सहकारीको सलह : ५० जिल्लामा समस्या छैन, २९ ले बदनाम बनाए | Khabarhub Khabarhub

अन्तर्वार्ता

सहकारीको सलह : ५० जिल्लामा समस्या छैन, २९ ले बदनाम बनाए

‘सहकारी मरिदिए हुन्थ्यो भनेर भाकल गर्नेहरु छन् : बडाल


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री केशव बडाललाई ‘सहकारी विज्ञ’ का रुपमा रुपमा हेर्ने गरिन्छ । उनले सहकारीसम्बन्धी किताब पनि लेखेका छन् । राष्ट्रिय सहकारी महासंघको अध्यक्षसमेत भइसकेका बडालले विगतमा सहकारी सम्बन्धी कानून र नीति निर्माणमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

कतिपयले एमाले नेता बडाललाई सहकारीको स्वतन्त्रताको वकालातकर्ताका रुपमा पनि लिन्छन् । सहकारीको अधिकार र स्वतन्त्रताको वकालत गर्दा अनुगमनको पाटोमा ध्यान नदिएको आरोप पनि उनीमाथि लाग्ने गर्छ ।

अहिले सहकारी क्षेत्रमा जति पनि विकृति र विसंगतिहरु देखिएका छन्, यसको वास्तविक कारक के हो ? सहकारी क्षेत्रको समस्या समाधान गर्न र पीडितलाई न्याय दिन अब सरकारले खेल्नुपर्ने भूमिका के हो ? अहिले संसदीय छानविन समितिले प्रतिवेदन दिँदैमा सहकारीको समस्या समाधान होला ? यी विविध प्रश्नहरु हामीले एमाले नेता बडालसँग सोधेका छौं ।

प्रस्तुत छ– राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव बडालसँग कृष्ण तिमल्सिनाले रेडियो क्यानडिडका लागि गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा करिब ६ दशकको इतिहास बोकेको सहकारीले वित्तीय साक्षरता, पहुँच, समावेशीकरण, महिला सशक्तीकरण र लोकतान्त्रिक अभ्यासका लागि सामाजिक पुँजी निर्माणमा राम्रो भूमिका खेलेको थियो । अहिले के कारणले डुब्यो जस्तो लाग्छ ?

७७ जिल्लामध्ये ५० जिल्लामा कुनै समस्या छैन । सदस्य केन्द्रित नभएका संस्थालाई एक न एक दिन समस्या आउने नै हो । ती साँच्चैका सहकारी नै होइनन् । साँच्चैका सहकारीलाई पनि अहिलेको हल्लाले गर्दा समस्यामा पारेको छ । यसका निम्ति राज्यले आत्तिनुपर्दैन ।

जस्तो– झापाको प्राइमरी एनएमसी सहकारीमा १ लाख सदस्य छन् । उसले प्रत्येक वडामा त्यहाँका सदस्यहरूको भेला गरेर हाम्रो सहकारीको वास्तविक स्थिति यो हो, समस्या छैन भनेर चित्त बुझाएको छ ।

ब्राइट सहकारीले पनि रोल नम्बरका आधारमा दैनिक प्रगति विवरण देखाएको छ । मेची सहकारीमा एक हप्ताको तालिम नलिई सदस्य नै बन्न पाइँदैन । कतिपयले यसरी पनि आफ्नो संस्थालाई सुरक्षित राखेका छन् ।

त्यसैले, नियममा भएका सहकारीमा समस्या छैन । तर, हल्लाले गर्दा बीचमा केही समस्या परेको छ । उहाँहरूलाई सही बाटोमा लाग्न अनुरोध गर्छु ।

अहिले पनि सहकारी केन्द्रीय संघ, सहकारी महासंघ, सहकारी बैंक र अरु पनि संस्थाहरुले वित्तीय साक्षरताको अभियान चलाएका छन् । यसबारे धेरै अध्ययन सामग्रीहरू प्रकाशित छन् । त्यसका आधारमा चल्यो भने ९० प्रतिशत समस्या आउँदैन ।

राज्यको अनुगमन प्रणाली कमजोर हुँदा जीबी राईहरू जन्मिए र पूरै सहकारीमा एकखालको धब्बा लगाउने काम भयो भन्ने पनि छ नि ?

हो । पहिले ५ विकास क्षेत्रमा बाह्रै महिना प्रशिक्षण हुन्थ्यो । अहिले ७७ जिल्लामा त्यो सकिँदैन भने सातै प्रदेशमा डिप्लोमा तहको सहकारी प्रशिक्षण सहकारीका कर्मचारी र सञ्चालकहरूलाई तालिम दिने व्यवस्था तत्काल गर्नुपर्छ ।

अर्को, ७४ को ऐनले व्यवस्था गरेअनुसारको कर्जा सुरक्षण कोष, कर्जा सुरक्षण केन्द्र, कर्जा सुरक्षण न्यायाधीकरण र अनुगमनको निम्ति स्थायी व्यवस्था गरेर देशव्यापीरूपमा बाह्रै महिना अनुगमन गरी निर्देशन गर्न सक्ने बनाउनुपर्छ ।

अहिले सहकारी मन्त्रालयमा नयाँ मन्त्री आइसकेपछि कर्जा सूचना केन्द्र, कर्जा सुरक्षण कोष र कर्जा सुरक्षण न्यायाधीकरण, तीनैवटा संरचना बनाउने प्रक्रिया अगाडि बढेको जानकारी आएको छ ।

सहकारी क्षेत्र यो देशको आर्थिक सामाजिक सांस्कृतिक र वातावरणीय विकासका निम्ति महत्त्वपूर्ण क्षेत्र भएकाले राष्ट्रिय स्वाधीनता र एकतालाई बलियो बनाउन पनि यो क्षेत्र सबल, सक्षम र प्रभावकारी बन्नुपर्छ । सहकारीलाई कमजोर बनाउने अधिकार कसैलाई पनि छैन ।

संसदीय छानबिन समितिले काम गरिराखेको छ । सहकारी पीडितहरूले न्याय मागिराखेका छन् । यसको समाधान संसदीय समितिले प्रतिवेदन बुझाउँदैमा त हुँदैन होला । यहाँको विचारमा सहकारीका समस्या समाधानका उपाय के हुन् ?

सबै सहकारीका समस्या छैनन् । अहिले पनि ५० जिल्लामा यस्तो समस्या छैन । ३० हजार प्राइमरी सहकारी छन् । एक सयवटा जति कम्पनी, एनजीओ खालका छन् । ३० हजारमध्ये अहिले २९ वटामा मात्रै छानबिन भइराखेको छ । ३० हजारमा समस्या भनेको ५ सय जतिमा छ ।

सहकारीका ७५ लाख सेयर सदस्य छन् । २ लाख ४७ हजार त सञ्चालक समिति सदस्य र लेखा समिति सदस्य मात्रै छन् । एक लाख कर्मचारी छन् । अरु १० लाखलाई अप्रत्यक्षरूपमा सहकारीले रोजगारी दिएको छ । कुल ग्राहस्थ उत्पादनमा ५ प्रतिशत योगदान छ । वित्तीय क्षेत्रमा २० प्रतिशत योगदान छ ।

मंसिरदेखि निरन्तर चर्चामा जुन आएका छन्, मैले त्यसलाई नन कोअपरेटिभ भन्छु । सहकारीको साइनबोर्ड झुन्ड्याउने तर सहकारीको दर्शन, सिद्धान्त, मूल्य–मान्यता र आचरणलाई लागु नगर्ने, यो प्रवृत्तिबाट उत्पन्न भएको समस्या हो यो ।

त्यसकारण, एक प्रतिशत समस्या जुन छ, त्यसलाई समाधान गर्न ०४८ सालमा ऐन बनाउँदा पनि त्यही समितिमा रहेर आफ्नो बुद्धि सबै खन्याएको हो । ०७४ को ऐन बनाउँदा पनि हाम्रो बुद्धिले भ्याएसम्म गरेको हो । संविधानमा तीनखम्बे अर्थनीति अगाडि बढाउने कुरा प्रस्तावनामा आयो । धारा ४, धारा ५०/५१ मा आयो । त्यो सिद्धान्तअनुसार काम भयो, भएन भनेर अहिले कार्यदल बनेको छ ।

ऐनमा रहेका कुराहरू तुरुन्तै लागू गरेको भए समस्या आउने थिएन । जस्तो– कर्जा सूचना केन्द्र, कर्जा सुरक्षण न्यायाधीकरण, कर्जा सुरक्षण कोष र अनुगमनको व्यवस्था प्रभावकारी भएको भए यो समस्या ९९ प्रतिशत कम हुन सक्थ्यो । अहिले यो सरकारले यी कामहरु गर्छौँ भनेको छ ।

अहिले दर्ताचाहिँ राज्यको अङ्गले गर्ने अनि ०७४ को ऐनले एक तह माथि (जिल्ला) अनिवार्य सामेल हुनुपर्छ भनेको छ । तर, चर्चामा आएका जुन सहकारी छन्, ती एक–दुई भन्दा बाहेक कुनै पनि जिल्ला तहमा आवद्ध भएका छैनन् ।

अर्को, समान प्रकृतिको एकजना मान्छे एउटाभन्दा बढ्ता सहकारीमा सदस्य हुन पाइँदैन भनेको छ । म नवयुग सहकारीको एक नम्बर सदस्य थिएँ, दुईवटामा रहन नमिल्ने हुनाले त्यहाँबाट हटेँ । अहिले एउटै मान्छे पोखरामा पनि सदस्य छ, नेपालगञ्जमा पनि छ, काठमाडौंमा पनि छ ।

राज्यले कुनै पनि सहकारी संस्था दर्ता गर्दा समान प्रकृतिको अर्को सहकारीमा सदस्य हुन पाइँदैन । तर, एउटै मान्छेले ७ वटामा सदस्य बनेर एउटाबाट ऋण सापट लिने अनि पालैपालो झिक्दै अर्कोमा तिर्दै गर्ने र वास्तविक काम नगर्ने प्रवृत्ति छ ।

अर्को कुरा, ब्याज बढी पाइन्छ भनेर असल सहकारीमा भएको पैसा निकालेर अन्यत्र राखिएको छ । ३०–३५ वर्ष जागिर खाएको सञ्चयकोषको पैसासमेत झिकेर ब्याजको लोभमा सहकारीमा राखिएको छ । त्यसरी पनि बिग्रेको छ र समस्या उत्पन्न भएको छ ।

संसारमा सबैभन्दा बढी दुःख पाइने भनेको धन, यौन र पदको लोभले हो । यो तीनवटा लोभबाट मुक्त भइयो भने कसैले दुःख पाउनु पर्दैन । परिश्रमलाई दुःख नमानौँ तर अरु अपराध भोग्नुपर्दैन । त्यसैले धनसम्बन्धी लोभमा नपरौं ।

ठूलो रकम बैंकमा लिएर जाँदा कहाँबाट लिएर आइस्, स्रोत के हो भनेर सोध्ने, ब्याज पनि राम्रो नदिने प्रचलन छ । सहकारीमा भने जति राख्दा पनि स्रोत खुलाउन नपर्ने । यो छिद्र किन राखेको त राज्यले ? सहकारीमा एउटा सीमा तोकिदिएको भए हुन्थ्यो होला नि ?

मैले १२ वर्ष अगाडि ‘सहकारी के हो’ भन्ने किताबमा के गर्न हुन्छ, के हुँदैन भनेर लेखेको लेखेको छु । खासगरी ओरिएन्टल सहकारी (सुधीर बस्नेतको) मा जब ०६६ मा समस्या आयो, त्यसपछि सम्पूर्ण सहकारीकर्मीका निम्ति हाते पुस्तिकाका रूपमा आएको हो ।

पहिला नेपालमा मनी लाउन्डरिङ गर्न हुन्न भनेर पुस्तक नै निकालेर मेची महाकाली प्रकाशित गरेर पठाउने काम हामीले ग¥यौँ । अर्थात् हरेक सहकारीले १० लाखभन्दा बढी रकम जम्मा भयो भने स्रोत खुलाउनुपर्छ भनेको छ । बिनास्रोतको पैसा नराख्ने भनेको छ । अहिले बिग्रेका सहकारीहरू सहकारीको मान्यता पालना नगरेर बिग्रेका हुन् ।

सबै असल मान्छे असल हुने रहेनछन् । अहिले २९ वटा त छानबिनको दायराभित्र नै आएका छन् । तर, त्यही प्रकृतिका नभए पनि त्यस्तै समस्या भएका अरु एक सयवटा सहकारी छन् ।

संसारमा नियम बनाइदिएर मात्रै हुँदैन, राज्यको निगरानी चाहिन्छ । सहकारीमा पनि राज्यको निगरानी चाहिन्छ । अहिले सहकारीका विषयमा धेरै बहस चलेको छ यो राम्रो हो ।

ओरियन्टल सहकारी प्रकरणमा सुधीर बस्नेतलाई थुन्नेबाहेक राज्यले के गर्‍यो र ?

यो विषयमा कार्यदल नै बन्यो । त्यसको नेतृत्व लिनुभएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की हो । उहाँ दुई कार्यकाल हुनुभयो । त्यसपछि दाहाल आउनुभयो । केही काम भए । मुख्य कुरा, राज्यका अंग र निकाय अहिले संसदीय समितिमा राति २ बजेसम्म छलफल गर्नुभएको छ । विगतमा यति गहिराइमा पुगेर कुरा आएका थिएनन्, अहिले आएका छन् । मिडियाले पनि निकालेका छन् । अहिले भएको बहस राम्रो हो । अब साँच्चैका सहकारी र तथाकथित सहकारी बीच वर्गीकरण गर्ने यो अवसरका रूपमा लिनुपर्छ ।

सहकारीको सदस्य भनेको पनि सार्वभौम सत्तासम्पन्न हो । उहाँहरूले पनि केही गडबडी गर्‍यो कि भन्ने लाग्यो भने विशेष साधारणसभा बोलाएर विस्थापित गर्ने अधिकार कानुनले दिएको छ । त्यसैले आफूलाई पीडा नहुञ्जेल गल्ती गरेको पनि हेरेर बस्ने गर्नुभएन । नागरिकको दायित्व भनेको गल्ती कसैले गर्‍यो भने आफूलाई पिर मर्का नपरे पनि त्यो गल्तीलाई गल्ती भन्नु हो ।

१० लाख रुपैयाँ भन्दा माथि स्रोत नखोली सहकारीमा राख्न पाइँदैनथ्यो भने त १० लाखभन्दा माथिको अपचलनको सन्दर्भमा राज्य जबाफदेही हुनेछैन भनेर संसदीय समिति वा राज्यले भने भइगयो नि ?

हो, त्यो संसदीय छानविन समितिका आदरणीय माननीय सांसदलाई म यो कुरा पूरै जोडदार रूपमा अगाडि बढाउन म अनुरोध पनि गर्छु । स्रोत खुलाएर सहकारीमा राख्नुपर्छ । कर्मचारीले पनि म स्रोत नखुलाई कुनै पनि सहकारीको बचत स्वीकार गर्नुहुँदैन । स्रोत खुलाएर करोड नै ल्याए पनि नाइँ भन्नुहुँदैन ।

मैले एक करोडमा घर बेचेँ, सहकारीमा पैसा राख्न पाइनँ, कमर्सियल बैंकमा जा भनेर जोड गर्दै छन् । बजार अर्थतन्त्रको पक्षधर यो समाजमा व्याप्त छन् । शोषण उत्पीडन गर्न तल्लीन भएका उनीहरू चाहिँ सहकारी मरिदिए हुन्थ्यो भनेर दक्षिणकालीमा भाकल गरेर बसेका छन् । राज्यले जनताको सेवामा काम गर्नुपर्छ ।

सहकारीले पुँजी, सीप र क्षमताका आधारमा रोजगारी सिर्जना गर्न, गरिबी निवारण गर्न र आफूसँग भएको जमिन, जंगल जडीबुटी र खनिज पदार्थलाई अधिकतम प्रयोग गर्नका निम्ति काम गर्नुपर्छ । यो देशभक्तिपूर्ण काम हो ।

बचतकर्ताहरूको करिब ७० अर्ब अपचलन भएको अथवा फिर्ता नपाएको भनेर गुनासो आइराखेको छ । यो विषय सयवटा सहकारीसँग मात्रै जोडिएको हो कि यसको जालो अर्को पनि छ ?

अहिले कतिपय सहकारीको साइनबोर्ड झुन्ड्याएर सहकारीलाई बदनाम गर्ने उद्देश्यले दर्ता गर्ने खालका पनि छन् । कतिपयचाहिँ सहकारी भनेको कमाउने चिज हो भन्ने पनि छन् ।

सबैलाई म भन्छु– या त सहकारीको साइनबोर्ड झिकेर फाल्नुहोस् या सहकारीको सिद्धान्त, दर्शन र मूल्यमान्यता अनुसार चल्नुहोस् । त्यो भन्दा भिन्न ढङ्गले चल्न पाइँदैन ।

सहकारीले देशभरि वार्षिक करिब ८ खर्बको कारोबार गर्छ । त्यसमध्ये ७० अर्ब जति समस्यामा छ । समस्याग्रस्त भएका सदस्यहरूले पनि लोभमा फसेर चर्को ब्याज पाइन्छ भनेर राख्न नजाने गर्नुस् ।

राज्यको सम्बन्धित अंगलाई पनि यो लम्बेतान प्रशासनिक प्रक्रियामा गयो भने ती मान्छे मरिसकेका हुन्छन्, दुःख पाइसकेका हुन्छन् । त्यसैले एक संस्था शेयर सदस्य र त्यो संस्थाबीचमा समझदारी गराएर उनीहरूको पुस्तैनी सम्पत्ति बेचेर भए पनि दामासाहीले तिर्नु तिराउनुपर्छ ।

कमजोर भएका गरिबलाई प्राथमिकता दिइनुपर्छ । अहिले सरकारले ५ लाखभित्रको समझदारी गराउने भनेको छ । त्यसलाई जोड दिँदा ९० प्रतिशत पिरमा परेका सदस्यहरूको समस्या हल हुन्छ । पैसा आउँदै नआउनु भन्दा थोरै आए पनि राम्रो हुन्छ ।

पैसा लिएपछि तिर्नुपर्दैन भनेर कोही मान्छे उफ्रिएका छन् । ती मान्छे अर्धसिल्ली हुन् । तिर्दिनँ भन्नु देशद्रोही काम हो, तिर्नुपर्छ ।

समस्या त आयो नि । ठूलो पैसा लिनेहरुले ऋण तिर्दैन भनेर हिँड्न थालेका छन् । सानो पैसा लगानी गरेर केही गरौँ भन्नेलाई सहकारीले पैसा दिन सक्ने अवस्था छैन । धेरै पैसा हुनेहरू बैंकमा गइराखेका छन् । बैंकमा पैसा पैसा राख्ने ठाउँ भएन भन्ने सुनिन्छ…

सहकारीलाई कमजोर बनाउन प्रयत्न भएको छ । तर, अहिले यो अवस्थामा असाध्यै इमान्दार सहकारीमा पनि सहकारीका समस्या मिडियामा आइरहँदा सबै पैसा निकाल्न मात्रै आउने राख्न कोही नआउने हुँदा त राष्ट्र बैंकले पनि थेग्न सक्दैन । अमेरिकाको ठूलो बैंक सम्म त डुबेको छ ।

हाम्रोमा सबैमा समस्या हैन । ३० हजार प्राइमरी सहकारीलाई एकैचोटि गाह्रो होला । तर, एक पटकमा एक–दुई सय जनालाई राखेर रोलक्रम अनुसार सबैको पोजिसन बताउँदा सदस्यहरू आत्तिँदैनन् । यो समस्याले गर्दा इमानदार सहकारीलाई पनि समस्या भएको छ । यसका निम्ति राज्यले सबैमा समस्या छैन र आत्तिनुपर्दैन भनेर विज्ञप्ति त जारी गर्न सक्छ नि । त्यसका लागि त केही खर्च हुँदैन ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ५ : ३९ बजे

दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता 

बेदकोट– कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका

चारबुँदे सहमतिपछि अध्यक्ष यादवले अनशन तोडे

नवलपरासी – प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोडेका छन्

अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन

काठमाडौं– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र

गलकोट दुर्घटना : मृतकको शव परीक्षणपछि आजै परिवारलाई बुझाइने

बलेवा– मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु

गोलभेँडामा भेटियो अत्यधिक विषादी, एक क्विन्टल गोलभेँडा नष्ट गरियो

गोदावरी–  कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न