समाचार

खतरामा कोशी ब्यारेज, पुलमाथिबाट बग्न थाल्यो बाढी

By खबरहब

September 28, 2024

धरान- पानीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी जोड्ने कोशी व्यारेजस्थित सप्तकोशी नदीको पुलमाथिबाट बाढी बगिरहेको छ ।

शनिबार साँझ ७ बजेको मापनमा पानीको बहाव प्रतिसेकेण्ड ५ लाख ७८ हजार ३९० क्युसेक पुगेको छ ।

ब्यारेजका सबै ५६ वटै ढोका खुल्ला गरिएका छन् भने आवतजावत बन्द गरिएको छ । बाढी उच्च भएपछि भारतले बिहारतर्फ बिहानैदेखि उच्च सतर्क अवस्थामा राखेको थियो ।

भारतको निगरानीमा रहने कोशी ब्यारेजको पुलमा अहिले सवारी साधन चलाउन रोकिएको छ । सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

कोशीका सहायक नदीहरू सुनकोशी, दूधकोशी, अरुण, तमोस, भोटेकोशी, तामाकोशी र रोशीसहितमा शनिबार बिहानदेखि ठूलो बाढी आएको छ ।

सुनकोशी र दूधकोशीले एक एकवटा पक्की पुल बगाएका छन् । कयौँ गाउँ बस्ती पनि कोशीका सहायक नदीहरूले बगाएर लगेका छन् ।