सयपत्री फूल बेचेर लाखौँ कमाउँदै रामपुरका किसान « Khabarhub

सयपत्री फूल बेचेर लाखौँ कमाउँदै रामपुरका किसान


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

रामपुर– ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यति बेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा लागेका पाल्पा रामपुर नगरपालिकाका युवा दिलबहादुर थापा र लालबहादुर थापा बारीभरि फूल देख्दा खुसी छन् । बारीमा फूलको रेखदेख गर्ने, ग्राहकको विवरण सङ्कलन गर्न उनको व्यस्तता बढ्न थालेको छ ।

यस व्यवसायबाट वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको उनी बताउँछन्। करिब चार रोपनी क्षेत्रफलमा फूलखेती गरिहेका छन् । तिहार पर्वलाई लक्षित गरी लगाइएको फूलले राम्रो आम्दानी दिएको उनी बताउँछन् । यस पटकको तिहारमा दुई लाखदेखि दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने उनको अनुमान छ ।

‘तिहारमा सधैँ फूलको अभाव हुने भएपछि व्यावसायिक रूपमा खेती सुरु गरेको हो, सुरुमा फूल व्यवसाय गर्दा छिमेकी, आफन्त यस व्यवसायले बजार लिन्छ भनेर पत्याएका थिएनन्’, उनले भने, ‘चुनौतीका बाबजुद पनि व्यवसाय सुरु गरियो, पहिलो वर्षमा नै नसोचेको आम्दानी भएपछि व्यवसायलाई निरन्तर रूपमा अगाडि बढाइएको छ ।’

यहाँ उत्पादन भएको फूल प्रतिकिलो पाँच सय रुपैयाँ खुद्रा, होलसेल चार सय रुपैयाँ, प्रतिमाला  एक सय ५० रुपैयाँ खुद्रा, होलसेल एक सय २० रुपैयाँ कायम गरिएको छ । बुटवल, नेपालगञ्ज, तानसेनलगायत विभिन्न बजारबाट फूलमालाको माग धेरै आएको लालबहादुर थापा बताउँछन् ।

रामपुरमा फूलमालाको अभाव हुन नदिन स्थानीय ग्राहकलाई नै प्राथमिकतामा राखेर बिक्री गर्दै आएको लालबहादुरले जानकारी दिए ।

‘तिहार सुरु नहुँदैदेखि नै फूलमालाको माग धेरै आएको छ, हामीले बाहिर बजारमा पठाउँदैनौँ, स्थानीय ग्राहक तथा व्यापारीलाई नै बिक्री गर्ने गरेका छौँ, स्थानीय ग्राहकलाई पुर्‍याउन हामीलाई हम्मे हम्मे पर्ने गरेको छ’, उनले भने ।

उनीहरूले बिगत पाँच/छ वर्षदेखि निरन्तर रूपमा व्यवसाय गरिरहेका छन् । यहाँ ५५५ जातको सयपत्री फूल लगाइएको छ । यस जातबाट उत्पादन राम्रो हुने भएपछि कर्मा ५५५ लाई रोजाइमा पारेका छन् । दिलबहादुर र लालबहादुरले जग्गा भाडामा लिएर फूलखेतीसँगै तरकारी खेती पनि गरिरहेका छन् । तरकारीको तुलनामा फूलबाट छोटो समयमा दोब्बर बढी आम्दानी लिन सकिने, मेहनत र लगानी धेरै नपर्ने व्यवसायीको अनुभव छ ।

रामपुर नगरपालिकाले प्लास्टिकजन्य माला बिक्री तथा प्रयोगमा रोक लगाएपछि व्यवसायीलाई हौसला मिलेको छ । यस वर्षको तिहारलाई लक्षित गर्दै नगरपालिकाले अग्रिम सूचना जारी गरी प्लाष्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न सम्बद्ध व्यवसायीमाझ अनुरोध गरेको छ । नगरपालिकाले प्लाष्टिकजन्य फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएपछि यस वर्ष सयपत्री फूलमालाको माग रामपुर बजारमा बढेको छ ।

रामपुरका दिलबहादुर र लालबहादुरले थालनी गरेको पुष्प व्यवसाय देखेर पछिल्लो समय घर तथा विद्यालय, विभिन्न सङ्घसंस्थामा फूल लगाउन थालिएको छ । यहाँबाट बिरुवा खरिद गरेर लगाउने कार्य भइरहेको छ । यति बेला ढकमक्क फुलेको फूलमा रमाउँदै तस्बिर खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने, अवलोकन गर्न जाने, फूलखेतीबारे जानकारी लिन जानेको चहलपहल छ ।

रामपुर नगरपालिकाले यहाँ थालनी गरिएको व्यवसायमा हौसला प्रदान गर्न सहयोग गर्दै आएको छ । नगरपालिकाको सहयोगमा एकहप्ते पुष्प व्यवसाय तालिम लिएर व्यवसाय थालनी गरिएको व्यवसायीले बताएका छन् । यहाँ तिहारमा मात्र नभई अन्य समय पनि सयपत्री फूलखेती हुने गरेको छ । नगरपालिकाभित्र हुने विभिन्न सङ्घसंस्थाको सभा समारोह, कार्यक्रम, विवाह, व्रतबन्ध, शुभकार्यलगायतमा राम्रो खपत हुने गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ११ : ०२ बजे

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट

वासिङ्टन– अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा