काठमाडौं- सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको मृत्युको खबर सुनेलगत्तै अधिवक्ता ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमा एउटा मार्मिक स्टाटस लेखे ।
‘प्रकाश वस्ती श्रीमानलाई पन्छाएर नेपालको न्यायालयमा विषवृक्ष रोपिएको थियो’ अधिवक्ता अर्यालले न्यायाधीश वस्तीलाई श्रद्धाञ्जली दिँदै भनेका छन्, ‘हजुरको सदाचार, निष्ठा र कर्मशीलताको मूल्यांकन ईश्वरले गरून् । हजुर अमर रहनु हुनेछ । श्रद्धाञ्जली ।’
समावेशी म्यागेजिनका सम्पादक पत्रकार खिलबहादुर भण्डारीले ०७१ सालमा प्रकाशित न्यायाधीश वस्तीको अन्तरवार्ताको आवरण पृष्ठसहित फेसबुकमा लेखे, ‘समावेशी मासिकमा १० वर्षअघि न्यायाधीश प्रकाश वस्तीको अन्तर्वार्ताले निकै हल्लीखल्ली मच्चाएको थियो । उहाँ हिजो बित्नु भएछ, न्याय क्षेत्रमा निकै काविल, निस्पक्ष न्यायाधीश प्रकाश वस्तीप्रति हार्दिक श्रद्धाञ्जली ।’
आखिर न्यायाधीश प्रकाश वस्तीलाई प्रधान न्यायाधीश बन्ने लाइनबाट किन हटाइयो ? उनलाई किन अस्थायी न्यायाधीशबाटै अवकाश दिइयो ? नेपाली कांग्रेस निकट मानिएका ‘गोपाल पराजुलीलाई प्रधानन्यायाधीश बन्ने बाटो खोल्न’ का लागि वस्तीमाथि के कस्तो व्यवहार भयो ? के अधिवक्ता ओमप्रकाश अर्यालले भनेजस्तै ‘प्रकाश वस्तीलाई पन्छाएर त्यहीँबाट न्यायालयमा विषवृक्ष रोपिएको’ हो ?
यिनै प्रश्नहरुको समाधान खोज्नका लागि हामीले समावेशीका सम्पादक भण्डारीसँग सम्पर्क गरेर १० वर्ष पुरानो वस्तीको अन्तरवार्ता माग्यौं । र, अहिले पूर्वन्यायायाधीश वस्तीको निधनमा न्यायक्षेत्रमा शोक प्रकट भइरहेका बेला यो पुरानो अन्तरवार्ता सान्दर्भिक हुने ठानेर समावेशीबाट साभार गरी यहाँ प्रकाशित गरिएको छ ।
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीसँग समावेशी मासिकका लागि पत्रकार विश्वमणि सुवेदीले ०७१ सालमा यो अन्तर्वार्ता लिएका हुन् ।
अवकाश पाएको लामो समय तपाईं नबोली बस्नुभयो, किन ?
मेरो पदावधि २०७० चैत २९ गते सकियो । न्यायाधीशको आचारसंहितामा कहिँ गएर इन्टरभ्यू दिन नहुने, केही बोल्न नहुने र कहिँ कतैसँग भेटघाट गर्न नहुने कुरा छ ।
यद्यपि चैत्र २४ पछि आजकै ठ्याक्कै तीन महिना (असार २९ गते आइतबार) अगाडि मेरो पदावधि टुंगिए पनि मेरा थुप्रै फैसलाहरु बाँकी थिए, लेख्न बाँकी थियो, सही गर्न बाँकी थियो । यद्यपि मैले राज्यबाट यो तीन महिना बापतको केही पाउने त होइन । तर पनि, बाहिरफेर बोल्दै हिँड्न मलाई अनैतिक कामजस्तो लाग्यो ।
जबसम्म माननीय न्यायाधीश भएर सही ठोक्छु त्यो दिनसम्म मैले न्यायालयको गरिमा, त्यसका लागि तयार भएको आचारसंहिताको मर्यादा राख्नुपर्छ । त्यसकारण यो तीन महिना मैले चुपचाप बिताएँ ।
त्यो आचारसंहिता नमान्नुभएको भए के हुन्थ्यो ?
अब मेरा लागि मैले नेतृत्व गर्ने कुनै पनि संस्था छैनन्, सबै सिध्याएँ । मेरो खराब बानी के छ पनि भने आफना मुद्दाहरुको राय म आफैंले लेख्नुपर्छ । अरुले लेखेको मलाई चित्तै बुझ्दैन । प्रायः मेरा रायमा ह्रस्वदीर्घ मिलेकै हुनुपर्छ र मिलेकै पनि हुन्छन् । जहाँ मेरो राय हुन्छm त्यहाँ शुरुदेखि अन्तिमसम्म हश्व–दीर्घ मिलेकै हेर्छु पनि म । ‘माननीय न्यायाधीश’ भनेर सही गर्दासम्म मैले त्यो पदको गरिमा राख्नुपर्छ । त्यसैले पदबाट बाहिरिएपछि आचारंहिता नमान्दा पनि हुन्थ्यो, तर मैले मानें । कारण हो, न्यायालयप्रतिको मेरो अगाध आस्था ।
अबका दिन कसरी बिताउने निर्णय गर्नु भएको छ ?
उमेरले म ५९/६० वर्षको भएँ। मसँग १०/१५ वर्षको सक्रिय जीवन बाँकी नै छ । कानुन व्यवसायमा ३२ वर्ष बिताएँ । न्यायाधीशका रुपमा पाँच वर्ष काम गरें। । यो ३७ वर्षभित्रै २१ वर्ष अध्यापनमा बिताएँ । मैले नेपाल ल क्याम्पसमा पढाएँ । ‘ल जर्नल’ को प्रधानसम्पादक भएर १५/२० वर्ष काम गरें ।
यी अनुभवबाट राष्ट्रले केही न केही त पाउनुपर्छ। मलाई थाहा छ, म चुप लागेर बस्नु भनेको मेरा ती सारा अनुभव मसँगै आर्यघाटमा पुगेर नष्ट हुनु हो । तर, यतिबेलासम्म मैले कुनै बाटो पहिल्याइसकेको छैन । केही न केही गर्नै पर्ला ।
न्यायाधीशहरू मुद्दा फर्छ्यौट गर्ने मामिलामा किन ढिला हुन्छन् ?
मेरो हकमा त्यो कुरा लागु हुँदैन । मैले न्यायाधीश हुँदा जम्मा ६ हजार ९ सय ४८ मुद्दा फैसला गरें । अरुले यो अवधिमा यो संख्यामा गरेको कसैले देखाउन सक्दैनन् । राष्ट्रपतिसमक्ष बर्सेनि पेश हुने वार्षिक प्रतिवेदन यसको साक्षी हो । त्यो फाइल पल्टाएर हेर्नुहुन्छ भने पनि यति धेरै फैसला कसैको छैन। म आजभोलिमै जान्छु भन्ने अवस्थामा पनि १६६ मुद्दा फैसला गरें । अरुले चाहिँ त्यो अवधिमा ५०/६० वटाभन्दा बढी मुद्दा फैसला गरेका छैनन् ।
अरुले ढिलो गर्नुको कारण के हो ?
वकिलको अनुहार हेर्दै फैसला गर्ने चलन हाम्रो अदालतमा व्याप्त छ । यो वकिलको राजनीतिक पहुँच के छ ? त्यसको प्रतिकूल हुने गरी गर्दा भोलि आफूमाथि पर्ने समस्या के–के हुन् ? त्यो वकिल रिझाउन पाए आफूले के–के काम, फाइदा लिन सकिन्छ भन्नेजस्ता कुरा हेर्ने गर्दछन् । नभए हेर्नुस् त, एउटा सानो मुद्दा हुन्छ, तर पार्टीपिच्छेका एक–एकजना वकिल राखिन्छ । किन ? किनभने, त्यहाँ पक्षधरताको कुरा आउँछ । राजनीतिक पक्षधरताको आशमा त्यस्तो हुन्छ ।
कतै तपाईंले त्यस्तै नगर्दा यो दुर्गति भएको हो कि ?
म बेञ्चमा जान्थेँ, पढ्थेँ, बुझ्थेँ । र, त्यो मुद्दा पन्छाउँदिनथेँ । ‘दिनभरि सुनेर पनि किन आदेश गरिनस् ?’ भन्ने प्रश्न म उठ्न दिन्नथेँं । यसमा मलाई पश्चाताप छैन । तर, अहिले आएर डराउनु पर्ने पो रहेछ कि जस्तो लाग्न थाल्यो । मान्छे बोल्दैनन् । किनभने, बलेको आगो मात्र ताप्छन् यहाँ । मैले अवकास पाएपछिको दुई महिनामा २३८ मुद्दामा सही गरें ।
यही कारणले तपाईंलाई अप्ठेरो पर्ला भन्ने महसुस भएन ?
मलाई विगत एक वर्षदेखि ‘अब सिध्याउँछन्’ जस्तो लागिसकेको थियो । इमान र धर्मले जोगाएछ भने जोगिन्छु, नत्र मेरा कोही छैनन् भन्ने मलाई पहिल्यै थाहा थियो ।
तपाईंमाथि नै किन यस्तो गरियो ?
सर्वोच्च अदालतमा स्थायी पद पूरा भएपछि मात्र अस्थायी न्यायाधीश नियुक्त गर्ने सवैधानिक प्रावधान हो । अस्थायी न्यायाधीश सीधै राख्न पाइँदैनथ्यो । स्थायी पद १५ पुगेपछि मात्र अस्थायी पद १६, १७ र १८ राख्ने प्रावधान हो । त्यसो हुँदाहुँदै पनि हामीलाई फेरि अस्थायीमै लगियो । त्यहीबेला निर्वाचन आयोग र अख्तियारमा गएका पदाधिकारी स्थायी भएर गए । २०६९ साल माघ २ गते स्थायीको प्रक्रिया शुरु भयो । १ गते बाधा अड्काउ फुक्यो । २ गतेदेखि नै प्रक्रिया त शुरु भयो, तर २८/२९ दिन लाग्यो । हामी अस्थायी न्यायाधीशलाई फेरि अस्थायीमै लगियो।
त्यस्तो हुँदा के महसूस गर्नुभयो ?
मलाई नजाऊँ कि भन्ने लाग्यो । किनभने, संविधान बिग्रिएको थियो । मैले सोचें, अब म कानून व्यावसायीका रुपमा काम गर्न पाउँदिनँ । पहिलाको संविधानअनुसार अस्थायी न्यायाधीशबाट अवकाश पाएपछि अधिकार थियो । तर, ०६३ को संविधानले अस्थायीलाई पनि स्थायीसरह कानून व्यावसायीका रुपमा काम गर्न नपाउने गरी व्यवस्था गरिदियो । मलाई फेरि एक वर्ष अस्थायी न्यायाधीशमा लगिएपछि कुनै पनि दिन तानिन सक्छु जस्तो लाग्यो । मसँग उपाय पनि थिएन । किनभने, ममाथि कुनै राजनीतिक दलको सहयोग थिएन।
त्यस्तो उपाय बेलैमा खोजी गर्नुभएन ?
मसँग ब्रिफकेश थिएन ।
ब्रिफकेश व्यवस्था गर्ने मौका मिलेन ?
९० वर्ष पार गर्नुभएकी मेरी आमा आज पनि जिउँदै हुनुहुन्छ । मैले अनैतिक तवरबाट एक पैसा खानु र आमाको रगत खानु मेरा लागि उस्तै हो । अन्तिममा मसँग दुई चिज थियो । त्यो हो, इमान र मेहेनत । मलाई जोगाउन सक्ने अस्त्र एउटा आत्मविश्वास र अर्को मेहेनत यी दुईबाहेक अरु कसैले पनि मलाई जोगाउँदैन भन्ने पूरा विश्वास थियो । तर, जाल मेरो इमान, इज्जत दुबैले हार खायो ।
‘ब्रिफकेश’ क-कसले मागे ?
‘ब्रिफकेश’ नै भनेर मसँग कसैले मागेनन् । तर, घटनाक्रमहरु बुझ्दा घुमाई–फिराई ब्रिफकेशका कुरा नआएका हैनन्।
के हुन् ती घटनाक्रम ?
०७० चैत २९ गते हामीले सर्वोच्च अदालतबाट अवकाश पायौं । बैशाख पहिलो हप्ता मेरा धनिष्ट मित्र, अधिवक्ता नारायणबल्लभ पन्तले मलाई फोनमा ‘मिलापत्र’ को प्रस्ताव ल्याउनुभयो । उहाँले मलाई गोपाल पराजुलीभन्दा तलको वरियतामा बस्नका लागि अफर गर्नुभयो । मैले अस्वीकार गरें । बरु, सोधें, ‘यो कुरा तिमीलाई कसले भन्यो ? उहाँले भन्न चाहनुभएन । अनि रिस उठ्यों । मैले भनें, ‘आइन्दा यस्ता कुरा मसँग नगर । बरु भोकै मर्छु, आधा पेट खाउँला, फरक पर्दैन, आफैं गिरेर त्यहाँसम्म पुग्दिनँ।’
योबाहेक अन्य कतैबाट त्यस्तो आशयको कुरा आयो कि ?
प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले भेट्न बोलाउनुभयो । उहाँको पीएले फोन गरेर बोलाउनुभएको थियो । उहाँले घरमा बोलाउनुभएको थियो । पहिला मैले घर–घर गएर मान्छे भेट्ने कुरा इन्कार गरेँ । किनभने, म पनि कसैको घरमा जान्नँ, मेरो घरमा पनि कोही नआउन् भन्ने चाहन्छु ।
मैले प्रधानन्यायाधीशका पीएलाई त्यहीँ (सर्वोच्चमा) भेट्छु, कसैको घर जानु छैन, म चेम्बरमै भेट्छु भनें । तर, दोहोर्याई–तेहेर्याई घरमै बोलाएपछि म उहाँको आरुबारीस्थित निजी घरमा पुगें ।
उहाँले ‘तपाईं न्यायपालिकाका लागि नभई नहुने मान्छे, मान्छे गुडलक हुन्छ’ भन्दै मेरो तारिफ गर्नुभयो । प्रधानन्यायाधीशले यति कुरा भन्नु मेरानिम्ति आशीर्वादसरह हो । शीरोपर गरें । उहाँले मेरो ग्रहदशा खराब छन् भन्नुभयो । अनि ‘ग्रहशान्ति गर्नुस्’ भन्नुभयो ।
उहाँको घरमा रहेको मन्दिरकै सामुन्ने बसेर यी कुरा भएका हुन् । उहाँका देवताहरु यी कुराका साक्षी छन् । ‘ग्रहशान्ति’ भनेको के हो ? किन मैले यतिबेला आएर ग्रहशान्ति गर्नुपर्ने ? कुरा बुझिँदैन र ? मैले भनेँ, ‘श्रीमान् म भगवानलाई विश्वास गर्छु, तर कर्मकाण्डमा विश्वास गर्दिनँ ।
उहाँले ‘ब्रिफकेश’कै कुरा गर्नुभएको हो ?
उहाँले ‘ब्रिफकेश’ नै माग्नुभयो भन्ने दाबी म गर्दिनँ । तर, उहाँले जे भन्नुभयो, ती कुरा मेरो निम्ति अनपेक्षित थिए। ‘ग्रहशान्ति गर’ भनेको पनि राम्रै हिसाबले, अविभावकको हिसाबले हुनसक्छ । कि, मेरा ग्रहदशा खराबै थिए होलान् । नत्र किन त्यत्रो पारदर्शी माया गर्दागर्दै उहाँले त्यतिमात्र पछि सम्झाउनुभयो ?
उहाँले भन्नुभयो, वकिलको त नम्बर हुन्छ । त्यही नम्बरबाट अगाडि–पछाडि चल्छ । हाम्रो त जो माथिल्लो तहमा नम्बर हुन्छ, त्यही सिनियर हुन्छ ।’
अनि दोस्रो कुरा नारायणबल्लभजीले भनेजस्तै भन्नुभयो । अर्थात्, ‘तपाई कति पछाडि बस्नुस् न’ भन्नुभयो ।’ मैले साथी/संस्था भनेर होइन, त्यसो गरेदेखि मेरै भाइजस्तो हुन्छ, सम्झाउन सक्छु भनेर भनेको हुँ । कसैले भन् भनेर होइन’ भन्नुभयो।
जबकि, नारायणबल्लभजीले तीन दिन पहिला यो कुरा भनिसक्नुभएको थियो । यही कुरा उहाँलाई पनि सुनाएँ, ‘जो व्यक्तिले आफूलाई न्याय गर्न सक्दैन, त्यो व्यक्तिले कसैलाई पनि न्याय दिन सक्दैन।’ दामोदर श्रीमानले भन्नुभयो, ‘तलमाथि भएर के हुने हो र ? प्रधानन्यायाधीश भएर पनि के हुने हो र ? आखिर फैसला गर्ने त हो !’
नारायणबल्लभ प्रधानन्यायाधीशका एजेन्ट हुन् त ?
दुबैले एउटै कुरा गर्नुमा केही न केही ‘नेक्सस’ (तारतम्य) छ जस्तो लाग्छ । प्रधानन्यायाधीशले ‘रातभरि सोच्नुस्, भोलि जवाफ दिए पनि हुन्छ भन्नुभयो ।
जवाफ दिनुभयो त ?
आफैँ जुनियर भएर जान मञ्जुर हुँदा मान्छेले मलाई थुक्छन् । मलाई पनि घुस खान बस्यो भन्छन् । हिजो जसको अपिल सुनेर बसें, त्यसैको मुनि गएर बस्न जाँदा मलाई मान्छेहरुले के भन्लान् ? मैले प्रधानन्यायाधीशज्यूलाई जवाफ दिएँ, ‘बरु, म फुटपाथेलाई, फुटपाथै सही !’
त्यहाँबाट बाहिरिएपछि नारायणबल्लभसँग कुरा भएन ?
बैशाख ११ गते दिउँसो मैले उनलाई फोन गरें । ‘सबै मेरा साथी हुन्, जुनियर लयर सबै अगाडि छन् । सबैले तिमी नभएकोमा दुःखमनाऊ गरेका छन् । एकदमै दुःखी छु’ भनेर सुनाए । मैले भनें, ‘ल भन त नारायणबल्लव, तिमीले नै मलाई जुनियरभन्दा तल बसेर जाऊ भन्न मिल्छ त ? तिमीलाई कसले त्यस्तो भन्नु भन्या’थ्यो ?’
उहाँले सोध्नुभयो, ‘तिमीलाई कसैले फोन गरेनन् ?’ यो संवादका साक्षी (उहाँका साथीहरु) अगाडि पछाडि थिए होलान, यो फोनमा भएको कुरा हो । मैले भनेँ, मलाई त कसैले फोन गरेन । बरु दामोदर श्रीमानले भेट्नचाहिँ बोलाएको हो । उहाँले सोध्नुभयो, अनि तिमीलाई खेमनारायण ढुंगाना (न्यायपरिषदका तत्कालीन सदस्य) ले पनि फोन गरेन ?’
खेमनारायणले केही भनेका थिए त ?
खेमनारायण र म बीएल पढ्दाका सहपाठी हौं । मैले चाल पाएँ, यो कुरा दामोदर शर्मा र खेमनारायणबीच त भएको रहेछ । भन्नुपर्ने कुरा दामोदर श्रीमानबाटै भनिएको थियो। त्यसैले मैले खेमनारायण वा अर्को कुनै नर–नारायणसँग कुरा गरिरहनु आवश्यक ठानिनँ ।
कतै तपाईं अख्तियारको कानुनी सल्लाहकार हुँदा गोविन्दराज जोशीका विरुद्ध चलाइएको भ्रष्टाचार मुद्दाको विषयलाई लिएर उनका कानुनी सल्लाहकार तथा हाल न्याय परिषद्का सदस्य उपेन्द्रकेशरी न्यौपानेले प्रतिशोध पो साँध्नुभएको हो कि ?
म ६ वर्ष अख्तियारमा कानुनी सल्लाहकार भएर बसें । क–कसलाई मुद्दा चलाउनुपथ्र्यो, त्यो कुरा आयुक्तले निर्णय गर्थे । मेरो भूमिका विशुद्ध कानुन व्यावसायीको हो । जब चार्जसीट बनेर आउँथ्यो, तबमात्र मैले त्यो अध्ययन गर्ने र बचाउकर्ताको भूमिका खेल्ने हुन्थ्यो । गोविन्दराज जोशी वा अरु कुनै मुद्दाका सन्दर्भमा मेरो भूमिका त्यही नै हो ।
उपेन्द्रकेशरीजी (तत्कालीन न्यायपरिषद सदस्य) र म पुराना साथी हौं । उहाँ र मैले एउटै मुद्दामा काम पनि गरेका थियौँ । वकिलको काम भनेको सकेसम्म बनाइदिने हो, जानाजान वा नजानेर बिगार्ने भूमिका कुनै पनि वकिलले खेल्दैन र खेल्नुहुँदैन। जहाँसम्म गोविन्दराजको मुद्दासँग यो प्रसंग जोड्नुभयो, खोज्दै जाँदा त्यस्ता कारण पनि निस्किएलान् । अख्तियार गएपछि को–को जोगिए, को–को जोगिएनन्, अर्को पाटो भयो । वकिलको धर्म हित गर्ने हो, अहित नगर्ने होइन । मैले त्यही हिसाबले काम गरेको हुँ। अब, उपेन्द्रकेशरीजीसँग कतिपय मुद्दामा सँगै काम पनि गरियो । म उनका क्लाइन्ट बिगार्ने भूमिकामा कहिल्यै पनि रहिनँ ।
अख्तियारमा कसरी जानुभयो ?
अख्तियारका तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसँग मेरो मित्रता, नातागोता केही थिएन । उहाँ कानुनमा ठूलो हो, त्यसरीमात्र चिन्थेँ म । पहिला त उहाँसँग मेरो चिनजान पनि थिएन । सबै मुद्दा पुनरावेदनमा दर्ता हुन्थे । अख्तियारले ११ वटा मुद्दा लगेको रहेछ । ११ मध्ये एउटामा मैले बचाऊ गर्ने वकिलको भूमिका निर्वाह गरेँ । अर्थात् प्रतिवादी वकिल थिएँ । र, जति मुद्दामा हामी जान्थ्यौं, सबैमा जित्थ्यौं पनि ।
शायद त्यही कारणले होला, उहाँ (सूर्यनाथ) त्यहीबेला अचानक फोन गरेर डिल्लीबजारस्थित मेरो अफिसमै आइपुग्नुभयो । ‘अन द स्पट’ आएपछि ‘मेरो सल्लाहकार बसिदिनुहोस्, तपाईलाई पैसा कति चाहिन्छ ?’ भनेर सोध्नुभयो ।
मैले ल फर्म छोडें भने तपाईंले कति समय लिनुहुन्छ ? तीन वर्ष, चार वर्ष या कति ?’ मेरो भनाइ थियो, ‘तपाई अख्यियारको प्रमुख आयुक्त हुने त ६ वर्षलाई न हो ! ६ वर्षपछि मैले के गर्ने ? त्यसबेलासम्म मेरा क्लाइन्ट टुटिसकेका हुन्छन्।’
उहाँले भन्नुभयो, ‘होइन, ६ वर्ष भनेको धेरै लामो समय पनि होइन।’ सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यही हैसियतमा उहाँ संवैधानिक परिषदको अध्यक्ष हुनुहुन्थ्यो। विमल कोइराला सरकारको मुख्यसचिव हुनुहुन्थ्यो। विमलजीले मलाई ‘अध्यक्षज्यूको आज्ञा’ ले भन्नुभयो, ‘अख्तियारको आयुक्तमा गइदिनुस्।’
विमलजीलाई मैले मैले चिनेको थिएन। भाइचाहिँ मेरा विद्यार्थी रहेछन् रमेश कोइराला भन्ने । विमल कोइराला भन्या रमेशको दाइ भन्ने पनि थाहा थिएन । पछि एउटा विवाहको पार्टीमा भेट भयो। भन्नुभयो, ‘म विमल कोइराला हो । तपाई र मेरो फोनमा कुरा भएको होइन ? शम्भु थापा साक्षी छन्, सोध्दा हुन्छ ।’
तपाईंलाई प्रधानन्यायाधीशले अवकाशबारे केही संकेत गर्नुभएको थिएन ?
सर्वोच्चका न्यायाधीशहरु मेरा साथी नै हुन्थे। विभिन्न अवसरमा विभिन्न कुरा भन्थे, भूमिकाहरु भन्थे। परोक्ष र प्रत्यक्ष रुपमा प्रष्ट भन्थे । सबैभन्दा बढी त्यहाँ भएकामध्ये मलाई दामोदर सर (प्रधानन्यायाधीश) ले नै माया गर्नुहुन्थ्यो । उहाँले धेरै कुरा भन्नु पनि भएको छ । तत्कालिन प्रधानन्यायाधीश रामकुमार श्रेष्ठले पनि धेरै कुरा भन्नुभयो । तर, जति दामोदर शर्माले भन्नुहुन्थ्यो, त्यति रामकुमार सरले भन्नुहुन्थेन । मलाई सिध्याउँदैछन् भन्ने कुरा कसैले पनि भनेन । सबैले ‘तपाईंको विरुद्ध धेरै लागिरहेछन्’ चाहिँ भन्नुहुन्थ्यो, मलाई यो कुरा थाहा थियो ।
वरियतामा झरेको भए के हुन्थ्यो ?
त्यसो गरेको भए पनि म २०७४ सालमा प्रधानन्यायाधीश हुन्थेँ । म एक वर्ष २२–२५ दिन खान्थें । गोपाल पराजुली आए पनि केही वर्ष हुन्थेँ होला । म हुँदाहुँदै उहाँलाई अलि गाह्रो हुन्थ्यो। जस्तो– सुशीला कार्की हुँदाहुँदै बैद्यनाथ रिटायर्ड हुनुभयो नि, किनभने म भैदिएको भए उहाँ कुनै पनि हालतमा हुनुहुन्थ्यो । उहाँलाई प्रधानन्यायाधीशले जसरी पनि बनाउने हिसाबमै रहेजस्तो लाग्यो ।
किन प्रधानन्यायाधीलाई गोपाल पराजुली नै चाहिएको ?
गोपाल पराजुलीजी अनेक नाटक गर्न माहिर हुनुहुन्थ्यो । कतिसम्म गर्नुभयो भने एकचोटि प्रधानन्यायाधीको प्रेसर हाई भएछ । डाक्टरलाई बोलाउनुभयो । डाक्टरले गंगालाल अस्पतात लगे । डाक्टरले उहाँसँग फी लिन चाहेन । बरु हाई प्रोफाइलको प्यासेन्ट भनेर होला, गंगालालमै भर्ना गरिदिए । गोपालजी दौडेर जानु भएछ । ‘ओहो, मेरो पनि प्रेसर बढ्यो’ भन्दै अर्को खाटमा गएर खत्रक्क पल्टिनुभयो । त्यसरी प्रधानन्यायाधीश सुतेको खाटभन्दा पल्लो खाटमा २४ घण्टा सँगै बस्नुभयो ।
प्रधानन्यायाधीश (दामोदर शर्मा) प्रत्येक रामनवमीका दिन बाराको जितपुर पुग्नुहुन्छ । त्यहाँ भगवानको मन्दिर छ रे ! गाडी लिएर जानुभयो, गाडीमै फर्किने सुरमा हुनुहुन्थ्यो । यो कुरा चाल पाएर गोपालजी प्लेनमा सिमरा जानुभयो । र, ९ वटा सिट बुक गर्नु भएछ । दक्षिणकालीको बाटो बन्दै थियो । बिहान ६ बजेदेखि मात्र खुल्ने अवस्था थियो । सिडिओलाई ‘प्रधानन्यायाधीश फर्किने’ भनेर गोपालजीले नै ५ बजे नै बाटो खुलाउनुभयो । त्यसदिन उहाँको संसदीय सुनुवाई हुनेवाला थियो । गोपालजीले त्यही कामका लागि प्लेनमा हालेर ल्याउनुपर्छ भन्दै फर्किने टिकट लिनुभएको रहेछ ।
सम्पत्तिका अफर कत्तिको आए ?
न्यायाधीश हुँदा सम्पत्ति कमाउने अफर आउँछन् । तर, यसले भनेको मान्दैन/टेर्दैन भनेर थाहा पाएपछि चाहिँ आउँदैनन् । सुरुमा नै धेरै प्रभाव पार्न खोजिन्छ ।
एउटा शुरुको घटना हो, म त वकिल थिएँ । विभिन्न व्यक्तिले मुद्दा दिन्थे । वकिल भएर गएको फुर्ति पनि थियो । मेरै जिल्लाको मान्छे, म उहाँलाई ‘दाइ’ भन्छु । उहाँले भन्नुभयो, ‘यो मुद्दा तेरोमा भोलि पर्छ। तैंले हेर्दिनुपर्यो ! कुन मुद्दा कसकहाँ पर्छ भन्ने कुरा हामी न्यायाधीशलाई पनि त्यही दिन बेञ्चमा बसेपछिमात्र थाहा हुन्छ, तर ती दाइलाई अघिल्लो दिन नै थाहा भएछ । ‘मुद्दाको बारेमा त मलाई केही थाहा छैन। नहेरी कसरी थाहा हुन्छ ?’ भनेँ ।
अनि उहाँले भन्नुभयो, ‘हैन हैन, हामी हिजो बिहानै बालुवाटार(प्रधानन्यायाधीश निवास) गएकबा थियौं । प्रधानन्यायाधीश( केदार गिरी) लाई भेट्यौं । एउटा मेरो मान्छे, एउटा तेरो मान्छे भन् भन्नुभयो । मैले त तेरो नाम भनें ।
बेञ्चमा भरतराजजी र म थियौं । भरतलाई यो कुरा शेयर गरें । बेञ्चमा दामोदर शर्मा र थियौं । म करिब त्यो मुद्दा ७०/७२ लाखको थियो । मतलब रिट जारी गर्दा ७०/७२ लाख आउँथ्यो । अनुपराज शर्मा रोल नं.२ मा हुनुहन्थ्यो । म उहाँलाई दाइ भन्छु । अनुपराज शर्माले भन्नुभयो, यो कुरा हल्ला गर्ने होइन । यस्ता कुरा धेरै आउँछन् चूप लागेर बस । गर्न मन लागे गर्नु, गर्न मन नलागे यो करा मनमै राख्नु ।
त्यसपछि दामोदर श्रीमानलाई श्रीमान् यस्तो–यस्तो कुरा’ भनेर बेलिबिस्तार लगाएँ । उहाँले रोक लगाउनु भएन । त्यो मुद्दा मैले पहिले हेरिसकेको थिएँ । त्यो सम्मति कुनै क्लाइन्टले किन्ने भन्ने कुरा उठेको थियो । कुरा मनकामना केबलकारको हो । मैले उसको १६–१७ वर्ष त्यो कम्पनीको वकिल भएर काम गरेको थिएँ । त्यो जग्गा भैंसेपाटी प्लानिङको हो, २१ रोपनी छ ।
मैले भनें, ‘पैसा धेरै छ भने हाल्नोस्, (फोकटमा पैसा कमाएको भएदेखि), नभए नहाल्नुस् । फेरि । मैले त्यो मुद्दा हेरिसकेको थिएँ, त्यही मुद्दा जिताउनुपर्ने रहेछ । मनकामना केबलकारलाई बेच्नुपर्ने, टेन्डर कल भयो । कसैले अर्नेष्ट मनी राख्यो । टेन्डर त हाल्यो, पछि पुर्याउन सकेन । २१ रोपनी जग्गा पुर्याउन नसकेपछि जफत हुने भयो । जफत गर्न मिल्दैन भन्यो भने पैसा फिर्ता हुने रहेछ । मैले दामोदर शर्मालाई भनें, ‘श्रीमान् यस्तो–यस्तो रहेछ यो मुद्दा । नहेर्ने भनेको छु।’
आफन्तहरूबाट कत्तिको अफर आउँछ ?
भर्खर न्यायाधीश भएर गएको थिएँ । मेरो भाइमार्फत एउटा संस्था आयो, ‘तेरो दाइ बेबकुफ रहेछ, मान्यो भने उसलाई खर्बपति तँलाई अर्बपति बनाइदिन्छौं’ भन्दै ।
यस्ता अफर मलाई थुप्रै आए । अरुलाई पनि आउँछन्। ‘खाएर’ काम गर्छ भन्ने चाल पाएपछि त झन् कति हो कति आउँछन् ।
अदालती भ्रष्टाचार रोक्ने कुनै प्रयास गर्नुभएन ?
बरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको नेतृत्वमा अदालतका विसंगति औंल्याउने काम भयो । एउटा आयोग बन्या’थ्यो।
वास्तवमा वकिलको आँखाबाट अदालतभित्रबाट भ्रष्टाचार शब्द नगरे पनि विकृति र विसंगतिको अध्ययन हामीले गर्यौं । त्यो रिपोर्ट करिब–करिब चार सय पेजको प्रकाशित छ ।
त्यो टिममा हुनेवाला प्रधानन्यायधीश सबै राखौँ भन्ने मेरो प्रस्ताव थियो । प्रधानन्यायाधीशले ‘राख्दिनँ’ भन्नुभयो । तर, उहाँपछि हुने प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र खिलराज रेग्मीलाई चाहिँ राख्नुभयो ।
मैले भनेँ, मलाई नराख्नोस् । मलाई धेरैले लखेटिरहेका छन् । किनभने, त्यो ग्रुप (बिचौलिया) ले लखेटेपछि गोमन सर्पलाई लखेटेजस्तै हुन्छ, पानी पिउन नपाएर मर्नुपर्छ । मलाई इमान्दारिता र भगवानले बचाए बचाउँछन्, नत्र म जोगिन्नँ भन्ने मलाई थाहा थियो ।
त्यो कमिटीमा बसेर प्रतिवेदन तयार पारियो । खिलराज रेग्मीले भन्नुभयो, ‘श्रीमान यो सबै नराख्नोस्, यो सबै राख्दा हाम्रै आन्द्राभुँडी देखिन्छ ।’
मैले भनेँ,‘लागु गर्ने तपाईहरुले नै हो । के फरक पर्छ र !’
रामप्रसाद श्रीमानले त केही गर्नु पनि भयो । अन्ततः त्यो प्रतिवेदन बाहिर आयो । तर, बाहिर जे आएको छ, त्यो १० भागको एक भाग मात्रै हो । त्यो पढ्नुभयो भने लुकाइएको र बाहिर ल्याइएको हेर्दा जो कोही छक्क पर्छन् ।
अहिले सम्झँदा बरू पैसा नै बुझाएको भए हुन्थ्यो जस्तो लाग्दैन ?
पत्रकार पृष्ठभूमिको एउटा मान्छेले मलाई केही कुरा भन्यो, वास्तवमा त्यो कुराले मेरो मनलाई धोचेको छ । उसले मलाई ‘बाजे’ भन्छ । भन्यो कि, ‘तिमीले ब्रिफकेश पनि पाउँथ्यौ बाजे, प्रधानन्यायाधीश भएर निस्किन्थ्यौ । आज आफ्नै गलत कारणले गर्दा गलहत्याएर निकालियो।’ त्यो संवादले मेरो मुटुमा सुइरो रोपिएजस्तो अनुभव भयो । मैले उहाँलाई भनें, ‘म मिल्किएँ, अपमानित रुपमा । तर, त्यति अपमानित व्यक्ति म थिइनँ ।’
मलाई म्यासेज पनि आउँथ्यो– ब्रिफकेस पनि पाउँथ्यौ, प्रधानन्यायाधीश भएर पनि निस्किन्थ्यौ।’
धम्कीहरू कत्तिको आउँथे ?
अरुले मलाई मुद्दामा कहिल्यै धम्क्याउने आँट गरेनन्, एकजना पत्रकारबाहेक । लेखेर बेइज्जत गरिदिन्छु भन्ने एकजना पत्रकार निस्किए । त्यत्ति हो मैले व्यहोरेको धम्की।
अब के गर्नुहुन्छ ?
मलाई सर्वोच्च अदालतबाट मिल्काए । अब मैले के गर्ने ? बाटो सोच्दै छु । अहिलेसम्म त म फैसलामै रमाएँ । म कामसँगै रमाउने मान्छे हुँ । मनमा चाहिँ न्यायपालिकालाई विकृतिबाट अलि टाढा राख्न सक्छु कि भन्ने सपना तुहिएको मात्रै हो । मेरा सम्पूर्ण सपनाहरु तुहिएका त छैनन् । अझै पनि नयाँ–नयाँ सपनाहरु उमार्न सक्ने, विजय हासिल गर्न सक्ने उमेर पनि छ । मसँग उर्जा पनि छ । मैले पनि सोचेको त छैन, के गर्ने भनेर सोच्नु त पर्छ ।
अनुपराज प्रधानन्यायधीश हुनुहुन्थ्यो । मलाई रामप्रसाद श्रेष्ठले बोलाउनु भयो । ‘ए वस्ती श्रीमान्, के विचार छ ?’ भनेर सोध्नुभयो । मैले भनें, ‘यो अदालत हो । सिष्टम बिग्रिन्छ । यद्यपि म सुशीला कार्कीभन्दा दुई वर्ष जेठो अधिवक्ता हुँ । तर, उहाँ महिला दिदीबहिनी हो । त्यसपछि उहाँको रोल नम्बर १५ हो, मेरो १६ हो । १५ वटा पद हुन्छ । म १६ नम्बरमा परें ।
अहिलेसम्मको सिष्टममा अस्थायीबाट फालिनेमा दुईजना मात्र छन् । एउटा परमानन्द झा, अर्को पवनकुमार ओझा ।
सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्या कसले गरेको हो ? केही बुझ्नुभएको छ ?
रणबहादुर बमको हत्याको कारण प्रष्ट छ । सबैले बुझ्या छन् । कोही बोल्न चाहँदैनन् । त्यो बोल्यो भने मलाई पनि मारिहाल्छन् कि भन्ने डर छ । मरिहाल्ने डर छ । ‘कमजोर कड़ी कौन ?’ भनेजस्तो बनाइनुभयो । उहाँ यति राम्रो मान्छे हुनुहुन्थ्यो कि कुरै नगर्नुस् । त्यस अदालतका फैसला पनि प्रभावित भए । बडिगार्ड, होमगार्ड दिने कुराले पनि मनोवैज्ञानिक प्रभाव पारेकै हो ।
(साभार– समावेशी मासिक, वर्ष ६, अंक ६, साउन २०७१)
प्रतिक्रिया