राजनीति

एमालेलाई प्रचण्डको सुझाव- माओवादी र ‘जनयुद्ध’लाई हेपेर बोल्नु राम्रो होइन

By खबरहब

August 30, 2024

सुर्खेत- नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकार अघि बढे सदन र सडकबाट प्रतिवाद गरिने बताएका छन् ।

पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत पुगेका उनले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गरे ।

अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारको छानबिनलाई सामसुस पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनिभूत गराउने दाहालले बताए ।

अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रह मात्रै गरिएको उल्लेख गर्दै उनले सच्चिने होइन भने सदन र सडक दुवै ठाउँबाट आन्दोलन अघि बढाउने बताए ।

सरकार पहिलो र दोस्रो दल मिलेको संसारमको संसदीय इतिहास नभएको उल्लेख गर्दै उनले गलत कुरालाई चोख्यान गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताए ।

भदौ ११ गते संसद्‍मा आफ्नो सम्बोधन उत्तेजना र आवेग नभई सरकारका गलत कामको भण्डारफोर गरेको उनले उल्लेख गरे । गलत कामको विरोध गर्न सय दिन नै पर्खनुपर्छ भन्ने कतै नभएको उनले स्पष्ट गरे ।

अहिले सदनमा चलिरहेको ‘हिंसा’सम्बन्धी विवादबारे पनि प्रचण्डले मुख खोलेका छन् ।

‘एमालेका साथीहरूले त्यसरी नबोलेको भए हुन्थ्यो, कुनै समय जनयुद्ध र यसका उपलब्धिलाई उहाँहरूले राम्रोसँग ब्याख्या गर्नुभएकै हो । अझ जसले हिंसा भन्ने शब्द प्रयोग गर्नुभयो, उनले जनयुद्धको प्रशंसा नै गर्नुहुन्थ्यो’, उनले भने, ‘विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेखित शब्दको मर्मभन्दा बाहिर जाने गरी त्यस्ता अभिव्यक्ति नदिन म सम्बन्धित साथीहरूई सचेत गराउन चाहन्छु ।’

सबै खालका परिवर्तन माओवादीकै एजेण्डा भएकाले यसलाई जोगाउने कुरा पनि माओवादीकै भूमिका बढी भएको उनले बताए ।

माओवादीको महत्व र भूमिकालाई मिनिमाइज गर्ने गरी अभिव्यक्ति नदिन दाहालले आग्रह गरे । माओवादी फुटछ भन्ने हल्ला निराधार भएको बताएका उनले पछिल्ला बैठकहरूका खुला र स्पष्ट बहसले सबै आशंका अन्त्य गरेको उल्लेख गरे ।

प्रचण्डले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउँदै विगतमा विभाजित दलहरूलाई एकताबद्ध गर्ने काममा पार्टी अघि बढेको जानकारी दिए ।

‘पार्टी फूट्छ भनेर जो हल्ला फैलाइएको थियो, हाम्रो पार्टीले त्यसलाई सर्वसम्मत खारेज गरेको छ’, उनले भने,‘केही मानिसहरूले डिजाइनअनुसार यस्तो हल्ला फैलाएका हुन् । सबै प्रदेशमा पुग्दा यो भ्रम पूरै हटेको छ ।’