काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिनामै अस्पतालको भिड अर्थात् बिरामीको लाइन घटाएर सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरे। तर अहिले सरकारले सय दिन पुरा गर्दा पनि यो समस्या जस्ताको तस्तै छ। केन्द्रका वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पतालमा बिरामीको लाइन उस्तै छ। काठमाडौंका अस्पतालमा देशमा विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि आउँछन्।
चेकजाँचका लागि बिहान ५ बजेदेखि नै लाइनमा बस्दा ११/१२ बजे पालो पाइने गरेको बिरामी बताउँछन्। शल्यक्रिया गर्नुपर्ने बिरामीले त महिनौँ कुनुपर्ने बाध्यता छ।
स्वास्थ्यमन्त्री पौडेलसमेत अस्पतालको लाइन जनताले महसुस गर्नेगरी घटाउन नसकिएको स्वीकार गर्छन्। कात्तिक ८ गते बिहीबार मन्त्रालयको सय दिनको उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले भने, ‘अस्पतालको लाइन घटाउन मन्त्रीको एक्लो प्रयासले मात्रै हुँदैन जनशक्ति, भौतिक संरचना, अस्पतालको वर्गीकरण लगायत विभिन्न पक्षको पनि भूमिका हुन्छ। जसले गर्दा आमनागरिकलाई महसुस हुने गरी कार्य गर्न सकिएको छैन।’
भिड व्यवस्थापनका लागि डिजिटल सिस्टम, अस्पतालको वर्गीकरण, संरचनागत प्रगति स्वास्थ्य जनशक्ति, उपकरण, पूर्वाधारलगायत सबै कुरा जोडिने भएकाले समय लाग्ने उनको भनाइ छ।
सेवाग्राहीले जतिसुकै गुनासो गरे पनि सरकार गठन भएको सय दिनको अवधिमा केही सुधार भएको मन्त्री पौडेलको दाबी छ। अस्पतालमा भिड व्यवस्थापन र केही संघीय अस्पतालमा अनलाइन प्रणाली सुरुवात गरेको उनको जिकिर छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु अस्पताल), परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल लगायत १७ वटा अस्पतालले प्रगति विवरण पठाइसकेका र संघीय अस्पतालमै दुई सिफ्टमा ओपीडी सेवा सुरु गरिएकाले आमनागरिकलाई केही राहत भएको उनले बताए।
बिरामीको लाइन किन धेरै हुन्छ ?
वीर अस्पतालमा कार्यरत कर्मचारी अस्पतालमा भिड हुनु कुनै नौलो कुरा नभएको बताउँछन्। केन्द्रका अस्पतालमा काठमाडौं उपत्यकाका मात्रै नभएर देशका विभिन्न जिल्लाबाट बिरामी आउँछन्।
अस्पतालका विभिन्न विभाग हुन्छन् त्यहाँ औषधी किन्ने, बिल तिर्ने, नाम लेखाएर लाइनमा आएका बिरामीलाई प्राथमिकता दिने हो।
अस्पतालमा लाइन बढ्नुको कारण चिकित्सक भएको कतिपय कर्मचारीको भनाइ छ। नाम नबताउने शर्तमा एक कर्मचारीले भने, ‘ओपिडी सेवामा लाइन बढ्नुको कारण चिकित्सक ढिलो आउनु हो। चिकित्सक तथा कर्मचारी बिहान ८ बजे अस्पताल आइपुग्नुर्ने हो। हामी ८ बजे नै आइपुग्छौं। तर चिकित्सक ९ बजे १० बजे मात्रै आउने गरेकाले बिरामीको लाइन धेरै भइसकेको हुन्छ।’
भिड देखिनुको कारण संरचना
अस्पतालको साँघुरो संरचनाका कारण धेरै भिड देखिएको कान्ति बाल अस्पतालका सूचना अधिकारी डा. रमेश नरसिंह केसीको भनाइ छ। खबरहबसँग कुरा गर्दै सूचना अधिकारी केसीले भने, ‘यो ठुलो मान्छेको नभएर बच्चाको अस्पताल हो। ठुलो मान्छेले आफ्नो समस्या सहजै भन्छन् भने बच्चाले भन्न सक्दैन। उनीहरुको समस्या बुझ्नका लागि विभिन्न जाँच आवश्यक हुन्छ र कतिपय अभिभावकले चिकित्सकको कुरा नबुझ्दा एउटै बच्चालाई धेरै समय दिनुपर्छ।’
अस्पतलको ओपिडी कक्ष, बिलिङ कक्ष, आपतकालीन कक्ष सबै एउटै लाइनमा भएकाले भिड देखिएको उनको बुझाइ छ। भिड हुने क्षेत्रलाई वर्गीकरण गर्न सके ओपिडीमा आउने बिरामले धेरै पर्खिनुपर्ने अवस्था नभएको उनले बताए।
आम बिरामीले डिजिटल प्रणालीलाई ध्यान नदिएर वा त्यसको पहुँचमा नपुगेर पनि समस्या भएको उनको बुझाइ छ। उपलब्ध स्रोत साधन र जनशक्तिले भ्याएसम्म उत्कृष्ट सेवा दिने प्रयास भइरहेको उनको जिकिर छ।
रेफर अस्पतालको भिड घटाउन सकिँदैन
देशका विभिन्न अस्पतालबाट बिरामी रेफर भएर आउने अस्पताल भएकाले बिरामीको लाइन घटाउन सम्भव नै नभएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका क्लिनिकल प्रशासन प्रमुख प्रताप शाही बताउँछन्।
‘बेड संख्या हरेक वर्ष बढाउँदै लगेपनि बिरामीको चाप त्यही अनुपातमा बढिरहेको छ। समयसमयमा बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था छ’, खबरहबसँग कुरा गर्दै शाहीले भने, ‘अहिले डेङ्गीका बिरामीले अस्पताल भरिएको छ।’
दुई सिफ्ट सेवा कति प्रभावकारी ?
सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्यमन्त्री पौडेलले निर्देशन दिएका थिए। तर यसलाई कार्यान्वयनमा ल्याउनका लागि अहिलेकै जनशक्तिले नपुग्ने विज्ञ बताउँछन्। जनशक्ति बढाउने अभ्यास नगरी गरेको यो सेवा सम्भव नभएको वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्तले बताए।
डा. वन्तले भने, ‘जनशक्तिको आवश्यक भएको प्रतिवेदन धेरै पहिले गइसकेको थियो। अहिलेसम्म सरकारमा जति मन्त्री आए पनि भन्ने कुरा एउटै हो। यसबाट विश्वस्त हुने आधार बन्दैन।’
पहिले नै निर्णय भइसकेको ‘एक चिकित्सक एक अस्पताल’ सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले निजी अस्पताल तथा क्लिनकमा सेवा दिन पाउँदैनन्। अहिले पनि यो कुरा उठ्छ तर कार्यान्वयनमा आउँदैन। यसलाई मात्रै कार्यान्वयनमा ल्याउनसके महत्त्वपूर्ण काम हुने उनको बुझाइ छ।
वीर अस्पतालमा दुई सिफ्टको सेवा प्रभावकारी
वीर अस्पतालका सूचना अधिकारी सिताराम खड्का भने यो सेवा सुचारु भइसकेको र प्रभावकारी पनि भइरहेको दाबी गर्छन्। उनले भने, ‘दुई सिफ्टमा सेवा दिने भनेको पे क्लिनिक सेवा हो। जसमा अन्य समयमा लाग्ने शुल्क भन्दा दोब्बर शुल्क लिएर सेवा दिइन्छ।’
टाढाबाट आउने बिरामीहरु जसलाई होटेलमा बस्नुपर्ने हुन्छ। घर गएर फर्केर आउन पनि दोब्बर खर्च हुन्छ त्यस्ता बिरामीका लागि यो सेवा प्रभावकारी भइरहेको र धेरैले यसको लाभ लिएको उनले बताए। यता कान्ति बाल अस्पतालका सूचना अधिकारी केसी भने यो सेवा खासै प्रभावकारी नभएको बताउँछन्।
‘३ बजेसम्म नियमित सेवा दिएर ४ बजेपछि एकदमै न्युनतम शुल्कमा बिरामीको चेकजाँच तथा उपचार गर्ने गरिएको छ। जसमा दैनिकजसो ४–५ जना बिरामीले सेवा लिइरहेका छन्। हामीले प्रचार प्रसार गर्न नसकेर हो या बिरामीले नबुझेर जति मात्रामा बिरामी आउनुपर्ने त्यति आउने गरेका छैनन्’ केसीले भने।
लाइन घटाउन के गर्ने ?
सरकारी अस्पतालमा भिड कम गर्न सूचना प्रविधिको अधिकतम उपयोग गर्नु जरुरी रहेको विज्ञ बताउँछन्। समय तालिकाको व्यवस्थापन, नयाँ वा फलोअप बिरामीको नाम अग्रिम अनलाइन पद्धतिबाट दर्ता, मेडिकल रेकर्ड व्यवस्थापन, एकीकृत सूचना प्रणालीसँगै सरकारी अस्पतालको स्रोत र साधन उपयोग गर्नेदेखि दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा उपलब्ध गराउन सूचना प्रविधिको उपयोग गर्न सकिने विज्ञको भनाइ छ।
स्वास्थ्यमन्त्री पौडेल नेतृत्वमा आएपछि संघीय तथा केन्द्रीय अस्पतालमा अनलाइन पद्धतिबाट नाम दर्ता प्रणाली, टोकन प्रणाली सुरु भएको छ। यो राम्रो सुरुवात हो। तर पूर्णरुपमा लागु हुनसकेको केसी स्वीकार गर्छन्।
‘कुनै पनि स्वास्थ्य संस्था वा अस्पतालमा बिरामीको भिड पूर्णरूपमा दैनिक शून्यमा झार्न सकिँदैन। स्वास्थ्य सेवामा यो परिकल्पना पनि गरिँदैन। स्वास्थ्य सेवा वा अस्पतालको प्रकृति नै त्यस्तो हो, जहाँ कहिलेकहीँ नसोचेको बिरामीको भिड लाग्नसक्छ। तर यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने कुरा हो। जसको लागि पूर्वाधार एकदमै आवश्यक छ’, उनले भने। पूर्वाधार विकास आजको भोलि नहुने हुँदा तत्काल सोचेजस्तो गरी समस्याको समान नहुने उनको भनाइ छ। अस्पतालको भिड कम गर्न अब डिजिटल प्रविधिको विकास र प्रयोगका लागि ज्ञानसमेत हुनुपर्नेमा उनले जोड दिएका छन्।
प्रतिक्रिया