बालेन्द्रको स्टाटसले मन दुख्यो : वडाध्यक्ष प्रेम थापा | Khabarhub Khabarhub

बालेन्द्रको स्टाटसले मन दुख्यो : वडाध्यक्ष प्रेम थापा

‘स्वतन्त्र मेयरसँग काम गर्न सजिलै छ, हाम्रो वडामा अदालत पस्यो’



काठमाडौं वडा नं ३ का अध्यक्ष प्रेम थापा

काठमाडौं– संघीय राजधानी काठमाडौं महानगरपालिकाको ३ नम्बर वडाले भीआईपी एरियालाई समेटेको छ । लाजिम्पाटको साग्र्रिला होटलदेखि पानीपोखरी महाराजगञ्ज, नारायणगोपाल चोक, बाँसबारी, बसुन्धरा रानीबारी, सामाखुशी खोलासम्मको भूभाग ओगटेको यो वडामा सबैभन्दा बढी महानगरको बजेट छ । र, यस वडाका वडाध्यक्ष छन्– नेकपा एमालेबाट निर्वाचित प्रेम थापा ।

थापा गतसाल मेयर बालेन्द्रले २१ दिनसम्म छलफल गरेर नीति तथा कार्यक्रम ल्याएको सम्झन्छन् । तर, यस वर्षको नीति तथा कार्यक्रम सिधै कार्यपालिकाको टेबलमा आएकाले उनीसहित १६० जना नगरसभा सदस्य असन्तुष्ट बनेको उनको विश्लेषण छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा २८ बुँदे संशोधन प्रस्ताव दर्ता गरिएको र त्यसको सम्वोधन भएमा विवाद समाधान हुने थापाको भनाइ छ ।

वडाध्यक्ष थापासँग खबरहबले मेयर बालेन्द्र शाहसँग वडाध्यक्षहरुको असन्तुष्टि, महानगरमा दुईवर्षे कामको अनुभव र आगामी दिनमा महानगरको भूमिका लगायतका विषयमा गरेको कुराकानी यहाँ प्रस्तुत छ–

स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार हो । तपाई निर्वाचित भएको दुई वर्ष पूरा भएको छ । यो अवधिमा गरेको कामको प्रगति सुनौं न ?

हिजो निर्वाचनका क्रममा हामीले गरेका प्रतिवद्धता कमशः पूरा गर्दै गएका छौँ । वडावासीको सहयोग भयो भने वाचा गरेका सम्पूर्ण कामहरू पूरा हुने छन् । पूर्वाधार विकासका हिसाबले नै हाम्रो वडालाई समृद्ध बनाउनुपर्छ भन्ने अभियानमा लागिपरेका छौँ ।

अधिकांश पूर्वाधार विकासका योजना, ढल, बाटो पिच गर्ने, भित्री बाटाहरूमा ब्लक बिछ्याउने र धुलो हिलो रहित बनाउने अभियान करिब–करिब हाम्रो वडाले सक्न लागेको छ । वडाका अधिकांश ठाउँमा मेलम्ची र विद्युत प्राधिकरणले अन्डरग्राउन्ड केवलिङ र पाइप बिछ्याउने कामहरू सम्पन्न गरिरहेको छ । नारायणगोपालको तल्लो भागमा हामीले अधिकांश पूर्वाधार विकासका हिसाबले काम सम्पन्न गरिसकेका छौँ ।

अब यो आर्थिक वर्ष सकिने र नयाँ आर्थिक वर्षमा सुरु हुने चरणमा भएकाले हामीले सामाजिक विकासका कार्यक्रम, वातावरणका कार्यक्रम, ज्येष्ठ नागरिक लक्षित कार्यक्रम र युवा लक्षित कार्यक्रमलाई केन्द्रित गरेर विभिन्न पार्क र खेलकुद मैदान निर्माण गर्ने हाम्रो प्रमुख मुद्दा हुने छ ।

विषेश गरी हामीले स्वास्थ्य र शिक्षामा वडावासीको पहुँच हुनुपर्छ भनेर यहाँ भएका स्कुल, कलेजहरू र हस्पिटलहरूमा सहभागिता र सुविधा बढाउन चाहेका छौँ । यो वर्ष यिनै काममा अगाडि बढ्छौँ ।

यहाँले भनेका यी कामहरू गर्न वडामा कत्तिको सहज छ ?

हामीलाई स्थानीय तहबाट काम गर्दा असजिलो भएको छैन । महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमै हामीले सबै योजना समावेश गरेर काम गरिरहेका छौँ ।

बजेटको विषयमा भन्दा हामीसँग यथेष्ट महानगरबासीको आवश्यकतालाई परिपूर्ति गर्ने नै बजेट छ । थोरै संघीय, प्रादेशिक हिसाबको कानुनी हिसाबले थोरै अप्ठ्यारो त परेको छ । जस्तो– हामीले सामाखुशी खोलाको कोरिडोर खोल्यौं, तर केही स्थानीय घरधनी र जग्गाधनीले अदालतबाट अन्तरिम आदेश लिएर आउनुभएको छ ।

हामीले सामाखुशी खोलाको कोरिडोर खोल्यौं, तर केही स्थानीय घरधनी र जग्गाधनीले अदालतबाट अन्तरिम आदेश लिएर आउनुभएको छ

पुरानो २०२१ सालको नापी नक्साअनुसार अन्तरिम आदेश जारी भएको छ । तर अहिले जुन हालसाबिक भइसकेर नयाँ पुर्जा लागु भएको छ, त्यो उहाँहरूको जग्गा होइन । सरकारी जग्गा छोड्न उहाँहरूले आनाकानी गरिरहनुभएको छ र सम्मानित अदालतको विचाराधीन मुद्दाले हाम्रो अभियानमा थोरै बाधा परेको छ । तर, प्रादेशिक र संघीय सरकारको कानुनलाई नै फलो गरेर हामी अगाडि बढेका छौँ । हामीलाई काम गर्न सजिलो छ ।

पछिल्लो समय काठमाडौं महानगरमा वडाअध्यक्ष र मेयर बालेन्द्र शाहबीच चर्काचर्की परेको सुनियो । मेयरसँग काम गर्न तपाईहरुलाई गाह्रो भएको हो ?

त्यस्तो हुँदै होइन । मलाई लाग्छ, हाम्रा मिडियाका साथीहरूले पनि बुझाउन सक्नुभएन । एकपक्षीय समाचार सम्प्रेषण भएको हो जस्तो लाग्छ । त्यो दिनको घटना, असार २ गते हामी नीति तथा कार्यक्रममाथि छलफल गरेर त्यसलाई पास गर्ने चरणमा थियौँ । त्यो नीति तथा कार्यक्रम र बजेटको विषयमा बालाजुको सभाकक्षमा हाम्रो बजेट कार्यक्रम र तर्जुमा कार्यक्रमका सदस्यहरू बस्यौं ।

जस्तो कि म विपद् व्यवस्थापन समितिको संयोजक पनि छु । म बजेट कमिटीको सदस्य पनि भएको नाताले हामीले अघिल्लो वर्ष २१ दिन नीति तथा कार्यक्रममाथि बुँदागत छलफल गरेर सहमति गरेका थियौँ । बजेटमा पनि शीर्षकसहित टुंग्याएका थियौँ ।

तर, योपालि नीति तथा कार्यक्रम सिधै कार्यपालिकाको टेबलमा आयो । कुनै छलफल भएन । अघिल्लो वर्ष बिहान ७ बजेबाट बेलुका ४–५ बजेसम्म छलफल गरेका थियौँ । वडाको अत्यावश्यक सेवा पनि बालाजुमै बोलाएर उपलब्ध गराएका थियौँ । तर यो वर्ष सिधै उहाँहरूले कार्यपालिकामा लिएर आएर नगरसभाबाट पास गरौँ, समय धेरै छैन भन्नुभयो ।

हामीले केही समय उपलब्ध गराइदिनु भन्दा उहाँहरूले मान्नु भएन । जुरुक्क उठेर त्यसलाई असार १० गतेका लागि सारेर जानुभयो र बैठक स्थगित गर्ने बित्तिकै उहाँ (मेयर) ले स्टाटस लेख्नुभयो । त्यो जिम्मेवारी र पदमा बसेको व्यक्तिले कसैलाई पनि आरोप प्रमाणित गर्न नसक्ने आरोप लगाउनुहुन्न । म यहाँलाई भन्छु उहाँले सुरुमा के भन्नु भयो ‘बन्द कोठामा गरेको सहमति मलाई पालना हुने छैन ।’

हामीले २ वर्ष भयो खुल्ला कोठा र वातावरण सहज बनाएर बसेर छलफल चलाइरहेका छौँ । योजना बनाइरहेका छौँ । त्यसमा कुनै सत्यता छैन । दोस्रो ः उहाँले तीनजना व्यक्तिका कारणले १६० जना नगरसभा सदस्यलाई बन्धक बनाइयो भन्नुभयो, त्यो पनि गलत थियो । किनभने हामीले नै सजिलोका लागि कतिपय कुरा मासमा डिसिजन गर्न सकिँदैन, थोरै संख्यामा भयो भने सहज हुन्छ भनेर टिम बनाएका थियौँ । त्यसमा हाम्रो प्रमुख बालेन्द्र शाह पनि हुनुहुन्छ । उपप्रमुख सुनिता डङ्गोल पनि हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार हुनुहुन्छ र तीनवटा पार्टीबाट तीनजना वडाध्यक्षहरु हुनुहुन्छ ।

यो टिममा नेपाली कांग्रेसबाट वडा नम्बर १७ को वडा अध्यक्ष नवीन मानन्धर हुनुहुन्छ । एमालेबाट नवराज पराजुली ३२ नम्बर वडाको अध्यक्ष हुनुहुन्छ । एकीकृत समाजवादीबाट वडा नम्बर १५ का वडा अध्यक्ष ईश्वरमान डङ्गोल हुनुहुन्छ । उहाँहरू तीनजना बसेर हाम्रो कुरा टुंग्याउने गर्नुहुन्थ्यो । तर, मेयरले त्यो आरोप लगाउनु भयो ।
उहाँले तेस्रो कुरा, यो नगरसभामा आउँदा एमाले र काँग्रेसको धङधङकी बोकेर नआउनुहोला भन्नुभयो । त्यो हामीलाई अलि पाच्य भएन । जस्तो– म वडा नम्बर ३ को वडा अध्यक्षको विषयमा कुरा गर्दा म प्रेम थापा एमाले पार्टीको टिकटमा पार्टीकै घोषणापत्रमा पार्टीले दिएको उम्मेदवारका आधारमा एमालेबाट विजयी भएको हो ।

अझ मैले अस्ति नगरसभामा के पनि भनेको थिएँ भने यहाँ कांग्रेस र माओवादीको गठबन्धन हाम्रो पार्टीका बागी उम्मेदवारलाई पराजित गर्दै ३ नम्बर वडाबासीको मन र मस्तिष्क जितेर निर्वाचित वडाध्यक्ष बनेको हुँ । हाम्रो रगत–रगतमा एमाले छ । हामी नगर सभाभित्र प्रवेश गरेपछि हामी सिङ्गो महानगरको हिसाबमा अगाडि बढ्छौँ । स्वतन्त्ररूपले नै विचारहरू राख्छौँ । २ वर्षसम्मको अभ्यास हेर्दा पूर्णरूपले उहाँलाई सहयोग र साथ दिएका छौँ ।

अर्को हिसाबमा भन्दा आफू राम्रो देखिन अरूलाई नराम्रो देखाउन पर्दैन जस्तो लाग्छ । आफू राम्रो देखिन राम्रो हुनुपर्छ । धेरै आरोप हामी जनप्रतिनिधिलाई झोले–झोले यिनीहरू पार्टीका झोले भन्नुभयो । त्यो कारण अलिकति मनमा लागेको कुरा अस्ति नगरसभामा पोखेको हो । कसैले मलाई नेकपा एमालेको झोले भन्छ भने पनि म नेकपा एमालेको झोला बोक्न तयार छु भनेको छु ।

विगत ३४ वर्षदेखि म यही क्षेत्रमा छु । नेकपा एमालेको साधारण सदस्यदेखि आज म जिल्ला कमिटीको सदस्यसम्म भएको छु । तीन–तीनपटक निर्वाचित जनप्रतिनिधि हो । त्यो कारण हामी संवाद सहमति सहकार्य गर्न अलिकति चुक्यौ कि जस्तो लाग्छ । त्यसैको परिणाम हो ।

तर, हामीले फेरि पनि के भनेका छौँ भने एउटै डुंगामा सवार छौँ । हाम्रो लक्ष भनेको सांस्कृतिक शहर समृद्ध काठमाडौं महानगर भन्ने छ । त्यो बनाउने अभियानमा छौँ । त्यसको नेतृत्व हाम्रा प्रमुख, उपप्रमुखले गरिरहनु भएको छ । हामी ३२ वडा सदस्य र ४० कार्यपालिका सदस्य र सिङ्गो नगर सभा नै प्रमुखलाई साथ दिएर अगाडि बढ्ने मनस्थितिमा छौँ ।

दुई वर्षसम्म हामीले मेयरलाई चुप लागेर साथ दियौँ भन्नुभयो, पहिलाबाट नै मेयर शाहको कार्यशैलीमा असन्तुष्ट हुनुहुन्थ्यो ?

फेसबुकमा उहाँले जुन स्टाटस लेख्नुभयो, त्यसले जो १६० जना सदस्यसाथीहरू बसेर छलफल गर्‍यौं, अलि मन दुख्यो । त्यो नलेख्नु भएको भए हुन्थो । नगरसभाभित्र प्रवेश गरिसकेपछि हामी प्रमुखज्यूलाई सघाएर नै अगाडि बढिरहेका थियौँ । दुई वर्ष हामी जुन ट्रयाकमा हिँडेका थियौँ, त्यो ट्रयाकभन्दा अलि फरक हिँड्न बाध्य बनाउनुभयो । तर, अस्ति (असार १०) को नगरसभाबाट ती सबै सहमति भइसकेको छ । हामी सहमति, सहकार्य, एकता र वार्ता छलफलबाट नै सबै कुरा समाधान गर्ने भनेर अगाडि बढेका छौँ ।
कस्तो सहमति ?

हामीले अहिले प्रस्तुत भएको नीति तथा कार्यक्रममा फरक २८ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका छौँ । त्यसमा सर्वसम्मत १६१ जना नै नगर सभाका सदस्यले सहमति जनाउनु भएको छ । नगरसभाबाट नै नीति तथा कार्यक्रम संशोधनसहित पास गर्ने भनेर निर्णय गरेका छौँ । अब संशोधनसहित पास गछौँ ।

तर, स्वतन्त्र मेयर भएका कारण पार्टीका वडाध्यक्षहरूले बालेनलाई पेल्नुभयो नि ?

त्यस्तो हुँदै होइन । निर्वाचनका क्रममा हामीलाई विभिन्न पार्टीको चुनाव चिह्न लिएर जनताले जिताएको हो । पेल्ने भनेको शब्द नै आउँदैन । हामीले उहाँहरूसँग सहकार्य, संवाद र एकता गर्न खोजेको हो । हिजो निर्वाचनमा उहाँले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेर जित्नुभएको हो । हामी पनि त्यही प्रतिवद्धता पत्र सार्वजनिक गरेर निर्वाचित भएको हो, पेलेर होइन ।

हाम्रो दुई वर्षको अभ्यास कस्तो छ भने संशोधनसहित जुन प्रस्तावका रूपमा आउँछ, त्यसलाई बजेट कमिटी, बजेट कार्यान्वयन तथा संशोधन समितिमा लिएर जान्छौँ ।  त्यहाँ टुङ्गिन सकेन भने संयन्त्रमा जान्छ

केही असन्तुष्टि र असमझदारी भयो भने पनि त्यसलाई टुंग्याउन नयाँ शिराबाट विगतका कमजोरीलाई औँल्याउँदै आगामी दिनमा अगाडि बढौं, फेरि पनि तपाईँसँग सहकार्य छलफल गरेर सँगै हिँड्न तयार छौँ भनेर सन्देश दिन खोजेका छौँ । हामीसँग पनि उहाँले छलफल गर्नुपर्छ । उहाँसँग त हामीले गरिरहेकै छौँ ।

किन, वडाध्यक्षहरुसँग मेयर शाहले सल्लाह गर्नुहुन्न ? कि भेट्नै समस्या भएको हो ?

यो पटक नीति तथा कार्यक्रम उहाँले कोसँग छलफल गर्नुभयो, मलाई थाहा भएन । अरूलाई भेट दिनुभयो कि भएन, मलाई थाहा छैन । मचाहिँ प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न जाँदा उहाँहरुले भेट दिनुभएको छ । गहनरूपमा बसेर छलफल गर्ने समय दिनुभएन होला तर जुन विषयका लागि भेट्न गएको छु, पूर्णरूपले उहाँले भेट दिनुभएको छ । मैले लिएर गएका कार्यक्रमहरू उहाँले बाधा फुकाउनुभएको छ । ३ नम्बर वडा त भाग्यमानी छ । सबैभन्दा धेरै केन्द्रीय र महानगरको बजेट भएको हाम्रो वडा हो । हामी अधिकांश योजनाहरू महानगरकै बजेटमा समावेश भएर अहिले सम्पन्न गर्ने चरणमा छौँ ।

हामी अर्को एउटा सिस्टम के बसाउँदै छौँ भने जतिवटा वडाबाट योजना जान्छ, त्यहाँका स्थानीयको माग, वडा सदस्यको निर्णय र महानगरले कार्यान्वयन गर्ने तहमा गएको छ ।

नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराइसकेपछि मेयरले पुनः वार्तामा बोलाएको सम्पर्क गर्नुभएको छ कि छैन ?

हाम्रो दुई वर्षको अभ्यास कस्तो छ भने हामी संशोधनसहित जुन प्रस्तावका रूपमा आउँछ, त्यसलाई हाम्रो बजेट कमिटी, बजेट कार्यान्वयन तथा संशोधन समितिमा लिएर जान्छौँ । त्यसपछि त्यहाँ टुङ्गिन सकेन भने संयन्त्रमा जान्छ ।

प्रमुख, उपप्रमुख, तीन वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भएर टुङग्याउँछौं र संशोधनसहित पास गर्ने प्रस्ताव छलफल गरेर टुङ्गिन्छ । संशोधन गर्न सकिनेलाई गर्ने र नसकेकोलाई आगामी दिनमा संशोधन गरेर जाने हिसाबले पनि विगतमा प्रयास भएको छ ।

यदि मेयरले संशोधन गर्न मान्नुभएन भने के गर्नुहुन्छ ?

संशोधन गर्न नमान्ने भन्ने कहाँ हुन्छ र ? संयन्त्रका साथीहरू हुनुहुन्छ । उपप्रमुख हुनुहुन्छ । सबैले भनेपछि त मान्नुपर्छ नि ।

त्यो संयन्त्रमा मेयर बालेनको बहुमत छैन ?

बहुमत र अल्पमत भन्ने नै हुँदैन । सिङ्गो नगरसभा भनेको स्वतन्त्र हो । सबैको प्रस्ताव स्वतन्त्रतापूर्वक राख्ने थलो पनि हो । हामीले नचाहिने प्रस्ताव गरेको छैन । नीति तथा कार्यक्रमलाई परिमार्जन गरी अझ विस्तृत बनाऊँ र अझ समृद्ध बनाऊँ ताकि महानगरबासीले प्रत्यक्ष अनुभूति हुने कार्यक्रम आउन् । यसमा संशोधन नहुने भन्ने विषय नै हुँदैन । हामी काम गर्न आएको हो, कसैको शासन खान हो र ?

वडाहरूले काम गरिरहेका छन् भन्नुहुन्छ तर चर्चा त मेयरको मात्र हुन्छ , वडाध्यक्षको किन चर्चा नभएको ?

यो युटुवर, सोसल मिडिया लगायत अन्य मिडियामा होला । नेतृत्व गरेको हिसाबले त प्रमुखजी नै हो । मेयरले लिड गर्नुभएको छ । काम त वडा सदस्यले पनि गर्नु भएको छ । तर नाम वडाध्यक्षको मात्र आउँछ ।

अलिकति हाम्रो गुनासो के छ भने अन्तरवार्ता लिने क्रममा सथानीयहरु जे उहाँका मतदाता हुन्, जो यहाँका घरवाला हुन्, उहाँहरूसँग कुरा गर्दा सत्य विवरण आउँछ । यो काम मिडियाले पनि गरेको छैन । वडाले गरेको राम्रा काममा उहाँहरूले बोल्नुहुन्छ । तर त्यो समाचार सम्प्रेषण हुँदैन । तर, बालेनले गरेको चर्चा हुन्छ ।

म यहाँलाई उदाहरण दिन्छु । बसुन्धरामा ५ तले घर हामीले भत्कायौँ । वडाध्यक्षज्यू तपाई आउनुहोस्, तपाईले लिड गर्नुहोस् भन्यौँ । तर उहाँ स्वास्थ्यको स्थितिले साथ नदिएर आउनुभएन । न्युजहरूमा बसुन्धरामा बालेनको डोजर चल्यो भनिरहनुभएको थियो । तर, त्यहाँ म आफूले नेतृत्व गरिरहेको थिएँ ।

हामीले १.२५ किलोमिटर १० फिटे बाटोलाई २० फिटे बनाइरहेका थियौँ । बिहान ८ देखि बेलुका ४ बजेसम्म काम सक्यौँ । त्यहाँ सबै वडावासीले जयजयकार गर्नुभयो । तर, त्यो न्युज कहिँ आएन । न्युज के पढ्न पाउनुभयो भने बालेनको डोजर चल्यो । यो सम्पूर्ण श्रेय बालेको हो भन्नुभयो । अहिले पनि त्यो बाटोमा गएर हेर्न सक्नुहुन्छ । यो वडासदस्य र अध्यक्षले गरेको हो । वडा समितिले गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठविरुद्ध मेयर बालेन्द्र खनिएपछि महानगरमा पनि बालेन्द्रको विरोध हुन थाल्यो । यसमा दलका जनप्रतिनिधिलाई ‘माथिको आदेश’ ले काम गरेको पो हो कि ?

म यहाँको मिडियामार्फत प्रष्ट रूपले के भन्छु भने नेपालको संविधानले नै आफ्नो कार्यक्षेत्र तोकेको छ । संघ, प्रदेश र स्थानीय सरकारको काम कर्तव्य र अधिकार तोकिएको छ । तीन फरक–फरक व्यवस्था नयाँ संविधानले गरेको छ । आफ्नो कार्यक्षेत्रमा नीति ऐनमा रहेर बोल्ने र कार्यान्वयन गर्ने योजना बनाइयो भने पक्कै पनि द्वन्द्व हुँदैन । अरूलाई गाली गर्नु भन्दा आफ्नै तहमा बसेर काम गर्नु बढी प्रभावकारी देखिन्छ ।

संघीय सरकारको मातहतमा प्रदेश सरकार छ । प्रदेश सरकारको मातहत हामी छौँ । यो तीनै तहको सरकार हामी एकअर्कासँग परिपूरक भएकाले आरोप प्रत्यारोप गर्नुभन्दा पनि चित्त नबुझेको कुरा कुन तहमा राख्ने भनेर नीतिगत रुपले जान सकिन्छ । यसलाई मिडियाबाजी गर्नु छैन ।

नेपालको संविधानले नै हामी सबैलाई एउटै सूत्रमा बाँधेको छ । त्यो कारण द्वन्द्व गर्ने र मिडियामा आरोप–प्रत्यारोपण लगाउनुभन्दा आफ्नो काम गर्नुपर्छ । आरोप लगाउन सजिलो छ तर प्रमाणित हुन गाह्रो छ ।

सम्मानित अदालतले प्रमाणित गरेको विषयमा बोल्दा त त्यसले वैधानिकता पाउला । तर, मुद्दा नै नपरेको, अदालतले कुनै फैसला नगरेको विषयमा कसैलाई आरोप लगाएर चोखो बन्नु पनि गलत हो । आगामी दिनमा यस्तो हुनु हुँदैन ।

मेयर शाहले वडाअध्यक्षको क्षेत्राधिकार चाहिँ मिचेकै हो ? कि समन्वय नभएको ?

अरूको वडाको विषयमा मैले धेरै बोल्ने विषय भएन । तर, हाम्रो वडामा अहिले जति हामीले सरकारी जग्गाहरू नेपाल सरकार मातहत ल्याउने संविधानले नै दिएको अधिकार उपयोग गरिरहेका छौँ, त्यसमा सरसल्लाह गरेर, योजना बनाएर नै हामी अगाडि बढिरहेका छौँ ।

अझ यहाँलाई भन्दा अहिले तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १६ रोपनी जग्गामध्ये १० रोपनी जग्गा जुन चौधरी ग्रुपले गैरकानुनी लिएको थियो, त्यसलाई नेपाल सरकारको मातहत फिर्ता ल्याएका छौँ । अरू व्यक्तिहरूले सामूहिक रूपमा हडपेका जग्गा पनि हामीले प्रमुखसँग छलफल गरेर, योजना बनाएर नै कार्यान्वयन गरेको हो । त्यसकारण वडा नम्बर ३ को विषयमा भन्दाखेरि हाम्रो प्रमुखजीसँग कार्यान्वयन गर्नुभन्दा अगाडि बसेर छलफल हुन्छ, निर्णय हुन्छ, अनि कार्यान्वयन हुन्छ ।

मेयर बालेन्द्रसँग छलफल गर्न कतिको सहज छ ?

आवश्यकताको सिद्धान्त अनुसार छलफल हुन्छ । हामीलाई आवश्यक पर्छ भने हामी फोन गरेर कहाँ हुनुहुन्छ भनेर बुझ्छौं । कहिले सभागृह हुनुहुन्छ, कहिले काठमाडौं प्लाजा । त्यहाँ हुनुभयो भने हामी सिँधै जान्छौँ । हामीलाई कुनै रोक हुँदैन । सिधै गएर उहाँलाई भेटेर पोइन्टमा कुरा राख्छौँ । योजना बनाउँछौँ र कार्यान्वयन गर्छौं ।

यहाँले त पहिलेका मेयर विद्यासुन्दर शाक्यसँग पनि काम गर्नुभयो । उहाँ र बालेन्द्र शाहमध्ये कोसँग काम गर्न सजिलो ?

अधिकांश काम विद्यासुन्दर शाक्यका पालामा सुरु भएका काम हुन् । जस्तो– यहाँहरुलाई म उदाहरण दिन्छु– सडक पेटीको कलर ब्लक बिछ्याउने काम उहाँकै पालाको हो । सडक बत्तीहरु महानगरको उज्यालो अभियानअन्तर्गत सञ्चालित छ । योभन्दा अगाडि मेयर उज्यालो कार्यक्रम भनेर सञ्चालित थियो । त्यो पनि विद्या सुन्दर शाक्यकै पालामा भएको हो ।

दुई वटा अत्याधुनिक दमकलहरु शाक्यकै पालामा सम्झौता भएर आएका हुन् । यो हरियाली बनाउने, ठुला–ठुला रुखहरू मेयर विद्यासुन्दरकै पालामा सुरु भएको हो । प्रत्येक वडाको सुविधासम्पन्न भवन हुनुपर्छ भनेर विद्यासुन्दर शाक्यकै पालामा थालिएको हो । धेरै कार्यहरू त्यसबेला भएका छन् । अहिले प्रमुखले ती कामहरूको निरन्तरता दिनुभएको छ ।

तर, त्योबेला काम प्रभावकारी भएको थिएन नि ?

पूर्वप्रमुख शाक्य मिडियामा, प्रचामा आउन रुचाउनुहुन्नथ्यो । उहाँ काम गर्ने तर प्रचार धेरै गर्न जरुरी छैन भन्ने स्वाभावको हुनुहुन्र्थो । अहिले हाम्रो प्रमुखजी काम पनि गर्ने, प्रचार पनि गर्ने भन्ने स्वाभावको हुनुहुन्छ ।

अहिलेको राम्रो पक्ष भनेको काठमाडौं सफा भएको छ । धुलोरहित महानगर बनाउने योजनामा छौँ । हामी अहिले विद्यतु प्राधिकरणले बिछ्याएका तारलाई तदारुकता साथ व्यवस्थापन गर्न लागेका छौँ । सडक बत्ती जडान भएको छ । साँच्चिकै मेयर कति शक्तिशाली हुने रहेछ भन्ने कुरा यस पटक प्रमुखजीले देखाउनुभएको छ । हामीलाई पनि अनुभूति भएको छ ।

युटुवमा उचालेको जस्तो देखिन्छ । दलको प्रतिनिधित्व गर्नेहरूलाई दलका नेताको प्रेसर छ । त्यही भएर हिजो उहाँहरूले काम गर्न सक्नु भएन । आज प्रमुख स्वतन्त्र हुनुहुन्छ, काम गर्न सजिलो छ भन्नुहुन्छ

अहिले महानगरलाई माया गर्नेहरु बढेका छन् । हिजो सडक पेटीमा लगाएका बिरुवा उखेलेर फाल्नेहरु थिए । आज उखेल्नु हुँदैन, यसले सुन्दरता बढाउँछ र अक्सिजन पनि दिन्छ भन्ने भएको छ । खोलानाला सफा गर्नेतिर लागेका छौँ । विशेष गरेर मैले प्रतिनिधित्व गर्ने वडा नम्बर ३ को सामाखुशी खोला, जुन करिब ४ किलोमिटर छ, त्यसमा पनि ट्रयाक खोलेर धमाधम ढल बिछ्याउने काम गर्दैछौँ । पुरानो कामको निरन्तरता छ ।

पार्टीको मेयर र स्वतन्त्र मेयरसँग काम गर्दा फरक हुने रहेछ ?

त्यस्तै छैन । युटुवमा उचालेको जस्तो देखिन्छ । दलको प्रतिनिधित्व गर्नेहरूलाई दलका नेताको प्रेसर छ । त्यही भएर हिजो उहाँहरूले काम गर्न सक्नु भएन । आज प्रमुख स्वतन्त्र हुनुहुन्छ, काम गर्न सजिलो छ भन्नुहुन्छ । म त विगत लामो समयदेखि निर्वाचित प्रतिनिधि हो । कुनै दल र नेताहरूको प्रेसर छैन ।

अब काठमाडौं महानगरलाई राम्रो बनाउन के गर्नुपर्छ ?

हिजो निर्वाचनमा हामीले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन गर्छौं भनेका थियौँ । अहिले पनि हामी प्राइभेट कम्पनीहरूकै भर परिरहेका छौँ । पहिले फोहोरको व्यवस्थापन हुनुपर्थ्यो । संसारमा अत्याधुनिक टेक्नोलोजी आइसक्यो । म स्वयं पनि मित्रराष्ट्र भारत र चीनको फोहोरमैला व्यवस्थापन गर्ने प्लान्ट हेरेर आएको छु । त्यति आधुनिक र व्यवस्थित थोरै समयमा पनि सम्पन्न गर्न सक्छौँ ।

त्यसकारण पहिलो भनेको काठमाडौं महानगरपालिकाको फोहोर समाधान गर्नुपर्छ जस्तो लाग्छ । अर्को, हामीले धुलोरहित महानगर भनेका छौँ । बिग्रेको बाटो पिच गर्ने, ब्लक बिछ्याउने कार्यले भित्री बाटाहरूलाई थप सुन्दरता दिन्छ जस्तो लाग्छ ।

अर्को कुरा, वातावरणीय हिसाबले महानगरमा प्लेनबाट हेर्दा पनि भव्य गगनचम्बी भवनको खण्ड देखिन्छ, हरियाली देखिँदैन । हरियालीमा पनि जोड दिनुपर्छ ।
ज्येष्ठ नागरिकहरूलाई जमघट हुने र अनुभव सेयर गर्ने पार्क, युवालाई खेलकुदका मैदानहरू पनि बनाउनुपर्छ । बालबालिकाहरूलाई ठाउँ ठाउँमा सार्वजनिक जग्गामा पार्क बनाउन सक्नुपर्छ ।

सम्पदा र मठ मन्दिरलाई नेपाली कला संस्कृति झल्कने बनाउन सकिन्छ । सुरक्षाका हिसाबले सबैतिर सीसी क्यामेरा जडान गर्न सकियो भने काठमाडौँलाई काठमाडौँजस्तै पहिचान दिने बनाउन सक्छौँ । मैलिकता झल्काउँदै वडा र महानगरमा सुशासनको प्रत्याभूति दिन सक्छौँ । वडावासीहरु सेवा लिन आउँदा ढुक्कसँग आउन सक्नु हुन्छ । सबै हिसाबमा सहज हुन्छ ।

यी सबै कुराहरू गर्न महानगरका मेयर र वडाध्यक्षको सम्बन्ध कस्तो हुनुपर्ला ?

प्रमुखजीले पहिलो बैठकमै राख्नुभएको कुरा सान्दर्भिक छ । हामीले पाँच वर्षमा के–के काम गर्ने भनेर वार्षिक नीति तथा कार्यक्रम र बजेट बनाउँछौँ । हामीले पाँच वर्षको नीति तथा कार्यक्रम र बजेट बनाएका छौँ । हिजो विद्यासुन्दर शाक्यका पालामा रहेको १५ अर्बको सञ्चित रकम छ । अहिले पनि सञ्चित नै छ । त्यही रकमका आधारमा हामी ठूलोखालको बजेट बनाएर अगाडि बढेका छौँ ।

अझै विकासतर्फ ३१ प्रतिशत, साधारणतर्फ ४६ प्रतिशतको हाराहारीमा छौँ । अब यसले पनि हामी सफल छौँ कि असफल छौँ र हामी कहाँ कहाँ चुकेका छौँ, अझ सुधार कहाँ कहाँ गर्नुपर्छ भन्ने पनि देखिन्छ । प्रमुखजीले पाँच वर्षको हामीले जुन योजना बनाएका छौँ, त्यही योजना र नीति तथा कार्यक्रमभित्र रहेर हामीसँग संवाद र सहकार्य गर्नुपर्छ । यसमा उहाँको सचिवालयको हस्तक्षेप हुनुभएन ।

विज्ञहरू जबरजस्त सँग लाद्ने परिपाटी छ । त्यो परिपाटी पनि उहाँले अन्त्य गर्नुपर्‍ यो । योजना बनाउँदा हाम्रो टोलटोलमा गएर वडाबासी र स्थानीयहरूसँग छलफल गर्नुपर्‍ यो । त्यहाँबाट योजना ल्याएर उहाँको तर्फबाट कार्यान्वयन गर्नुपर्छ । योसँगै ठूला योजना महानगरस्तरको बजेटमा समावेश गर्न सक्यौँ भने समृद्ध महानगर बनाउने अभियानमा सफलता मिल्छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  २ : २७ बजे

मनसुन अलर्ट : आज राति केही प्रदेशमा भारी वर्षा सम्भावना

काठमाडौं– आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई

‘इजरायली सेनाले ३८ हजार प्यालेस्टाइनीको हत्या गर्‍यो’

एजेन्सी– इजराइली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा गत अक्टोबरदेखि 

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोलसहित पक्राउ

बारा– रामराजामोहन बिक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग

यस्ता छन्‌ एमाले सचिवालय बैठकका मूख्य ३ निर्णय

काठमाडौं– नेकपा (एमाले) सचिवालय बैठकले काँग्रेस-एमालेबीच केपी शर्मा ओली नेतृत्वमा

भारतको यूपीमा भागदौड मच्चिँदा मर्नेको सङ्ख्या १०० नाघ्यो

एजेन्सी– भारतको उत्तर प्रदेश (यूपी)मा सत्सङ्ग चलिरहँदा मच्चिएको भागदौडमा परेर