हिउँद लागेपछि सल्लेरीवासीलाई पानीको चिन्ता « Khabarhub

हिउँद लागेपछि सल्लेरीवासीलाई पानीको चिन्ता


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

इलाम – फाकफोकथुम गाउँपालिका-३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ। ‘भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँदैन। पानीको जोहोमै बित्छ बिहान’, उनले भने, ‘जुरुक्क उठेर डोको बोक्यो, पानी खोज्न हिँड्यो। बिहान अरु काम गर्न भ्याइँदैन। सरकारले कहिले ठूलो आयोजना ल्याइदेला र आँगनमा धारा बनाउँ जस्तो भएको छ।’

सल्लेरी गाउँमा ९० परिवारको बसोबास छ। यहाँको मुख्य समस्या खानेपानी नै हो। गाउँमा पानीको स्रोत नहुँदा हिउँदमा हाहाकार हुने गरेको छ। नजिकै कुवा, खोला र खोल्सा छैन। केहीले छिमेकी गाउँबाट निजी लगानीमा पाइप बिछ्याएर पानी ल्याएका छन् भने अधिकांशले गाग्रीमा ओसारेर दैनिकी चलाइरहेका छन्।

बर्खामा अकासे पानी थापेर प्रयोग गर्ने गाउँलेलाई हिउँद सुरु भएपछि पानी अभावले हरेक बर्ष सताउने गरेको छ। ‘बर्खामा अकासे पानीको भर पर्नुपर्छ। हिउँद त नआए हुन्थ्यो जस्तो लाग्छ। हामी अर्को बर्खाको पर्खाइमा छौँ’, स्थानीय वेदप्रसाद पाण्डेले भने, ‘पल्ला गाउँमा जस्तै सबैको आँगनमा पानीको धारा भए हामी पनि ढुक्कले रोजगारीमा हिँड्न पाउँथ्यौँ। घरमै पानीको धारा बनाउने सपना पूरा नहोलाजस्तो छ।’

गाउँको बीचमा कक्षा ५ सम्मको सल्लेरी प्राथमिक विद्यालय छ। विद्यालयमा एउटा धारा छ। तर धारोमा पानी आउँदैन। विद्यार्थीले घरबाट बोत्तलमा पानी लिएर पढ्न आउँछन्। पिउन मात्र होइन, शौच गर्न पनि समस्या छ। टिफिन समयमा टाढा धाएर बालबालिकाले पानी ओसार्छन् र प्रयोग गर्छन्।

‘सकेसम्म विद्यार्थीलाई पानीको अभाव हुन दिएका छैनौँ। तर, बोकेर सधैँ साध्य नहुने रहेछ। हामीलाई पनि गाह्रो छ, अभिभावकलाई पनि गाह्रो छ, हाम्रो गाउँको मुख्य समस्या नै पानी भयो’, प्रधानाध्यापक तारादेव नेम्वाङले भने।

तीन तहका सरकारले खानेपानीको दिगो व्यवस्थापन गरिदिनुपर्ने स्थानीयको माग छ। स्थानीय भगिरथ भण्डारीले भने, ‘दुई पटक तीन तहको चुनाव भयो। सबै उम्मेदवार मत माग्न घरघरमा आउनुभयो। हामीले खानेपानीको समस्या सुनायौँ। भोलि नै समाधान गरिदिने जसरी आश्वस्त पार्नुभयो। तर, समस्या ज्यूँका त्यूँ देखिन्छ।’

फाकफोकथुम-३ का वडाध्यक्ष दीपेन्द्र लिम्बूले यहाँको खानेपानी समस्या समाधानका लागि काम सुरु गरिएको बताए। ‘सिङ्गो वडामा पानी पुर्याउने उद्देश्यका साथ गत आर्थिक वर्षमा ८२ लाखमा पाँचवटा ‘रिजर्भ ट्याङ्की निर्माण गरेका छौँ’, वडाध्यक्ष लिम्बूले भने, ‘वडाको केन्द्र रहेको शुक्रबारे बजारमा २० लाख लिटर क्षमता भएको ट्याङ्की र अन्य ठाउँमा एक-एक लाख क्षमताको ट्याङ्की निर्माण भइसकेको छ। यस वर्ष पाइप विस्तारको काम हुनेछ।’

घरघरमा पुर्याउने पाइपका लागि एक करोड बजेट रहेको र अब त्यो ठेक्कामार्फत अघि बढ्ने तयारी रहेको वडाध्यक्ष लिम्बूको भनाइ छ। नसुवा गैँडे मुहान, मुगेखोला मुहान, लोखरुम्बा खोला मुहानबाट आमचोकमा खानेपानी ल्याउने तयारी रहेको उनले बताए।

गाउँमा भएको एउटा कुवा बारेर चार परिवारले पानी पाइपमा तानेर प्रयोग गरिरहे पनि पर्याप्त छैन। स्थानीय सन्त लुङ्गेलीले निजी लगानीमा २० एमएमको एक क्वाइल पाइप बिछ्याएर पानी ल्याएका छन्।

सल्लेरीमात्र होइन यहाँ नजिकैको आमचोक बजार र खत्री गाउँको समस्या पनि उस्तै छ। पानी अभावले खाना पकाउन, लुगा कपडा धुन, गाईवस्तुलाई खुवाउन, सरसफाइ गर्न सबैथोकमा समस्या हुने गरेको स्थानीय बताउँछन्।

खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्न स्थानीय तहलाई अधिकार दिएको छ। पालिकाभित्रका हरेक बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय पानी भएकाले यस क्षेत्रमा स्थानीय सरकार नै जिम्मेवार बन्नुपर्ने मानवअधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ६ : ३५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ