एकीकृत समाजवादीका प्रतिनिधिको मुड : यसपटक माधव, अर्को पालि घनश्याम | Khabarhub Khabarhub

एकीकृत समाजवादीका प्रतिनिधिको मुड : यसपटक माधव, अर्को पालि घनश्याम

झलनाथ पार्टीको अभिभावक बन्नुपर्ने तर्क



काठमाडौं– नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन काठमाडौँमा सुरु भएको छ। प्रज्ञा भवन भवन कमलादीमा आइतबार सुरु महाधिवेशन २० असारसम्म चल्ने छ ।

महासचिव घनश्याम भुसालका अनुसार पार्टीमा देशभरबाट १८४७ महाधिवेशन प्रतिनिधि सहभागी छन् । यसमा जनवर्गीय सङ्गठन र विभिन्न संघसंस्था प्रतिनिधि पनि छन् ।

भुसालले महाधिवेशनभर आयोजकले नै खानेबस्ने लगायत सुविधाहरू उपलब्ध गराएको जानकारी दिए ।

विद्रोहको औचित्व पुष्टि गर्न बाँकी

एकीकृत समाजवादीको दशौँ महाधिवेशनमा नेतृत्व हस्तान्तरणको कुरा उठे पनि यस पटकलाई अध्यक्ष माधवकुमार नेपाललाई निरन्तरता दिनुपर्ने आवाज उठेको छ ।

महाधिवेशनमा अध्यक्षका लागि नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसालको दाबी छ । तर सहमतिको प्रयास गरिने तयारी गरिएको छ । सहमतिमा जाँदा पनि यस पटक नेपालको विकल्पको मुडमा महाधिवेशन प्रतिनिधि नदेखिएका हुन् ।

रुकुम पश्चिमबाट आएकी रिना रावले भनिन्, ‘ नेतृत्व सर्वसम्मत आउनुपर्ने हाम्रो माग हो । सहमति नभए निर्वाचनमा जाँदा पनि नेपालको विकल्प छैन ।’

खबरहबसँगको कुराकानीमा रावलले नेपाललाई अध्यक्ष बनाएर खनाललाई पनि सम्मानजनक स्थान दिनुपर्ने तर्क गरिन् । ‘झालनाथ खनाल हाम्रो आदरणीय नेता हो। उहाँले पार्टीमा मिलेर अगाडि बढ्नुपर्छ। अहिले अध्यक्षमा नेपालको विकल्प छैन’, उनले भनिन् ।

महासचिवमा भुसाल नै दोहोरिनुपर्ने उनको तर्क छ । उनले अध्यक्षमा भुसालको दाबीबारे भनिन्, ‘मिल्दा त म पनि दाबी राख्थेँ तर अहिले देशको खाँचो हेर्नुपर्ने हुन्छ । भुसाल कमरेडले महासचिव नै चलाउनु उचित हुन्छ ।’

धनुषाका महाधिवेशन प्रतिनिधि शीतल साहले पनि भुसाल महासचिवमा दोहोरिनुपर्ने तर्क गर्दै कार्यभारका हिसाबले नेपाल नै अध्यक्षमा आउनुपर्ने जिकिर गरे ।

नेकपा एमालेबाट विद्रोह गरेर आउँदा पार्टीमा सबैभन्दा महत्त्वपूर्ण भूमिका अध्यक्ष नेपालले खेलेको पार्टी सच्चिएर अगाडि बढाउन उनको विकल्प नभएको तर्क साहले गरे ।

‘माधव नेपालसहित हाम्रो विद्रोहको औचित्य अझै पुष्टि भइसकेको छैन। औचित्य पुष्टि यो पटक नेतृत्व माधव नेपाल नै हुनुपर्छ। यसमा भुसालले उहाँलाई सहयोग गर्नु हुनेछ । महासचिवमा भुसालको विकल्प छैन’, उनले भने ।

उनले खनालको अनुभव कार्यदक्षता र क्षमता पार्टीमा महत्त्वपूर्ण रहेको बताउँदै अब अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए।

‘हाम्रो पार्टीमा अभिभावक झालनाथ खनाल हो। उहाँले अभिभावकक बन्नुहुन्छ भन्ने मलाई लागेको छ। त्यसकारण सर्वसम्मत नेपाल नै अध्यक्ष रहनुहुनेछ।’ , उनले भने ।

यस्तै महाधिवेशन प्रतिनिधि भगवती अधिकारीले पनि हलले जसलाई चुन्छ, उसले नै नेतृत्व लिनु पर्ने बताएकी छिन्।
उनले यो सिङ्गो हल नै माधव नेपालको विकल्प खोज्ने पक्षमा नभएको तर्क गरिन् ।

‘सिङ्गो हल र देशले नेपालको विकल्प खोजेको छैन। पार्टीमा कहाँ विकल्प खोज्ने कुरा हुन्छ र ? यो पटक नेपालले नेतृत्व गरेर अर्को पटक अन्यलाई दिनुपर्छ ।’

कालिकोटबाट आएकी प्रतिनिधि धनसरा विष्ट पनि नेपाल अध्यक्षमा आए राम्रो हुने बताउँछिन् ।

‘अध्यक्षमा नेपाल र महासचिवमा भुसाल आए राम्रो हुन्छ। सम्मानित नेता खनालले पार्टी बनाएकाले महत्त्वपूर्ण जिम्मेवारीमा रहनु भएको छ, उहाँलाई त्यही ठिक छ’, उनले भनिन् ।

सुदूरपश्चिमबाट आएका महाधिवेशन प्रतिनिधि कविराज विष्ट पनि भुसालको नेतृत्व गर्ने समय नभएको बताउँछन् । त्यसैले नेपाल नै अध्यक्ष हुनुपर्ने तर्क उनको छ । ‘भुसालले अझै तीनचार वर्ष पर्खनुपर्छ । अर्को महाधिवेशनमा आउनु उचित हुन्छ। अहिलेलाई नेपालको विकल्प छैन,’ उनले भने ।

अहिले नेपाललाई रोक्दा देशलाई नै घाटा हुने उनको तर्क छ । यता कोशीबाट आएका महाधिवेशन प्रतिनिधि कमल जबेगु भर्खरै पार्टीमा आएकाले नेतृत्व लिन खोज्नु ठिक नभएको बताउँछन् । अनुभवी र पार्टी विद्रोहका बेला महत्त्वपूर्ण योगदान गर्ने नै अध्यक्ष हुनुपर्ने उनको तर्क छ ।

उनले महासचिव भुसालतिर लक्षित गर्दै भर्खरै आएका नेताले नेतृत्व लिने बेला नभएको बताए ।

अर्का महाधिवेशन प्रतिनिधि लोकेन्द्र बुढा पनि नेपालको विकल्प नभएको बताउँछन् । राष्ट्रिय युवा संघका संयोजक कृष्ण बिके पार्टीलाई वैचारिक र वैज्ञानिक रुपमा अगाडि बढाउनुपर्ने बताउँ छन् । पार्टीले युवा नेतृत्व खोजेको उनी बताउँछन् ।

पार्टीलाई सच्याएर अघि बढाउन युवाहरूको विकल्प नभएको तर्क गर्दै उनले अहिलेकोभन्दा युवा नै सक्षम हुने बताउँछन् ।

महाधिवेशन प्रतिनिधि चमिना भट्टराई नेपाल सम्माननीय र आदरणीय नेता भएकाले उनैलाई अगाडि बढाउनुपर्ने दाबी गर्छिन्।

पार्टीमा पहिलो प्राथमिकता सहमति रहेको बताउँदै उनले त्यसका लागि खनालले पनि भूमिका खेल्नुपर्ने उनको तर्क छ ।
‘झालनाथ खनाल हाम्रो आदरणीय र सम्मानित नेता हो। उहाँले सहमतिमा नेतृत्व चुन्नक प्रयास गर्नुपर्छ, अहिले नेपालको विकल्प छैन’, उनले भनिन् ।

हामीले प्रश्न गरेका अधिकांश महाधिवेशन प्रतिनिधिले नेपालको विकल्प नभएको बताए । तर खनालनिकट युवा नेताले नेतृत्व हस्तान्तरण र वैज्ञानिक कार्यदिशामा अघि बढाउन अहिलेको नेतृत्व असफल भएकाले विकल्प खोजिएको बताउँछन् ।

युवामाझ घनश्याम लोकप्रिय

घनश्याम भुसालले पनि पार्टी अध्यक्षका लागि माहोल बुझिरहेको युवा नेताहरू बताउँछन् ।

महाधिवेशन प्रतिनिधि वासिम आलमले अन्तिममा नेपाल नै सर्वसम्म हुने दाबी गरे । ‘महासचिव कमरेडले युवाहरूलाई आफ्नोबारे बताउनु भएको रहेछ । तर मलाई भन्नुभएको छैन । उहाँले पनि युवामाझ आफ्नो उम्मेदवारी हुने कुरा गर्नुभएको रहेछ। तर सहमति नेपालकै नाममा हुन्छ ।’

सुदूरपश्चिमका युवा नेता एकराज थामी पनि भुसालले केही युवासँग धारणा बुझिरहे पनि नेपाललाई नै समर्थन गर्ने बताए ।

‘उहाँले हामीसँग धारणा बुझ्नुभएको थियो, तर अन्तिममा नेपाललाई नै सहयोग गर्ने देखिन्छ । विद्रोहको औचित्य पुष्टि भइसकेको छैन । राष्ट्रले नै नेपालको विकल्प नखोजेकाले एक कार्यकाल नेपालले नै चलाउनुपर्छ’, उनले भने ।
महासचिव भुसाल पनि सहमतिमै नेतृत्व टुंगो गर्नेगरी बढ्ने बताइरहेका छन्।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा पार्टी सचिव राजेन्द्रकुमार राई कम्युनिस्ट पार्टीमा सबै सदस्यहरू एकै भएका विभागीय जिम्मेवारी दिएर अगाडि बढाउनुपर्ने बताउँछन् ।

उनले भने, ‘मैले यो प्रस्तावसहितको सुझाव आज पार्टीमा पठाउँदै छु। मेरा सुझाव तत्काल कार्यान्वयन नभए पनि कम्युनिस्ट पार्टीका लागि फाइदाजनक छन’, उनले भने ।

उनले सङ्गठन र विभागलाई जिम्मेवारी दिएपछि कम्युनिस्ट पार्टीमा सबै नेताहरू सदस्य मात्रै रहने वातावरण बनाउनुपर्ने सुझाव दिँदैछन् ।

प्रचण्ड र देउवाको पनि साथ

आइतबार कमलादीमा भएको उद्घाटन सत्रमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले माधव नेपालको प्रशंसा गरेका छन् । संविधान र लोकतन्त्र रक्षामा नेपाल नायक भएको उनीहरूको तर्क छ ।

‘जतिबेला पञ्चायतविरोधी आन्दोलन चल्दै थियो । त्यहीबेला माधव नेपाल र मबीच अन्तरक्रिया भयो । हामीले लोकतन्त्र रक्षाका निम्ति हामीले खेलेको सामूहिक भूमिका पनि यहाँहरूलाई थाहा छ’, उनले भने, ‘अहिले हामी सँगै छौँ। विचार र सङ्गठनात्मक कार्यदिशाको आधारमा वामपन्थी एकताको पहल गर्नुपर्नेछ।’

उनले समाजवादीको यो महाधिवेशनले सङ्गठन सुदृढ गर्न सही कार्यदिशाको विकास गर्ने विश्वास जनाए । ‘कम्युनिस्ट र वामपन्थी एकताका निम्ति सही पहलकदमीको निर्णय यो महाधिवेशनले गर्नेछ’, उनले भने, ‘कम्युनिस्टहरूले पनि निराशावादको पक्ष पोषण र प्रचार गरेको देख्दै छौँ । यसलाई यो महाधिवेशनले चिरेर लान्छ भन्ने विश्वास छ ।’

कांग्रेस सभापति देउवाले राजनीतिक रक्षाका लागि नेपालले महत्त्वपूर्ण भूमिका खेलेको बताए । ‘प्रतिनिधिसभा विघटन हुँदा होस्, या अन्य मुद्दामा यो पार्टीले अहिलेको राजनीतिको रक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ । जसमा माधवले नेपालजीको प्रमुख पहलकदमी छ ।’

उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आएनन् । उनले प्रतिनिधिसमेत पठाएनन् । अध्यक्ष नेपालले यसबारे उद्घाटन सत्र समापनका क्रममा भने, ‘मैले एमालेका साथीहरूलाई पनि बोलाएको हुँ, म्यासेज पनि गरेँ । फोन लागेन । उहाँहरूलाई म्यासेज पुगेको थाहा पाएँ, तर आउनु भएन । तीन वर्षअघिको घाउ अझै सेलाएको छैन भन्ने बुझेँ । सानातिना कुरा बिर्सिएर जानुपर्छ ।’

याे पनि…

तन्नेरी जोशमा पार्टी हाँक्ने तयारी गर्दै ‘जन्तरे बा’

७० को वय : नागरिकलाई भत्ता, नेतालाई सत्ता

माधव नेपाल कांग्रेससँग नजिकिँदा झलनाथ रुष्ट, महाधिवेशनको मुखमा बढ्दै किचलो

महाधिवेशनको मुखमा माधव–झलनाथ टकराव, युवा संघमा समानान्तर अभ्यास

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ८ : ०९ बजे

विपतजन्य व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री सिंह 

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विपतजन्य व्यवस्थापनको पूर्व तयारीमा

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटलाई मंगलबार पनि हेर्दा

प्रतिनिधिसभा सचिवमा सुरेश अधिकारी नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त

चट्याङ के हो, कसरी बच्ने ?

काठमाडौं– हरेक वर्ष नेपालमा चट्याङले ज्यान गुमाउने वा घाइते हुनेको

पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा

पोखरा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको