गण्डकीका चार सय ६७ स्थानमा डढेलो | Khabarhub Khabarhub

गण्डकीका चार सय ६७ स्थानमा डढेलो


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ ।

सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए ।

हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका दसवटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी नवलपुरमा झन्डै २५ सय ५३ हेक्टर र सबैभन्दा कम मनाङमा दुई हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो । सबैभन्दा बढी म्याग्दीमा ८१ र मनाङमा एक स्थानमा डढेलो लागेको वन अधिकृत थापाले बताए ।

नवलपुरमा ८० स्थानमा, पर्वतमा ५५, बागलुङमा ५२, स्याङ्जामा ५२, गोरखामा ५१, कास्कीमा ४५, तनहुँमा २६ र लमजुङमा २४ स्थानमा डढेलो लागेको उनको भनाइ छ । नवलपुरपछि सबैभन्दा बढी बागलुङमा १६ सय ८५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । पर्वतमा १४ सय १६ हेक्टर, म्याग्दीमा नौ सय २२, कास्कीमा सात सय ५०, स्याङ्जामा चार सय ९७, गोरखामा दुई सय १५, तनहुँमा एक सय ८४ र  लमजुङमा ५१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ ।

डढेलोले धनजनकोसमेत क्षति निम्ताएको वन अधिकृत थापाले बताए । बागलुङको तमानखोला गाउँपालिकामा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको र दुई जना घाइते भएको उनको भनाइ छ ।

ताराखोला गाउँपालिकामा स्थानीयवासीको घरगोठ जलेको र पशुधनको क्षति भएको उनले बताए। म्याग्दीमा पनि डढेलो नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएको जनाइएको छ ।

निर्देशनालयका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्यूफिट काठ र एक चट्टा दाउरा क्षति भएको छ । वन क्षेत्रमा हुने बोटबिरुवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आँकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताए ।

‘डढेलोले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा पनि धनजनकोसमेत क्षति हुन्छ’, उनले भने।

डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्‍याइरहेको वन अधिकृत थापाले बताए । नेपालमा मुख्य गरी फागुनदेखि जेठसम्ममा डढेलोका घटना बढी हुने गरेको उनको भनाइ छ ।

वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको उनको भनाइ छ । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम जस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको उपसचिव थापाले बताए ।

मानवीय कारणले नै डढेलो लाग्ने गरेको उनको भनाइ छ । ‘५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ’, उपसचिव थापाले भने, ‘पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढिरहेको देखिन्छ ।’

आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानाजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोकोरूप लिने गरेको उनको भनाइ छ । वन डढेलोका बहुअसर रहेको उपसचिव थापाले बताए । ‘डेढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै वातावरणीय प्रदूषण निम्त्याउँछ’, उनले भने, ‘डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका खेलिरहेको हुन्छ ।’

डढेलोले माटोको प्राङ्गारिक तत्त्व नष्ट हुने, जनजन्तुको वासस्थान नासिनेलगायतका समस्या निम्तने गरेको उनको भनाइ छ । डढेलोले भू–क्षय, बाढीजस्ता प्राकृतिक विपतका घटना पनि बढाउने उपसचिव थापाले बताए । बर्सेनि बढी रहेको डढेलोको प्रकोप नियन्त्रणका लागि राज्यले पर्याप्त जनशक्ति, उपकरण र स्रोतसाधनको प्रबन्ध गर्नुपर्ने उपसचिव थापाले बताए ।

डढेलो लगाउने व्यक्तिलाई कानुनबाट दण्डित गर्ने गरिए पनि यसमा कमी आउन नसकेको उनको भनाइ छ । जनचेतना फैलाउने र प्रचारप्रसारका काम गर्नुपर्ने उनले बताए ।

सुक्खायामपूर्व नै डढेलो संवेदनशील क्षेत्रबाट पातपतिङ्गरलगायत जल्ने पदार्थ हटाउनुपर्ने उपसचिव थापाले बताए ।

‘वनमा अग्नि रेखाको निर्माण, सरसफाइ जस्ता कार्य नियमित गर्नुपर्छ’, उनले भने, ‘डढेलो नियन्त्रणका लागि जनसहभागिता जुटाउनुपर्छ ।’

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : १६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले