डाक्टर त्यसमाथि शताब्दी नाघेको काया । यो उमेरमा पनि सामाजिक काममा भ्याइनभ्याईको दैनिकी । अझ आश्चर्य चस्मा नलगाई पत्रपत्रिका पढ्ने अद्भुत क्षमता । एकादेशको कथा लाग्ने ती पात्र हुन् – गौरीशंकरलाल दास । कसैको सहारा बिना हिँडडुल गर्ने उनी स्वस्थ खानपान र असल विचार आफ्नो दीर्घायुको रहस्य रहेको बताउँछन् ।
सिराहाको भगवानपुर गाउँपालिकाको इनरुवामा वि.सं १९८१ साल असोज ९ गते पिता जनार्दनलाल र माता भवानीदेवीको कोखबाट जन्मिएका डा. गौरीशंकरलाल दास चारमध्ये जेठो सन्तान हुन् । पिताजी त्यो क्षेत्रकै कहलिएका जमिनदार भएकाले उनले त्यो समयमा पनि पढ्ने मौका पाए । पिताजीको सपना उनलाई डाक्टर बनाउने थियो । त्यसैले सानैदेखि उनले पढ्ने वातावरण पाए ।
अहिले पनि मेडिकल साइन्स पढ्नका लागि घरजग्गा नै बेच्नुपर्ने अवस्था रहेको छ । त्यो बेला त झन् नेपालमा यस विषयको पढाइ नै हुँदैन थियो । तर उनले यो अवसर पाए । छोरा डाक्टर देख्न नपाउँदै सन् १९४८ मा उनको पिताजीको देहान्त भयो । त्यसपछि पढाइमा केही समस्या आए पनि साथीको दाजुको सहयोगबाट उनले पढ्न पाए र पिताको सपना पूरा गरे ।
डाक्टर बन्दा उनको उमेर २६ वर्ष थियो । सन्तानलाई जसरी भए पनि पढाउनुपर्छ भन्ने अभिभावकमा चेतना थियो । घरबाट टाढा राजनगरमा रहेको विद्यालयबाट सन १९४१ मा एसएलसी गरेपछि भारतको भागलपुरबाट आइएस्सी र बीएस्सी पढे । त्यसपछि मेडिकल लाइनतिर लागे । बीएस्सीमा डिस्टीङसन ल्याएर पास गरेपछि उनले इञ्जीनियरिङ र मेडिकल दुवै तर्फ अप्लाई गरे । पिताको रोजाई डाक्टर भएकाले मेडिकल लाइन रोजे । त्यस बेलामा प्रिन्स अफ वेल मेडिकल कलेज भारतको पटनामा थियो । त्यसलाई अहिले पटना मेडिकल कलेज भनिन्छ ।
आवेदन दिए लगत्तै २००३ मा कलेज भर्ना भए । बायोलोजी नपढेको भएर एक वर्ष बायोलोजी पढ्नु पर्यो । त्यही मेडिकल कलेजबाट २००८ सालमा डाक्टर भए । सेवाबाट अवकाश पाइसकेपछि अहिले उनी मित्रपार्कमा रहेको निवासमा २ जना छोरासँगै बस्छन् । जेठा छोरा आनन्दमोहन लालदास खानेपानीमा इन्जिनियर रही उमेर हदले अवकाश पाई ज्येष्ठ नागरिक भइसकेका छन् । जेठी बुहारीको देहान्त भइसकेको छ । कान्छा छोरा सुरेन्द्रमोहनलाल दास औषधी पसल चलाउँछन् । २ जना छोरीहरू आआफ्नो परिवार सम्हालेर बसिरहेका छन् ।
७२ वर्षअघि अस्तव्यस्त वीर अस्पताल
२००८ सालमा पढाई पुरा गरेर २००९ सालमा नेपाल आएर वीर अस्पतालबाट चिकित्सकीय सेवा आरम्भ गरे । ०७ सालको क्रान्तिपछि २००८ सालमा लोकसेवा आयोग स्थापना भयो । २००९ सालमा लोकसेवा पास गरेरै (रेजिडेन्ट मेडिकल अफिसर) को रूपमा नियुक्ति पाए । त्यही वर्ष फागुन १८ वीर अस्पतालमा काम गर्न सुरु गरेका उनलाई असार १ गते नै टोखामा रहेको टोखा स्यानिटोरीयम जहाँ क्षयरोगका बिरामीहरूको उपचार हुन्थ्यो,त्यहाँ सरुवा गरियो । त्यहिँबाट क्षयरोगका बारेमा अध्ययन गर्न विदेश गए । पढेर आएपछि त्यहाँको सुपरिटेण्डेन्ट भएर काम गरे । डाक्टरी सेवाको लामो अवधि टोखामै बित्यो ।
त्यसबेला वीर अस्पतालको अवस्था एकदमै दयनीय थियो । वीर अस्पताल २ वटा थियो । सडकको उत्तरतिर वीर मेल अस्पताल, जहाँ पुरुषको उपचार हुन्थ्यो भने दक्षिणतिर वीर फिमेल त्यहाँ महिलाहरूको उपचार गरिन्थ्यो । चिकित्सकहरू पनि त्यही अनुसार राखिएको थियो ।
‘दयनीय कसरी थियो भने हुनेखाने मानिस कोही पनि अस्पताल आउँदैन थिए । उनीहरू घरैमा चिकित्सकहरू बोलाएर आफ्नो चेकजाँच तथा उपचार गराउँथे । दिनहीन अवस्थाका बिरामीहरू मात्रै वीर अस्पतालमा आएर भर्ना हुन्थे । अस्पतालको संरचनाहरू केही थिएन । खुला रूपमै बिरामी राखिन्थ्यो । कुकुर, बिरामीसँगै सुत्थे, मुसा आएर बिरामीको खान्की खान्थे ।
शल्य चिकित्सक कोही पनि थिएनन् । जम्मा ५ जना चिकित्सक रहेको वीर अस्पतालमा १ जना अध्ययन बिदा लिएर पढ्न गएका थिए । अर्का एक जना तालिममा थिए । हामी जम्मा तीन जनाले सेवा दिन्थ्यौँ ।’ ७२ वर्षअघिको सम्झना गर्दै उनले भने- ‘त्यो बेला सरुवा रोगका बिरामी धेरै आउँथे । सबैभन्दा डरलाग्दो रोग त बिफर थियो । जसले धेरै मानिसको मृत्यु हुन्थ्यो भने अनुहार नै बिगारिदिन्थ्यो । विफरको सिकार साहित्यकार भवानी भिक्षु पनि भए । त्यस्तै अर्का चर्चित वाद्यवादक उस्ताद गणेशलाल जसलाई वाद्य शिरोमणि भनेर चिनिन्छ । ३–४ वर्षको कलिलै उमेरमा उनले आँखाको ज्योति नै गुमाउनुपर्यो ।’
यसैगरी हैजा पनि महामारीकै रूपमा फैलिन्थ्यो । हैजाको प्रकोपबाट बिरामीहरू त्यत्तिकै मात्रामा अस्पताल आउँथे । पोलियो, क्षयरोग, कुष्ठरोग लगायतका धेरै प्रकारका सरुवा रोगका बिरामीहरू अस्पताल धाउँथे ।
‘कुष्ठरोग’ले फैलिएको आतंक
त्यो बेला त कुष्ठरोगीहरुलाई एकदमै घृणा गर्थे । कसैले छुन पनि छुँदैनथे । पछि २०२६ सालमा कुष्ठरोग निवारण संघ स्थापना भयो । जसको संस्थापक अध्यक्ष शान्ति सिंह र उपाध्यक्ष गौरीशंकर हुन् ।
अर्को कार्यकाल उनी संघको अध्यक्ष भए । त्यसबेला संघलाई ‘कुष्ठरोगी खाना’ भनिन्थ्यो । गौरीदास भन्छन्- ‘सरकारद्वारा सञ्चालित २ वटा कुष्ठरोग सम्बन्धी संस्थाहरू थिए- एउटा खोकना र अर्को मालभंगामा । पछि सरकारले दुई वटै संस्था हामीलाई नै हस्तान्तरण गर्यो । ती संस्थाहरूमा घरपरिवार र समाजबाट अपहेलित कुष्ठरोगीहरुलाई ल्याएर उपचार गरिन्थ्यो । त्यहाँ महिला पुरुष छुट्टाछुट्टै राखेर उपचार गरिन्थ्यो ।’
यो व्यवस्थाले रोगीहरूको उपचारमा केही सहजता थपियो । त्यो बेलामा टीबी र कुष्ठरोगलाई महारोग भनिन्थ्यो । गाउँमा कसैलाई कुष्ठरोग लाग्यो भने खोकनामा पठाइदिने र उसको जग्गा जमिन सामन्तहरूले हडप्ने गर्थे । बिस्तारै बिरामीहरू पनि उपचारका लागि आउन थाले ।
अहिले पनि खोकनामा आरोग्य आश्रम भनेर सञ्चालनमा छ । मालभंगामा रहेका बिरामीहरू निको भएर समाजमा पुनर्स्थापित भइसकेपछि सरकारलाई फिर्ता दिइसकेको उनले जानकारी दिए ।
जहाँ सेवा, त्यहाँकै मोह
उनले लामो समय काम गरेको अस्पताल टोखा स्वास्थ्य निवास हो । जहाँ १३ वर्ष सम्म सेवा गर्ने अवसर पाए । बुढानीलकण्ठबाट ३ किलोमिटर पश्चिम अनकन्टार ठाउँ भए पनि त्यहाँको वातावरण शान्त र मनोरम थियो ।
बिरामी, नर्स, चिकित्सकहरू सबैलाई बस्ने व्यवस्था थियो । बिरामी भर्नाका लागि सिट थोरै मात्र थियो । तर उपचारका लागि आउने बिरामीको संख्या भने धेरै हुन्थ्यो । चेकजाँच गरेर आवश्यक पर्ने बिरामी मात्रै भर्ना हुन्थे । एक त एकान्त उराठलाग्दो ठाउँ त्यसमाथि बिरामीहरूलाई समय कटाउन कठिन हुन्थ्यो ।
‘त्यसबेलाका संगीतकार नातीकाजी, शिवशंकर, पुष्प नेपाली मेरा मिल्ने साथीहरू थिए । उनीहरूलाई बोलाउँथे । कसैले बाँसुरी बजाउने, तबला बजाउने,गाउने गरेर बिरामी र हामी चिकित्सकहरूलाई मनोरञ्जन दिने गर्थे ।’ उनले भने ।
मनोरम वातावरण र सांगीतिक माहौल हुन थालेपछि त्यहाँ मानिसहरूको आवतजावत बाक्लिन थाल्यो । कतिपय त त्यहाँ पिकनिक खान पनि जान थाले । पिकनिक मनाउने क्रममै प्रिन्सेस शाह, कमल राणाको टीम नै आएर फर्कने बेलामा धेरै किताब छोडेर गएको र तिनै पुस्तक राखेर आफूले पुस्तकालय स्थापना गरेको गौरीलालले सम्झिए ।
समयक्रमसँगै कैलाश राणा भन्ने एक जना साथीको सल्लाह अनुसार उनले ‘संगम’ नामको साहित्यिक पत्रिका निकाले । यो पत्रिकामा नेपाली, नेवारी र हिन्दी गरी तीन वटै भाषाका लेखहरू छापिन्थ्यो । बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाका लेखहरू छापेको उनी स्मरण गर्छन् । त्यसमा उपचारका लागि आउने बिरामीहरूले पनि आफ्ना लेखहरू छपाउँथे, पत्रिका पढ्थे । पत्रिका पढेर बिरामीले आफ्नो पीडाहरू भुल्ने प्रयास गरेको थुप्रै अनुभव उनीसँग छ । त्यसपछि त्यहाँबाट उनको सरुवा ‘चेष्ट क्लिनिक’मा भयो ।
अहिलेका डाक्टर बिरामी होइन, रिपोर्ट जाँच्छन्
नेपालकै दोस्रो छाती रोग विशेषज्ञ भएर दशकौँ बिरामी जाँच तथा उपचार गरेका डा. दास भन्छन्- ‘प्रविधिको विकाशसँगै स्वास्थ्यमा निकै ठूलो प्रगति भएको छ, यो राम्रो पक्ष हो । रोगको कुरा गर्ने हो भने क्षयरोग, कुष्ठरोग, बिफर लगायतका घातक सरुवा रोगहरू नियन्त्रण तथा उन्मुलन भइसकेका छन् । मैले सेवा सुरु गर्दा कुनै पनि खालको अप्रेशन हुँदैन थियो । अहिले जटिल खालका अप्रेशन हुन थालेका छन् ।’
अंग प्रत्यारोपणसमेत नेपालमा हुन थालेकोमा खुशी देखिएका डा. दास त्यो बेलामा रोग पत्ता लगाउन अहिलेको जस्तो एमआरआई, भिडियो एक्स-रे, सिटी स्क्यान केही नभएको प्रसंग उठाउँछन् । उनको अनुभवमा कतिपय बिरामी रोगै पत्ता नलागी ज्यान गुमाउँथे । रोग पत्ता लगाउन बिरामीहरूको हिस्ट्री लिनुपर्थ्यो । बिरामीलाई धेरै समय लगाएर चेकजाँच गरिन्थ्यो ।
‘अहिले के हुन्छ भने डाक्टरहरूले बिरामीलाई समय नै दिँदैनन् । हुन त व्यस्त भएर पनि होला । बिरामीलाई सामान्य कुराहरू सोध्ने कागजमा यो यो जाँचहरू गर्नुस् यो औषधी खानुस् भन्यो सकियो ।’ डा. दास थप्छन्, ‘अहिले मैले हेर्दा डाक्टर बिरामी हेर्दैनन् , रिपोर्ट हेर्छन् । बिरामीको हिष्ट्री के हो ? कसरी समस्या भएको हो त्यो हेर्दैनन् । अहिलेका डाक्टरहरूमा सेवा भावभन्दा आर्थिक आर्जन कसरी गर्न सकिन्छ भन्ने तर्फ मात्रै ध्यान गएको देखिन्छ ।’
बिरामीको त्यो दुखद अवसान
यति लामो समय सेवा दिने क्रममा एउटा डाक्टरको जीवनमा सुखद, दुखद घटना हुनु सामान्य नै हो । तर एउटा घटना जुन सम्झँदा उनलाई अहिले पनि दुख लाग्छ । आफ्नो डाक्टरी पेशाको सुरुवात वीर अस्पतालमा ३ जना मात्रै डाक्टरहरू थिए । त्यहाँ उनी मेडिकल अफिसर थिए ।
एक दिन ड्युटी सकेर किनमेलका लागि उनी न्यूरोड गएका थिए । त्यही बेलामा हाइड्रोशीलका बिरामी आएछन् । वीर अस्पतालका सुपरिटेन्डेन्ट डा.मजुमदार हाइड्रोशीलको अप्रेशन गर्थे । उनी नभएको बेलामा एक जना अर्का डाक्टरले अप्रेशन गर्न खोजेछन् । कम्पाउण्डरलाई बेहोस गराउने औषधी (इनेस्थेसिया) जुन सुँघाएर बिरामी बिस्तारै बेहोस पारियो ।
तर दुखको कुरा के भएछ भने एनेस्थेसीयाको डोज धेरै भएर बिरामी होसमै नआई मृत्यु भयो । उनी परोपकार संस्थाका सदस्य रहेछन् । त्यो घटनाले ठूलै रूप लियो । आफन्तहरूले आन्दोलनसम्म गरे । अप्रेशन गर्ने डाक्टर मातृकाप्रसाद कोइरालाका निजी डाक्टर भएर मात्रै घटनालाई मिलाइयो । उनको जागिर जोगियो ।
जवानीमा उपचार, बुढेसकालमा कृतज्ञता
टीबी त्यो बेलाको घातक र डरलाग्दो रोग थियो । धेरै बिरामीलाई निको पार्न सफल हुँदा चिकित्सक खुसी नहुने कुरै थिएनन् । तर एउटा विगतले भने दासलाई अझै रोमाञ्चित बनाउँदो रहेछ । एक दिन अस्पतालमा उनी ड्युटीमै थिए । बिरामी बस्ने लाइनमै एक जना कपाल फुलेको मान्छे बसिरहेका थिए । दासलाई देख्नासाथ उनले कृतज्ञतापूर्वक अभिवादन गरे । लाइनमा देखेपछि उनलाई लाग्यो- बिरामी हुनुपर्छ । तर तिनले आफू केही नभई आभार प्रकट गर्न आएको बताए ।
उनको भनाई थियो– ‘मलाई टीबी लागेको थियो । तपाईँको औषधीले निको भएर बाँच्न सफल भएँ । त्यसैले तपाईँलाई धन्यवाद दिन आएको हुँ ।’ जबकि ती बिरामीलाई उपचार गरेको २०/२५ वर्ष भइसकेको थियो । यस्तो बिरामी आफूले जीवनमा पहिलो पटक देखेको रमाइलो किस्सा उनले सुनाए ।
त्यस्तै अर्को खुसी उनलाई त्यस दिन भयो– जब महानगरले १ सय वर्ष पुगेको अवसरमा भव्य रूपमा सम्मान गरी शताब्दी दिव्य पुरुष घोषणा गर्यो । यसले उनलाई औधी खुसी प्राप्त भयो ।
शताब्दी पुरुषको लोभलाग्दो दैनिकी
आफ्नो दैनिकीलाई खासै विशेष नमान्ने उनको दैनिकी साँच्चै नै आम मानिसका लागि प्रेरणादायी छ । बिहान सबेरै उठेर उनी योगा गर्छन् । जसमा प्राणायाम र विभिन्न आसनहरू पर्छन् । त्यसपछि पत्रपत्रिकाहरू पढ्ने, धेरै साहित्यकार तथा लेखकहरूले माया गरेर उपहार स्वरूप दिएका पुस्तकहरू पढ्ने गर्छन् । यी सबै कर्म सकेपछि मात्रै बिहानको नास्ता गर्छन् ।
दिवा भोजन उनी १–२ बजे मात्रै गर्छन् । त्यसपछि आफैँले सञ्चालन गरेको बीपी आई फाउण्डेशन पुग्छन् । जहाँ आँखा, नाक, कान घाँटी, दाँतलगायत सम्पूर्ण रोगहरूको उपचार हुन्छ । उनी त्यहाँका अध्यक्ष हुन् । हरेक बुधबार मिटिङ हुने भएकाले अनिवार्य जानु पर्छ । त्यस्तै अरु थुप्रै संघ संस्थामा उनी सक्रिय रूपमा आबद्ध छन् । त्यसको काममा बाक्लै हिँड्नुपर्ने अवस्था छ । यी सबै कामबाट फुर्सद किताब पढ्ने र राती साढे ८/९ बजे रात्रि भोजनपछि ओछ्यानमा पुग्छन् ।
स्वस्थ जीवनको सूत्र : आहार, विहार र विचार
ब्रोङकाइटिस, घुँडा दुख्ने, दम, क्यान्सर लगायतका रोगहरू जसलाई क्रोनिक डिजिज भनिन्छ । यस्ता रोगहरू हाम्रो जीवनशैलीका कारण लाग्ने गर्दछन् । अहिलेका धेरै मानिस शारीरिक अभ्यास गर्दैनन् र तनाव धेरै हुन्छ ।
चिकित्सक दासकाअनुसार वायु प्रदूषण, जलवायु परिवर्तन, ध्वनि प्रदूषण लगायतको असर पनि हाम्रो स्वास्थ्यमा परिरहेको हुन्छ । त्यसैले जीवनशैली परिवर्तन जरुरी छ । जस्तै : शारीरिक र मानसिक अभ्यास अनिवार्य छ । त्यस्तै जाँड, रक्सी, चुरोट लगायतका कुनै पनि लागू पदार्थको कुलत छ भने त्यो छोड्नु पर्छ । खानामा एउटै मात्र कुरा नभएर भिटामिन, प्रोटिन, फाइबर भएको सन्तुलित आहार आवश्यक छ । धेरै तनाव लिनु हुँदैन । त्यसैले स्वस्थ जीवनका लागि आहार, बिहार र बिचार यी तीन महत्त्वपूर्ण मानिन्छ ।
अहिले हाम्रो समाजमा अपराध पनि धेरै बढेकोले नैतिक शिक्षाको कमी पनि देखिन्छ । विश्वव्यापी जलवायु परिवर्तनको चेतावनी अहिले बढिरहेको छ । सोही अनुरूप हाम्रो देशमा भएका हिमश्रृंङखलाहरु पग्लिरहेका छन् ।
वातावरणीय असन्तुलनको प्रभाव मानव स्वास्थ्यमा परिरहेको भन्दै उनी थप्छन्– नदीहरूमा पानीको मात्रा घटेको छ । जमिनमुनिबाट आउने पानी पहिले हामी सानो छँदा थोरै मात्र खन्दा आउँथ्यो । अहिले धेरै गहिरो खन्नु पर्छ । यस्ता धेरै कुराहरूमा परिवर्तन भइरहेको छ, जसको असर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हाम्रो स्वास्थ्यमा परिरहेको छ ।
अभिभावकले खोसे बालबालिकाको बचपन
अहिलेका अभिभावकले आफ्ना बालबालिकाको बचपन खोसेको उनी सुनाउँछन्-‘हाम्रो बेलामा बालबालिकाहरूले खेल्ने धेरै प्रकारका खेलहरू हुन्थे । अहिलेका बालबालिकाले त्यो खेल्ने समय नै पाउँदैनन् ।’ आफू ८ वर्षको हुँदा मात्रै विद्यालय गएको स्मरण गर्दै सामान्य कुराहरू घरमै सिकेर एकै पटक तीन कक्षामा भर्ना भएको हो । चाहेमा अहिलेका अभिभावक पनि त्यस्तो गर्न सक्छन् । तर अभिभावकसँग बालबालिकाको लागि समय नै छैन ।
२–३ वर्षको उमेरमै विद्यालय पढाउने नर्सरी केजी भन्दै झोलाभरि किताबको भारी बोकाउने, घरमा रहँदा मोबाइल मा भुलाउने गर्छन् ।
अहिले मोबाइलमा हेर्न नहुने अश्लील नराम्रो कुराहरू पनि उनीहरू हेर्छन् । सानै उमेरमा नराम्रो लतमा फसेर मानसिक रोगी बढिरहेका छन् ।
दिवंगत पत्नी आफ्नो जीवनको मेनेजर
स्वर्गवासी जीवनसंगिनी गंगादेवीलाई आफ्नो जीवनको म्यानेजरको रूपमा स्मरण गर्छन् । उनका हरेक कुराहरूमा साथ र सल्लाह दिने गर्थिन गंगादेवी । खाना पनि मिठो पकाउने । टोखामा बस्दा मेरा साथीहरू गणेशमान, नातिकाजी, सिद्धिचरण श्रेष्ठ मेरो कोठामा आइरहनुहुन्थ्यो । उहाँहरू आउँदा एकदमै सत्कार गर्ने गरेको बताए ।
सबै जनाले खाना पकाउने सीपको तारिफ गर्थे । २०/२५ वर्ष अगाडिको कुरा हो, उनको पित्तथैलीमा पत्थरी थियो । त्यसैको उपचारको क्रममा निधन भयो । नेपालका पहिलो ल्याप्रोस्कोपी सर्जन डा. महेश खकुरेल टिचिङ अस्पतालमा हुनुहुन्थ्यो । उहाँले अप्रेशन गर्नुभयो । अप्रेशन गर्दागर्दै अलि असहज भएको जस्तो भयो । उनलाई आइसीयुमा राखियो । अप्रेशन गरेको २–४ दिनमै उनको आइसीयुमै प्राण पखेरु उड्यो ।
प्रतिक्रिया