अशक्त पौरखीको आत्मविश्वास- घिस्रिन सकुञ्जेल अरुको दयामा बाँच्न नपरोस् | Khabarhub Khabarhub

अशक्त पौरखीको आत्मविश्वास- घिस्रिन सकुञ्जेल अरुको दयामा बाँच्न नपरोस्



हात, पाखुरा सग्लो हुँदाहुँदै माग्न हिँडेकाहरू प्रति सामाजिक दृष्टिकोण सकारात्मक छैन । कसैले अनाथ, कसैले बालबच्चा, कसैले भगवानका नाममा हात पसारेर याचना गर्ने गरेका छन्  अझ शहर बजारमा त स्थानीय निकायको सिफारिस पत्र लिएरै माग्ने विषयलाई आधिकारिक बनाएको सम्म देख्न सकिन्छ । हेर्न र धान्नै नसकिने शारीरिक अवस्था देखाएर माग्नेको भीड पनि उतिक्कै छ । बलिष्ठ शरीर, सबल हातपाखुरा हुँदाहुँदै मागेर जीवन धान्नेहरुप्रति आम मानिसको धारणा बन्ने गरेको छ– ‘अल्छे तिघ्रो, स्वादे जिब्रो ।’ 

तर समाजमा यस्ता केही पात्र छन्, जो अपाङ्ग भएर पनि स्वाभिमानको जिन्दगी बाँच्नुपर्छ भन्ने मान्यता राख्छन् । शरीरले साथ देओस् नदेओस् उनीहरु ह्वीलचियर होस् या बैशाखीको सहारामा होस, पौरख गर्नमा रुचि राख्छन् । उनीहरु परिवारकै सदस्यको निगाहमा बाँच्न चाहँदैनन् । मागेर खान स्वाभिमानले दिँदैन । त्यसो त हात तल पारेर खानुलाई शास्त्रले पनि उचित मान्दैन । अशक्त र अपाङ्ग शरीर देखाएर पेट भर्नेहरुको संख्या शहरी क्षेत्रमा धेरै छ । अझ अपाङ्ग देखाएर रोजिरोटी चलाउने सपाङ्ग हजारौं रहेको बताइन्छ । 

शारीरिक रूपमा अशक्त भएर पनि आफ्नो मेहनत र परिश्रम गरेर खान्छु भन्ने उदाहरणीय पात्र पनि हाम्रो समाजमा छन् । जसले आफ्नो शारीरिक अशक्ततालाई कहिल्यै कमजोरी ठानेनन् । र म केही गर्न सक्दिनँ भनेर हरेस पनि खाएनन् । जन्म लिएर यो धर्तीमा आएपछि मैले केही गरेर, आफ्नै मेहनतमा केही गर्नु पर्छ भनेर काम गर्नेहरू पनि प्रशस्तै भेटिन्छन् । त्यस्तै एक व्यक्ति हुन–  पोखरा घर भएकी ५५ वर्षीया शान्ता बराल । उनी २० वर्ष देखि काठमाडौंको फुटपाथमा एउटा सानो बोरामा मोजा र मास्कको पोको बोकेर बस्छिन् । उनको एउटा खुट्टा छैन । सयका दुई जोडी मोजा बेचेर उनले आफ्नो पेट पालेकी छन् ।

काठमाडौंको महालक्ष्मी स्थानस्थित थसिखेल बस्ने शान्ता दिउँसो बसमा आएर पुरानो बसपार्क छेउमा बस्दै व्यापार गर्ने गर्छिन् । 

२१ वर्षअघि बिरामी श्रीमान् र दुई छोरा लिएर काठमाडौं छिरेकी उनी भन्छिन्, ‘१६ वर्ष अघि श्रीमानको मृत्यु भयो । हातमुख जोर्ने केही मेलो भएन । मेरो पनि खुट्टामा पहिल्यै सानो घाउ भएको थियो । वास्ता गरिएन उपचार गर्न पैसा पनि पुगेन ।  तर पछि धेरै दुख्न थाल्यो घाउ पनि निको भएन । जाँच गराउँदा त क्यान्सर भएछ । खुट्टा नै काटेर फाल्नु पर्ने अवस्था आयो ।’

‘श्रीमानको मृत्युपछि खुट्टा नभएकी मैले ठूलो केही काम गर्न सकिन  । कोठामा बसेर खाना नपाइने भयो । कति रात त तीन आमा छोराले भोकै रात पनि काट्यौँ’ उनी भन्छिन्,’छोरालाई राम्रो पढाउन पनि सकिन । त्यसैले अहिले छोराले पनि मलाई नहेरेका होलान् ।’ 

जेठो छोराले विवाह गरेर छुट्टै बसेको उनी बताउँछिन् । कान्छो छोरो पनि आफ्नै खुसी गरेर हिँड्छ । समय आएपछि  केही गर्ला भन्ने उनको आशा छ । बिहान खाना खाएर आफ्नो सानो पोको बोकेर घरबाट निस्किने शान्ताको राती ८ बजे सम्म बास सडक पेटी मै हुन्छ । नक्कली खुट्टा पनि उनले त्यही सानो पोकोको व्यापारबाट हालेकी हुन् ।

 उनी भन्छिन्,’ अरूको मागेर खाँदा मिठो होला तर आनन्द आउँदैन । मनमा अरूको गुन लाग्छ । अर्को जन्ममा पनि तिर्नु पर्छ भन्छन् । एक दिन अरु दया गरेर दिन्छ, अर्को दिन बचन लगाउन थाल्छ । पापी पेटलाई सधैँ भोक लाग्दो रहेछ । अरूको हात थापेर कति दिन खाने ? आफू घिस्रिन सकुन्जेल यही पेसा गरेर पेट पाल्छु ।’ 

अरु काम गर्न सकिँदैन यही व्यापार गर्न पनि महानगरले कति पटक समान लगेर फिर्ता नगरेको उनको गुनासो छ । 

उनी भन्छिन्, ’बाटो त हिँड्नै बनाएको हो तर के गर्ने हातमुख जोर्ने अरु बाटो नै देख्दिन । यही गरियो पहिला देखि नै यही गरेर पेट पाल्दै आएकी छु । जति महानगरले सामान लगे पनि मन बुझाउनु पर्छ । अरु त सामान लाँदा खोस्न जान्छन् म त त्यो पनि गर्न सक्दिनँ’ उनी भन्छिन्’ कतिपय मानिसहरूले यस्तो अवस्थामा पनि काम गर्नु भएको छ भनेर एक पटक सामान लगेपछि अर्को पटक पनि आउनु हुन्छ । यसरी रोडमा बसेर व्यापार गर्दा धेरैको प्रशंसा पनि पाएकी छु ।’ 

तर हरेक पेसा गर्नेलाई ठग्नेहरूको संख्या पनि छ । उनी पनि त्यस्ता मान्छेसँग पटक पटक ठोकिने गरेकी छन् । एक जोडी मोजाको सय र पचासमा बेच्ने गरेकी उनी कसैले त ५० रुपैयाँको एक जोडी मोजा लगेर ४० रुपैयाँ फालेर हिँडेको पनि बताउँछिन् । कसैले सयको तीन जोडी दिनु भनेर पनि दिक्क लगाउने उनी बताउँछिन् । 

त्यस्तै अर्का व्यापारी हुन् खोटाङ घर भएका रामकुमार माझी । उनको दुवै खुट्टा छैनन् । कृत्रिम खुट्टा लगाएका उनी पनि पुरानो बसपार्क एरियामा नै बसेर व्यापार गर्छन् । सानो झोलामा एयरफोन चार्जर र मास्क लिएर एउटा सानो टुलमाथि बसेका माझीले ५ वर्षदेखि यही सानो झोले व्यापारले ५ जनाको परिवार पालेका छन् ।  कृत्रिम खुट्टाले नजिक तिर हिँड्न सहज हुने उनी बताउँछन् । 

उनी भन्छन्, ’मिठो खाने हैन पेट भर्ने हो । अहिले सम्म भोको पेट बस्नु परेको छैन ।’  

आफ्ना दुई बच्चालाई सङ्घसंस्थाले लगेर पढाइ दिएको उनी बताउँछन् । 

’छोराछोरी सानै छन् अहिले मैले मागेर खाए पनि उनीहरूले केही बुझ्दैनन् तर भोलि बुझ्ने भएपछि मेरो बुबाले मागेर खाएका हुन् मैले पनि त्यही गर्नुपर्छ भन्ने हुन् कि भन्ने लाग्छ त्यसैले मैले दुख गरेर नै परिवारको पेट पालेको छु ।’ उनी भन्छन्, ’श्रीमतीले सिलाइ बुनाइको काम गरेर महिनाको १५ हजार ल्याउँछिन् । हामीलाई बिरामी हुँदा पनि आफैं उपचार गर्न सक्ने अवस्थामा छौँ । त्यही खुसी लाग्छ ।’ 

‘मागेर खानु राम्रो हैन हात पाखुरा लागुन्जेल आफूले सकुन्जेल आफ्नै हात पाखुरा खियाएर नै खानु पर्छ । अरूको दुख र दयाले कति दिन साथ दिन्छ ? आफ्नो पसिना त दिगो हुन्छ नि’ उनी भन्छन् ।  

सरकारले उनलाई अशक्त भत्ता पनि दिएको छ । उनीहरू दुई जना जस्तै अरु व्यक्तिहरू पनि छन् जो शारीरिक रूपमा अशक्त भए पनि आफ्नो मेहनतले ह्विलचियरमा बसेर सानो टोकरीमा केही भोला चुरोट व्यापार व्यवसाय गरेर आफ्नो पेट पालेका छन् । भने त्यस्तै शारीरिक रुपमा अशक्त भए पनि सानो तौल जोख्ने मेसिन बोकेर एक जनाको तौल जोखेबापत १० रुपैयाँ लिएर पनि पेट पाल्नेको संख्या उपत्यका विभिन्न सडकका फुटपाथमा देख्ने गरिन्छ । 

उनीहरूलाई मेहनतको कदर गरिदिए पुग्छ । घामपानी, हावाहुरी, भीडभाड, नगर प्रहरीको आतंक पेटको आगोभन्दा ठूलो लाग्न छोडेको छ । यिनीहरुलाई एउटै चासो र चिन्ता छ– आज बेपार हुन्छ कि हुँदैन ?’ 

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  २ : ३४ बजे

टी-२० विश्वकपः न्युडिल्यान्डविरुद्ध सुरुमा ब्याटिङ गर्दै वेस्ट इन्डिज

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत अहिले समूह ‘सी’को खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ३१ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल जेठ ३१ गते बिहीबार तदनुसार

भारत विश्वकपको ‘सुपर ८’मा : अमेरिका सात विकेटले पराजित

काठमाडौँ – आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत

आज २०८१ साल जेठ ३१ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ३१ गते बिहीबार तदनुसार