समाचार

एन्फा एकेडेमीका छ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

By खबरहब

September 28, 2024

मकवानपुर– अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ६ विद्यार्थी सम्पर्कविहीन भएका छन् ।

इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका छ जना विद्यार्थी आज बिहानैदेखि सम्पर्कविहीन भएका हुन् । 

कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका हुन् । उनीहरु पहिरोमा पुरिएका हुनसक्ने सिस्नेरी प्रहरी चौकीका प्रमुख भोषराज न्यौपानेले बताए। उनीहरूको खोजी जारी छ ।

एन्फाले गत वर्षदेखि उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो ।