तेहरान– इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले इस्लामिक गणतन्त्रको नवौं राष्ट्रपतिको रूपमा मसूद पेजेस्कियनलाई आइतबार आधिकारिक समर्थन गरेका छन् ।
‘म बुद्धिमान, इमानदार, लोकप्रिय र विद्वान श्री पेजेस्कियनलाई समर्थन गर्दछु र उहाँलाई इस्लामिक गणतन्त्र इरानको राष्ट्रपतिको रूपमा नियुक्त गर्दैछु’, खामेनीको कार्यालयबाट जारी गरिएको सन्देशमार्फत उनले भने ।
इरानमा ‘सुधारवादी’ मानिने नयाँ राष्ट्रपतिले मंगलबार संसद्मा शपथ लिने छन् ।
वरिष्ठ इरानी अधिकारी र विदेशी कूटनीतिज्ञको उपस्थितिमा राजधानी तेहरानमा अनुमोदन समारोह आयोजना गरिएको थियो । चरम गर्मीका कारण आइतबार राष्ट्रव्यापी रूपमा ब्यांकलगायत अधिकांश सरकारी कार्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो ।
गत मे महिनामा हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएपछि आयोजित निर्वाचनमा ६९ वर्षीया पेजेस्कियनले जुलाई ५ मा अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरुद्ध चुनाव जितेका थिए ।
कार्यक्रमपछि कार्यवाहक राष्ट्रपति मोहम्मद मोखबरले पेजेस्कियनलाई आधिकारिक जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया