माधव नेपाल कांग्रेससँग नजिकिँदा झलनाथ रुष्ट, महाधिवेशनको मुखमा बढ्दै किचलो | Khabarhub Khabarhub

माधव नेपाल कांग्रेससँग नजिकिँदा झलनाथ रुष्ट, महाधिवेशनको मुखमा बढ्दै किचलो

जुनसुकै विकल्पमा गएर प्रधानमन्त्री हुने नेपालको दाउ



काठमाडौं–सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच पछिल्लो समय तीव्र मतभेद देखिएको छ ।

बुधबार अध्यक्ष नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा बोलाएका थिए । देउवाले बूढानीलकण्ठमा बोलाएपछि माधव नेपाल अन्य प्रतिपक्षी दलका नेतासँगै पुगे ।

नेपालले देउवालाई भेटेपछि उनकै पार्टीका सम्मानित नेता झलनाथ खनालले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे । बुधवार देउवालाई नेपालले भेट्नु र बिहीबार खनालले प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।

पछिल्लो समय सत्ता गठबन्धनप्रति नेपाल खुसी छैनन् । तर खनाल भने एमाले–माओवादी गठबन्धनलाई टिकाएर जानुपर्ने पक्षमा छन् । उनले बिहीबार त्यही सन्देश प्रधानमन्त्रीलाई सुनाए ।

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र खनालको सम्बन्ध सुध्रिएको छ । एमालेको गोदावरीमा भएको केन्द्रीय परिषद् बैठकमा खनाल सहभागी भएका थिए । तर नेपालले बहिष्कार गरे । बरु उनी धुलिखेल गएर होटलमा बसे ।

माधव र देउवाबीच के कुराकानी भयो ?

बूढानीलकण्ठ भेटमा कांग्रेस लगायत विपक्षी दलका नेताहरू सहभागी भएको नेता कृष्ण सिटौलाले बताए । अनौठो के छ भने नेपाल सत्ता गठबन्धनमा हुँदा हुँदै विपक्षी गठबन्धनको बैठकमा सहभागी भए । जहाँ विपक्षी दलहरु जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्त ठाकुर पनि सहभागी थिए ।

सत्ता गठबन्धनलाई संकटमा पार्ने दाउमा रहेका कांग्रेस सभापति देउवाले समाजवादी अध्यक्ष नेपालमार्फत खेल्न खोजिरहेका छन् । उनलाई प्रधानमन्त्रीका आश्वासन पनि दिएका छन् । तर कांग्रेसलाई अंकगणितको समस्या छ ।

यद्यपि हिजोको प्रतिपक्ष बैठकलाई देउवाको सचिवालयले मधेस सरकारबारे छलफलका लागि आयोजना गरिएको भनेको छ ।

‘मधेसमा सबै मिलेर जसपालाई सहयोग गरौँ भन्ने छलफल भयो । देउवाजीले नि सहयोग गर्ने भएपछि सत्ता गठबन्धनमा असन्तुष्ट माधव नेपाललाई पनि मिसाउने कुरा भयो । माधव नेपालले सहयोग गरेपछि मधेसमा गणित पुग्छ भनेर बोलाएका हौँ । तर उहाँले कुनै प्रतिक्रिया दिनुभएन । सत्ता गठबन्धनलाई निरन्तरता दिने आशयको कुरा गर्नुभयो’, बैठकमा सहभागी कांग्रेसका एक नेताले भने ।

कांग्रेस नेताहरूका अनुसार नेपालले तत्काल गठबन्धन बाहिर गएर केही निर्णय नलिने बताएका थिए । यो कुरा नेपालको सचिवालले पनि पुष्टि गरेको छ ।

‘यो गठबन्धन तत्काल परिवर्तन हुँदैन । कांग्रेससँग हाम्रो साइनो छ । तर नयाँ गठबन्धन बन्दैन’, उनको सचिवालयका एक सदस्य भन्छन् ।

नेपालसँगै बूढानीलकण्ठ पुगेका एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पनि सामान्य चियापान र देउवासँग सन्चो–बिसन्चोको कुरा भएको बताए । उनका अनुसार सरकार परिवर्तनबारे छलफल भएन ।

उनले खबरहबलाई भने, ‘नेताहरू भेट भएपछि कुरा हुने नै भयो । तर नयाँ योजना बनाइएको सत्य होइन । यो गठबन्धन तत्काल परिवर्तन हुँदैन । हामीलाई कांग्रेसले चुनावका बेला हरहिसाबले सहयोग गरेको छ । उहाँहरुले बोलाएपछि जानै पर्छ । हामीले सत्ता सहयात्रा पनि गरेका थियौँ । भेट्न बोलाएपछि प्रधानमन्त्रीलाई सोधेर जाने कुरा भएन । तर हामीलाई बेवास्ता गरे गरे चुप बस्दैनौँ’

चौधरीले बूढानीलकण्ठ बैठकमा उपेन्द्र यादवले मधेस सरकार टिकाउन राखेको प्रस्तावलाई राजनीतिमा सामान्य मान्नुपर्ने बताए ।

यता उपेन्द्र यादव पनि मधेस सरकार टिकाउनसहयोग मागेको कुरा स्वीकार गर्छन् । उनले खबरहबलाई भने, ‘मैले सहयोग मागेकोभन्दा पनि स्थायित्व र विकासका लागि मधेसमा दलहरू मिलौँ भनेको हो । उहाँहरुले साथ दिनुहुन्छ भन्ने लागेको छ ।’

केन्द्र सरकार ढाल्नेबारे पनि कुरा भयो भन्ने खबरहबको प्रश्नमा उनको जवाफ थियो, ‘यो सरकारलाई ढाल्नु पर्दैन । दुई चार महिनामा आफैँ ढल्छ ।’

माधव नेपाल पछिल्लो समयमा जसरी पनि प्रधानमन्त्री हुने दौडमा छन् । उनी २०८४ अघि नै सरकारको नेतृत्व गर्ने गरी यताउता दौडिरहेका छन् ।

झलनाथले किन भेटे प्रधानमन्त्री ?

नेपालले देउवासँग भेटेपछि तत्काल झलनाथले प्रधानमन्त्री भेट्नुले एकीकृत समाजवादीभित्र विवाद बढेको आँकलन गरिएको छ । यद्यपि सार्वजनिक मञ्चमा यी दुई नेताबीच मतभेद देखिएको छैन । माधव नेपाल जसरी पनि प्रधानमन्त्री हुने दौडमा निस्किँदा खनाल भने यो गठबन्धन टिकाउने पक्षमा देखिन्छन् ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्रीसँगको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन् ।

उनीहरूबीच झन्डै ४५ मिनेट कुरा भएको छ । भेटमा संघीय र प्रदेश सरकारलाई सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको भट्टराईले औपचारिक प्रतिक्रिया दिए ।

तर खनाल र प्रधानमन्त्रीको भेटमा अध्यक्ष नेपालले देउवालाई भेटेको कुरा पनि उठेको बताइएको छ । खनालले वर्तमान सरकारलाई निरन्तरता दिन चाहे पनि अध्यक्ष नेपाल जुनसुकै विकल्पबाट प्रधानमन्त्री हुने दौडमा छन् ।

उनले बुधबार देउवालाई भेट्दा पनि पार्टीमा सल्लाह नगरेको स्रोतको भनाइ छ । बूढानीलकण्ठ जाँदा सचिवालयका कसैलाई नलगी नेपालले मेटमणिलाई लगेका थिए ।

यसका कारण समाजवादीका अन्य शीर्ष नेताहरु रुष्ट छन् । बिहीबार बालुवाटारमा खनालसँगको सम्वादमा प्रधानमन्त्रीले अहिले नै नेपालले धोका दिन सक्ने अवस्था नरहेको बताएका छन् ।

उनले भने, ‘माधवजीले गठबन्धन फुटाउने पहल गर्दै हुनुहुन्छ भन्ने आशयको कुरा खनालले गर्नु भएको रहेछ । तर प्रधानमन्त्रीले माधव नेपालसँग लामो सहयात्रा गरेकाले यसो नहोला कि भन्नु भएको छ । नेताहरू भेट्नै नहुने त होइन नि ।’

प्रधानमन्त्रीले सत्ता पक्ष र प्रतिपक्षबीचको संवादलाई नकारात्मक रूपमा लिन नमिल्ने बताएको स्रोतको भनाइ छ ।

यसबारे खनालले खबरहबलाई भने, ‘मैले आफ्नो हिसाबले प्रधानमन्त्रीलाई भेटेको हो । अरू कुरा केही भएर गठबन्धनमा विश्वास छ भन्ने भयो । अध्यक्ष नेपालले पनि हामीसँग सल्लाह गरेर देउवालाई भेट्नु भएको होन । मैले पनि आफ्नो हिसाबले प्रधानमन्त्री भेटेको हो । यो गठबन्धन कायम रहन्छ । बाहिर जे आएका छन् ती सबै हल्ला हुन् ।’

यसबारेमा प्रधानमन्त्री प्रचण्डले बिहीबार विराटनगर विमानस्थलमा एकीकृत समाजवादी वर्तमान सत्ता समीकरणमै रहेको बताएका छन् ।

माधव–झलनाथ विवाद के हो ?

वैचारिक हिसाबमा माधव र झलनाथबीच ठूलो मतभेद रहेको उनीहरूनिकट नेताहरू बत्ताउँछन् । एकीकृत समाजवादीको १० औँ महाधिवेशनमा झलनाथ खनाल पनि अध्यक्षका दाबेदारका रुपमा छन् ।

झलनाथ पनि मैदानमा उत्रिने सम्भावनाबीच समाजवादीले ७० वर्षे उमेर हद हटाएको थियो । उता माधव नेपाल नि नेतृत्व छोड्न तयार छैनन् । यसो हुँदा झलनाथ र माधवबीच प्रतिस्पर्धा हुने छ ।

माधव नेपाल वाम एकता तत्काल गरिहाल्ने पक्षमा छैनन् । तर झलनाथ कि वाम एकता कि एमालेसँग एकता गर्नुपर्ने पक्षमा रहेका उनीनिकट एक नेता बताउँछन् ।

खबरहबसँगको कुराकानीमा पनि झलनाथले अब कम्युनिस्टले आफूलाई सच्चाएर बृहत् वाम एकता गर्नुपर्ने बताएका थिए । उनी वाम एकता नभए देशमा स्थायी विकास नहुने बताउँछन् ।

तर माधव नेपाल, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तीनैजना तत्काल एकताको सम्भावना नभएको बताइरहेका छन् ।

ओलीले सार्वजनिक कार्यक्रममै कम्युनिष्टहरु आत्तिएर तत्काल एकतातिर गए ०७४ सालमा माओवादीसँगको एकता जस्तै अपरिपक्व हुने बताइरहेका छन् ।

त्यसबेला एमाले र माओवादीबिच एकता भएको थियो । तर वैचारिक एकता हुन नसक्दा सत्ता र शक्तिको तानातानले दुई पार्टी मिलेर बनेको नेकपा तीन टुक्रा भयो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि बिहीबार खबरहबसँगको कुराकानीमा पार्टी एकता गरिहाल्नुपर्ने बेला नआएको बताए ।
उनले भने, ‘पहिला नीति र सिद्धान्त मिलाऊँ, अनि सबै नेताहरूमा एकताको भावना हुनुपर्छ । हचुवाको भरको एकता सम्भव छैन ।’
तर खनाल भने बृहत् वाम एकता नभए देशमा विकासले गति नलिने बताउँदै दक्षिणपन्थी सल्बलाएर समस्या पर्ने बताउँछन् ।’

यतिमात्र होइन, झलनाथ खनाल पछिल्लो समय माधव नेपालकविरुद्ध देखिनुको कारण वैशाख १५ गते इलाममा भएको उपनिर्वाचन पनि हो । यहाँ खनालले उठ्ने मनसाय राखेका थिए । तर माधवले ओली र प्रधानमन्त्रीसँग छलफल नगरेका कारण आफू उम्मेदवार हुन नपाएको गुनासो उनको छ ।

खनालले त्यसबेला प्रधानमन्त्रीलाई भेटेर आफूलाई एमालेले पनि समर्थन गर्ने वातावरण बनाइदिएर वाम गठबन्धनको साझा उम्मेदवार बनाउन भनेका थिए । तर प्रधानमन्त्रीले ओलीलाई कन्भिन्स गर्न नसकेको र नेपाल–ओली सम्बन्ध राम्रो नभएपछि उम्मेदवार बन्न सकेनन् ।

त्यसपछि झालनाथको सिङ्गो समूह एमालेमा प्रवेश गर्न लागेको चर्चा आयो । तर खनालले यो कुरा सत्यमा आधारित नभएको बताउँदै आफू महाधिवेशनबाट अध्यक्षमा आउन चाहेको खबरहबसँग बताएका थिए ।

यसबारे एमाले सचिव रघुवीर महासेठ पनि खनाल समूह एमालेमा आउनेबारे पार्टीमा छलफल नभएको बताउँछन् ।

उपनिर्वाचनयता भएको पार्टीका हरेक बैठकमा खनाल र नेपालबीच साना–साना कुरामा मतभेद हुने गरेको एकीकृत समाजवादी सचिवालयका नेताहरू बताउँछन् ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ४ : ५३ बजे

लमजुङ पहिरो अपडेट : चारै जनाको शव निकालियो

लमजुङ– जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको

वर्षालाई केन्द्रमा राखेर फिल्म ‘मोदीबेनी’को पोस्टर सार्वजनिक 

काठमाडौं– नायिका वर्षा सिवाकोटीलाई केन्द्रमा राखेर फिल्म ‘मोदिबेनी’को आधिकारिक पोस्टर

चन्द्रमाबाट चट्टान लिएर चिनियाँ चाङ्गे–६ पृथ्वीमा अवतरण

काठमाडौं– चीनको मुन मिसन चन्द्रमाको सतहबाट माटोसहितको चट्टान लिएर पृथ्वीमा

सुनमा कर बढाएपछि पसल बन्द गरेर आन्दोलन (तस्बिरहरू)

काठमाडौं- सरकारले सुनचाँदीमा कर बढाएपछि काठमाडौंको न्यूरो क्षेत्रका व्यवसायी आन्दोलित

विराटनगर महानगरका अधिकांश वडा डुबानमा (तस्बिरहरू)

विराटनगर– अविरल वर्षाका कारण विराटनगरका आधिकांश स्थान डुबानमा परेका छन्