जनता बाढीमा डुबेपछि शिक्षामन्त्रीलाई बिदा घोषणा गर्ने हतारो | Khabarhub Khabarhub

अकर्मण्य शासक

जनता बाढीमा डुबेपछि शिक्षामन्त्रीलाई बिदा घोषणा गर्ने हतारो


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबारदेखि परेको अविरल वर्षाले शनिबार सबै रेकर्ड तोड्दै देशभर कहर मच्चाइरहेको थियो । बाढी र पहिरोले कतै बस्ती नै बगाएको थियो, कतै राजमार्गमा यात्रुसहितका गाडी पहिरोमा पुरिएका थिए, संघीय राजधानी काठमाडौंमै कम्तिमा ३७ जनाको ज्यान गयो ।

मध्याह्नसम्म देशभर हालत कहालीलाग्दो बन्दै गर्दा सरकारका मन्त्रीहरू केही नभएजस्तो गरी शनिबारीय छुट्टी मनाइरहेका थिए । जब बेलुकीपख वर्षा थामियो – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चाहिँ अनौठो हतारो देखाइन् ।

पत्रकारहरूलाई मन्त्रालयका गतिविधि जानकारी दिन खोलिएको ह्वाट्सएप ग्रुपमा उनको सचिवालयले बेलुकी ८ बजेर सात मिनेट जाँदा एउटा विज्ञप्ति पठायो । सो विज्ञप्तिमा मन्त्रालयका सहसचिव एवम्‌ प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईको हस्ताक्षर छ ।

विज्ञप्तिमा मन्त्रालयले विश्वविद्यालय, परिषद्‌ लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगत गर्न र देशभरका सबै विद्यालय तीन दिनका लागि बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको जनायो ।

नेकपा (एमाले)की नेतृ, सांसद्‌ एवम्‌ मन्त्री भट्टराईले हाँकिरहेको मन्त्रालयले विद्यालय बन्द गर्ने उर्दी लगाउँदै विज्ञप्ति जारी गर्दासम्म हुनुसम्म क्षति भइसकेको थियो । बाढीपहिरो चल्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ विद्यार्थीको ज्यान गइसकेको थियो । सयौं स्कुले बालबालिका अभिभावकसहित डुबानमा परेका थिए । दर्जनौं मानिस अझैसम्म बेपत्ता छन्‌ ।

वितण्डा मच्चाउनेगरी परिरहेको झरी पनि दिउँसोदेखि रोकिन थालेको थियो । जल तथा मौसम विज्ञान विभागले केही दिनलाई वर्षा टरेको जानकारी गराइसकेको थियो ।

तर, कार्यशैलीकै कारण हालसम्म खासै विवादमा नपरेकी शिक्षामन्त्री भट्टराईले यत्तिका क्षति भइसकेर वर्षा थामिएपछि ‘मरेपछि हरियो काँक्रो’ आहान सम्झाउनेगरी सो विज्ञप्ति जारी गर्न लगाएकी थिइन्‌ ।

मौसम पूर्वानुमान हुँदा मौनता

मौसम पूर्वानुमान महाशाखाले असोज १० गते बिहीबार साताव्यापी मौसम पूर्वानुमान बुलेटिन जारी गरेको थियो । सो बुलेटिनमा असोज ११ गते शुक्रबारदेखि २०८१ असोज १७ गते बिहीबारसम्म देशमा वर्षा/हिमपात, बदली, तापक्रम र मौसम प्रणालीबारे प्रक्षेपण गरिएको थियो ।

त्यसअघिको बुलेटिनमा पनि बुधबारदेखि नै मौसम बदली भई मध्यमदेखि भारी वर्षा हुने उल्लेख थियो । बुधबार पछि पनि महाशाखाले तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै भारी वर्षा हुने हुनाले सतर्कता अपनाउन समेत सुझाएको थियो ।

मौसम पूर्वानुमान विभाग नेपाल सरकारकै उर्जाजलस्रोततथा सिंचाइ मन्त्रालय मातहतको हो । देशभर बाढी पहिरोले धनजनमा क्षति गरेपछि विज्ञप्तिबाजी गरेकी भट्टराई नेपाल सरकारकै मन्त्री हुन्‌ ।

‘बुधबारबाट भारी वर्षा हुने प्रक्षेपण भएकै थियो, मौसम पूर्वानुमान प्रणाली पछिल्लो समय सटिक बनिरहेको छ, मन्त्रीजी शैक्षिक गतिविधि र विद्यार्थीको भविष्यप्रति चिन्तित हुनुहुन्थ्यो भने बुधबार नै आवश्यक निर्णय गर्नुपर्थ्यो,’ मन्त्रालयका एक सहसचिवले भने, ‘हामीले आग्रह पनि गरेका थियौँ, कुरा पुगेन या उहाँले बुझ्नुभएन कुन्नि ! मौसमले ताण्डव मच्चाएपछि बेमौसममा विद्यालय छुट्टीको निर्देशन दिनुभयो ।’

बन्द भएनन्‌ विद्यालय

विभागीय मन्त्रालयले विद्यालय बन्द र सबै परीक्षा स्थगित गरी उद्धार तथा राहतमा जुट्न अपिल गरे पनि त्यसो भएको छैन ।

शनिबार बेलुकी वर्षा थामिएसँगै आकाशबाट बादल हटी शनिबार बिहानैदेखि घाम लाग्यो । सबैभन्दा बढी क्षति पुगेको काठमाडौंमा बाढी पसेका बाहेक अधिकांश विद्यालय खुलेका छन्‌ । सामुदायिक विद्यालयहरूमा पनि नियमित पठनपाठन भइरहेको छ ।

यतिखेर विद्यालयहरूले विद्यार्थीहरूको आन्तरिक परीक्षा पनि लिइरहेका छन्‌ । त्रिभुवन विद्यालयले पनि परीक्षा मिति निर्धारण गरेको थियो । परीक्षा दिन केन्द्रतर्फ हिँडेका विद्यार्थीहरू बाढीपहिरोका कारण बाटैमा रोकिएपछि हाललाई स्थगित भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान खोजेका प्रशिक्षार्थी कामदारहरूको मेडिकल चेकजाँच भइरहेको छ । तर, बाढीपहिरोका कारण सडक र हवाईमार्ग अवरुद्ध हुँदा सयौँ युवाहरू यो चेकजाँचबाट पनि छुटेका छन्‌ ।

आइतबार टेकु अस्पतालमा मेडिकल परीक्षाका लागि लाइन लागेका युवा

‘शिक्षा मन्त्रालयले मौसम पूर्वानुमान मध्यनजर गर्दै बेलैमा परीक्षा स्थगत र श्रमले ईपीएस शाखालाई मेडिकल चेकजाँच प्रक्रिया रोक्न निर्देशन दिएका भए धेरै राहत हुन्थ्यो,’ मन्त्रालयका अर्का एक कर्मचारीले भने, ‘बेलैमा सूचना जारी नगर्दा परीक्षा दिन हिँडेका कति विद्यार्थी बाढीपहिरोमा परे होलान्‌, हाम्रै कार्यशैलीले उनीहरूको जीवन बर्बाद भयो, हुनेहार भएपछि हामी विज्ञप्ति जारी गर्नेतिर लाग्यौँ ।’

‘आकस्मिक बैठकको निर्णयअनुसार हो’ – मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने कार्यवाहक प्रधानमन्त्री प्रकाशशमान सिंहको अध्यक्षतामा बसेको विपद्‌ व्यवस्थापनसम्बन्धी आकस्मिक बैठकले गरेको निर्णयअनुसार परीक्षा र विद्यालय सञ्‍चालन रोक्न (बन्द गर्न) अनुरोध भएको जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ –

‘उक्त बैठकले हाललाई विश्वविद्यालय, परिषद्‌ लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगत गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्‍चालन गर्न अनुरोधसमेत गरेको हुँदा सो बमोजिम गर्नुहुन अनुरोध छ । विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ ।’

यो पनि-

नागरिकले ज्यान बचाउन गुहार मागिरहँदा माला थाप्न ब्यस्त थिए कार्यवाहक प्रधानमन्त्री

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ३ : २० बजे

सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो प्रभावितको खोज तथा उद्धार प्राथमिकता

काठमाडौं– सर्वदलीय बैठकले बाढीपहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा

बाढीपहिरोबाट कोशी प्रदेशमा मात्रै १५ जनाको मृत्यु

विराटनगर– गएको तीन दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढी,

रास्वपाले राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको पहिलो महाधिवेशन

बाढीपहिरोका कारण चीनतर्फका दुवै नाका बन्द, दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या

काठमाडौं- दशैं नजिकिँदै गर्दा चीनतर्फबाट सामग्री आयात गर्ने मुख्य तातोपानी नाका

 माओवादी केन्द्रको एसिया संगठन समितिद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौं– नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि