले आफ्नो गुटमा लागेकालाई स्थापित गर्न ज्यान फालेर लाग्छ । त्यसका प्रभावहरू पनि छन् । त्यस कारण राजनीतिलाई गुटबाट मुक्त गर्ने र  आफ्नो व्यवस्थापन मात्रै हो भन्ने विषयवस्तुबाट मुक्त गरी गम्भीर तरीकाले छलफल र कार्य विभाजन चाहिन्थ्यो । त्यसमा कमजोरी भएकै हो ।

हामीले आजको दिनमा पनि १२२ वटा स्थानीय सरकारको नेतृत्व गरिराखेका छौं । त्यसलाई केन्द्रीय योजना स्रोत साधन परिचालन गर्ने कार्यक्रम मार्फत अगाडि लिएर जान सकेको भए जनताले नयाँ ढंगबाट सेवा पाउँथे । तर हाम्रोमा एकाध स्थानीय तहको नेतृत्व गर्ने साथीहरूले अलिअलि सिर्जनात्मक भएर काम गर्दा केही सकारात्मक सन्देश त आएका छन् तर समग्रमा माओवादी अरु पार्टी जस्तै हुन भन्ने परिराखेको देखिन्छ ।

यो राजनीतिक प्रणालीमा जनतालाई निर्णायक मानिँदैन । पैसा सर्वेसर्वा भयो । टिकट पाउँदा देखि चुनाव जित्नसम्म पैसा निर्णायक हुने देखिन्छ । अरु विरोधीहरूलाई ठेगान लगाउन पनि पैसा निर्णायक हुने परिवेश निर्माण हुँदा जनयुद्धको भावना बुझ्ने भन्दा नबुझ्ने राजनीतिको प्रभाव माथिदेखि तलसम्म परेको छ ।

हाम्रो १२२ वटा पालिकालाई केन्द्रमा राख्दा पृष्ठभूमिमा जनयुद्धबाट आएका नै हुनुहुन्छ । जनयुद्धबाट आएकोले मात्रै हात समात्छ भन्ने हुँदैन । केन्द्रीय योजना कार्यक्रमबाट स्रोत र साधनबाट परिचालन गर्न नसक्दा त्यसले नमुनायोग्य परिणाम दिँदैन ।

राजनीतिमा जुनै पार्टीको हकमा पनि कस्ता मान्छे आउने हो भनेर बहस चाहिएको छ । यो बहस भएन भने राजनीति नै विकृत हुने देखिन्छ । त्यसमा पनि हामीले मार्क्सवादमा सबै वामपन्थीहरू कम्युनिस्ट हुँदैनन् र सबै कम्युनिस्टहरू वामपन्थी हुन्छन्  पढेको हो । तर आज हाम्रोमा कम्युनिस्टहरूलाई नै वामपन्थी बनाउनुपर्ने परिस्थिति सिर्जना भएको देखिन्छ । नेतृत्व मार्ग निर्देशक सिद्धान्त, कार्य संस्कृति, जनतासँगको सम्बन्ध, तल्ला तहका जनताका मुद्दाहरूको पैरवी गर्ने निरन्तरताको संस्कृतिमा समस्या आएको कारणले कम्युनिस्टहरू वामपन्थी बन्न नसकेका हुन् ।

व्यक्ति आफैँ केही हैन । आन्दोलन इमानदारीपूर्वक भूमिका  निर्वाह गर्ने हो । त्यसले आकार ग्रहण गर्दै जाने हो । व्यक्ति बहादुर भयो भन्ने मार्क्सवादले पनि परिकल्पना गर्दैन, यो त सामूहिक अभ्यास हो । अहिलेको पुँजीवादी परिवेशमा सामूहिक अभ्यास गर्ने संस्कृतिलाई छिन्नभिन्न बनाइराखेको छ । एक अर्कोसँग सहकार्य गर्न धेरै बाधाहरू आएका छन् । हामीले सांगठनिक रूपले अगाडि जाने कोसिस गर्‍यौँ भने राजनीतिक भविष्य मात्र हैन, आन्दोलनको उठान गर्न सकिन्छ । नत्र भविष्य अझै दुर्गति तर्फ जान्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ३ : ०७ बजे

भारतीय नाका जोड्ने अमरपथ सडकमा धमाधम कालोपत्रे हुँदै

झापा – कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका

कम्युनिष्ट पार्टीबीच तत्काल एकता सम्भव छैन : राजेन्द्र पाण्डे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले