९६ गड्डीको बहस : भाउजूको कथा कसले लेख्‍ने ? | Khabarhub Khabarhub

साहित्य

९६ गड्डीको बहस : भाउजूको कथा कसले लेख्‍ने ?

यो देश कर्मचारीले बिगारेका हुन् कि नेताले ?


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 9 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचारकै कारण नेपालको विकास पछाडि परेको हो भन्ने विषयमा शायदै कसैको विमति होला । तर, किन बढिरहेको छ त भ्रष्टाचार ? भ्रष्टाचारको मुख्य स्रोत वा दोषी को हो ? राजनीतिक दलका नेता कि कर्मचारीतन्त्र ? निजी क्षेत्र र बिचौलियाहरु ? अथवा, सामाजिक परिवेश र जनताको समेत यसमा दोष छ ? यी प्रश्नको ठोस जवाफ भने अहिलेसम्म कसैले फेला पार्न सकेको छैन ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको तर्कलाई पत्याउने हो भने कवि र साहित्यकार कम भ्रष्ट हुन्छन् । कवि र उपन्यासकारले भ्रष्टाचार नगर्ने दाबी गर्दै उनी सरकारी कर्मचारी र दलका नेता–कार्यकर्तालाई समेत साहित्य लेख्न र पढ्न आग्रह गर्छन् ।

दुई साताअघि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘समकालीन नेपाली उपन्यासको स्वर र ९६ गड्डी उपन्यासमाथिको परिचर्चा कार्यक्रममा कुलपति राईले साहित्यकार कम भ्रष्ट हुन्छन् भन्ने दाबी नै गरे।

तर, उनले यसो भनिरहँदा ‘कालो सूर्य’ उपन्यास लेख्ने भरत जंगम सहकारी ठगीको मुद्दामा फसेर पक्राउ परेको धेरै भएको छैन । कतिपय गीतकारलाई समेत अख्तियारले सामातेको इतिहास छ । त्यसो त लोकमानसिंह कार्कीले त भागवत गीता नै लेखेका छन् ।

खैर, जे होस् । भ्रष्टाचार किन हुन्छ र यसको स्रोत के हो भन्नेमा सबैका आ–आफ्नै तर्कहरु छन् तर, ठोस जवाफ भने अहिलेसम्म कसैसँग छैन ।

तथापि, कुलपति भूपाल राईको तर्क सुनेर ‘९६ गड्डी’ उपन्यासमा प्रवेश गरौं । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कुलपति राईको तर्क यस्तो थियो–

साहित्यिक कर्मले मूलतः भ्रष्ट हुन दिँदैन । दुराचारी हुन दिँदैन । असल संस्कृति सिकाउँछ । यसको कारण के हो भने एउटा कविले समाजको विसंगति, कुरीति र विकृतिका बारेका शब्दहरु खिच्दा–खिच्दा उसको मस्तिष्कले सोचिरहनुपर्छ । यसरी सोच्दा–सोच्दा उसको त्यही (स्वच्छ) ढंगको मानसिकता निर्माण हुन्छ ।

तपाईहरु यसो विचार गर्नुहोस्, नेपालमा ठूला भ्रष्टाचारको सूचीमा विरलै वा अवपादबाहेक साहित्यकारहरु छैनन् । कारण के भने भ्रष्टाचारको विपक्षमा सोच्दा–सोच्दा ऊभित्र एउटा यस्तो चरित्रको निर्माण हुन्छ, ऊभित्रको त्यो चरित्रले उसलाई गलत काम गर्न दिँदैन ।’

यहाँ त राजनीति नै भ्रष्ट छ । त्यसैले राजनीतिक नेता–कार्यकर्ता सबैले उपन्यास लेख्नुपर्छ । उपन्यास लेख्न नसके पढ्नुपर्छ भन्ने लाग्छ मलाई । अनिमात्रै देश शुद्ध हुन्छ । भ्रष्टाचारमुक्त हुन्छ ।

अब प्राज्ञ राईको कुरा सुनिसकेपछि पूर्वकर्मचारी प्रकाश तिवारीको हालै प्रकाशित  ‘९६ गड्डी’ उपन्यासभित्र प्रवेश गरौं । यो उपन्यासमाथि बोल्ने क्रममा समालोचक अनिता कोइरालाले यस्तो टिप्पणी गरिन् ।

हामी सबै भ्रष्टाचारी रहेछौं

अनिता कोइराला, समालोचक


भ्रष्टाचारको विषयमा लेखिएको मैले पढेको यही (९६ गड्डी ) नै पहिलो उपन्यास हो । लेखक प्रकाश तिवारी भन्नुहुन्छ– ९६ गड्डी भनेको सदाचार, नैतिकता आदर्शबाट विमुख हुँदै गएको हाम्रो राजनीतिक व्यवस्था र त्यस मातहतको कर्मचारीतन्त्रभित्रको कथा र व्यथा हो ।

राम्रो वातावरणबाट उठेको एउटा सिद्धान्तनिष्ट पात्रको कथाको वरिपरि घुमेको छ ९६ गड्डी । जो विज्ञान पात्र छ, ऊ प्रकृतिको सानिध्यमा छ । पवित्र छ । जब ऊ कंक्रिटको शहरमा आउँछ र निजामतिभित्र प्रवेश गर्छ, त्यहाँभित्रको दलदलमा उसलाई जाकिन्छ र ऊ भ्रटाचारको दलदलमा फस्दै जान्छ ।

त्यहाँ (कर्मचारीतन्त्र) भित्र कस्ता–कस्ता कुकृति र षड्यन्त्रहरु हुँदारहेछन् भन्ने कुरालाई लेखकले प्याजको पत्र कोट्याएजसरी प्रत्येक घटना, पात्र र सम्वादहरुद्वारा स्पष्ट पार्नुभएको छ ।
यसभित्रका नारी पात्रहरुको चर्चा गर्दा कुमुदा भन्ने एकजना पात्र छिन् । यी पात्रको विचार उच्च, पवित्र र निष्टावान् छ ।

०४६ सालको आन्दोलनभन्दा अगाडिबाट यी उपन्यासका पात्रहरुले देशमा सुशासन कायम गर्ने भनेर जुन उद्देश्य लिएर हिँडेका हुन्छन्, कसरी उनीहरु सिद्धान्तमा पतीत हुँदै जान्छन् र आफ्नो विचारधरातलबाट विश्रृंखलित हुन्छन् भन्ने कथालाई ९६ गड्डीमा मज्जाले देखाइएको छ ।

म सोच्थें, म पनि कुनै दिन निजामति सेवाको कर्मचारी हुँला । त्यो सोचेर म पनि स्टाफ कलेजमा पढ्न गएकी थिएँ । मलाई सबैभन्दा राम्रो लागेको विषय थियो-सुशासन ।

लाग्थ्यो, यत्रो पढेर, यति दुःख गरेर निजामति सेवामा गइसकेपछि त मान्छे कति निष्ठावान् होलान् भन्ने लाग्थ्यो । यत्रा–यत्रा कानुनका ठेली, नीति नियम र सुशासन घोकेर गएका मान्छेहरुबाट त गलत काम हुँदैन भन्ने सोच्थें ।

अहिले सबैभन्दा बढी विचार–विमर्श भएको विषय भ्रष्टाचार हो । सदनदेखि सडकसम्म, श्राद्धको माहौलदेखि सिनेमा हलसम्म भ्रष्टाचारकै विषयमा हामी कुरा गर्छौं । गर्न हुने र नहुने कुराहरु हामी सबैलाई थाहा छ । तर, पनि किन हुँदैछ भ्रष्टाचार ? कसले गर्दैछ ?

भ्रष्टाचार गर्ने मान्छे दाह्रा–साह्रा निस्केको, अर्कैखालको हुन्थ्यो कि जस्तो लाग्थ्यो मलाई ।

अर्को पनि प्रश्न उठ्थ्यो, के भ्रष्टाचार गरीबीका कारणले हुन्छ ? वा तलब कम भएर भ्रष्टाचार भएको हो ? अथवा के हो ? के कारणले भ्रष्टाचार हुन्छ भन्ने मेरो मनमा पहिल्यैदेखि प्रश्न उठ्थ्यो ।
विस्तारै बुझ्दै जाँदा म यहाँ कबीर दासको एउटा वाणी भन्न चाहन्छु–

पोथी पढ़ि पढ़ि जग मुआ, पंडित भया न कोय
ढाई आखर प्रेम का, पढ़े सो पंडित होय।

जब ठेलीका ठेली पुस्तक पढेर गएका हामी यति प्रवुद्ध मान्छेहरुबाट यो खालको कुकृत्य हुन्छ । अनविज्ञ को ? अज्ञानी को ? जान्ने त हामी सबैजना छौं । कबीरदासले भनेजस्तै जति किताव पढे पनि हुँदैन । यो त आफ्नो व्यवहारमा आफ्नो सुदृढीकरण त आफैंले गर्नुपर्ने रहेछ भन्ने मलाई विचार आयो ।

९६ गड्डीको विज्ञान हामी सबै हो । विज्ञानलाई कर्मचारीतन्त्रभित्र कसरी हनीट्रयापमा पारेजसरी ट्रयापमा पारिन्छ र भ्रष्टाचार गर्न उसलाई विवश गराइन्छ ? सदाचार लिएर हिँडेको नैतिकवान् पात्रलाई किन बाँच्न दिँदैन हाम्रो समाजले ? यो प्रश्न मभित्र उठिरहेको थियो ।

मैले भर्खरै हाङ काङको किताब पढें– ‘द भेजिटेरियन’ । भेजिटेरियन पढेपछि म ७–८ दिन रन्थनिएँ । मैले सोचेकी थिएँ, के हाङ काङले माछा मासु खाने र नखानेवीचको कथा लेखिन् त ? आखिर भेजिटेरियन एउटा विचार पनि त हो नि । सात्विक विचार भेजिटेरियन होइन र ? यस्तो तामसी विचारले ओतप्रोत भएको समाजमा एउटा भेजिटेरियन विचारलाई कसरी स्खलित गरिन्छ । कसरी त्यसलाई मारिन्छ वा तामसी हुन बाध्य पारिन्छ ? वा कसरी विकट ठाउँमा पुर्‍याइन्छ ?

लोकसेवा पढेर आएका विद्वानहरुले देश सञ्चालन गरेका होलान् भनेको त उनीहरुका सहयोगी हातहरु त तस्कर पो रहेछन् । त्यस्ता मान्छेलाई ढाडमा बोक्नुपर्दोरहेछ । खल्तीमा हाल्नुपर्दोरहेछ । कठैबरी ! अनि भ्रष्टाचार नगरेर के गरुन् त तिनले ?  

जो निजामति कर्मचारी छ, उसको सात्विक विचार छ, उसलाई यसरी बाध्य पारिन्छ कि या त उसले भ्रष्ट हुनुपर्छ, या त बहुलाउनुपर्छ । या त उसलाई भ्रष्टाचार हुने ठाउँमा उसलाई काम गर्न दिइँदैन । हाङ काङले पनि यस्तै देखाएकी छिन् भेजिटेरियनमा । मासु नखाने एउटी महिलालाई कसरी उसकै परिवारले एउटा मानसिक अस्पतालमा पुर्‍याउँछ ।

मैले यसलाई तुलना गरेर हेरें । प्रकाश तिवारीले लेख्नुभएको ९६ गड्डीको पात्र विज्ञान पनि त आखिरी भेजिटेरियन नै त थियो । उसलाई तमस विचार भएको समाजले गर्दा ऊ तामसी बन्न बाध्य भयो ।

तर, लेखकले पछि आश कसरी देखाउनुभएको छ भने आखिर सात्विक विचार त मर्दैन रहेछ नि । कुमुदाको विचारलाई लिएर हिँडेको विज्ञान अन्तिममा भ्रष्टाचारको चरम चुलीमा पुगेका पनि उसको सात्विक विचार बीज भएको देखाइएको छ ।

त्यस्तै, नारी पात्रलाई उहाँले सशक्त रुपमा देखाइदिनुभएको छ । सामना यस्तो पात्र छे, जो जंगलमा बाघसँग लड्छे । एउटा मात्र होइन, तीनवटा बाघसँग लड्ने नारी पात्र खडा गर्नुभएको छ । ती नारी पात्र देशको मुहार फेर्नलाई काठमाडौं आएकी । ऊ विज्ञानकी श्रीमती हुन्छे । पछि यो जंगलभित्र यति धेरै बाघहरु छन्, उसले कोकोसँग लडोस् ?

नाटकीयरुपमा सीआइडीको स्टायलमा लड्छे । त्यहाँ अर्की नारी चरित्रलाई प्रयोग गरिएको छ, सुशीला । त्यसको सत्यतथ्य पत्ता लगाउन सामनाले नाटक गर्छे । वास्तवमा हाम्रो जीवन पनि नाटकै त रहेछ ।
आखिर भ्रष्टाचार किन हुन्छ ? सामान्य शिक्षकको जागिर खाने मान्छेले पनि छोराछोरी त पढाइरहेको छ नि । यो भ्रष्टाचार गर्ने मान्छेले त चामलको गेडाको साटो हजार–हजारको पैसै खान्छन् कि क्या हो भन्ने सोच्थें म । प्रकाश तिवारीले लेख्नुभएको छ, भ्रष्टहरु जाने ठाउँ कहाँ–कहाँ हो ? कस्तो–कस्तो ठाउँमा खर्च गर्नुपर्दोरहेछ त ।

असोज १६ गते कृष्ण धराबासीको अर्धकट्टी र प्रकाश तिवारीको ९६ गड्डी एकसाथ विमोचन भएका कृति हुन्

हामीले सोचेको, लोकसेवा पढेर आएका विद्वानहरुले देश सञ्चालन गरेका होलान् भनेको त उनीहरुका सहयोगी हातहरु त तस्कर पो रहेछन् । त्यस्ता मान्छेलाई ढाडमा बोक्नुपर्दोरहेछ । खल्तीमा हाल्नुपर्दोरहेछ । कठैबरी ! अनि भ्रष्टाचार नगरेर के गरुन् त तिनले ? तिनीहरु त आफ्नो तालले हिँडेकै होइन रहेछन् भन्ने कुरो यहाँ आएको छ ।

आफ्नो श्रीमान निर्दोष छ भनेर प्रमाणित गर्नका लागि भ्रष्टहरु जाने ठाउँ त त्यही ठमेलको बार रहेछ । त्यो ठमेलमा एउटा व्यापारीले भनेको छ– सामना लर्तरी मान्छे होइन, यो त चट्टान हो । यहाँनेर लेखकले नारी पात्रलाई न्याय गरेको मलाई खुब मन पर्‍यो ।

यहाँ अर्की आराधना भन्ने पात्र छे । ऊ परिस्थितिको कोलमा पोलिएर आफ्नो पेटको सारंगीका लागि देह व्यापारमा संलग्न भएकी हुन्छे । त्यहाँ, देशका सुकिलाहरु जाने ठाउँ ठमेल हो, त्यो पात्र (आराधना) ले भन्छे– उनीहरु रातभर मैसँग बस्छन् तर भोलिपल्ट मलाई बेश्या भन्छन् ।

एउटा दलालले भन्छ– आराधना तिमी पिर नगर । शरीर बेच्ने भन्दा डरलाग्दा नीति बेच्ने बेश्याहरु छन् यहाँ । म पनि त्यही स्वरुपको एउटा बेश्या हुँ ।

मलाई गर्व लाग्यो । राष्ट्रसेवकको बर्दी नलगाए पनि आराधनाजस्ता पात्रहरुले राष्ट्रसेवा गरेका रहेछन् । बारहरुमा गिटी बुट्नेहरु जाँदैनन् । त्यहाँ सुकिला–मुकिला, सुटेड–बुटेडहरु जान्छन् । प्रशासन पढेर सुशासन घोकेका मान्छेहरु त्यहाँ गएका छन् । त्यसैले, यो उपन्यासले कसरी हुन्छ भ्रष्टाचार भनेर देखाएको छ । आखिर को हो त भ्रष्टाचारी ? हामी सबै भ्रष्टाचारी रहेछौं ।

अब ९६ गड्डी उपन्यासका लेखक प्रकाश तिवारीको कुरा सुनौं–

दाजुलाई भ्रष्ट बनाउने भाउजूको कथा कसले लेख्ने त ?

प्रकाश तिवारी, उपन्यासकार

प्रज्ञा प्रतिष्ठानका सदस्इसचिव एवं समालोचक धनप्रसाद सुवेदीजीले भन्नुभयो, आलोचनात्मक यथार्थवाद र विकृति विसंगतिको उदघाटन नै आजको समकालीन नेपाली उपन्यासको स्वर हो । आजको नेपाली उपन्यासको स्वर भनेको आलोचनात्मक चेतका साथ लेख्ने हो ।

रोलाँ बार्थले भनेका छन्, एउटा कृति निस्किसकेपछि लेखकतिर नफर्किइकन कृतितिर मात्रै फर्कनुपर्छ । कृतितर्फ मात्रै फर्केर त्यसको मूल्यांकन र टीकाटिप्पणी गरिनुपर्छ ।

मैले ९६ गड्डीमा भ्रष्टाचारको विषयमा नेपाली समाज, नेपाली राजनीति र कर्मचारीतन्त्रमा हुने गरेको विकृति–विसंगतिको कथा लेखेको छु । यो उपन्यास यही विषयसित सम्बन्धित छ ।

मैले यसअघि परित्यक्त, निलोफर र निहारिका उपन्यास लेखिसकेको थिएँ । त्यतिबेला म जागिरमा थिएँ । अब चौथो उपन्यास के लेख्ने त भनेर सोचें । यो नेपाली कर्मचारीतन्त्र र राजनीतिमा भएका विकृति, विसंगति र भ्रष्टाचारको विषयलाई विषयवस्तु बनाएर एउटा उपन्यास किन नलेख्ने त भन्ने कुरा दिमागमा आयो । र, मैले त्यसलाई एउटा विषयवस्तु बनाएर यो उपन्यास लेखें ।

इमान्दार, कर्तव्यनिष्ठ अनि परिवर्तनगामी भनिएका मान्छेहरु जो कालान्तरमा भ्रष्ट बन्न पुगे ? तिनीहरुको कथा हो– ९६ गड्डी उपन्यासको मूल सार  

यो उपन्यासमा के छ त भनेर छोटोमा भन्नुपर्दाखेरि इमान्दार र कर्तव्यनिष्ठ अनि परिवर्तनगामी भनिएका मान्छेहरु जो कालान्तरमा भ्रष्ट भन्न पुगे । तिनीहरुको कथा हो– ९६ गड्डी । एउटा वाक्यमा भन्दाखेरि यही नै हो उपन्यासको मूल सार ।

भ्रष्टाचार कसरी हुन्छ ? भ्रष्टाचारको कारण के हो ? भ्रष्टाचारलाई प्रेरित गर्ने तत्वहरु के–के हुन् ? भ्रष्टहरु जाने ठाउँ कहाँ–कहाँ हो ?

यहाँ उपन्यासभित्र नाटकीकरण गरियो भन्ने कुरा पनि आएको छ । ठमेलको नाइट क्लबमा कसरी लाने त नि त्यो पात्रलाई ? नाटकीकरण बेगर त त्यहाँ लान सकिँदैन होला नि त । सीधै कसरी देखाउनुहुन्छ त तपाईले ? ठमेलको नाइट क्लबमा पैसाको ब्रिफकेस बोकेर ऐस आरम गर्न जानेहरुलाई के आधारमा देखाउने त ? एउटा लेखकले कसरी देखाउने ? त्यसकारण नाटकीकरणको जवाफ त मैले दिनैपर्छ भन्ने लाग्छ ।

यही हिसाबले मैले नेपालका नामूद भन्दा नामूद भ्रष्टहरुलाई ठमेलको नाइट क्लबमा देखाएको हुँ । त्यहाँ त गिट्टी कुट्ने र भारी बोक्नेहरु जाने ठाउँ नै होइन । मैले उपन्यासमा प्रष्टसँग लेखेको छु, नामूद भ्रष्टहरु जाने ठाउँ कहाँ हो ? भ्रष्टाचार गरेको पैसा छर्ने र बिसाउने ठाउँ कहाँ हो ? ठमेलको नाइट क्लब । हाम्रा भ्रष्टहरु जाने त्यस्तैमा होइन र ? त्यसको तस्बिर देखाउनलाई त नाटकीरकणको जरुरी छ । यो उपन्यासमा मैले त्यही देखाएको हो ।

हाम्रो समाजमा भाउजूहरुको कथा पनि त लेख्नुपर्‍यो नि त । दाइको आडमा भ्रष्टाचार गर्ने भाउजूहरुको कथा लेख्ने कि नलेख्ने ? बालाई भ्रष्ट बनाउने आमाहरुको कथा लेख्ने कि नलेख्ने ? ९६ गड्डीका लेखकले लेखेको यही हो   

मूलतः यो उपन्यासमा नेपाली प्रवृत्ति पनि देखाइएको छ । भ्रष्टाचारका लागि व्यक्तिलाई मात्रै, कर्मचारीलाई मात्रै दोष दिने कि ? समाजका अन्य विविध पक्षहरु छन्, जस्तो–साथी संगत । राजनीति । समाज । परिवार । व्यक्तिमात्रै जिम्मेवार हो कि यी फ्याक्टरहरु पनि त्यत्तिकै जिम्मेवार छन् ? यी फ्याक्टरहरुले गर्दा एउटा व्यक्ति कसरी भ्रष्ट बन्छ भन्ने त्यहाँ देखाएको छु ।

एकजना विज्ञान आचार्य (कर्मचारी) डेरामा बस्ने मान्छे, पछि करोडौंको मालिक बन्छ । त्यसपछि मर्सिडिज कारमा श्रीमान–श्रीमती दशैंमा गाउँ जान्छन् । ऊ सहसचिव हुन्छ, उसको दाइ सचिव ।

दुबैजना दशैंको टीको लगाउन माथ्लाघरे हजुरबा कहाँ जाँदाखेरि ९० वर्षीय हजुरबाले परम्परा अनुसार जो जेठको छ, उसलाई पहिले टीका लगाउनुपर्नेमा विज्ञानलाई तँ बस् तँलाई पहिले टीको लगाइदिन्छु भन्छन् । किनभने, विज्ञानले पैसाको धेरै रवाफ देखायो । धेरै पैसा कमायो । गाउँमा जाँदा उसले वृद्धदेखि केटाकेटीसम्मलाई पूरा कसेली पात बाँड्छ । सारी–चोलो बाँड्छ । घोर्ले खसी काट्छ । हाम्रो समाज यस्तो छ । पैसा हुने र नहुनेको बीचमा हाम्रो दृष्टिकोण नै फरक छ । यो कुरा उपन्यासमा देखाइएको छ ।

यहाँ सामना भन्ने पात्र र नारावादी दृष्टिकोणको कुरा पनि आयो । नारावादी दृष्टि भनेर हामीले सत्य लेख्ने कि नलेख्ने त ? यो उपन्यासमा तीनजना नारीहरुको कुरा छ । सामनाको मात्रै कुरा गर्‍यो भने त्यस्तो देखिन सक्छ, म यसमा सहमत छु । तर, यसमा कुमुदा र आराधना पनि छन् ।

आराधना यस्ती पात्र हो, जसका बुबा क्यान्सरका बिरामी हुन्छन् र बितेका हुन्छन् । उपचार गर्दाखेरि १० लाख रुपैयाँ ऋण लागेको र तिर्ने उपाय केही नभएका कारणले ऊ देहव्यापार गर्नुपर्ने स्थितिमा आइपुग्छे । र, ऊ एउटा राजनीतिक चेत भएकी मान्छे हो । ऊ त्यहाँ देह व्यापारस्थलमा बसेर देशका भ्रष्टहरुको एक–एक सूचना राज्यलाई दिन्छे । भ्रष्टहरु जाने ठाउँ त त्यही हो । यस्ता पात्र पनि छन् उपन्यासमा ।

कुमुदा भनेको त ०४६ सालको आन्दोलनमा बितेकी । नयाँ नेपालकी आदर्श । समाजवाद, साम्यवाद जे–जे भए पनि त्यसको आदर्शको समग्र पक्ष हो कुमुदा भनेको । यी पात्र पनि त्यहीँ छन् ।

सामनाकै कुरा गरौं न त । हाम्रो समाजमा भाउजूहरुको कथा पनि त लेख्नुपर्‍यो नि त । दाइको आडमा भ्रष्टाचार गर्ने भाउजूहरुको कथा लेख्ने कि नलेख्ने ? बालाई भ्रष्ट बनाउने आमाहरुको कथा लेख्ने कि नलेख्ने ? त्यो त लेखनुपर्‍यो नि त । भएको कुरो त लेख्नुपर्‍यो नि । ९६ गड्डीका लेखकले लेखेको यही हो । यहाँ राम्रा नारी पात्रहरुको कुरा पनि छ । गलत नारी पात्रहरुको कुरा पनि छ ।

अन्त्यमा, म के भनेर आफ्नो कुरो टुंग्याउन चाहन्छु भने हामी साहित्यकार/लेखकहरु गरीब छौं । साहित्य लेखेर विदेशतिर चाहिँ करोडौं कमाएको सुनिन्छ, नेपालमा शायद त्यस्तो छैन । हामी साहित्यकारहर भनेका गरीब, शोषित, पीडित पात्रहरु रहेछौं । मन फुकाएर खर्च गर्ने सामथ्र्य नभएका पात्रका रुपमा विकसित भइरहेका छौं हामी साहित्यकारहरु । भन्दाखेरि त हामी देशभरि ४–५ हजार साहित्य लेख्ने मान्छेहरु हौंला । तर, हामी साहित्यकार भनेका गरिब प्राणी हौं । गरीब जीव हो भन्छु म ।

त्यसो भएको हुनाले हामीले के गरौं त भन्ने प्रस्ताव राख्न चाहन्छु भने अरुले लेखेका किताबहरु किनेर पढिदिने गरौं । नेपालमा भएका दुई÷चार हजार साहित्यकारले एउटा कृति किन्ने बानी बसाल्यौं भने पठन संस्कृतिको पनि विकास हुन्छ ।

त्यसैले, आफ्नाले आफ्नालाई माया गरौं । साहित्यकारले साहित्यकारलाई माया नगर्ने हो भने अरु कसले माया गर्छ ?

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ८ : ३० बजे

दुर्घटनामा एक जनाको मृत्यु

बनियानी – झापाको झापा गाउँपालिकामा आज बेलुका ट्याक्टरबाट खस्दा एक

परराष्ट्रमन्त्रीसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा

नेपाल सुपर लिग : ललितपुर सिटीको पहिलो जित

काठमाडौं – ललितपुर सिटी एफसीले नेपाल सुपर लिग ९एनएसएल० फुटबल

आईपीएल : आरसिबीले गुजरातलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा अर्न्तगत जारी खेलमा रोयल

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप