काठमाडौंको सन्तुलन : बहुमतमा कांग्रेस, बालेन्द्र एक्लै | Khabarhub Khabarhub

काठमाडौंको सन्तुलन : बहुमतमा कांग्रेस, बालेन्द्र एक्लै

दलका जनप्रतिनिधि भन्छन्– पेलेर जाने पक्षमा छैनौं


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 10 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालेन्द्र शाह (बालेन) ले मुलुकको संघीय राजधानी र मुख्य प्रशासनिक केन्द्र सिंहदरबार रहेको काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हालेको दुई वर्ष पूरा भएको छ । यस अवधिमा निर्विवाद र लोकप्रिय बन्न सफल शाह तेस्रो वर्षको प्रारम्भसँगै महानगरपालिकाभित्रै विवादमा तानिएका छन् ।

मेयर शाह २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा ५४ जना दलीय र स्वतन्त्र उम्मेदवारहरुलाई पछि पार्दै ६१ हजार ७६७ मतसहित काठमाडौं महानगरपालिको प्रमुखमा विजयी भएका थिए ।

स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएर लौरो चुनाव चिह्नबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका बालेन्द्रले लामो इतिहास बोकेका राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुलाई झण्डै दोब्बर मतले पराजित गरेका थिए ।

शाहका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ र तेस्रो भएका एमाले उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गर्दा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत ल्याएका थिए ।

स्वतन्त्रमाथि शुरुमै शंका

स्वतन्त्र उम्मेदवार बालेन्द्र महानगरको प्रमुखमा विजयी हुँदा दलीय जनप्रतिनिधिहरुको बीचमा काम गर्न नसक्ने अड्कल काटिएको थियो । सर्वसाधारणको समर्थन पाउँदैमा प्रशासन चलाउने, आफ्नो उद्देश्यलाई लागू गर्न सक्ने, नयाँ चुनौतीहरू सहजै पार गर्न सकिन्छ भन्न नहुने कतिपय राजनीतिक विश्लेषकहरुको दाबी थियो ।

महानगरपालिकाको निर्णयमा प्रमुखको मतमात्र नभएर विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधिहरू समाविष्ट समितिमा बहुमत आवश्यक पर्ने भएकाले पनि उनीहरुको त्यस्तो विश्लेषण हुन्थ्यो ।

दलहरूसँगको द्वन्द्वलाई पनि बालेन्द्रका लागि अर्को चुनौतीका रुपमा लिइएको थियो । दलबाट निर्वाचन जितेका जनप्रतिनिधिहरुहरूसँग समन्वय गर्न नसक्दा ‘दुर्घटना’ पनि हुन सक्ने अनुमान कतिपयको थियो ।

महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमै वडा नम्बर १६ का तत्कालीन वडाध्यक्ष मुकुन्द रिजालले विधि–प्रक्रियाको विषयमा बालेन्द्रलाई सम्झाउन खोजेका थिए । उनले बालेन्द्रलाई सम्झाउन खोज्दाको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल नै बन्न पुगेको थियो ।

उक्त भिडियो क्लिप सामाजिक सञ्जालमा साझा (शेयर) गर्दै बालेन्द्रका समर्थकहरुले रिजालको आलोचनासमेत गरेका थिए । पछि रिजालले ‘आफू समग्र महानगरको विकासको पक्षमा रहेको र महानगरपालिकाको सञ्चालन प्रक्रियामा टेकेर काम हुनुपर्छ’ भन्ने पक्षमा रहेको प्रष्टिकरण दिनु परेको थियो ।

सुरुवातका क्रममा वडा नम्बर १६ का वडाध्यक्ष तथा नेपाली कांग्रेस काठमाडौं–७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालसँग बालेन्द्रको सम्बन्ध चिसिएको जस्तो देखिएको थियो । तर, २०७९ जेठ २८ गते बालेन्द्र सुटुक्क रिजालसँग चिसिएको सम्बन्ध सुधार्न उनको बालाजुस्थित निवासमै पुगेका थिए ।

कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै बालाजु पुगेका बालेन्द्रले वडाध्यक्ष रिजालसँग झण्डै दुई घण्टा बिताएका थिए । लञ्चसहितको ‘मिटिङ’मा रिजालले फोहोर व्यवस्थापनमा देखाएको सक्रियताको प्रशंसा गर्दै महानगर प्रमुखलाई सघाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतानै जनाएका थिए । रिजालको २०८० भदौमा डेंगु संक्रमणबाट निधन भएको थियो ।

पालिकामा एक्लै जितेका प्रतिनिधिले काम गर्न सक्दैनन् भन्ने आशंकालाई चिर्न बालेन्द्र शाह दुई वर्षसम्म सफल देखिए । कांग्रेस, एमाले लगायतका १६१ जनै जनप्रतिनिधिले मेयर शाहलाई असयोग गरेनन् ।

महानगर प्रमुख बालेन्द्र आफूमाथि गरिएको अनुमानहरु गलत साबित गर्दै महानगरको कार्यभार सम्हालेदेखि नै एकपछि अर्को गरी महानगरबासीको मन जित्दै र कतिपय अवस्थामा अलोचित हुँदै कामहरु गर्दै आएका छन् । पछिल्ला दुई वर्षमा उनीविरुद्ध जननिर्वाचत प्रतिनिधिहरुबाट असन्तुष्टिका स्वरहरु खासै सुनिएनन् ।

त्यसो त बालेन्द्रजस्तै स्वतन्त्र रुपमा जितेका धनगढीका मेयर गोपाल हमालले पनि दलीय प्रतिनिधिसँग मिलेर काम गर्न नसक्ने अनुमान गरिएको थियो । हमालले पनि अहिलेसम्म राम्रैसँग धनगढी उपमहानगरपालिका चलाइरहेका छन् । धरान उपमहानगरपालिकाका स्वतन्त्र मेयर हर्क सम्पाङ भने पटक–पटक दलीय असहयोगको शिकार बन्ने गरेका छन् ।

यो दुई वर्षको अवधिलाई हेर्ने हो भने काठमाडौंका मेयर शाहले एक्लै चुनाव जिते पनि दलबाट जितेका जनप्रतिनिधिको साथ र सहयोग पाउँदै आए । तर, दोस्रो वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने बेलामा काठमाडौं महानगरको नगरसभामा दल भर्सेस बालेन्द्र शाहवीच ‘महाभारत’ मच्चिन थालेको छ ।

बालेन्द्रविरुद्ध किन सुरु भयो आलोचना ?

पछिल्लो समय असार १० गते नगर सभाको १५ औँ अधिवेशनको तेस्रो बैठकमा जनप्रतिनिधिहरु बालेन्द्रविरुद्ध खनिन पुगे । बैठकमा नगर सभाका अधिकांश सदस्यहरू महानगर प्रमुख बालेन्द्रका पछिल्ला अभिव्यक्तिको आलोचनामा उत्रिए ।

असार २ गते बसेको नगर सभा बैठकमा छलफल बिना नीति तथा कार्यक्रम पेस गर्न खोजेका कारण जनप्रतिनिधिहरुबाट विरोध भएपछि बालेन्द्र बैठक स्थगित गरेर ब्राजिल उडेका थिए ।

ब्राजिलबाट फर्किएपछि डाकिएको तेस्रो बैठकमा शाहले अधिकांश नगर सभा सदस्यहरूले आलोचनाको सामना गर्नुप¥यो । बालेन्द्रले असार २ गतेको बैठकमा नीति तथा कार्यक्रम पास नभएको झ्वाँक सामाजिक सञ्जाल फेसबुकमा पोखेका थिए ।

‘तीनजना नेताले गर्दा, १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भयो । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौं,’ उनले लेखेका थिए, ‘नगर सभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चै‌ं त्यसको औपचारिकतामात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन । काठमाडौं महानगरपालिकाको नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’

कांग्रेसबाट निर्वाचित वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, नेकपा एमालेबाट निर्वाचित वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुली, नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले उनको पछिल्लो अभिव्यक्तिको आलोचना गरे ।

कांग्रेस, एमाले र एकीकृत समाजवादीबाट निर्वाचित सबै जनप्रतिनिधिहरुले आफूले प्रतिनिधिका रुपमा चयन गरेका तीनै जना वडाध्यक्षहरूले बालेन्द्रको पछिल्लो अभिव्यक्तिको चर्को विरोध गरेपछि पालैपालो बोलेका अधिकांश वडाध्यक्ष र सदस्यहरूलेसमेत विरोध गरेका थिए ।

वडाध्यक्ष पराजुलीले नगर सभामा पेस भएको नीति तथा कार्यक्रममा केही समायोजन गर्नका लागि समय माग गर्दा एकल निर्णय गरेर असार २ गतेको बैठक स्थगित गरेको भन्दै बालेन्द्रको कार्यशैलीप्रति प्रश्न उठाएका थिए । उनले सबै नगर सभा सदस्यहरूले कुनै न कुनै पार्टीको चुनाव चिह्न र घोषणापत्र लिएर चुनाव लडेकाले त्यहाँ उल्लेखित विषय वस्तुलाई पनि नीति तथा कार्यक्रममा समावेश गराइनुपर्ने माग नाजायज हुन नसक्ने जिकिर गर्दै बालेन्द्रको अभिव्यक्ति कसैलाई पनि चित्त नबुझेको बताएका थिए ।

‘राम्रा कामहरूमा हामी सबै तापईंलाई साथ दिन्छौँ । नराम्रो काम गर्न थाल्नुभयो भने मेयरसाब यसमा कमजोरी भयो यसलाई करेक्सन गरौँ भन्छौँ । भन्दा पनि मान्नुभएन भने रामराम भन्छौँ, काँध थाप्दैनौँ,’ वडाध्यक्ष पराजुलीले भनेका थिए, ‘अझै तीन वर्ष हाम्रो यात्रा छ । हाम्रो चित्त नबुझेका कुराहरू विभिन्न तहमा छलफल गरेर अगाडि जाऊँ ।’

पराजुलीले आफूसँगै कांग्रेसबाट नवीन मानन्धर, एकीकृत समाजवादीबाट ईश्वरमान डंगोल, मेयर शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना बसेर बैठकमा जे निर्णय हुन्छ त्यही अन्य बैठकमा निर्णय हुने र त्यसबारे कसैले अनर्गल प्रचार नगरेको पनि मेयर शाहलाई स्मरण गराएका थिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष डंगोलले महानगर प्रमुख बालेन्द्रले बेला–बेला लगाउने आक्षेपका कारण आफूहरूलाई निद्रासमेत नलाग्ने बताएका थिए । ‘हामीले कसैलाई विभेद गर्दैनौँ । तर पनि फेसबुकमा अनेक आरोपसहित यस्ता कुराहरू आउँदा म सुत्न सकिनँ’, उनले भनेका थिए, ‘अनेक आरोपसहित निद्रा नआउने कुरा किन गरिन्छ ? राजनीतिक लेनदेन गरेर सहमति गर्ने भनेर आरोप आउँछ । हामीले के लेनदेन ग¥यौँ ? भनिदिनुपर्छ ।’

फेसबुकमा लेखेजस्तो लेनदेनबारे बालेन्द्रले जवाफ दिनुपर्ने डंगोलले बताएका थिए । ‘हामीले तीनजना मिलेर के लेनदेन ग¥यौँ ? अरुसँग के लेनदेन ग¥यौँ ? हामीले कहाँनिर लेनदेन गर्‍ यौँ हामीलाई भन्नुस्,’ डंगोलले महानगर प्रमुखलाई भने, ‘हामीलाई जनप्रतिनिधि, अबुझ, झोले भन्छन्, त्यसमा कुनै आपत्ति छैन । तर, के हामी सबै जनप्रतिनिधि त्यस्तो हो र ? हामीले सहयोग गर्दा गर्दै पनि यस्ता आरोप किन आइरहन्छन् ?’

त्यसपछि आ–आफ्नो पालोमा बोलेका सबै नगरसभा सदस्यहरूले नीति तथा कार्यक्रममा आफ्नो धारणा र सुझाव राख्दै महानगर प्रमुख बालेन्द्रको पछिल्लो कार्यशैली र अभिव्यक्तिको खुलेरै आलोचना गरेका थिए ।

नगर सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राखेपछि अन्तिममा उपप्रमुख सुनिता डंगोल बोलेकी थिइन् । उनले महानगर प्रमुख बालेन्द्रलाई पदीय मर्यादाको ख्याल गरेर अभिव्यक्ति दिन सुझाएकी थिइन् ।

उनीभन्दा अघि आफ्नो भनाइ राख्ने क्रममा महानगरपालिकाकी नगर कार्यपालिका सदस्य अनिता कार्कीले बालेन्द्रलाई सामाजिक सञ्जालमा अराजक टिप्पणी नगर्न चेतावनी दिएकी थिइन् ।

बालेन्द्रले केही महिनाअघि सिंहदरबारमा आगो लगाउँछु भन्दै लेखेको स्टाटसप्रति संकेत गर्दै त्यस्तो अभिव्यक्ति नदिन चेतावनी दिएकी हुन् । ‘तपाईं जुन कुर्सीमा बस्नु भएको छ, त्यो कुर्सीको अधिकार नेपालको संविधान २०७२ ले दिएको र स्थानीय सत्ता सञ्चालन २०७९ ले दिएको अधिकार अन्तर्गतको हो । जुन अधिकार सिंहदरबारले प्रदत्त गरेको अधिकार हो,’ कार्कीको भनाइ थियो ।

कार्कीले सिंहदरबारले प्रदत्त गरेको अधिकारको उपयोग गरिहेको व्यक्तिले सिंहदरबारमै आगो लगाउँछु भन्दै दिएको अभिव्यक्तिको खुलेर आलोचना गरिन् । ‘अहिले सिंहदरबार जलाउँछु भन्दै गर्दा तपाईँलाई महानगरपालिकाले दिएको जुन दरबार छ । त्यो दरबार महानगरवासीले जलाए भने त्यसको अवस्था के–हुन्छ ?,’ उनले बालेन्द्रलाई प्रश्न गरेकी थिइन् ।

नगर कार्यपालिका सदस्य कार्कीको भनाइ र महानगर प्रमुख बालेन्द्रको अभिव्यक्ति दुवै उचित नभएको भन्दै उपप्रमुख डंगोलले पदीय मर्यादाको ख्याल गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

‘फरक मत सबैतिर हुन्छ । फरक मतलाई पनि हामीले सम्मान गर्नुपर्छ । राजनीतिमा युवा आउनुपर्ने उदाहरण दिइरहेका छौँ । यो उदाहरण दिने सँगसँगै हाम्रो काँधमा जिम्मेवारी पनि रहेको कुरा सम्झनुपर्छ । प्रमुख ज्युलाई पनि म विशेष अनुरोध गर्न चाहन्छु,’ डंगोलले भनिन्, ‘तपाईं म जस्ता राजनीतिमा आउने व्यक्तिहरूले व्यक्तिभन्दा माथि उठेर पनि सोच्नुपर्छ ।’

उपप्रमुख डंगोलले आफूहरुले काम गरिरहँदा संस्थागत छविलाई कदापि बिगार्नु नहुनेमा पनि जोड दिइन् । ‘पदमा बसिसकेपछि पदको मयार्दलाई ख्यालमा राखेर अभिव्यक्ति राख्नुपर्छ । त्यो उदाहरण कसैले होइन तपाईं म र हामी सबैले बनाउनुपर्छ’, उनले भनिन्, ‘हामी आफैंले उदाहरण बनाउन नसक्ने, मनमा जे–जे आयो बोल्ने हो भने कपोलकल्पित कुरालाई आफ्नो अभिव्यक्ति बनाउने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ ।’

बालेन्द्रतर्फ संकेत गर्दै उपप्रमुख डंगोलले पदको मर्म बुझेर अभिव्यक्ति दिनुपर्नेमा जोड दिइन् । ‘सिंहदरबार जलाउँछु भन्नु ठिक होइन भने काठमाडौंको दरबार जलाउनु भनेर बोलिनु पनि ठीक होइन । यस्ता अभिव्यक्ति कदापि दिनु हुँदैन’, उनले भनिन् ।

यो पनि-

‘सिंहदरबार जलाउँछु भन्नु ठिक होइन’

 

 

महानगरमा कांग्रेसको एकल बहुमत

काठमाडौं महानगरपालिकामा ३२ वटा वडा छन् । स्थानीय तहमा पालिका प्रमुख र उपप्रमुखसँगै प्रत्येक वडाबाट ५ जना जनप्रतिनिधि चुनिन्छन् । प्रत्येक वडामा वडाध्यक्ष, दुईजना खुला सदस्य, एक महिला सदस्य र एकजना दलित गरी ५ जनाका दरले जनप्रतिनिधिहरु निर्वाचित हुन्छन् ।

यो हिसाबले काठमाडौं महानरपालिकामा १६२ जना जनप्रतिनिधि छन् । यीमध्ये १६ नम्बरका वडाध्यक्ष मुकुन्द रिजालको निधन भएकाले हाल महानगरमा १६१ जना प्रतिनिधि छन् ।

निर्वाचन आयोगको रेकर्डअनुसार काठमाडौं महानगर प्रमुख स्वतन्त्रबाट निर्वाचित बालेन्द्र एक्ला जनप्रतिनिधि हुन् । बाँकी १६१ जना सबै विभिन्न दलबाट निर्वाचित भएका हुन् ।

महानगरको सभामा कुनै पनि निर्णय बहुमतबाट गर्नुपर्ने अवस्था आएमा हाल कायम रहेका नगरसभा सदस्यमध्ये कम्तिमा ८२ जनाको समर्थन चाहिन्छ । जबकि सभामा नेपाली कांग्रेसको एकल बहुमत छ । कांग्रेससँग ९४ नगरसभा सदस्य छन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट १९ जना वडाध्यक्ष, ४० जना खुलातर्फका सदस्य, १९ जना महिलातर्फ र १६ जना दलित महिलातर्फ गरी ९४ जना निर्वाचित भएका थिए । यीमध्ये एकजनाको निधन भएको छ ।

यस्तै एमालेतर्फ १२ जना वडाध्यक्ष, २१ जना खुलातर्फका सदस्य, १३ जना महिलातर्फ र १३ जना दलित महिलातर्फका सदस्य गरी ५९ नगरसभा सदस्य छन् ।

महानगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट एकजना वडाध्यक्ष, दुई जना खुलातर्फका सदस्य, एक जना महिलातर्फ र एकजना दलित महिलातर्फ गरी ५ जना जनप्रतिनिधि छन् । बाँकी रहेका दुईजना दलित महिलातर्फका सदस्यहरुको दलीय अभिलेख खुलेको छैन ।

मेयरको शक्ति कति ?

स्थानीय तहको प्रमुखलाई भ्रष्टाचारको मुद्दा लागेको अवस्थामा बाहेक अन्य कुनै पनि अवस्थामा पाँच वर्षसम्म कसैले हटाउन सक्दैन । संविधानले नै पालिका प्रमुखलाई अधिकारसम्पन्न बनाएको छ । तर, पालिकाको नीति कार्यक्रम पारित गर्दा होस् या बजेट पास गर्ने बेलामा होस्, सभाबाट बहुमतको सहमति आवश्यक पर्दछ । यो अवस्थामा पालिका प्रमुखले बहमुत जनप्रतिनिधिलाई विश्वासमा लिएर काम गर्नैपर्ने बाध्यता छ ।

स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को परिच्छेद–४ ले नगरपालिका प्रमुख, उपप्रमुख तथा सदस्यहरूको काम, कर्तव्य र अधिकार तोकेको छ । जसमा नगर प्रमुखले नगरपालिकाको कामको सिलसिलामा सात दिनभन्दा बढी समयको लागि नगरपालिका क्षेत्रभन्दा बाहिर जानुपर्ने भएमा समेत नगरपालिकाको स्वीकृति लिनुपर्नेसम्मको प्रावधान छ ।

त्यस्तै, पालिका प्रमुखले नगरपरिषदबाट निर्देशन भए बमोजिमका कार्यहरू गर्ने गराउने नियमावलीमा व्यवस्था छ । यसबाट स्पष्ट हुन्छ, पालिकाको प्रमुख नगरपरिषदप्रति उत्तरदायी रहन्छ ।

बालेन्द्र एक्लिएका हुन् त ?

महानगर प्रमुख बालेन्द्र स्वतन्त्रबाट जितेका एक्लो जनप्रतिनिधि भएकाले दलबाट जितेकाहरुले पेल्न खोजेका त होइनन् भन्ने प्रश्न पनि उब्जिएको छ । तर, वडा नम्बर १० मा कांग्रेसकातर्फबाट विजयी वडाध्यक्ष रामकुमार केसी उक्त प्रश्नको खण्डन गर्छन् ।

‘पेलेको भए हामीले अहिलेसम्म के गरिसक्ने थियौँ ? सुरुवातका दिनदेखि असार १० सम्म हामीले पक्ष–विपक्ष भनेको छैनौँ,’ उनले खबरहबसँग प्रतिप्रश्न गरे, ‘हामीसँग बहुमत छ भनेका छैनौँ । बहुमत मात्र हो र हामी तीन तिहाइ छौैँ, उहाँ त सिर्फ एकजना मात्र हुनुहुन्छ । हामी कहिले उहाँको काममा औँला उठायौँ ?’
यस्तै वडा नम्बर ३ का एमालेबाट निर्वाचित वडाध्यक्ष प्रेम थापा पनि स्वतन्त्रबाट जितेको भनेर महानगर प्रमुखलाई दलबाट जितेका जनप्रतिनिधिहरुले पेल्ने कुरै नभएको बताउँछन् ।

‘पेल्ने भन्ने शब्द नै आउँदैन । हामीले उहाँसँग सहकार्य, संवाद र एकता गर्न खोजेको हो,’ थापा भन्छन्, ‘केही असन्तुष्टि र असमझदारी भयो भने पनि त्यसलाई टुंग्याउन नयाँ शिराबाट विगतका कमजोरी र समीक्षालाई औँल्याउँदै आगामी दिनमा अगाडि बढौँ भनेर सांकेतिक हिसाबले फेरि तपाईँसँग सहकार्य गरेर सँगै हिँड्न तयार छौँ भनेर सन्देशमात्र दिन खोजेका हौँ ।’

विवाद किन त ?

महानगर प्रमुख र वडाध्यक्षहरुबीच खास नमिलेको विषय के हो त ? वडा नम्बर १० का अध्यक्ष केसीले नीति तथा कार्यक्रममा बालेन्द्रले एकलौटी गरेर अहमता देखाएकै कारण विवाद सिर्जना भएको जिकिर गरे ।

‘नगर सभा बैठकमा वडाध्यक्षहरुले बोल्ने विषय नै होइन । वडाध्यक्षहरुले त नीति तथा कार्यक्रम बनाउने हो, कार्यक्रम बनाएर दिने हो । त्यसमा हामी क्याबिनेटको मन्त्रीजस्तो हो, हामीलाई नगर सभा सदस्यहरुले प्रश्न गर्ने हो,’ उनले भने, ‘जस्तो– म सामाजिक विभागमा छु, सामाजिक विभागसम्बन्धी कुनै कुरा वडा सदस्यहरुले उठाउनुभयो भने मैले जवाफ दिने हो । मेयरले के गर्नुभयो भने सबै वडा अध्यक्ष, वडा सदस्यहरु समग्रमा एकतिर, म एक्लै अर्कोतिर हो भन्ने अहमता देखाउनुभयो । यही अहमताले नै नमिलेको हो ।’

यो पनि-

वडाध्यक्षको गुनासो- बालेन्द्रमा बालापन देखियो

बालेन्द्रको स्टाटसले मन दुख्यो : वडाध्यक्ष प्रेम थापा

वडा नम्बर ३ का अध्यक्ष थापा पनि बालेन्द्रले जनप्रतिनिधिहरुलाई कांग्रेस–एमालेको धङधङी बोकेर नगर सभामा नआउनू भनेर फेसबुकमा स्टाटस लेखेपछि आफूहरुलाई फरक ‘ट्रयाक’ मा हिँड्न बाध्य बनाएको बताउँछन् ।

‘हाम्रो असन्तुष्टि भनेको फेसबुकमा उहाँले लेखेको स्टाटसमा हो । स्टाटसबारे सबै १६० जना सदस्य नै बसेर छलफल गर्‍यौँ । अलिक मन दुख्ने लेख्नुभयो । त्यो नलेख्नु भएको भए हुन्थ्यो,’ थापाले खबरहबसँग भने, ‘नगर सभाभित्र प्रवेश गरिसकेपछि हामी प्रमुखज्यूलाई सघाएर नै अगाडि बढिरहेका थियौँ । दुई वर्ष हामी जुन ट्रयाकमा हिँडेका थियौं, त्यो ट्रयाकभन्दा अलिक फरक हिँड्न बाध्य बनाउनुभयो ।’

नगरसभाकाे विषयमात्र होइन, न्युरोडमा थालिएको सडक विस्तारलाई लिएर समेत बालेन्द्र र वडाध्यक्षबीच विवाद देखा परेको छ ।

आरोप–प्रत्यारोपको श्रृंखला जारी

काठमाडौं महानगरपालिकाको जारी नगर सभाका क्रममा प्रमुख र वडाध्यक्षबीच आरोप–प्रत्यारोप कम हुनुको साटो शुक्रबारदेखि झन् बढेको छ । उनीहरुबीच देखिएको पछिल्लो विवाद साम्य नहुँदा शुक्रबारका लागि डाकिएको नगर सभा बैठकसमेत बस्दै नबसी स्थगित भयो । शुक्रबारको बैठकमा नीति तथा कार्यक्रम पारित गर्नुपर्ने कार्यसूची थियो ।

पूर्वनिर्धारित बैठक स्थगित भएपछि महानगर प्रमुख र वडाध्यक्षहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । महानगर प्रमुख बालेन्द्रले बैठक नबस्नुमा वडाध्यक्षहरु दोषी भएको आरोप लगाएका छन् । वडा अध्यक्षहरुले भने महानगर प्रमुख नै बैठकमा उपस्थित नभएको दाबी गरेका छन् ।

‘एमाले–कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ,’ बालेन्द्रले नगर सभा बैठक स्थगित हुनुको कारणबारे प्रष्टीकरण दिँदै फेसबुकमा लेखेका छन्, ‘सायद कांग्रेस–एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस–एमालेका नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर उहाँहरू जानुभयो ।’

तर, महानगर प्रमुख बालेन्द्रले फेसबुकलाई दलहरूविरुद्ध प्रयोग गरिरहँदा वडाअध्यक्षहरूले पनि प्रतिवाद गरेका छन् । काठमाडौं महानगर वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले बालेन्द्र शुक्रबार निर्धारित नगरसभा बैठकमा सहभागी हुनै नआएको खबरहबलाई बताए । ‘मेयर सा’व नगरसभा बैठकमै आउनुभएन । हामी उहाँलाई कुरिरहेका थियौँ’, राजभण्डारीले भने, ‘मेयर नै बैठकमा नआएपछि बैठक बस्न सकेन ।’

मेयर नै बैठकमा नआएपछि नगरसभा स्थगित भएको बताउँदै वडाध्यक्ष राजभण्डारीले सामाजिक सञ्जालमा लेखिएका कुराको अर्थ नहुने बताए ।

महागरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले प्रमुख र अरु जनप्रतिनिधिले फेसबुकबाजी गर्नेभन्दा बसेर सल्लाह गर्नु उचित हुने बताएका छन् । खबरहबसँगको कुराकानीमा उनले महानगर प्रमुख र वडाअध्यक्षहरूले बैठकमै बसेर सल्लाह गरी विवाद मिलाउनुपर्ने तर्क गरे । ‘आज तयारी नपुगेकाले नगर सभा बैठक स्थगित भएको हो । मैले तपाईंलाई यति भन्न सक्छु’, प्रवक्ता मानन्धरले भने, ‘अब मेयर र वडाअध्यक्षहरू दुवै पक्षले तयारी गरेर अर्को बैठक बस्ने वातावरण बन्छ ।’

 

फेसबुकमा लेख्नेभन्दा बैठकमै बसेर समाधान खोज्न प्रवक्ता मानन्धरले दुवै पक्षलाई सुझाएका छन् । ‘फेसबुकमा स्टाटस लेख्ने भन्दा बैठकमै बसेर सल्लाह गरेको भए हुने थियो’, मानन्धरले भने, ‘दुवै पक्ष बसेर नमिलेका कुरा मिलाउनु उचित हुन्छ ।’

असार १० गते बसेको नगरसभाको बैठकमा महानगर प्रमुख बालेन्द्रले पेस गरेको नीति तथा कार्यक्रममा जनप्रतिनिधिहरुले २८ बुँदे संशोधन प्रस्ताव हालेका थिए । केही नगरसभा सदस्यहरुले मौखिक रुपमा समेत आफ्ना मागहरु प्रस्तुत गरेका थिए ।

नगरसभा सदस्यहरुबाट प्रस्तुत संशोधन प्रस्तावलाई ‘यथाशक्य समेटिने’ मेयर शाहले बताएपछि सदस्यहरुले आपत्ति जनाउँदै ‘यथाशक्य’ हैन सबै समेटिनुपर्ने माग गरेका थिए । जवाफमा शाहले भनेका थिए, ‘अध्ययन नै गर्न बाँकी छ ।’

नीति तथा कार्यक्रममा सामान्य वादविवादकै वीच मेयर शाहले उपप्रमुख सुनिता डंगोललाई नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्न निर्देशन दिए । त्यसपछि नीति कार्यक्रममा समेटिनुपर्ने विषयमाथि शुक्रबारको बैठकमा छलफल गर्ने सहमति बन्यो र डंगोलले बैठकमा बजेटसमेत पेश गरिन् ।

तर, मेयर शाह आफैंले तोकेको शुक्रबारको बैठक थप विवादका कारण बस्न सकेन ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : ५५ बजे

कामपाले सुरु गर्‍यो स्थानीय पेयपदार्थको सम्भाव्यता अध्ययन

काठमाडौं – काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन

विश्वकप विजेता भारतीय टोलीले १२५ करोड भारु पुरस्कार पाउने

नयाँ दिल्ली । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जित्ने

प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट

कञ्चनपुर – प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा बिक्री

सैपाल हिमालस्थित रानीसैनमा टेलिकमको सेवा सञ्चालन

काठमाडौं – नेपाल टेलिकमले सैपाल हिमालस्थित रानीसैनमा टेलिफोन सेवा सञ्चालनमा

थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी

मस्को – महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले