अर्थसंक्षेप : बजेटमा सकारात्मक प्रतिक्रियादेखि मेल्टिङ उद्योग बन्द हुनेमा उद्योगी चिन्तितसम्म | Khabarhub Khabarhub

अर्थसंक्षेप : बजेटमा सकारात्मक प्रतिक्रियादेखि मेल्टिङ उद्योग बन्द हुनेमा उद्योगी चिन्तितसम्म


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्ष राजनीतिक दलदेखि निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको भन्दै अर्थमन्त्री वर्षमान पुनले खुशी व्यक्त गरेका छन् । बजेटले जनतामा आशाको सञ्चार गरेको नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बताएका छन् । 

बजेट आएको भोलिपल्टै शेयर बजार घट्न पुगेको छ । फलामे छड उत्पादक संघले सरकारले स्क्र्याब र स्पन्ज आइरनमा कर लगाएकोले उद्योग बन्द हुने चिन्ता व्यक्त गरेका छन् ।

हेर्नुहोस् आजका मुख्य आर्थिक समाचारहरू :

अर्थमन्त्रीले भने : हामी दबाबमा थियौँ, बजेट सन्तुलित रहेको प्रतिक्रिया पाएँ

अर्थमन्त्री वर्षमान पुनले संसदमा आफूले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षी दलदेखि निजी क्षेत्रको सकारात्मक प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरेका छन् । बुधबार सिंहदरबारमा पोस्ट बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दबाबकाबीच सन्तुलित बजेट ल्याउन सफल भएको बताए ।

उनले बजेट आउने-नआउने शंकाबीच आफूहरू सफल भएको बताए । ‘बजेट नै आउने-नआउने टुङ्गो थिएन’, उनले भने, ‘तर अहिले बजेट सन्तुलित आएको प्रतिक्रिया प्राप्त भएको छ, हामी खुशी छौँ ।’ पुनले आफूहरू दबाबमा रहेर बजेट ल्याएको बताए । ‘हामी दबाबमा थियौं । चालू वर्षका प्रक्षेपण मिलिरहेका थिएनन्, छैनन्’, उनले भने, ‘दबाबबीच पनि बजेट तथ्यमूलक बनाउने मेरो जोड थियो ।’

अर्थमन्त्री पुनले पछिल्लो समय अर्बौं रुपैयाँ हिनामिनाका कारण संकट देखिएको सहकारी क्षेत्रको समस्या समाधान हुने बताएका छन् । साथै उनले सहकारीमा संरचनागत र नीतिगत सुधार गरिने आश्वासन पनि दिएका छन् ।

‘सहकारीमा संरचनागत र नीतिगत सुधार गरिन्छ । बचतकर्ताले हराएको भनिएको आफ्नो बचतबारे चिन्ता लिनुपर्दैन’, उनले आश्वस्त पार्दै भने, ‘सहकारीमा हिनामिना भएको बचत फिर्ता आउँछ । हामी यो क्षेत्रको समस्या समाधान गर्छौं ।’

मन्त्री पुनले फलामको स्क्रयाब, स्पन्ज आइरन र बिलेटको विषयमा धेरै छलफल गरेर कर निर्धारण गरिएको पनि जानकारी दिए ।

‘स्पन्ज आइरनका विषयमा हामीले धेरै हेर्यौं यसमा हामीले धेरै छलफल गर्यौं यसमा विवाद पनि आएको छ’, अर्थमन्त्रीले भने, ‘अर्कोतिर तयारी सामानभन्दा कच्चा सामग्रीको कर एकतह कम हुनुपर्छ भन्ने छ, कच्चा पदार्थमा पनि कुनलाई प्राथमिकता दिने त रु कसरी फरक छुट्याउने त रु स्क्रयापलाई सबैभन्दा तल राख्ने, त्यसपछि स्प्न्ज आइरन र त्यसपछि बिलेट, यो क्रमको श्रेणी बनाएर तीनवटा स्ल्यापमा जाऔँ भन्ने सिद्धान्तमा पुग्यौं ।’

अर्थमन्त्रीले संसद्‍मा प्रस्तुत गरेको नयाँ आर्थिक विधेयकमा स्क्रयाबलाई एक प्रतिशत, त्यसपछि स्पन्जलाई साढे दुई प्रतिशत र बिलेटलाई ५ प्रतिशत कर लगाइएको छ ।

पुनले निजी क्षेत्रसँग मिलेर बन्द भएका विभिन्न उद्योग पनि सञ्चालन गर्ने बताए । देशमै विकल्प हुँदाहुँदै पनि बाहिर जाने जनशक्ति र प्रविधिलाई रोक्न आशा जगाउने काम गरिरहेको उनले बताएका छन् । 

अहिले नेपालमा नयाँ चरणको सुधार आवश्यक भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान गएको उनले बताएका छन् । चालु वर्षको बजेटमा सबै प्रक्षेपणहरू नमिलेकाले त्यसलाई मिलाएर र लक्ष्यपरक बनाउने उनले प्रतिबद्धता जनाएका छन् ।

फलामको कच्चा पदार्थमा कर बढ्दा छड उत्पादक असन्तुष्ट, उद्योग संकटमा पर्ने चिन्ता

सरकारले आर्थिक विधेयकमार्फत् कच्चा पदार्थको आयातमा कर वृद्धि गरेपछि उद्योगहरू बन्द हुन सक्ने छड उत्पादन गर्ने उद्योगीहरूले बताएका छन् । नेपाल फलामे छड उत्पादक संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले आर्थिक विधेयकबाट लागू गरेको नयाँ करले अर्बौं लगानी गरेका उद्योगहरू बन्द हुने बताएका हुन् ।

संघले मासिक रुपमा ४५० मेगावाट बिजुली खपत गरेर प्रतिमहिना २ देखि ३ अर्ब महसुल तिर्ने १८ वटा मेल्टिङ उद्योगहरू संकटमा जाने बताएको छ ।

सरकारले आर्थिक विधेयकमार्फत बिलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशतबाट बढाएर २.५ प्रतिशत बनाएर आफैँले घोषणा गरेको उद्योगलाई एक तह कम भन्सार लगाउने नीतिको उल्लङ्घन गरेको संघले जनाएको छ ।

संघकाअनुसार हाल नेपालमा १८ वटा मेल्टिङ उद्योगहरू सञ्चालनमा रहेका छन् । आर्थिक वर्ष ०७८-७९ सम्म जम्मा ६ वट मेल्टिङ उद्योग सञ्चालनमा रहेकोमा त्यही आर्थिक वर्षको बजेटले मेल्टिङ उद्योगलाई प्रवर्द्धन गर्ने नीति लिएपछि थप १२ वटा उद्योग खुलेर २४ अर्ब लगानी थपिएको संघले जनाएको छ ।

एउटा सरकारले उद्योग स्थापना गर्न छुट दिने र उद्योगमा लगानी भएपछि अर्को सरकारले नीति परिवर्तन गर्ने अस्थिर व्यवस्था भए आगामी दिनमा सरकारको नीतिलाई कसरी विश्वास गर्न सकिन्छ भनेर संघले सरकारलाई प्रश्न गरेको छ ।

‘देशमा १२ प्रतिशत भन्दा कम भ्यालु एडिसन हुने बिलेट आयातमा ५ प्रतिशत र ५० प्रतिशत भन्दा बढी भ्यालु एडिसन हुने स्पन्ज आइरनमा २.५ प्रतिशत भन्सार लगाउने नीतिले उद्योगको प्रतिस्पर्धात्मक र उत्पादकत्व क्षमता कसरी बढ्छ ?, संघले विज्ञप्तिमार्फत सरकारलाई प्रश्न गरेको छ ।

संघले सरकारले स्पन्ज आइरनमा एक तह फरक भन्सार लगाएन भने उद्योगहरू बन्द हुने र ३६ अर्ब लगानी डुब्ने भन्दै सरकारलाई ताला चाबी बुझाउने जनाएको छ ।

‘यदि सरकारले स्पन्ज आइरनमा एक तह फरक भन्सार लगाएन भने सबै उद्योग बन्द हुने तथा हामीहरूले गरेको, ३६ अर्ब लगानी डुब्ने निश्चित छ, हामी उद्योगको ताला चाँबी सरकारलाई बुझाउन तयार छौँ’, संघले भनेको छ ।

बजेटले जनतामा आशाको सञ्चार गरेको छ : पूर्वप्रधानमन्त्री खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारबाट प्रस्तुत आगामी आर्थिक वर्षको बजेट जनतामा आशाको सञ्चार गराउने किसिमको भएको बताएका छन् ।

रासस केन्द्रीय कार्यालयमा आज समसामयिक विषयमा संवाद गर्दै पूर्वप्रधानमन्त्री खनालले विगतमा बजेट जनताका आमूल परिवर्तनका अपेक्षा र चाहनालाई सम्बोधन नगरी आउने गरेकामा यस पटक भूमिसुधार, कृषि क्रान्ति, सहकारीकरण, औद्योगिकीकरण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्राथमिकतासहित आएको प्रतिक्रिया दिए।

संघीय संसद्को संयुक्त बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षामान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गरेका थिए । 

सम्मानित नेता खनालले भने, ‘सरकारको नीति तथा कार्यक्रम र बजेटले गरिबी उन्मूलन, रोजगारी सिर्जना र युवाको विदेश बहिर्गमन रोक्ने कार्यक्रम ल्याएको छ । यसमा केही नवीनता छ । बजेटले सकारात्मक एवं आशा सञ्चार गरेको छ ।’

उनले आफूहरू राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको उल्लेख गर्दै बजेटमा भएका राम्रा कार्यक्रमको कार्यान्वयन पक्षको सफलतामा केन्द्रित हुनुपर्नेमा जोड दिए। नेता खनालसँगको अन्तर्वार्ता रासस समाचार सेवामा यथाशीघ्र समावेश हुनेछ ।

बजेटपछि ओरालो लाग्यो नेप्से, २३.८१ अंकले घट्यो

आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटले शेयर बजारमा उत्साह आउन सकेन । मंगलबार संघीय सदनमा अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दा शेयर बजार सुधार गर्ने ठोस कुरा केहीपनि समेटेनन् । 

त्यसको प्रभाव बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समेत देखिएको छ । बजेट भाषण हुने अघिल्लो दिन अर्थात सोमबार नेप्से उच्चतम् २०८६.८३ बिन्दुमा पुगेको थियो । सोमबार बजार बन्द हुँदा समेत नेप्से बढेर २१०० को विन्दु भने कायम  रहेको थियो । बजार बन्द हुँदा नेप्से २११३.२४ बिन्दु काय गरेको थियो । 

तर, बजेट आएको दोस्रो दिन नेप्से २३.८१ अंकले घटेको छ । आज प्रि ओपन सेसनमा २० अंकले बढेको नेप्से १.१२ प्रतिशतले घटेर २०८९.४२ बिन्दु कायम भएको छ । आज ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार १५९ कित्ता शेयर ६३ हजार ८० पटक किनबेच भएको छ । 

बुधबार ३१४ वटा कम्पनीको शेयर कारोबार हुँदा ५६ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आजको बजारमा कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेन । 

आज सेन्सेटिभ इन्डेक्स ४.८२ अंकले, फ्लोट इन्डेक्स २.१७ अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स २.३६ अंकले घट्यो। आज समूहमा पनि लगानीकर्ताले धेरै गुमाएका छन् । १३ वटा समूहमध्ये आज सबैभन्दा बढी जीवन बीमा समूहको शेयर घट्यो । 

जीवन बीमा समूह आज १३४.६४ अंकले घट्यो भने सबैभन्दा बढी उत्पादन समूहको शेयर बढेको छ । उत्पादनमा आज १७०.०१ अंकले बढेको छ । 

१३ समूहमा म्युचअल फण्ड बराबर भएको छ भने अन्य ४ समूहको शेयर भने बढेको छ । ८ समूहको शेयर घट्यो । आज युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, माथिल्लो लोहोर खोला जलविद्युत र भगवती हाइड्रोपावर कम्पनीको शेयरमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ६ : १३ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि