ओलीलाई माधव नेपालको सुझाव : बीआरआईमा हात हाले हुन्छ | Khabarhub Khabarhub

प्रधानमन्त्रीको चीन भ्रमण

ओलीलाई माधव नेपालको सुझाव : बीआरआईमा हात हाले हुन्छ

‘चीनलाई कन्भिन्स गर्ने खुबी र आँट चाहिन्छ’



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लाग्ने गरेको आरोप छ– तोकिएको समयमा बैठकमा कहिल्यै उपस्थित नहुने । गत मंसिर १० गते पनि झण्डै यस्तै भयो । चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीलाई बोलाएका थिए । तोकिएको समयमा ओली नआएपछि माधव नेपाल बाटो लाग्नै आँट्दा चिया आइपुग्यो, जसले ओली र नेपालको भेट सम्भव गरायो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका सन्दर्भमा सबैभन्दा बढी चर्चाको विषय बनेको छ बीआरआई सम्झौताको कार्यान्यवन । बीआरआई अन्तरगत नेपालले ऋण लिने कि नलिने भन्ने विषयमा सत्तापक्षीइ दल कांग्रेस र एमालेकै बीचमा विवाद छ । यसै सन्दर्भमा हामीले पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई सोध्यौं– मंसिर १० को छलफलमा प्रधानमन्त्री ओलीलाई बीआरआईबारे तपाईहरुले के सुझाव दिनुभयो ?

पूर्वप्रधानमन्त्री प्रचण्डले हालै भारतीय पत्रिका द हिन्दुलाई दिएको अन्तरवार्ताको पनि चर्चा भएको र ओली र प्रचण्डवीच केहीबेर छेडखानी चलेको नेता नेपालले सुनाए ।

प्रधानमन्त्रीले डाकेको छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईको अनुपस्थितिको कारण सोध्दा नेता नेपालले भने, ‘बाबुरामजीले त बहिस्कार गर्नुभएको हो क्यारे । खास शेरबहादुर देउवाजी चाँहि सबै कार्यक्रम छाडेर आउनुपर्ने नै थियो भन्ने लागेको थियो तर उहाँ आउनुभएन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे मंसिर १० गते पूर्वप्रधानमन्त्री एवं पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । खासगरी चीनसँग हुने भनिएको बेल्ट एण्ड रोड इनिसिएटिभ( बीआरआई) सम्झौताबारे यहाँहरुले के–के सुझाव दिनुभयो ?

प्रधानमन्त्री केपी ओलीजीसँग पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूलाई बीआरआई प्रोजेक्ट र चीन भ्रमणको सन्दर्भमा सुझाव र धारणा राखेका थियौँ । म समयमै पुगेको तर ढिलो छलफल सुरु भएका कारण केही अगाडि नै निस्किएँ । सबै पूर्वप्रधानमन्त्री र केही मन्त्रीको धारणा सुनेर म निस्किएँ ।

तपाईले चाहिँ के सुझाव दिनुभयो ?

मैले के कुरामा जोड दिएँ भने कुन देशको कहिले भ्रमण गर्ने भन्ने कुरा नै कुनै अर्थको होइन । जसले पहिला निम्तो दिन्छ, त्यही गर्नुपर्छ । कसले पहिलो निम्तो दियो, त्यहीँ जानु भनेँ । मैले पनि त्यही गरेको हो । आवश्यकता र महत्व दुवै पक्षले महसुस गर्नुपर्छ । सम्बन्ध सुधार गर्न धेरै देशबाट निम्ता आउँछन् । कहिले कुनै स्वार्थ र कहिले कुनै पक्षसँग जोडिएको हुन्छ । त्यसो हुनाले छिमेकीहरूसँग नियम र प्रकृयाअन्तर्गत भ्रमणको आदान–प्रदान हुने गर्छ । नेपालको राजनीतिमा कहाँ पहिलो जाने भन्ने कुरा चर्चा हुने गरेको छ, यो कुराबाट मुक्त हुनुहोस् ।

भारतलाई चिन्ता इस्लामिक अतिवादीसँग छ, त्यसमा हामी सतर्क हुनुपर्छ । चीनलाई चिन्ता तिब्बतको मामिलामा नेपालमा बाह्य शक्तिले हस्तक्षेप गर्ने हो कि भन्ने छ । यो कुरालाई समेत ध्यानमा राखेर हामीले त्यसलाई प्रष्ट पार्नुपर्छ  

अर्को कुरा, हामीले दुई छिमेकी मुलुकको भ्रमण गर्दा दुवैको सम्वेदनशीलतालाई ध्यानमा राख्नुपर्छ । त्यो संवेदनशीलता के हो भने त्यो देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुने स्थिति नबनोस् । भारतलाई चिन्ता इस्लामिक अतिवादीसँग छ, त्यसमा हामी सतर्क हुनुपर्छ । चीनलाई चिन्ता तिब्बतको मामिलामा नेपालमा बाह्य शक्तिले हस्तक्षेप गर्ने हो कि भन्ने छ । यो कुरालाई समेत ध्यानमा राखेर हामीले त्यसलाई प्रष्ट पार्नुपर्छ र कुनै किसिमको दुई देशको मनमा आंशका बन्ने स्थिति रहनु हुँदैन । हाम्रो विश्वासको आधार बलियो बनाउनुपर्छ । यसो भयो भने सम्बन्धलाई बलियो बनाएर नयाँ उचाइमा पुर्‍याउन सकिन्छ । यस अर्थमा पनि आपसमा विश्वासका आधार खोज्नुपर्छ ।

अर्को, दुई देशको सम्बन्ध नयाँ उचाइमा लान कुन–कुन पक्षलाई जोड दिनुपर्ने हो ? त्यसमा नेपालको आफ्नो आवश्यकता के हो ? नेपाल एउटा अल्पविकसित राष्ट्र पनि भएकाले नेपाल जलवायु परिवर्तन र पर्यावरणीय समस्याले ग्रस्त भएको देश पनि हो । यसका अलावा यो प्राकृतिक साधन स्रोतले सम्पन्न देश भएकाले यसलाई पनि मध्यनजर गरेर देशहरूबीच सम्बन्ध राख्नुपर्छ ।

नदी किनार तथा हिमतालमा पनि कसरी पर्यटक बढाउन सकिन्छ भनेर विचार गर्नुपर्छ । विकासका लागि मात्र सोच्ने र कमिसनका लागि मात्र नफस्ने बाटो नगर्न पनि भनिएको छ ।

हिन्दु र बुद्ध धर्मको उद्गमस्थल नेपाल भएकाले यी सबै कुरालाई ध्यानमा राख्नुपर्छ । पानी र जल सम्पदाको भण्डार नेपाल भएकाले यसलाई खेर नफाल्न र यसको प्रयोग मार्फत पानीको मूल्य निकाल्न सक्नुपर्छ भन्ने कुरा पनि भएको छ ।

ग्रीन इनर्जीका रूपमा विद्युतको उत्पादन किन नगर्ने ? जति ढिला गर्छौं, त्यति नै अर्ब–खर्ब रुपैयाँ खेर जान्छ । खेर गएको डलर असुल गर्ने हो भने जनताको जीवनस्तर उठाउन क्षतिको सम्पत्ति असुलउपर गर्न सकिन्छ ।

तर, हामी कहिले पाँच हजार मेघावाट, कहिले १० हजार मेघावाट भन्दामाथि सोच्दै सोच्दैनौँ । अब बजारको कुनै अभाव छैन । भारतजस्तो देशले बिजुली धेरै खपत गर्न सक्छ । बंगलादेशले पनि त्यतिकै बिजुलीको माग गर्छ । चीनको त कुरै नगरे हुन्छ । तीन देश हाम्रा छिमेकी छन् । उनीहरूसँग कुरा गरेर लगानी आकर्षित गर्न सकिन्छ । पैसा कहाँबाट आयो भन्ने कुराको पछि जानु भएन । उत्पादन भएको बिजुली बिजुली कसरी ती देशमा पठाउन सकिन्छ भनेर जान सकिन्छ ।

नेपालमा हामी अँध्यारोमा बस्ने अनि उद्योग धन्दा र कलकारखानामा बिजुली नपाएर बन्द हुने स्थिति हुनु हुँदैन । खाद्यान्नमा पनि त्यही हो । खाद्यान्नमा पनि महत्त्व दियौँ भने थुप्रै रोजगारी प्रवर्द्धन गर्न सकिन्छ । कृषिसँग जोडिएका उद्योगहरूको विकास गर्न सकिन्छ ।

यी कुराको सन्दर्भका देशको विकासका लागि सूक्ष्म परियोजनालाई ध्यानमा राखेर चीनसँग पनि छलफल गर्ने र यी सबै पक्षमा हाम्रो प्राथमिकता के हो, यसमा चीन सरकारले पनि कति महत्व दिन सकेको छ, कुराकानी गर्नुस् भनेर हामीले सुझाव दिएका थियौँ ।

बीआरआई परियोजनाका सन्दर्भमा नि ?

मैले भनेको थिएँ कि बीआरआई परियोजना जुन हो, यो नेपाल र चीनबीचको मात्र होइन । यसले पूरै अफ्रिकाका देशहरूसमेतलाई पनि समेट्छ । मध्य एशियादेखि लिएर दक्षिण एशियासम्म यसको सञ्जाल फैलिएको छ । यी साना अल्पसंख्यक देश बीआरआईबाट लाभान्वित भएका छन् ।

हाम्रो देशको उत्पादन वृद्धि गर्नका लागि हामीले विन–विन ढंगले यसलाई प्रयोग गरौँ । यो कुरा साझेदारीको पनि हो । यसले सबै देशको उन्नति र स्वउन्नति होस् भनेर सोच्नुपर्छ । यस अर्थमा पनि बीआरआईबाट नेपालले लाभ लिनुपर्छ ।

बीआरआई सैन्य संस्था होइन । सैन्य संस्थासँग हामीले सहयोग लिँदैनौँ । रणनीतिक अर्थात् सेनाको रणनीतिसँग जोडिएको मेट्रो एयरलाइन्ससँग जोडिएको परियोजनामा हामी जानु हुँदैन ।

नेपाल असंलग्न परराष्ट्र नीतिसँग ढृढताका साथ उभिने छ । नेपालले आफूलाई शान्ति देशका रूपमा विश्वमा परिचित गराएको छ र गराउनुपर्छ । यस अर्थमा पनि हामी कुनै पनि सैन्य गठबन्धनसँग जोडिएका परियोजनालाई अगाडि बढाउन सक्दैनौँ । हाम्रो हितलाई सर्वोपरि महत्त्व दिनुपर्छ । ठूला देशले पनि हाम्रो हित नभए नेपालको हित भए पुग्छ भन्ने उदार भावनालाई उच्च कदर गर्नुपर्छ । प्रधानमन्त्रीसँग यी सबै कुरा राखेका छौँ । देश विकाससम्बन्धी सोचमा पनि सुधार गर्नुपर्छ । लगानी गर्दा प्रतिफल हुने कुरालाई सोच्नुपर्छ ।

प्रधानमन्त्री ओली बीआरआई कार्यान्वयन गर्ने पक्षमा हुनुहुँदो रहेछ ?

मैले त्यसरी सोधिनँ । तर, उहाँले मात्र कार्यान्वयन गरेर हुने अवस्था छैन । गठबन्धनको सरकार छ । हामीसँग सल्लाह सुझाव माग्नुभएका कारण हामीले दिएका छौँ । तर, हामीले के पनि भनेका छौँ भने सल्लाह लिएर मात्र काम छैन, अरूले दिएको सल्लाहलाई पनि कार्यान्यनको चरणमा लानुहोस् । उहाँले हुन्छ भन्नुभएको छ ।

बीआरआईको पक्ष–विपक्षमा कांग्रेस–एमालेबीच कहाँ हलो अड्किएको रहेछ ?

त्यो मैले कुरा गर्न पाइनँ । कांग्रेससँग पनि बसेर कुरा गर्न समय मिलेको छैन । तर, ऋण कि र अनुदान भन्नेमा केही कुरा नमिलेको र स्पष्ट खाका नआएकाले पनि समस्या भएको हो कि भनेर नेताहरुको धारणा सुनेको थिएँ । एनपी साउद आउनुभएको थियो तर उहाँको कुरा सुन्न पाइनँ ।

खासमा त्यो छलफलमा पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दलकै नेता कांग्रेस सभापति शेरबहादुर देउवा र नेसपा अध्यक्ष बाबुराम भट्टराई किन आउनुभएन बैठकमा ?

बाबुरामजीले त बहिस्कार गर्नुभएको हो क्यारे । खास शेरबहादुर देउवाजी चाँहि सबै कार्यक्रम छाडेर आउनुपर्ने नै थियो भन्ने लागेको थियो तर उहाँ आउनुभएन । मेरो मनमा खुलदुली थियो, प्रचण्डजीलाई पनि त्यो लागेको होला । हामीले सोधेनौं । अरु नेताले पछि सोध्नुभयो कि ? उहाँको जनकपुरमा कार्यक्रम भएको कुरा आयो ।

तपाई र देउवाबीच त धेरै कुराहरु सेयर हुने गरेको सुनिन्छ । देउवासँग बसेर बीआरआईको विषयमा छलफल भएको छैन ?

भएको छैन । अहिलेसम्म हामीबीच कुरा भएको छैन । भेट नै भएको छैन ।

बीआरआईले माधव नेपाल र केपी ओलीलाई जोड्दैछ भन्ने पनि चर्चा छ नि ? मंसिर १० को भेटले कार्यकर्ताहरु खुसी पनि देखिए….

बैठक ढिला भएकाले म झन्डै छाडेर डिँडिसकेको थिएँ । मेरो बानी टाइममा पुग्ने छ । जुनसुकै बेला पनि म समयमै काम शुरु गर्नुपर्छ भन्ने पक्षको मान्छे हो । १५ मिनेट मात्र बढी कुर्छु, त्यहाँभन्दा सक्दिनँ । मैले राजा वीरेन्द्रसँग पनि ०४७ सालमा संविधान बनाउने बेलादेखि सम्बन्ध हुँदा वीरेन्द्रले कुराउँदा पनि म नकुर्ने मान्छे । त्योबेला पनि (०४७ सालमा) म निस्कन थालिसकेको थिएँ । गाडी र डाइभरलाई जाउँ भनेर बोलाइसकेको थिएँ तर त्यो थाहा पाएर सूर्यबहादुर थापा बाहिर हुनुहुन्थ्यो, हतार–हतार मलाई पालो दिनुभयो ।

म निस्कन लागेको थिएँ, ठ्याकै चिया आयो । चिया खान थालेपछि प्रचण्ड पनि आउनुभयो । चिया नखाई निस्किऔं भने अर्को समाचार यहाँहरुले नै बनाइदिनुहुन्छ । त्यो भएपछि प्रधानमन्त्री पनि आउनुभयो र भन्नुभयो माधवजीको त टाइम पनि महत्वपूर्ण छ   

मेरो अर्को पनि पक्ष छ, यदि प्रधानमन्त्री या अरु मान्छेको अति व्यस्तता छ भने समयमै सुचित गरिदिनुहोस् । आधा घण्टा या कति ढीलो हुन्छ, भन्नुपर्छ । म सभापति हुँदा पनि १५ मिनेट मात्र कुर्ने मान्छे हो । नत्र बैठक नै स्थगित गर्नुपर्छ । सबैको समय उतिकै महत्वपूर्ण हुन्छ ।

(मंसिर १० गते) म निस्कन लागेको थिएँ, ठ्याकै चिया आयो । चिया खान थालेपछि प्रचण्ड पनि आउनुभयो । चिया नखाई निस्किऔं भने अर्को समाचार यहाँहरुले नै बनाइदिनुहुन्छ । त्यो भएपछि प्रधानमन्त्री पनि आउनुभयो र भन्नुभयो माधवजीको त टाइम पनि महत्वपूर्ण छ, उहाँको गाडी पनि समयमै आउँछ ।

उहाँले रमाइलो प्रशंग ल्याउनुभयो । उहाँले विगत सम्झाइदिनुभयो । उहाँलाई थाहा छ, उहाँको घरमा यसरी नै कुराउँदा म धेरैपटक निस्किएको थिएँ । त्यसपछि जानै छाडेँ । त्यो कुरा सम्झिएर एकछिन हास्यौं । म हिँड्न उकुस–मुकुस भएका बेला ओलीजी आइपुग्नुभयो ।

पुरानो कुरा सम्झना गर्नु पनि सम्बन्ध सुमधुर हुनुको संकेत होइन ?

म सम्बन्ध कसैसँग पनि तोड्न चाहन्नँ । म सम्बन्ध अनावश्यक जोड्न पनि चाहान्नँ । जोसँग पनि सुमधुर सम्बन्ध होस् भन्छु । नेपाल राष्ट्रजस्तै सबैसँग सम्बन्ध होस् भन्छु । तर, देश, जनता र परिवर्तनका पक्षमा उभिनेसँग मेरो सम्बन्ध राम्रो हुन्छ । अनुचित कुरा हुँदा मात्र मान्छेलाई छुट दिनु हुँदैन भन्ने हो ।

स्वाभाविक रुपमा उहाँ (ओली) र मेरो सम्बन्ध आजको मात्र होइन । उहाँसँग ०२९ सालदेखिको सम्बन्ध हो । जब पुराना व्यक्ति र मित्रसँग कुराहरु हुन्छन् भने ती सबै सम्बन्धका आयामहरु छरपष्ट हुनु स्वाभाविक हो नि । मैले कसैसँग नराम्रो सम्बन्ध राख्नुपर्ने छैन । केही लिनु पनि छैन, दिनु पनि छैन । देश र जनताको हितमा लागेको छु । मेरो स्वभाव अपमान सहने छैन । सम्मान हुन्छ भने म पनि सबैसँग राम्रो हुन्छु । म पनि अरुलाई अपमान गर्दिनँ ।

त्यसदिनको छलफलको तस्बिर हेर्दा प्रचण्ड केही बोल्दै हुनुहुन्थ्यो, तपाई र प्रधानमन्त्री ओलीचाहिँ हाँस्दै हुनुहुन्थ्यो, के प्रशंग थियो त्यो ?

प्रचण्डजीले बोल्दा ‘ओलीजीले मलाई व्यंग्य गरिहाल्नुभयो’ भन्नुभयो । ओलीजीले ‘मैले त कुनै व्यंग्य गरेको छैन’ भन्नुभयो । देश कार्डको प्रयोग नगरौं भन्ने प्रसंग आउँदा यो कुरा आयो ।

यो भ्रमणलाई हामीले कुनै देशलाई अर्को देशका बारेमा दवाफ दिन कार्डको प्रयोग गर्नु हुँदैन । मेरो उहिलेदेखिको मान्यता हो । यदि कसैलाई लागेको छ भने, भारत–चीनलाई लागेको छ भने पनि प्रष्ट पार्नुपर्छ । हामीले चीन कार्ड र भारत कार्ड पनि प्रयोग गर्ने होइन । हामीले मूल्य, मान्यता र वैचारिक आधारमा उभिएर अगाडि बढ्नुपर्छ । विश्व र क्षेत्रीय शान्ति र मानव कल्याणको पक्षमा उभिनुपर्छ भनिएको हो । नयाँ पिँढी र नयाँ मानिसलाई खुसी बनाउने पक्षमा जानुपर्छ ।

उहाँ (प्रचण्ड) ले द हिन्दुमा के भनेको हो भनेर प्रष्ट पार्न खोज्नुभयो । ओलीजीले मलाई त थाहा नै छैन भनेर व्यंग्य गर्नुभयो । उद्देश्य केही होइन, भन्नुभयो प्रचण्डले । त्यहि कार्डको प्रशंगमा उहाँहरुबीच रमाइलो छेडछाड भयो । तर, प्रधानमन्त्रीले मैले केही भनेको छैन भनेर व्यंग्य हान्नुभयो । प्रचण्डले कार्ड केही होइन भन्नुभयो ।

यहाँले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलाई कसरी लिनुभएको छ ?

स्वाभाविक हो नि । नेपालको हितमा के विषयमा चीनलाई आग्रह गर्ने हो । विकास, निर्माण र व्यापारको कुरामा केमा गर्ने हो, चीनबाट के सिक्ने हो, आदान–प्रदान कसरी गर्ने हो र बीआरआईबारे सबैको धारणा के हो भनेर भ्रमण त गर्नुपर्छ । मैले बीआरआईको पनि अनेक परियोजनामा सहभागिता जनाएको छु, संसारका धेरै ठाउँमा । यस्ता कुराहरुमा छलफल त हुनुपर्छ नि । बहुध्रुवीय पक्षमा त हामीले स्पष्ट धारणा बनाएका छौं नि ।

योपटक प्रधानमन्त्रीले चीन जाँदा सम्झौला कार्यान्यन गरेर आउनुहोला ?

अब आन्तरिकरुपमा के गरेर आउनुहोला, त्यो मलाई थाहा भएन । तर, मलाई के लाग्छ भने कूटनीतिक कैशलता देखाएर आफ्नो काम सम्पादन गरेर आउनुपर्छ । किनभने, म पनि पहिलोपटक परराष्ट्रमन्त्री हुँदा ०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीको भारत भ्रमणमा सहभागी भएा । पहिले अनेक विषयमा सहमतिका निम्ति मैले प्रयत्न गरेँ र म सफल भएँ भन्ने कुरामा मलाई खुसी लाग्छ । गौरववोध पनि हुन्छ ।

नेताका बीचमा कतिपय कुराको ग्याप हुन्छ । त्यो ग्याप प्रधानमन्त्रीले खोल्न सक्नुपर्छ । आफ्नो कुरा राख्न गहिरो अध्ययन गरेर आफ्नो विषयका बारेमा राम्रो जानकारी राख्नुहोस् । अर्को देशको चासो, आंकाक्षा र जिज्ञासाका कुराहरुमा पनि पूर्ण तयारी गरेर जानुहोस् । यो मेरो परराष्ट मन्त्रालयसँग जोडिएका पूर्वकर्मचारी र विज्ञमाथि पनि सुझाव हो । प्रधानमनत्रीमाथि पनि सुझाव छँदैछ । किनभने, हामीले समझदार मान्छेलाई सम्झाउन सकिन्छ ।

मैले पहिले बंगलादेशको बाटो नेपाललाई जरुरी छ भनेर भारतका प्रधानमन्त्री नरसिंह रावजीलाई प्रस्ताव राखेँ, शुरुमा उहाँ तयार हुनुभएन । उहाँ तयार नभएपछि उहाँलाई मैले कन्भिन्स गराएँ । मलाई के लाग्छ भने चीन आग्रह नै पालेर बसेको छैन तर कन्भिन्स गर्नुपर्छ । त्यो खुबी, तयारी र आँट चाहिन्छ भनेर मेरो सुझाव छ ।

उहाँको भ्रमण उपलब्धिमुलक हुन्छ त ?

उपलब्धिमुलक होस भन्ने मेरो सुझाव छ । के हुन्छ भन्ने परिणाम मैले बोल्न ठिक छैन । हामीमा हतारमा बोल्छौं र फूर्सदमा पछुताउने स्वाभाव छ, तर म यस्तो छैन ।

यी सबै कुरा गर्दा पनि बीआरआईबारे यहाँको स्पष्ट धारणा आएन नि ?

बीआरआई यहाँलाई थाहा नै छ, बेल्ट एण्ड रोड भनेको संसारको कनेक्टिभिटीको योजना हो । जुन ठाउँमा बाटो बनाउन सकिन्छ बाटोको माध्यमबाट, रेल बनाउनु छ रेलको माध्यमबाट, पानीजहाजबाट सकिन्छ भने त्यसको माध्यमबाट वा हवाइजहाजबाट सकिन्छ भने त्यहीबाट हुने कनेक्टिभिटी हो यो । यो किन ? वस्तु विनिमयका लागि हो । यहाँले जहाँ सस्तो सामान पाउनुहुन्छ, त्यो किन्न पाउनुहुन्छ । त्यसमा के आपत्ति ? सामानको गुणस्तर बढाउने हो नि । सडेको बस्तु खानुभन्दा त यो बजारसँग जोडिने कुरा नराम्रो होइन । संसार नै सानो छ । भनेपछि यो जोड्नका लागि अनेक प्रयत्नहरु मानव जातिले उहिलेदेखि गरेका हुन् । उहिले ऊँटमा बसेर समुद्रको बाटोबाट व्यापार हुन्थ्यो । अहिले आईटी र इन्फर्मेसनको क्षेत्रमा व्यापक विस्तार भएको छ ।

यो मौकामा नेपालका भैंसी, भेडा, च्याङरा कति विक्री गर्न सकिन्छ भनेर कुरा गर्नुपर्ने थियो ।  चीनले माग गरेको सुनेको छु   

यी सबै कुराको क्षेत्रमा बीआरआईले मद्दत नै पुर्‍याउँछ । यस्ताखालका परियोजनामा हात हाल्दा हुन्छ । तर, त्यसको तरिका ठीक हुनुपर्‍यो । जथाभावी, गलत प्रयोग गर्नु भएन । देशको सार्वभौमिकता र नियमलाई पनि ध्यान दिनुपर्छ । एक देशले अर्को देशको सहअस्तित्व स्वीकार गर्नुपर्छ । महाभारतकालमा पनि हतियार चलाउने संस्कार थियो । देश–देशको अस्थित्व स्वीकार गर्नुपर्छ भन्ने मेरो कुरा हो ।

यहाँले ऋण लिनुपर्छ भन्ने कुरालाई जोड दिनुभयो कि अनुदान दिनुपर्छ भनेर ?

म त्यसरी प्रवेश गरिनँ । तर, परियोजनाको छनोटमा मेरो गम्भीर आपत्ती हो । म त निजगढ विमानस्थललाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने भन्छे । यहाँहरुलाई थाहा नै छ, कालीगण्डकी परियोजना पनि एशियाली विकास बै‌ंकलाई भनेर ल्याउन लागेको हो । म प्रधानमन्त्री भएका बेला दोलखाको अप्पर तामाकोशीलाई मैले नेपालकै पुँजी र जनशक्ति लगाएर अगाडि बढाउन लाएको हो । मैले नै नेपालमा शिक्षा विस्तारको निम्ति पहल गरेको हो । यस्ता कुरामा सबैले सल्लाह र सुझाव लिनुपर्छ ।

लगानी ल्याउने नि । लगानी भारतले पनि गरोस्, चीनले पनि गरोस् । संसारका अरु देशले पनि लगानी गरेर प्रतिफल हासिल गरुन् । वनजंगलको पनि सुरक्षा होस् । यी सबै कुरामा जानुपर्छ । विकसित देशले अल्पविकशित देशलाई सहयोग गर्नुपर्छ ।

नेपालको समग्र विकासका लागि गहिरो अध्ययन गर्नुपर्छ । सम्भावनाको खोजी गर्नुपर्छ र साकार पार्नुपर्छ । हतारमा निर्णय गर्नुहुँदैन । यस्ता कुरामा हचुवाका पारामा बोल्नु हुँदैन । स्वभाविकरुपमा अनुदान लिने र दुरुपयोग गर्ने गर्नु हुँदैन । अनुदान होस् या ऋण, सदुपयोग हुन्छ कि हुँदैन ? प्रतिफल प्राप्त हुन्छ कि हुँदैन ? म फेरि पनि भन्छु लगानी गरेर प्रतिफल दिनुपर्छ । देशको राजस्व बढाउने आयत विस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्ने गर्नुपर्छ ।

यो मौकामा नेपालका भैंसी, भेडा, च्याङरा कति विक्री गर्न सकिन्छ भनेर कुरा गर्नुपर्ने थियो । मासु, कर्णालीको स्याउ र नेपालको चिया विश्वको बजारमा पठाउन कसरी सकिन्छ ? धेरैभन्दा धेरै यसको अध्ययन गर्नुपर्छ । अनेक खालका फलफूल र तरकारीहरु विषादीरहित बिक्री गर्नुपर्छ । यस्ता कुरामा ख्याल गर्नुपर्छ । चीनले माग गरेको सुनेको छु । नेपाल सरकारले सहयोग मागे त सबैले सुझाव दिन्छन् नि । लगानीको प्रतिफल सोचेन भने देश पनि डुब्छ । यस्ता कुरामा विचार गर्नुपर्छ ।

विस्तृत अन्तर्वाताका लागि प्रतिक्षा गर्नुस्

तस्बिरहरू : चिरायु शाक्य/खबरहब

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : ०६ बजे

बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु

काठमाडौं – जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको

एनपीएलको तयारी पूरा : क्यान

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण

साताको ब्रिफिङ : उपनिर्वाचनमा होमिए दल, बुढीगण्डीको लगानी स्वीकृत, इजरायल-लेबनान युद्धविराम

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका

परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ

समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ले मनायो ५१ दिन

काठमाडौं- विराज भट्टका छोरा समीर भट्टको डेब्यू फिल्म ‘१२ गाउँ’ले