नेपालमै गुड्ने भयो हाइड्रोजनबाट चल्ने कार, प्रधानमन्त्रीले गरे शुभारम्भ « Khabarhub

नेपालमै गुड्ने भयो हाइड्रोजनबाट चल्ने कार, प्रधानमन्त्रीले गरे शुभारम्भ


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

धुलिखेल- प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गरेका छन् ।

विश्वविद्यालयको २९ औं दीक्षान्तअघि उक्त `हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरिएको हो । यससँगै अब नेपालमै हाइड्रोजनबाट चल्ने कार पनि पहिलो पटक गुड्ने छ ।

दक्षिण कोरियामा बनेको हुन्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको थियो ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजन प्रयोगले कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताएका छन् ।

काठमाडौं विश्वविद्यालय (केयू) ले २०८ मंसिरमै कोरियाबाट उक्त कार ल्याएको थियो। उक्त कार करिब एक वर्षपछि अब गुड्ने भएको हो । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि उक्त कार ल्याएको थियो ।

इन्धनका कारण सञ्चालनमा हुन नसकेको कारका लागि काठमाडौं विश्वविद्यालय परिसरमै रि-फ्युलिङ सेन्टर बनाइएको हो । जसको ओलीले शुक्रबार उद्घाटन गरे ।

यससँगै नेपालमा पहिलो पटक हाइड्रोजन फ्युल सेलमा आधारित सवारीसाधन सञ्चालन भएको केयूका उपप्राध्यापक तथा ल्याबका प्रमुख डा. विराजसिंह थापाले बताए ।

हाइड्रोजन गाडी नेपाल भित्रिए पनि कानुन अभावका कारण दर्ता हुन समस्या भएको थियो । हाइड्रोजन गाडी ल्याउनुको प्रमुख उद्देश्य विश्वविद्यालयले तयार गरेको फ्युल स्टेशनको अनुसन्धान गर्नु हो ।

कसरी बन्छ हाइड्रोजन ?   

पानीलाई रासायनिक प्रतिक्रियामार्फत टुक्र्याएरपछि हाइड्रोजन र अक्सिजन बन्छ । नौ लिटर पानीलाई रासायनिक प्रतिक्रियाबाट टुक्र्याउँदा एक किलोग्राम हाइड्रोजन उत्पादन हुन्छ । त्यसरी टुक्र्याउन ५० देखि ६० युनिट विद्युत् खर्च हुने उपप्राध्यापक थापा बताउँछन् । यो हिसाबले हेर्दा हाइड्रोजन उत्पादनको लागत विद्युत्को मूल्यमा निर्भर हुने उनको भनाइ छ ।

एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न दुई सय ५० देखि तीन सय रुपैयाँसम्मको विद्युत् खर्च हुने तथा पावर प्लान्टमा गरिने लगानी र प्रशासनिक खर्चलगायत आधारमा नेपालमा एक किलोग्राम हाइड्रोजनको लागत पाँच सय रुपैयाँ पर्ने अनुसन्धानकर्ताको अनुमान छ ।

बर्खायाममा नेपालमा सयौँ मेगावाट विद्युत् खेर गइरहेको अवस्था छ । त्यसलाई न्यूनतम मूल्यमा प्रयोग गर्न सक्दा निकै सस्तो मूल्यमा हाइड्रोजन उत्पादन हुनसक्ने विज्ञहरू बताउँछन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले नेपालमा १.५ देखि १.७५ युरो अर्थात् प्रतिकेजी दुई सय रुपैयाँमा हाइड्रोजन उत्पादन सम्भव रहेको देखाएका थिए । यो विश्वका अन्य देशको तुलनामा सबैभन्दा सस्तो हो ।

हाइड्रोजनले यात्रुवाहक सवारीसाधनमा प्रतिकिलो दुई सय किलोमिटरभन्दा बढी ‘रेञ्ज’ दिने अन्तर्राष्ट्रिय अनुभव छ । विश्वविद्यालयले ल्याएको गाडी ६.५ किलोग्राम हाइड्रोजन फ्युल क्षमताको छ । यसबाट करिब एक हजार दुई सय किलोमिटरको यात्रा गर्न सकिन्छ ।

अहिले पेट्रोलियम सवारीको प्रतिकिलोमिटर इन्धन लागत १५ देखि २० रुपैयाँ पर्छ । हाइड्रोजन फ्युलको लागत यसको तुलनामा निकै सस्तो हो । ब्याट्रीबाट चल्ने गाडीकोभन्दा यो शुल्क महँगो भए पनि ब्याट्रीको फेर्ने खर्चकोसमेत हिसाब गर्दा यसको लागत कम पर्ने अनुसन्धानकर्ताको दाबी छ ।

यससँगै विश्वविद्यालयले हाइड्रोजनमै आधारित रहेर बन्ने मिथेन र एमोनिया ग्यासबारेसमेत अध्ययन गरिरहेको छ । मिथेन हाइड्रोजन र कार्बनडाइअक्साइडको रासायनिक प्रतिक्रियाबाट बन्छ, यसलाई प्राकृतिक ग्यास भनिन्छ, जुन खाना पकाउने एलपिजीको प्रतिस्थापनदेखि औद्योगिक हिटरमा समेत प्रयोग गर्न सकिन्छ ।

हाइड्रोजनलाई नाइट्रोजनसँग रासायनिक प्रतिक्रिया गराउँदा एमोनिया बन्छ । नाइट्रोजन हावामा सबैभन्दा बढी पाइने ग्यास हो । यसरी बन्ने एमोनियाको प्रयोग पानीको प्रशोधन, चिस्यान केन्द्रलगायत औद्योगिक प्रयोजनका लागि हुन्छ ।

एमोनियालाई कार्बनडाइअक्साइड र अक्सिजनसँग रासायनिक प्रतिक्रिया गराए युरिया मल बनाउन सकिने अनुसन्धानकर्ताको भनाइ छ । विश्वविद्यालयले बागमती प्रदेश सरकारसँग मिलेर यस सम्बन्धमा अध्ययन गरेर युरिया मल बनाउन सकिने निष्कर्ष निकालेको थियो ।

पेरिस सम्झौताले सन् २०५० सम्ममा सबै सदस्य राष्ट्रले कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्ने घोषणा गरेको छ । सो घोषणालाई पूरा गर्न हाइड्रोजन ऊर्जाको प्रयोग बढाउनु उपयुक्त रहेको बताइन्छ ।

अमेरिका, चीन, जापान, युरोपेली मुलुकले पनि नवीकरणीय ऊर्जाको प्रयोगमार्फत कार्बन उत्सर्जन कम गर्ने उद्घोषका साथ विभिन्न नियम, कानुन बनाएका छन् भने हाइड्रोजन, सौर्यलगायत नवीकरणीय ऊर्जामा लगानी बढाइरहेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १२ : ५५ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका