त्यसो त गण्डकीको हावा, खोलाको सुसाइमा सङ्गीत छ । कालीगण्डकीसँग पवित्र शालिग्राम मात्र हैन, मानव सभ्यताको अपार भण्डार छ । त्यहाँका बनबुट्यानमा गीत सङ्गीत, साहित्य र कविताका अजस्र भावधारा छन् । हलि–खेताला, बाउसे, रोपाहार, जातजातिका भेषभुषा, भाषा संस्कृतिभित्र सलादजस्तै सहअस्तित्वको विशाल भण्डार छ । सारंगीको र्याइँर्याइँ होस् या मादलुको अर्गानिक घिन्ताङ ती सबैमा सङ्गीत इन्द्रेणी बनेर उपस्थित छ । सङ्गीतको यही मनोहर धरामा जन्मिने सुयोग पाएका कृष्ण समीप अहिले नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा उदीयमान स्रष्टा भएर उभिएका छन् ।
नेपाली भाषाका कोसेढुङ्गा भानुभक्त आचार्य र कविताका शिरोमणि लेखनाथ जन्माउने गण्डकीको धरालाई धेरैले सिँचन गरे । जनकविकेशरी धर्मराज थापा, झलकमान गन्धर्व, बमबहादुर कार्की, अलि मियाँ, लालबहादुर खाती हुँदै विष्णु माझीसम्मले लोकसंगीतमा भरेको प्राणवायुमा थुप्रै थुप्रै उम्दा प्रतिभाहरूले आफ्नो सीप र कौशलको लगानी गरेका छन् । अघिल्लो पुस्ताको पदचाप पछ्याउने इमानदार शिल्पी मध्येको एक हो– कृष्ण ‘समीप’ ।
पर्वतका लता, लहरासँगै मितेरी गाँसेर अघि बढेका कृष्ण जिल्लामा चिनिए । क्षेत्रमा प्रतिभाको झण्डा गाडे । यो फाँट साँघुरो लाग्यो । अनि राजधानी हानिए । गायन, सङ्गीत र सञ्चार तिनै क्षेत्रमा आयतन बढाए । उनी शब्द लेख्छन्, सङ्गीत भर्छन्, त्यसको मर्मलाई बुझेर स्वर मात्र दिँदैनन् कि त्यो सिर्जनालाई बोलीको लालित्यमा ढालेर रेडियोको ढलौटमा ढाल्छन् । यस अर्थमा कृष्ण बहुआयामिक प्रतिभाका प्रखर व्यक्तित्व बन्न सफल छन् । आफूभित्रको अनुराग बुझेरै उनले आफ्नो नाम पछाडि समीप झुन्ड्याए । सम्भवतः यही नामको सगुनले होला उनी सिर्जनाका हरेक विधामा ‘समीप’ साइनो बचाउन सफल छन् । यसैको बलमा वर्षेनी उनको सिर्जना सङ्गीत बजारमा आउँछ ।
यसै मेसोमा मौलिक लोक लयात्मक शैलीमा सरल भाकामा बनेको ‘बैँसालु फूल’ यतिबेला गीत सङ्गीतको बजारमाझ निकै चर्चित छ । कृष्णको शब्द र सङ्गीत सृजनामा तयार भएको यो गीतमा सङ्गीत संयोजन कृष्ण केसीको छ भने प्रीज्म डिजिटलमा रेकर्ड गरिएको गीत ‘बैँसालु फूल’मा उनकै स्वर र गायिका दिपिका पौडेलले स्वरमा साथ दिएकी छिन् । गीतको मिक्सिङ मास्टरिङ श्यामस्वेत रसाईलीले गरेका छन् । दिपिका पौडेलको प्रस्तुतिमा कृष्ण समीप सुवेदी युट्युब च्यानलबाट गीत डिजिटल बजारमा आएको छ ।
नवोदित भिडियो निर्देशक मुकेश नेपालीको निर्देशनमा तयार गीतको भिडियोले राम्रो भ्यूज पनि पाएको छ । सबै भन्दा धेरै त स्रोता दर्शक सङ्गै अग्रज कलाकार, समकालीन एवं पछिल्लो पुस्ताबाट अत्यन्तै राम्रो तारिफ पाएको छ यो गीत र भिडियोले । अडियो पक्षमा सरल भाका, ठेट शब्द चयन र गायनलाई राम्रो मानिएको छ भने एरेन्ज र रेकर्डिङले सुन्दर बनाएको गीतमा भिडियो एकदम राम्रो छ ।
छायाङ्कनस्थल, दृष्य, रमाइलो मौलिक शैलीको कथासँग मौलिक भेषभुषाको तालमेलमा सम्पादकको सम्पादकीय भूमिकाले अझै राम्रो देखिएको छ । रेडियोबाट गीत सुन्दै गरेको देखाउनुले ग्रामीण परिवेशलाई ताजा बनाउँछ । भिडियोमा मोडल तथा नायिका रजनी गुरुङ्ग, कृष्ण समीप सुवेदी , दिपिका पौडेल तथा बाल कलाकार सिम्रन खरेलको अभिनय रहेको छ । कृष्ण समीपलाई नृत्यमा पनि मस्त सुहाएको छ । उनको अभिनय अब्बल छ भन्ने कुराको प्रमाण पनि बनेको छ- बैँसालु फूल ।
सृजना र साधनामा रमाउने बहुप्रतिभाशाली गायक कृष्ण आज भन्दा दुई दशक अघि बालापनबाटै नेपाली गीत सङ्गीतमा होमिएका हुन् । पर्वतको पाङमा जन्मेका पङ्गाली गायक कृष्ण समीपले आजसम्म आइपुग्दा झन्डै चारसय भन्दा धेरै गीतहरुमा आफूलाई प्रस्तुत गरिसकेका छन् । गायनसँगै लेखन र सङ्गीत भर्न पनि खप्पिस छन् उनी । त्यसो त अचेल मोडलको रुपमा समेत आफूलाई अब्बल साबित गरेका छन् ।
लोक, लोक दोहोरी, लोक आधुनिक, लोक पप र मौलिक सांस्कृतिक भाकाहरुमा समेत पोखिन माहिर छन् कृष्ण समीप ।
कृष्ण समीप गायक मात्र नभएर चर्चित रेडियो कार्यक्रम प्रस्तोता समेत हुन् । इमेज एफएम ९७.९ मा उनले संचालन गर्ने कार्यक्रम ‘उकाली ओराली’, इन्साइड स्टोरी र लोकपप निकै चर्चित छन् ।
कृष्ण समीपका यस अघिका हिट गीतहरू सम्झने हो भने लोक गीततर्फ सिर सिर बतास, चल्न माया चल, सलल काली गङ्गा, मेरा आँखामा, कोरियाको चक्कर, माझी दाइको जिन्दगी, कति राम्रो बिहानीको घाम, मनको तिर्खा मेट्न, घाम पानी घमाइलो, जोर बत्ती पालैमा, सिरुपाते खुकुरी, हेर ऐनामा, सिमली छायाँले लगायत छन् ।
आधुनिकतर्फ ‘मेरो कल्पनामा आउने मान्छे तिमी, भागिहाल्यौ अझै भाग, तिम्रो बाटो मेरो बाटो, सुख दुःख, सम्झेर आँसु नझार प्यारी ।
लोकपपतर्फ ‘ओ माया बोलन, ए भन्दे बतास, देउराली(एल्बम) तरकारी काउली, पोखरा जाने घुम्ती छ बाटो, पहिलो चोटी अँखा जुद्धा, सिङ्गापुरे सोल्टिको मायालगनयथ तीज गीतहरू पनि रहेका छन् ।
विशेषगरी सास्त्रीय सङ्गीत सिकेर गीत सङ्गीतभित्र डुबुल्की मारेका कृष्ण समीप देउडा, सालैजो, सेलो, काठे, पूर्वेली चन्डी लगायत नेपालमा प्रचलित लगभग सबै खाले भाका गाएका छन् र गाउन चाहान्छन् । भाइरल आज छ भोलि छैन त्यसैले ‘भाइरल’ हैन सदाबाहार बन्न सक्नुपर्छ भन्ने उनी मान्यता राख्छन् ।
प्रतिक्रिया