भातै पोखिएपछि माडको के माया ? | Khabarhub Khabarhub

भातै पोखिएपछि माडको के माया ?



गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी सुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनीदुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरूले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा शूरवीर, धैर्यवान र परेका बखत तत्काल निर्णय दिनसक्ने क्षमता भएको व्यक्ति भावी सेनापति हुनुपर्ने राय दिए । यसैबीच अश्वत्थामाले महावीर कर्णलाई सेनापति बनाउनुपर्ने प्रस्ताव गरे ।

प्रस्ताव एकमतले पारित भयो । यो निर्णयबाट सबैभन्दा दुर्योधन दंग जस्तो देखिन्थे । सवै विदावारी भएपछि कर्णलाई अँगालो हाल्दै एकान्तमा लगेर दुर्योधनले भने– ‘मित्र, वास्तवमा मलाई पितामह र गुरु द्रोणाचार्य कसैको विश्वास थिएन । वास्तवमा उहाँहरु पाण्डवलाई बढी माया गर्नुहुन्थ्यो । त्यसैले हामी क्षमता भएर पनि सफल हुन सकेनौँ । म त तिम्रै भरमा थिएँ । सेनापति बन्ने योग्यता तिमीबाहेक कसैमा छैन । अब हामी सफल हुन्छौँ ।’

दुर्योधनको प्रशंसाबाट हौसिएका कर्ण भन्छन्– ‘अब म पाण्डवहरूलाई युद्धमा टिक्नै दिन्न । भोलि नै अर्जुनलाई खत्तम गरेर पाण्डवहरुलाई म आफ्नो शिविरमा ल्याएर थुन्छु । यो मेरो प्रतिज्ञा हो ।’ कर्णको संकल्पले दुर्योधनलाई हुनसम्मको ढाडस दियो । यी पात्र बाहिरबाट अत्यन्तै मिलेको जस्तो देखिए पनि शंकाको लाभ लिन चुक्दैनथे । उनीहरु सहयोगीका नाममा एकले अर्कालाई राम्रैसँग ठग्दथे । यिनीहरूको सम्बन्ध नङ–मासुजस्तो त थियो तर नङ काटिँदा मासु कुनै प्रतिवाद गर्दैनथ्यो ।

आवरणमा नेपालमा तीनदशक यता नेपालको संसदमा कम्युनिस्टको बाक्लो उपस्थिति भएपनि प्रारब्धले कम्युनिस्टका शीर्ष नेतृत्वलाई दुर्योधन र कर्णको ठाउँमा ल्याइदिएको छ । महाभारत त्यस्तो श्रृंखला हो, जसका पात्रहरुले राज्य जितेर पनि कीर्तिमानी हुने सुअवसर पाएका थिएनन् । राज्यभोगको साइत अन्ततः श्राप र आँसुको दुर्दान्त रुझानमा लपक्कै भिजेको छ ।

युद्धका नायक श्रीकृष्ण व्याधाको प्रहारबाट नासिएका छन् । राज्यभोग गर्नुपर्ने पाण्डव एकएक गर्दै सुमेरु पर्वतमा बिलाएका छन् । कुटनीतिज्ञ विदुरलाई वैराग्यले छोएको छ । जिन्दगीभर शत्रु ठानेर युद्ध गरिएका कर्ण सहोदर दाजु भएको खुलासा आमा कुन्तीले गरेपछि पाण्डवहरु यति व्यथित भए कि जीवनको उत्तराद्र्ध निस्सार सावित भयो । युद्धवीरहरु किंकर्तव्यविमूढ बने ।

राजनीतिक पार्टीका निष्ठावान कार्यकताहरु भीष्मपितामह जस्तो विवश बनेका छन् । प्रतिवाद गरौँ जिन्दगीभरको रगत–पसिनाको मूल्य खोसिने, नगरौँ कुण्ठाले जीवन सत्यानास हुने । आवरणमा कम्युनिस्ट नेतृत्वको सरकार भनेर के गर्नु ? कम्युनिस्टभित्रै चिनियाँ कम्युनिस्ट, भारतीय कम्युनिस्ट, अमेरिकी कम्युनिस्ट, कांग्रेस–कम्युनिस्ट, राजावादी कम्युनिस्ट हुँदै होली वाईन कम्युनिस्टमा विभाजित छन् । कुन शक्तिले नेतालाई भुट्ने सामर्थ्य राख्छ, त्यही एजेण्डाले देशको राष्ट्रिय माग धारण गर्छ । संघीय गणतन्त्र भन्नु मात्र हो, यो कस्तो व्यवस्था हो ? ल्याउनेलाई थाहा छैन ।

गणतन्त्रको जमिनलाई पैसाको सुनामीले सिध्याएको छ । राजनीतिमा प्रचलित १ मा १ जोड्दा ११ हुनुको साटो सुरथको गुलाम हुन थालेको छ । जतिसुकै मेहनत गरेपनि कहिल्यै नेता हुन नसक्ने युवराज खतिवडा, नवराज सिलवाल, कोमल ओली, विनोद चौधरी, उमेश श्रेष्ठजस्ता पात्रहरु पार्टीको फ्रन्ट डेस्कमा देखिन थालेका छन् । द्रव्यमोहले क्रान्तिको इतिहास लुलो बन्दै गएको छ । यत्र, तत्र, सर्वत्र चाकरी र सलामीको भोक जागेको छ ।

जिन्दगीभर गरिब र जनताका नाममा सती जान खोज्ने नेताहरु एकाध दशकमै कम्पनी प्रालिका महाप्रबन्धक भएका छन् । यस्तो व्यवस्था संसारमा कहाँ होला, जहाँ राजनीति गर्नेहरु सबै सत्तापक्ष हुने मौका पाउँछन् । घरमा नोकर चाहियो– पुलिस हाजिर । उपचार खर्च चाहियो– राजश्वबाट कति चाहिन्छ ? छिमेकी, मामा चेला, फुपू चेलालाई सान देखाउनु प¥यो– आफैँले भर्ती गरेका सिपाही नामै किटेर घर सरुवा गर्दा कानुनले छेकवार लगाउँदैन । एकाध वर्षपछि माल असुल्ने ठाउँमा बक्सिस स्वरुप सरुवा गरिदियो कर्तव्य तमाम । सबै कर्म, कुकर्म हेर्दा लाग्छ– यो व्यवस्थाको पहिलो र अन्तिम विशेषता भनेकै नेताहरुको रहर र लहडको तामेली हो ।

सरकारी श्रम र शक्ति यसरी व्यक्तिगत बनाउन पाइने शासन व्यवस्थामाथि जसले प्रश्न उठाउँछ, त्यो गणतन्त्र विरुद्धको कालोबादल करार हुन्छ । ठूला हेडसरहरुको व्यक्तिगत सोख राज्यको मूलनीति बनाइन्छ । सरकारी नीतिमा हाइड्रोपावरदेखि बालुवाखानीसम्मका कमिसन तलदेखि माथिका नेताको खातामा जम्मा भएपछि विरोध कुन चरीको नाम हो पत्तै हुन्न । नातागोता, हुक्के, ढोके, छाते कसलाई के बनाउनु पर्छ ? कुनै नियम कानुनले छेक्दैन् । कसैलाई सिध्याउन र कसैलाई बनाउन कानुन रबर बनाउने छूट नेतृत्वलाई छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजदूत बनाएकी सासुआमा प्रतिभा राणाको जागिर सुरक्षित गराउन त्यसबेलाका मुखिया केपी ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाले नरम कुटनीति अपनाए । कांग्रेसको खुट्टी हेरेरै प्रष्ट हुन्छ, कांग्रेस भनेको देउवा र देउवा भनेकै कांग्रेस हो । अझ देउवालाई खुसी पार्न के के गर्नुपर्छ, त्यो ओली–प्रचण्डलाई घाँटीघाँटीसम्म कण्ठ छ । नारायण दाहाललाई सम्माननीयको फुर्को झुण्ड्याउन प्रचण्डले राजनीतिक लक्ष्मणरेखा कतिसम्म नाघे भन्ने भर्खरैको दृश्य कतैबाट छिपेको छैन । आम्दानीको कुलोमा अवरोध नगरेपछि सरकारका जालसाजी कागजमा हस्ताक्षर गर्न जुनसुकै नेता होडमा छन् ।

नेपाल त्यस्तो देश हो, जहाँ दिउँसो हैन राती काम हुन्छ । अफिसभित्र नभएर अफिस बाहिर फाइलका कर्म तमाम गरिन्छ । कार्यालय समय त काम नगर्नेहरुले बाहना बनाउने अखडा मात्र हो । सरकारी समय गुजारेपछि रातोमसीका अख्तियारवालाहरुको सुर लाग्छ । यही भएर नै त कर्मचारीका मुखियाले राजनीतिका मुखियाको ट्राइसीट तयार गरिदिन्छन् । एउटाको हनुमानगिरी गरेपछि पट्यारलाग्दो अवकास जीवन विताउनु पर्दैन भन्ने मन्त्रले हाकिमी समाजमा राम्रै काम गरेको छ । सिक्वेन्स कस्तो मिलेको छ भने सरकार झैँ सचिवको करार पनि पाँच वर्षकै तोकिएको छ । रसायन मिलाउन सक्ने बहादुर हाकिमहरु अवकास नभई नै फरक अवतारमा अर्को राजा भएर उदाउन थालेका छन् ।

राजनीतिभित्रको पानी कति बेइमानी छ भने बाबुराम अर्को गुठी खोलेर आफू कुनै समय माओवादी दलको शीर्ष नेता भएको स्मरणसम्म पनि गर्न चाहँदैनन् ।  पहिला पहिला कम्युनिस्ट र काँग्रेस अलग दल हुन्थ्यो । दलका शीर्ष नेता हुन्थे । नेताले भनेको माथिदेखि तलसम्म अक्षरशः पालना हुन्थ्यो । अहिले त एमालेभित्र काँग्रेस–माओवादी, माओवादीभित्र काँग्रेस–एमाले यी सवै दलभित्र लोकमानसिंह कार्कीका चेलाचपेटाको बिगबिगी छ । लोकमान त झारले छोपिएको पिपल जस्तै हुन । जब झारपात घामको ताप र बर्खाको भेल थेग्न नसकेर पराल हुन्छ, त्यसपछि पिपलरूपी लोकमान लहलह भएर उदाउने छन् । केही समयका लागि अस्ताए पनि उनले छरेका सलाईका काँटी देशभर फिँजिएका छन् ।

संसारका मानिसले बुझ्ने समान भाषा हो– हाँसो । अन्धकार नासिएपछि सम्भवत यही भाषा नागरिकको अनुहारमा भेटिनु पर्छ । हाम्रो भू–धरातल र सामाजिक सन्तुलन यस्तो अवस्थाको छ कि औंलामा गनिने मानिसले थोरै लोभ त्यागिदिने हो भने सबैथोक आफैँ मिलेर जान्छ । यहाँ राजनीतिक दलले जित्ने, देश हार्ने प्रतिस्पर्धाले घर गर्‍याे

नेताको मलद्वारलाई हरिद्वार मान्ने दास जन्माउने होडबाजीमा नेताहरु लागे । सत्ता बाहिर हुँदा पशुपति स्वयम्भूका बाँदरको समेत ट्रेड युनियन बनाउन खोज्ने नेतृत्व सत्तामा पुगेपछि तिनीहरुकै चक्रव्यूहबाट निस्कन सक्दैनन् । यसैको परिणाम अहिले प्रचण्डका लागि माओवादीको नायकत्व जागिर सकुशल राख्ने एउटा कडी मात्र भएको छ ।

शहरी नूनको प्रभावले माओवादीजस्तो कि गर, कि मरको हुकूमी दर्शनमा हुर्किएका असली कार्यकर्ताहरु विभिन्न आवरणमा अलप भएका छन् । बरु अवसरवादी चैते वर्णशंकर सन्तानको आवादीमा माओवादी जमिन सिँचित छ । माओवादका प्रणेता माओत्सेतुङले जनताबाट सियो पनि लिनु हुँदैन भनेर सिकाए तर उनैका अनुयायी हाम्रा माओवादीहरुले देशको ढुकुटीमा संगठित आक्रमणलाई संस्थागत तुल्याए । कांग्रेस–एमालेले अक्षरशः त्यही सिके ।

एउटा माकुराले आत्महत्या गरेछ ।  मर्नुअघि उसले लेखेको सुसाइड नोटमा लेखिएको थियो– ‘जाल बुन्नमा मैले नेपालका नेताहरुको मुकाविला गर्न सकिन ।’ संविधानलाई विश्वको उत्कृष्ट भन्ने तिनै नेताका लागि दशक नपुग्दै त्यो दस्तावेज भीरको चिन्डो भएको छ । आफूले भनेको विषय संविधानका कारण अस्वीकृत हुने अवस्था आएमा मिच्नु मात्र होइन, संविधान स्थगित भयो भने पनि कसैले आश्चर्य नमाने हुन्छ ।  

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १० : २७ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह