सत्ता राजनीतिको लगाम फर्काउने जोडबलमा देउवा | Khabarhub Khabarhub

सत्ता राजनीतिको लगाम फर्काउने जोडबलमा देउवा


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राजनीतिमा ‘चतुर खेलाडी’ को बिम्ब बनाउँदै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत फागुन २१ गते गुमेको सत्ताको लगाम आफ्नो हातमा फर्काउन जोडबल गरिरहेका छन् ।

वैकल्पिक समीकरण निर्माणका लागि थालिएको प्रयास केही समयअघि जनता समाजवादी पार्टी (जसपा) नेपालमा आएको विभाजनले तत्कालका लागि रोकिए पनि पछिल्लो समय उनी फेरि सत्ताको बागडोर फर्काउन प्रयासरत छन् ।   

गत फागुन २१ मा एकाएक सरकारबाट बाहिरिन पुगेको कांग्रेसलाई फेरि सत्तामा फर्काउन उनी सत्तापक्षीय दलहरूबीच अविश्वासको वातावरण बनाउने कोसिसमा लागेका छन् । 

गत फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण फेरिएपछि देउवा अहिले सत्ता राजनीतिबाट बाहिर छन् । यद्यपि, ‘कम बोल्ने र कूटनीतिक र चलाखीपूर्ण राजनीति गर्ने’ देउवा नेपाली राजनीतिका कमजोर पात्र भने होइनन् । 

जसपा र नेकपा एकीकृत समाजवादीलाई सत्ता समीकरणबाहिर ल्याएर नयाँ समीकरण बनाउने तयारी जसपा विभाजनले विफल भए पनि उनी पछिल्लो समय एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई  पनि फकाइरहेका छन् ।   

सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमालेले सरकार छाडेपछि अल्पमतमा परेको मधेश प्रदेश सरकारलाई एकीकृत समाजवादी र लोसपाको सहयोगमा टिकाउने र सत्तापक्षका बीचमा अविश्वासको वातावरण सिर्जनाको प्रयास देउवा गरिरहेका छन् । 

एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि अहिले जसपाको नेतृत्वमा रहेको मधेश प्रदेशको सरकार अल्पमतमा परेको छ । जसपा नेपाल विभाजनपछि संघीय सत्ता गठबन्धन मधेशमा नयाँ सरकार गठनको कसरतमा छ । 

तर, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने सरोजकुमार यादव नेतृत्वको मधेश सरकारमै सहभागी छ । मुख्यमन्त्री यादवले जेठ २३ गते प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । 

गत वैशाख ३० मा एमाले र माओवादीले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले २९ जेठसम्म विश्वासको मत लिनुपर्छ। उनलाई विश्वासको मत दिलाउन कांग्रेस सभापति देउवाले बुधबार एकीकृत समाजवादी र लोसपासँग सहयोग मागेका छन् । 

उनको निवास बूढानीलकण्ठमा भएको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष  नेपाल र नेता मेटमणि चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरतसिंह भण्डारीसँगै जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । 

यस्तै कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला पनि उपस्थित थिए । बूढानीलकण्ठमा मधेस प्रदेशमा मौजुदा सरकार जोगाउने बारे छलफल भएको बैठकपछि नेताहरूले बताएका थिए ।  

बैठकमा मधेशको मौजुदा सरकार जोगाउने बारेमा छलफल भए पनि कांग्रेसको आन्तरिक अभिष्ट एकीकृत समाजवादीको साथ खोज्ने र सत्ता गठबन्धनमा अविश्वासको वातावरण बढाउने रहेको बूढानीलकण्ठ बैठकमा सहभागी नेताहरू दाबी गर्छन् । 

‘मधेश सरकारबारे कुराकानी भएको हो । एकीकृत समाजवादीले टुंगो नलगाई संख्या नपुग्ने अवस्था छ । उहाँ (अध्यक्ष नेपाल) ले प्रष्ट केही भन्दिनु भएन,’ बैठकमा सहभागी कांग्रेसका एक शीर्ष नेताले खबरहबसँग भने, ‘मधेशमा साथ पाइयो भने केन्द्रमा पनि केही हुन्छ भन्ने हाम्रो कुरो ।’

बूढानीलकण्ठ बैठकमा सहभागी जसपा नेपालका अध्यक्ष यादवले संघीय सरकारका बारेमा केही छलफल नभए पनि राजनीतिमा भित्र–भित्रै आफूअनुकूलको वातावरण बनाउन खोज्नुलाई अन्यथा लिन नमिल्ने बताए । उनले कांग्रेस सभापति देउवा वर्तमान सत्ता गठबन्धन ढाल्न प्रतिपक्षले प्रयास गर्नै नपर्नेमा विश्वस्त देखिएका बताए । 

‘तत्काल संघीय सरकारका बारेमा केही कुरा भएको छैन । तर, राजनीतिमा आफू अनुकुलको वातावरण बनाउन प्रयास गर्ने कुरा त भै नै हाल्छ,’ यादवले भने, ‘देउवाजी यो सरकार आफैँ ढल्नेमा विश्वस्त देखिनुहुन्छ । गठबन्धनबीच ब्यापक असन्तुष्टि छ । हामीले केही गर्नै पर्दैन भन्नुहुन्छ ।’ 

राजनीतिक विश्लेषक शंकर तिवारी भने कांग्रेसले वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयास नै गर्न आवश्यक नरहेको बताउँछन् । अघिल्लो पटक एमालेकै समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको तीन महिनामै कांग्रेससँग आफैँ मिल्न आएकाले उक्त दृष्य दोहोरिने उनको आँकलन छ ।

‘पहिले पनि नेपाली कांग्रेसले चाहेर सरकार गिरेको होइन । तीन महिनामै एमालेसँगको ‘कोलिसन’ भत्काएर प्रचण्डजी कांग्रेससँग आउनुभएको हो,’ तिवारीले खबरहबसँग भने, ‘त्यसबेला केपी ओलीले प्रचण्डलाई तीन महिना पनि टिकाउन सक्नुभएन । यो पटक पनि तीन महिना हुनै लाग्यो । पुरानो दृष्य दोहोरिन सक्छ ।’

उनले अघिल्लो पटक प्रधानमन्त्री प्रचण्ड निसास्सिएरै काङ्ग्रेससँग गठबन्धनमा आएको भन्दै अहिले पनि उनी निसास्सिएर यथेष्ट निकास आवश्यक महसुस गरेको टिप्पणी गरे । ‘त्यसबेला निसास्सिएरै नेपाली कांग्रेससँग आउनुभएको हो । यस पटक पनि निसास्सिँदै जानुभएको र यथेष्ट निकास चाहिने महसुस गरेको देखिन्छ ।’

राजनीतिक विश्लेषक तिवारीले प्रधानमन्त्री प्रचण्डका लागि एमाले अध्यक्ष केपी शर्मा ओली ‘हार्ड कोलिसन पार्टनर’  र कांग्रेसलाई ‘सफ्ट कोलिसन पार्टनर’ का रुपमा चित्रित गरे । 

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ८ : १२ बजे

लागुऔषध त्यागेर समाज सुधारक बनौँ : रवि लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र

लमजुङ पहिरो अपडेट : चारै जनाको शव निकालियो

लमजुङ– जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको

वर्षालाई केन्द्रमा राखेर फिल्म ‘मोदीबेनी’को पोस्टर सार्वजनिक 

काठमाडौं– नायिका वर्षा सिवाकोटीलाई केन्द्रमा राखेर फिल्म ‘मोदिबेनी’को आधिकारिक पोस्टर

चन्द्रमाबाट चट्टान लिएर चिनियाँ चाङ्गे–६ पृथ्वीमा अवतरण

काठमाडौं– चीनको मुन मिसन चन्द्रमाको सतहबाट माटोसहितको चट्टान लिएर पृथ्वीमा

सुनमा कर बढाएपछि पसल बन्द गरेर आन्दोलन (तस्बिरहरू)

काठमाडौं- सरकारले सुनचाँदीमा कर बढाएपछि काठमाडौंको न्यूरो क्षेत्रका व्यवसायी आन्दोलित