समाचार

दोलखामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, एकको उद्धार 

By खबरहब

September 28, 2024

दोलखा– अविरल वर्षासँगैको पहिरोमा पुरिएर दोलखाको भिमेश्वर नगरपालिका-६ मैदानेमा ३ जनाको मृत्यु भएको छ। सदरमुकाम चरिकोट नजिकैको मैदानेमा स्थानीय राजकुमार भुजेलको घर पहिरोले पुर्दा भुजेल सहित उनकी श्रीमती, र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। पहिरोले एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४१ वर्षीय राजकुमार भुजेल, उनकी श्रीमती ३७ वर्षीया राधिका भुजेल र १५ वर्षीया छोरा सुजन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका  प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिए । 

मृतक भुजेल दम्पतीको शव भिमेश्वर नगर प्रमुख ईश्वर नारायण मानन्धर सहितको सुरक्षाकर्मी र स्थानीले मृतक राजकुमार र राधिकाको शव घटनास्थलबाट निकालेको र घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएका सुजनको बीच बाटोमै मृत्यु भएको  डीएसपी खड्काले जानकारी बताए।

त्यस्तै पहिरोमा पुरिएका ३ वर्षाका बालक युवराज भुजेललाई भने सकुशल उद्धार गरेका छन् । शुक्रबारदेखी परेको अविरल वर्षापछि भुजेल परिवार घरमा बसिरहेका बेला शनिवार दिउँसो १ बजे  घरमाथिबाट पहिरो खसेको थियो।