रन्किने, सन्किने र थन्किने | Khabarhub Khabarhub

रन्किने, सन्किने र थन्किने



बाघले जंगलमा गरेको भव्य विवाहमा नबोलाएको झोंकमा एउटा मुसालाई बाघको सेखी झार्ने सनक चढेछ। सेखी त झार्ने तर कसरी ? उसले आइडिया निकाल्यो- ‘आफ्नै सानदार विवाह गर्ने र बाघलाई ननिम्त्याउने।’ बाघलाई देखाउन झारेझुरेसँग लगनगाँठो कसेर भएन। कन्याको छनोटका लागि लिस्ट तयार भयो। सूर्यजस्तो तेजवान र शक्तिशाली संसारमा कोही छैन। सूर्यकै छोरी किन नमाग्ने ?
सूर्य खुसी पार्न अन्तरध्यानमा बस्यो। सूर्य सन्तुष्ट भएर नजिकै आएर बर माग्न भने। उसले भन्यो- ‘म तपाईंकी छोरीसँग विवाह गर्न चाहन्छु।’ सूर्यले कुटनीतिक उत्तर दिए- ‘त्यो त मेरो लागि अहोभाग्य हुन्थ्यो तर म भन्दा शक्तिशाली त बादल हो। जसले मेरो शक्ति क्षीण गरिदिन्छ। बरु यो आग्रह बादलसँग गर।’ मुसोले बादलसँग उही माग दोहोगर्यायो।

बादलले पनि आफूलाई हावाले तह लगाउने हुनाले हावासँग प्रस्ताव राख्न भन्यो। हावा पनि के कम ? उसले पनि पहाडले आफ्नो बेग रोकिदिने क्षमता राख्ने भएकाले पहाडसँग कुरा गर्न सुझायो। मुसो पहाडसामु उपस्थित भएर विवाहको प्रस्ताव राख्यो। पहाडले व्यथा सुनाउँदै भन्यो- ‘म भन्दा शक्तिशाली मेरो भीमकाय शरीरको फेदमा बस्ने काली नाम गरेको मुसा छ। त्यो मुसाले मेरो शरीर खनेर ओडार बनाएर थिलथिलो पारेको छ। उसको शक्तिका अगाडि म कायल भएको छु। तिनैको छोरीसँग बिहेको कुरा चलाउ। तिम्रा लागि यो भन्दा शक्तिशाली र उपयुक्त बधु मैले देखेको छैन्।’ आफूलाई बलशाली ठान्ने मुसो अन्ततः मुसैसँग सम्बन्ध गाँस्न पुग्यो।

छोटे नेताहरुका लागि जनप्रतिनिधिको जागिर अलि समयका लागि चिनीको चास्नीमा डुबेको कमिला त बनेको छ तर भावी दिनमा टिकटको मोलतोलमा कसको अवस्था के हुने भन्ने निश्चित नहुँदा उनीहरु फास्ट ट्रयाकको दाउमा देखिन्छन्।

मुलुक संघीयतामा गएपछि माटो छोए सुन हुन्छ भन्ने दीक्षित राजनीतिक कार्यकर्ताको हविगत त्यही मुसा जस्तो भएको छ। शक्तिपीठका एकाध हजार भक्तबाहेक अरुको अवस्था शरणार्थीजस्तै छ। छोटे नेताहरुका लागि जनप्रतिनिधिको जागिर अलि समयका लागि चिनीको चास्नीमा डुबेको कमिला त बनेको छ तर भावी दिनमा टिकटको मोलतोलमा कसको अवस्था के हुने भन्ने निश्चित नहुँदा उनीहरु फास्ट ट्रयाकको दाउमा देखिन्छन्। स्थानीय तह थोर बहुत जनतासँग नजिकै छन् तर प्रदेशको संरचनामा रहेका नेता नदीले छोडेको टापूजस्तै भएका छन्।

हरेक पार्टीभित्र स्थायी प्रतिपक्ष छन्। मतभेद मनभेद चरम चुलीमा पुगेको छ। मुसलमानको सिया, सुन्नी एक होलान तर देश बनाउने मुद्दामा नेता एक नहुने निश्चित छ। उनीहरुको सतोसरापले केटाकेटी पँधेरे झगडामा उस्ताद होलान भन्ने त्रास फैलिएको छ। हेर्नुस त प्रचण्ड, केपी ओली र माधव नेपालको एकताको चाटाचाट एकाएक काटाकाटमा रुपान्तरण भएको दृश्य कति भद्दा लाग्छ। गुलामीतन्त्रकोे सुरुङमा फसेका नेताहरुको अवस्था न गरी खानु , न मरी जानुको घिटिघिटीमा छ। नेताहरुको टाउकोमा कर्मचारीले यसरी जाँतो घुमाएका छन् कि जुनसुकै पार्टी फेरिए पनि अबको आधा दशकमा पार्टी कार्यालयको हालीमुहाली उनीहरुको हातमा सर्नेछ।

सुकिला मुकिला वर्ग आफ्नो स्वार्थका लागि यति चलाख छ, आफूलाई चिप्ल्याइएको नेताहरुले एक दशकपछि पत्तो पाउँछन्। कन्याएर सिध्याउने हुँडार चरित्र यिनीहरुको जीनभित्र छ। अब त सरकारको मुख्यसचिव राजनीतिक नियुक्तिकै बनाए फरक नपर्ने अवस्था आइसक्यो।

प्रचण्ड, केपी ओली र माधव नेपालको एकताको चाटाचाट एकाएक काटाकाटमा रुपान्तरण भएको दृश्य कति भद्दा लाग्छ। गुलामीतन्त्रकोे सुरुङमा फसेका नेताहरुको अवस्था न गरी खानु , न मरी जानुको घिटिघिटीमा छ।

हिजोसम्म प्रचण्डलाई पशुपतिनाथभन्दा आफू आदरणीय रहेको भ्रम थियो। गिरिजाप्रसाद, शेरबहादुर, सुशील, झलनाथदेखि माधव नेपालसम्मलाई घाँस चर्न पठाएको आत्मरति थियो। अहिले ओली उनका लागि यस्तो दुशासन भएर उदाए कि थाल खाउँ कि भात खाउँ जसरी दिन काट्नु परेको छ। पार्टीबाट निस्किएर पनि धर पाएका छैनन्।

एकअर्कालाई अपमानको आँसु पिलाउन उनीहरुको माथापच्ची चलिरहेकै छ। रन्किने, सन्किने यात्रामा लागेका उनीहरु चुनावपछि थन्किने निश्चित छ। ओलीले कतिबेला आफ्नो शक्तिकेन्द्रमा आगो झोसिदिने हुन भन्ने त्राही त्राहीले निद्रा भागेको धेरै भइसक्यो। कुनैबेला प्रचण्डका असली दास अहिले ओलीको पाउमा अर्पण गरिरहेका छन्।

प्राण जाने बेलामा रावणले रामसँग भनेका थिए- ‘तिम्रो भाइ तिमीसँगै छ त्यसैले जित्यौ। मेरो भाइ तिमीसँग भएकाले मैले हारें।’ कुलद्रोहको परिणाम खतरनाक हुन्छ। पूर्व माओवादीका नेता स्वार्थको चास्नीमा भुलेर ओलीका रक्षक भएका छन्। प्रचण्डले खुँडा तरबारले मान्छे गिँडेर सफायालाई सार्थक बनाए। ०२८ सालको मानव संघारको त्यही पिरलोले केपीलाई खेदिरहेको छ।

न शिकार गर्न सक्ने, न कसैले शिकार गरेर दिएको चीज चपाउने अवस्था प्रचण्डको छ। लुट्ने मनस्थितिका कार्यकर्ता भएकै कारण माओवादी विचार बाँदरको नाचभन्दा माथि उठ्न सकेन। कसैको वैशाखीविना माओवादीको अस्तित्व हाडविनाको जीवजस्तै बन्ने गरेको छ। सत्ताको वैशाखी हुने बाहेक चुनावमा जितेर राजनीतिक वर्चश्व जमाउने हुति अब माओवादीले सधैंका लागि गुमाउने अवस्था छ।

प्रचण्ड, माधव र झलनाथको मनोग्रन्थीमा ओली भाइरस यसरी प्रवेश गरेको छ कि आफ्नै घरपरिवार र सुरक्षाका संयन्त्र पनि दृष्टिदोषमा परिसकेका छन्। ओलीले चलाउने एन्टीभाइरसका अगाडि यिनीहरु लुलो, धुलो हुन पुग्छन्।

प्रचण्ड, माधव र झलनाथको मनोग्रन्थीमा ओली भाइरस यसरी प्रवेश गरेको छ कि आफ्नै घरपरिवार र सुरक्षाका संयन्त्र पनि दृष्टिदोषमा परिसकेका छन्। ओलीले चलाउने एन्टीभाइरसका अगाडि यिनीहरु लुलो, धुलो हुन पुग्छन्। न जनयुद्धको तुरुप काम लाग्यो, न बहुमतको धम्की नै। माधव नेपालको त शुभेच्छा नै अछूत गर्ने ओलीले उनलाई कति भाउ दिन्छन् भन्नै परेन। प्रतिशोधका विद्यावारिधि ओलीले नेपालका अघिल्तिर निरीह भएर डेढ दशक घाट कुरेको बिर्सिएका छैनन्। पात्रो बनाएर चिनो लगाई लगाई हिसाब चुक्ता गर्दैछन्।

छोरी कुटेर बुहारी तर्साउने खेलमा ओलीलाई कसैले नचिताए हुन्छ। नेता जोगी हुने त्यागले नभएर कर्तव्यबाट च्यूत भएपछि हो। यहाँ को शक्तिशाली, को कमजोरको मापदण्ड छैन। ओलीका आँगनमा झण्डावाल गाडी र नेता कार्यकर्ताको भीड हुँदा आफ्नो आँगन शून्य हुनुको पीडाको जगबाट वर्तमान सरकार उठेको हो। नेपालमा सरकारजस्तो महँगो चीजको उपहार लिएर प्रचण्ड र माधव नेपाल शेरबहादुर देउवाकोमा हाजिर हुनुको मनोविज्ञानभित्र कम्ति पीडा लुकेको कहाँ छ र ?

हाम्रो आध्यात्मिक दर्शन पनि शक्तिसापेक्ष छ। निशस्त्र मानिने गौतम बुद्ध, भगवान राम, महादेव, कृष्णको उत्सव वर्षको एकदिन मनाइन्छ। तर रक्तमुछेल टाउकाको माला धारणा गर्ने देवीको आराधना १५ दिन चल्छ। दशैंको चहलपहल महिनौअघि हुन्छ। आखिर किन ? त्यही मालाको कमाल हो। टाउकाको मालाको ठाउँ रुद्राक्षले लिएको हुन्थ्यो भने निश्चय नै दशैंको महिमागान यस्तो हुँदैनथ्यो।

देश बनाउन दम्भ होइन, इमान चाहिन्छ। आकारमा ठूलो भइरहन जरुरी छैन। काठमाडौं जत्रो सिंगापुरका जनताले भिसाका लागि संसारका कुनै देशमा लाइन लाग्न जरुरी छैन। बरु ‘मेरो देशमा पाइला टेकिदेउ’ भनेर रातो कार्पेट विछ्याउनेको ओइरो छ। एउटा दलदले जमिन स्वर्ग बनाउने लिक्वान युमा माइक मेनियाको भूत कहिल्यै सवार भएन। बरु देश निर्माणको भिजनका विषयमा सबैका भनाइ सुन्थे। विद्वत समूहसंग बहस गर्थे। अन्तिममा उनको एउटै जिज्ञासा हुन्थ्यो- ‘यो निर्णय गर्दा सिंगापुरले कति पाउँछ, कति गुमाउँछ ?’ जब गुमाउने बद्लामा पाउने पल्ला भारी भएको निष्कर्ष निस्कन्थ्यो, उनी आँखा चिम्लिएर ल्याप्चे लगाउँथे।

देश बनाउन दम्भ होइन, इमान चाहिन्छ। आकारमा ठूलो भइरहन जरुरी छैन। काठमाडौं जत्रो सिंगापुरका जनताले भिसाका लागि संसारका कुनै देशमा लाइन लाग्न जरुरी छैन। बरु ‘मेरो देशमा पाइला टेकिदेउ’ भनेर रातो कार्पेट विछ्याउनेको ओइरो छ।

नेपालीको मानस्पटलमा दरिद्र मुलुकको दृश्य घुम्ने इथियोपिया दोहोरो आर्थिक वृद्धि दरको बाटोमा लागिसक्यो। अहिले त्यहाँ विकासको विकल्प विकास मात्र देख्न पाइन्छ। इथियोपियाबाट थाइल्याण्ड दैनिक सिधा हवाई सेवा छ। यो यथार्थसँग कति नेपाली जानकार छन् ? आफ्नो देशलाई साँचो अर्थको देश बनाउने प्रयास यहाँ कहिल्यै भएन। जसले प्रयत्न गर्यो, त्यसको प्रयासमा चरु हाल्ने कर्तव्य सम्झेनौं। यो पुस्तौं पुस्ताबाट हुँदै आएको गल्ती हो।

सबैभन्दा चुरो सत्य त के भने फेसबुकमा राष्ट्रियता पोख्यौं, उठायौं। चन्द्र सूर्य अंकित झण्डाको कपडामा गलफत्ती गर्यौं। स्वदेशमा पृथ्वीनारायण शाहको सालिक उखेल्यौं, चीन गएर माओको सालिक परिक्रमा गर्यौं। गाईको मासुका विषयमा वाकयुद्ध गर्नमा रमायौं तर तारे होटलमा ‘बिफ’ मगाएर युद्धको रोडम्याप कोर्नेको अनुहार सम्झिन दरकार राखेनौं। सबै नामका अगाडि जन थप्नुलाई राजनीतिक उपलब्धिको मापन बनाइयो। एक चौथाई नेपाली मुलुक बाहिर छन्। हो, संसार गाउँ बनेको अवस्थामा जो जहाँ जान, कर्म गर्न र पढ्न स्वतन्त्र छन्। तर तीन सय ६५ दिन देशलाई सराप्ने खेती कुन देशको सभ्यताभित्र पर्छ ? कचौरा जत्रो देशमा दाउपेच टुँडिखेलभन्दा ठूलो भयो। सबैथोकको सट्टा अर्ती उत्पादन हुन थाल्यो। फेसबुकमा प्रकाशित दिउँसै रात पार्ने खालका अपराध र स्वार्थ प्रेरित वाणीको बिस्कुनमा सबै रमाए।

व्यक्ति पिच्छेका प्रवक्ता जन्माइए। विदेशमा चौकीदारी गर्नेलाई देशको मन्त्री, प्रधानमन्त्री भएको भ्रम पलाउन थाल्यो। राजनीतिको मात यसरी लाग्यो कि घरबार साहुको नाममा बन्धकी राखेर अरबमा पसिना बगाउन गएको एउटा नेपाली कामदार सुत्केरी श्रीमतीलाई ज्वानो ख्वाउने खर्च पठाउन चुक्यो। दमले ग्रस्त बाउआमाको स्वास्थ्योपचारमा सहायक बन्न बिर्सियो। बरु नेताको आतेजाते, लवाई खवाई, बसाईको जिम्मा लिएर विमानस्थलमा खादा ओढाउँदै उसँग सेल्फी खिचेर फेसबुकमा अपलोड गरेको क्षण उसका लागि जीवनको सर्वाधिक सुखद र उपलब्धिमूलक घडी बन्न थाल्यो।

आफ्नो देशलाई साँचो अर्थको देश बनाउने प्रयास यहाँ कहिल्यै भएन। जसले प्रयत्न गर्यो, त्यसको प्रयासमा चरु हाल्ने कर्तव्य सम्झेनौं। यो पुस्तौं पुस्ताबाट हुँदै आएको गल्ती हो।

अहिले अति समृद्ध मुलुक जापानको संविधान अमेरिकाले बनाइदिएको हो। अमेरिका नै त्यो देश हो, जसले जापानमा एटम बम खसालेर लाखौं निर्दोष जापानीको ज्यान लिएको थियो। तर त्यो देशमा अमेरिका विरुद्ध प्रदर्शन भएको कसैलाई थाहा छैन। एक जापानी नागरिकलाई सोधियो- ‘यत्रो अप्रिय इतिहास हुँदा पनि जापानी नागरिक किन कहिल्यै अमेरिका विरुद्ध प्रदर्शन गर्दैनन ?’

उसले दृढतापूर्वक जवाफ दियो- ‘आफ्नो देशमा आफ्नो शत्रुको विरोध गरेर लफडाबाजी गर्नु ती कमजोर निकम्माको कर्म हो। जो वास्तवमा केही गर्न चाहँदैनन। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा जापानमा बनेका टेलिफोन, टीभी सेट राखिएका छन्। यो नै हाम्रो विजय र बदला हो।’

नेपालको सेतो सुन मानिने पानीबाट उत्पादन भएको बिजुलीको उज्यालोमा उभिएर भारतीय नेताले भर्चुअल बैठक गरेका दिन नेपाली मुटु नाङ्लोभन्दा फराकिलो हुने थियो। त्यो जवाफ अमेरिकासँग जापानले पत्थरको बदला फूल दिएको भन्दा कम कहाँ हुन्थ्यो र ?

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : १३ बजे

चितवनमा नरभक्षी बाघ मर्‍यो

चितवन– मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी

बाजुरा– नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन्

इरानको सरकारी टिभीले भन्यो– राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको

जसपा नेपालबाट अलग भएका सात सांसदविरुद्धको रिटमा आज पेसी

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतमा दायर गरेको

काठमाडौंमा हावाहुरीसहितको वर्षा

काठमाडौं– काठमाडौँमा हावाहुरीसहितको वर्षा भएको छ । आज बिहानैबाट काठमाडौँका