माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ? | Khabarhub Khabarhub

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

माङसेबुङबाट कांग्रेस तेस्रोमा झर्ने पहिचान पक्षधरको आकलन


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी छ । सोमबार बिहानसम्म फाकफोकथुम र चुलाचुली गाउँपालिकाको मतगणना सकिएको छ । सोमबार बिहानैदेखि माङसेबुङ गाउँपालिकाको मतगणना भइरहेको छ । यो पालिका झनै रोचक प्रतिस्पर्धा हुने ठाउँ हो ।

फाकफोकथुम र चुलाचुलीको गणनाबाट एमाले पहिलो, कांग्रेस दोस्रो, पहिचान पक्षधर मुढा तेस्रो र रास्वपाको घण्टी चौथो स्थानमा देखिएका छन् ।

तर, माङसेबुङ यस्तो ठाउँ हो, जसले कांग्रेसलाई तेस्रो र मुढालाई दोस्रो बनायो भने अचम्म नमान्दा हुन्छ ।

फाकफोकथुम गाउँपालिकाबाट एक हजार मत नकटाएका पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमले चुलाचुलीमा आइपुगेपछि आफ्नो मत ह्वात्तै बढाएका छन् । अब उनको यो बढोत्तरी माङसेबुङमा अझ माथि जाने छ । किनभने, किरात धार्मिक स्थलसमेत रहेको माङसेबुङ पहिचानवादीहरुको गढ मानिन्छ । तर, यहाँ एमाले पनि निकै बलियो छ । बरु, माङसेबुङमा कांग्रेस कमजोर छ ।

मुढाले अब एमाले उम्मेदवार सुहाङलाई भेट्टाउन गाह्रो पर्ने देखिए पनि माङसेबुङ गाउँपालिकाको गणना सकिँदा कांग्रेस उम्मेदवार डम्बर खड्कालाई उछिनेर पहिचानवादी दोस्रो स्थानमा उक्लन सक्ने केही आधारहरु पनि छन् ।

यो पनि-

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

के माङसेबुङको मतगणना सकिँदा कांग्रेस तेस्रोमा झर्ने र पहिचानवादी दोस्रो स्थानमा उक्लने स्थिति आउला ? विगतको तथ्यांक हेरौं–

माङसेबुङमा ६ वटा वडा छन् । १२ हजार मतदाता रहे पनि गत स्थानीय चुनावमा यहाँबाट ८ हजार ३०७ मत मात्र खसेको थियो । यो उपचुनावमा पनि लगभग ८ हजारकै हाराहारीमा मत खसेको छ ।

स्थानीय चुनावमा माङसेबुङको ८ हजार मत तीनवटा दलले बाँडेका थिए । एमालेका हेमन्त राईले पालिका अध्यक्ष जित्दा ३८१८ मत पाएका थिए । दोस्रो भएको कांग्रेसले ३४९५ मत पाएको थियो । उपाध्यक्ष जितेको जसपाले कांग्रेसको भन्दा बढी ३७२९ मत पाएको थियो । उपाध्यक्षमा यहाँ जसपाले एमालेलाई हराएको थियो ।

पालिकामा बलियो उपस्थिति रहेको जसपाले उपचुनावमा पहिचानवादी डकेन्द्रलाई सघाएको छ । यो पालिकामा एउटा वडाध्यक्ष जितेको राष्ट्रिय जनमुक्ति पार्टीले पनि डकेन्द्रलाई सघाएको छ । यसले गर्दा माङसेबुङमा एमाले र पहिचानवादीवीचमै प्रतिस्पर्धा हुने देखिन्छ ।

त्यसो त माङसेबुङमा पालिका अध्यक्ष जितेको नेकपा एमालेलाई पनि कमजोर आँक्न मिल्दैन । ६ वटा वडामध्ये एमालेले चारवटा वडा जितेको छ । जबकि कांग्रेसले एउटा पनि वडाध्यक्ष जितेको छैन । बरु राष्ट्रिय जनमुक्तिले एउटा र माओवादीले एउटा वडा जितेका छन् ।

माओवादीले एमालेलाई सघाएको अवस्थामा पाँचवटा वडाको बहुमत सुहाङको पक्षमा खस्नुपर्ने हो । तर, माओवादीको भोट कति ट्रान्सफर भयो, त्यो हेर्न बाँकी छ ।

पहिचान पक्षधरहरुले भने माङसेबुङमा मुढा पहिलो हुने दाबी गरेका छन् । यहाँको मत गणना सकिँदा कांग्रेस तेस्रो स्थानमा झर्न सक्ने पहिचानवादीको अनुमान छ ।

माङसेबुङको वडा नम्बर १ र २ गत चुनावमा एमालेले जितेका वडाहरु हुन् । त्यसैगरी वडा नम्बर ४ र ६ पनि एमालेले नै जितेका वडा हुन् । वडा नम्बर ३ माओवादीले जितेको ठाउँ हो भने जनमुक्ति पार्टीले जितेको वडा नम्बर ५ पहिचानवादीको गढ हो ।

पालिकाको स्थानीय निर्वाचनको नतिजालाई आधार मान्दा माङसेबुङमा एमाले पहिलो, जसपा दोस्रो र कांग्रेस तेस्रो देखिएका थिए । जसपा र एमालेको मतान्तर ८९ मात्र थियो । जबकि यहाँ जनमुक्ति पार्टीको मत नै ८ सयको हाराहारीमा देखिन्छ । यो अवस्थामा अहिले जनमुक्ति र जसपासमेतको मत जोडेर मुढाले सूर्यलाई जित्नुपर्ने हो । तर, सुहाङ नेम्वाङले पहिचानवादीको मतलाई आफूतिर कति तान्न सक्छन्, त्यसमा यस पालिकाको परिणाम भर पर्ने छ ।

त्यसो त माङसेबुङबाट विगत संसदीय चुनावमा किरात धर्मावलम्बी तथा पहिचानवादीहरुको मत एमालेका सुवास नेम्वाङले तानेका थिए । तर, यसपालि सुहाङलाई उक्त मत जोगाउनुपर्ने चुनौती छ ।

माङसेबुङमा एमालेले ‘लुज’ गर्‍यो भने कांग्रेसले त्यसको सापो–नापो इलाम नगरपालिकामा नउठाउला भन्न सकिँदैन । किनभने, क्षेत्रभरिकै २८ प्रतिशत मतदाता रहेको इलाम नगरपालिका विगतमा नेपाली कांग्रेसको गढका रुपमा रहेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : १८ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल