प्रचण्डसँग बिच्किए माधव र झलनाथ, टर्‍यो पार्टी एकता | Khabarhub Khabarhub

प्रचण्डसँग बिच्किए माधव र झलनाथ, टर्‍यो पार्टी एकता

समाजवादीका नेता भन्छन्– आफ्नै पार्टी बलियो बनाइन्छ



काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग एकता गरेर बलियो बन्ने माओवादी अध्यक्ष प्रचण्डको प्रयास तत्कालका लागि असफल भएको छ । प्रचण्डसँग पार्टी एकता नगर्न अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाल  एकमुख बनेपछि प्रचण्डको योजनामा ‘ब्रेक’ लागेको हो ।

माओवादी अध्यक्ष प्रचण्डबाट आएको एकताको प्रस्तावबारे एकीकृत समाजवादीका अध्यक्ष नेपाल भन्छन्, ‘साथीहरूको एकता गर्ने चाहाना होला तर हामी आफ्नै पार्टी बनाएर जाने पक्षमा छौँ ।’

गत असारमा सम्पन्न महाधिवेशनमा कार्यकर्ताले दिएको सुझावका आधारमा अन्य दलसँग एकता नगर्ने, तर सहकार्य गरेर जान सकिने निर्णय गरेको पार्टीका अर्का नेता झलनाथ खनालको भनाइ छ ।

खनाल र नेपालको दुबैको भनाइअनुसार अब एकीकृत समाजवादी पार्टी नयाँ जोस जाँगर र समाजवादी कार्यदिशा अनुसार देशभर संगठन बनाउने र कार्यकर्ताको गुनासो सम्बोधन गर्ने मोडमा छ ।

कम्युनिस्ट पार्टीमा झुकाव राख्ने व्यक्तिहरुलाई पार्टीमा तान्न पहल गर्ने खनाल बताउँछन् । ‘केही साथीहरू एमालेमा गए होलान्, त्यसको दुईगुणा साथीहरू हाम्रो पार्टीमा आएका पनि छन्’ खनाल भन्छन्, ‘गएकाहरुको हिसाब भयो, आएकाहरूको खोजी भएन । हाम्रो पार्टीले आफ्नो जग बलियो बनाएको छ, अब कोही साथी यताउता गर्नुहुन्न ।’

नेकपा माओवादी केन्द्रसँग एकता हुने हल्ला प्रचण्डले चलाएको नेता खनालको गुनासो छ । आफ्नै पार्टी बनाउन नसकेकाले अरूको पार्टी भत्काउन खोजेको खनालले प्रचण्डमाथि आरोप लगाए ।

खनालले माओवादीसँग तत्कालीन अवस्थामा एकता हुन नसक्ने दोहो¥याउँदै खबरहसँग भने, ‘एकताको बलियो आधार त तयार हुनुप¥यो नि । प्रचण्डजी सरकारमा हुँदा केही पनि नचाहिने, सरकारबाट बाहिरिइसकेपछि चाहिँ एकता चाहिने ? यो त राजनीतिक बेइमानी हो । त्यसकारण एकता अहिले सम्भव छैन ।’

अध्यक्ष नेपाल पनि महाधिवेशन पछाडि पार्टी थप सशक्त र प्रभावकारी ढंगले अगाडि बढ्ने विश्वास गर्छन् । वैचारिक कार्यदिशासहितको पार्टी निर्माण हुने भएपछि कोही पार्टीसँग एकता गर्न जरुरी नरहेको उनको तर्क छ ।

एकीकृत समाजवादी आफैँमा बलियो पार्टी भएर जाने टिम आएको बताउँदै अब देशभर संगठन विस्तार गरेर अगाडि बढ्ने अध्यक्ष नेपालको दाबी छ ।

महासचिव घनश्याम भुसालले पनि केही समयअघि खबरहबसँगको कुराकानीमा महाधिवेशनपछि पार्टी नयाँ वैचारिक कार्यदिशा र प्रगतिशील बाटोका साथ अगाडि बढेकाले देशभर नयाँ जोस र जाँगरका साथ पार्टी अगाडि जाने बताएका थिए । उनले समाजवादी मोर्चा अगाडि बढे पनि पार्टी एकताको कुरा भने अलि परको विषय रहेको उल्लेख गरेका थिए ।

बरिष्ठ उपाध्यक्ष पाण्डे माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नै पार्टी सम्हाल्न सुझाव दिन्छन् । उनले खबरहबसँग भने, ‘योबेला प्रचण्डजीले आफ्नो पार्टी सम्हाल्ने हो । जनताको कुरा सुन्ने हो । हामी पनि संगठन बनाउन लाग्छौँ । गफ गरेर घरी यता घरी उता गर्दैनौं ।’

नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रबीच एकता हुँदा प्रतिनिधि सभामा ४२ सिट हुन जान्छ । यसैकारण पनि प्रचण्डले आफू बलियो हुनका लागि एकीकृत समाजवादीसँग एकता गर्न चाहेको नेताहरूको तर्क छ । यति मात्र होइन, ०८४ को निर्वाचनमा एउटै चुनाव चिन्ह बनाएर अगाडि बढ्नका लागि प्रचण्डले चाहेको नेताहरूको दाबी छ ।

तर, प्रचण्डसँग पार्टी एकता हुँदा माओवादीलाई नरुचाउने नेताहरू फटाफट एमालेतिर फर्कने डरका कारणले पनि तत्काल पार्टी एकता गर्न माधव र झलनाथ तयार नदेखिएको नेकपा माओवादी केन्द्रका नेताहरुको बुझाइ छ ।

एकीकृत समाजवादीका नेताहरुले तत्काल एकता नहुने बताइरहँदा माओवादीका महासचिव देव गुरुङ पनि एकताका लागि आधार तयार नभएको तर मोर्चाको छलफल जारी रहने तर्क गर्छन् ।

गुरुङले भने, ‘अहिले एकता गर्न माधवजीहरु मात्र होइन, माओवादी पनि तयार छैन । युवा साथीहरूले पनि एकता चाहानुभएकै छैन । आफ्नो–आफ्नो पार्टी बनाउने हो । मोर्चाको काम छँदैछ ।’

त्यसो त प्रचण्ड सरकारमै रहँदा माओवादी, विप्लव समूह र एकीकृत समाजवादीसहितका पार्टीहरुको ‘समाजवादी मोर्चा’ बनेको थियो । तर, प्रचण्ड सरकारबाट बाहिरिएपछि समाजवादी मोर्चा सुस्ताएको छ ।

चर्चित नेता नै जिम्मेवारीविहीन

यसैवीच माधव नेपाल र झलनाथ खनाल लगायतका शीर्षनेताहरुले पार्टी बलियो बनाइने दाबी गरिरहँदा मंगलबार सम्पन्न पदाधिकारीको निर्वाचनबाट केही लोकप्रिय एवं ‘हेबिवेट’ नेताहरू जिम्मेवारीविहीन भएका छन् ।

उपाध्यक्षमा विरोध खतिवडा र रामकुमारी झाँक्री जस्ता चर्चित नेता हारेका छन् । पार्टीमा लामो समय योगदान गरेका नेता डा. विजय पौडेल पनि उपाध्यक्षमा पराजित भएका छन् ।

पार्टीका निवर्तमान उपाध्यक्ष प्रमेश हमाल, डा बेदुराम भुसाल पनि जिम्मेवारीमा आएनन् । उनीहरू पदाधिकारीको चुनाव नै लडेनन् । पार्टीको संस्थापक महासचिव रहेका बेदुराम भुसाल आफ्नो जिम्मेवारी घनश्याम भुसाललाई हस्तान्तरण गरेपछि जिम्मेवारीविहीन जस्तै छन् ।

यो पनि-

एकीकृत समाजवादीमा झलनाथ गुट सकियो, घनश्याम गुट उदायो !

भाइरल भएर मात्र राजनीतिमा टिक्न सकिँदैन : जयन्ती

प्रमेश र बेदुरामले जिम्मेवारी नपाएकोबारे वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे भन्छन्, ‘उहाँहरू हाम्रो अभिभावक हो । पार्टीलाई उहाँहरुको दरिलो साथ छ ।’

निर्वाचन हारेपछि रामकुमारी झाँक्री पार्टीमा निश्क्रिय बन्ने कतिपय नेताहरुमा डर छ । सांसदद्वय प्रेम आले र कृष्णकुमार श्रेष्ठ पार्टीको जिम्मेवारीमा छैनन् । उनीहरू सांसद पद जोगाउन मात्रै चुप लागेको एमाले नेताहरूको दाबी छ ।

एकीकृत समाजवादी छाडेर चुनावअघि नै एमालेमा फर्किएका कञ्चनपुर–१ का सांसद तारा लामा तामाङ एकीकृत समाजवादीका केही नेताहरू एमालेमा आउन तयार रहेको दाबी गर्छन् । तथापि विभिन्न कारणले गर्दा तत्कालै उनीहरू एमालेमा आउने बाटो नबनेको उनको भनाइ छ ।

तर, समाजवादीका वरिष्ट उपाध्यक्ष राजेन्द्र पाण्डे भने जितेका र हारेका सबै नेताहरू मिलेर संगठन निर्माण गर्ने बताउँछन् । उनी समाजवादी पार्टी संकटमा नभएको र देशलाई पनि सङ्कटमा पर्न नदिने गरी भूमिका खेल्ने दाबी गर्छन् ।

पाण्डेले खबरहबसँग भने, ‘हाम्रो पार्टीमा सबै नेताहरू एक से एक हुनुहुन्छ । अब नयाँ कार्ययोजनाका साथ पार्टी बनाएर जाने हो । देशभर डुल्ने हो । संगठन बनाउन कम्मर कस्ने हो ।’

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ८ : ०१ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन