क्रिकेट

लिग-२ : नेपालले कसरी खेल्नसक्छ २०२७ को विश्वकप ?

By मनोज घिमिरे

September 30, 2024

विश्वकप लिग-२ का सुरुवाती खेलमा कमजोर प्रदर्शन गरिरहेको नेपालले सन् २०२७ को विश्वकप कसरी खेल्नसक्छ भन्ने चासो आम क्रिकेट प्रेमीमा देखिन्छ। कीर्तिपुर रंगशालामा फेब्रुअरी महिनामा २४ त्रि-दिवसीय शृङ्खला मध्यको पहिलो शृङ्खला आयोजना भएको थियो। घरेलु मैदानमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै शृङ्खलाको सुरुवात गरेको हो।

विश्वकप खेल्ने नेपालको बाटो नेपाल अहिले विश्वकप डिभिजन-२ मा व्यस्त छ। यसमा शीर्ष चार स्थान पाए १० टोलीको बिचमा क्वालिफायर खेल्नेछ। डिभिजन-२ मा ३ घरेलु तथा ६ अबे शृङ्खला खेल्ने छ। नेपाल शीर्ष ४ मा रहे १० टोलीको बिचमा हुने विश्वकप क्वालिफायरमा अवसर पाउने छ। पुछारको ४ मा रहे च्यालेन्ज लिगका शीर्ष ४ मा रहेका टोलीसँग अर्को प्लेअफ खेल्ने मौका पाउने छ। ती ८ टोलीमा शीर्ष चारमा रहे फेरि विश्वकप क्वालिफायर खेल्ने अर्को मौका पाउने छ।

आठ खेले खेलेको नेपाल तालिकाको सातौँ स्थानमा छ । नेपालले ६ खेल गुमाउँदा एउटामा जित र अर्कोमा अंक बाँडेर ३ अंक बनाएको हो। नेपाल भन्दा एक खेल कम खेलेको युएईको २ अंक छ। अहिले शीर्ष ४ मा रहेका क्यानडा र नामिबियाले १२ खेल खेलेको छन्। अमेरिका र नेदरल्यान्ड्सले ८ खेल खेलेका छन्। अर्को महिना स्कटल्यान्ड र अमेरिकासँगको शृङ्खलापछि नेपालको पनि खेल सङ्ख्या १२ हुनेछ। १२ खेल खेलेको क्यानडाको १६ तथा नामिबियाको १० अङ्क छ। ८ खेल खेलेको अमेरिका र नेदरल्यान्ड्सको पनि १२ अङ्क नै छ। ७ खेल खेलेको स्कटल्यान्डको भने ९ अङ्क छ।

सोही शृङ्खलापछि नेपालको अवस्था अनुमान गर्न सहज हुनसक्छ। तर त्यो नै अन्तिम भने पक्कै होइन । धेरै खेल बाँकी छन्। यी बाँकी रहेका खेलले सम्भावनाको तय गर्नेछ। वरीयता र आयोजक बाहेकको ४ टोली मध्ये शीर्ष ८ वरीयतामा नअटाएका पूर्ण सदस्य राष्ट्र कै सम्भावना बढी छ। यसो भएमा अहिलेको वरीयता अनुसार वेस्ट इन्डिज र आयरल्यान्ड वरीयतामा शीर्ष ८ मा नरहने सम्भावना बढी देखिएको छ। यसो भएमा क्वालिफायरबाट छनोट हुने सम्भावना बढी मानिएको छ। अन्य २ टोलीका लागि तीव्र प्रतिस्पर्धा अबको तीन वर्षसम्म चल्ने छ। यसका लागि क्वालिफायर खेल्ने ८ टोलीकै टुङ्गो लाग्न अझै धेरै लामो बाटो बाँकी छ। यसका लागि लिगका ३६ खेल र छनोट हुन नसके अरु थप प्रतिस्पर्धामा सहभागी हुनुपर्नेछ।

दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा विश्वकप सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा हुने विश्वकप क्रिकेटको छनोटको सुरुवात त्रिवि मैदानको त्रि-दिवसीय खेलबाट भएको हो।

विश्वकपमा आयोजक मध्येको २ आइसिसी पूर्ण सदस्य रहेका दक्षिण अफ्रिका र जिम्बाबे स्वतः छनोट भइसकेका छन्। अन्य आइसिसी पूर्ण सदस्यमा अस्ट्रेलिया, इङ्गल्यान्ड, भारत, न्यूजिल्यान्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान, आयरल्यान्ड र वेस्ट इन्डिज छन्। यी मध्येका वरीयताका शीर्ष ८ टोली स्वतः विश्वकपमा छनोट हुनेछन्।

अहिलेको वरीयतामा अनुसार भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, श्रीलङ्का, इङ्गल्यान्ड र बङ्गलादेश शीर्ष ८ मा छन्। यी मध्यकै दक्षिण अफ्रिका स्वतः छनोट भएका कारण नवौँ स्थानमा रहेको अफगानिस्तान पनि यो मापदण्डमा परेको छ।

पूर्ण सदस्य मध्ये वेस्ट इन्डिज र आयरल्यान्ड अहिलेको वरीयतामा बाहिर छन्। तर यसमा पछि हेरफेर पनि हुनसक्ने छ। पूर्ण सदस्य मध्ये दुई टोलीले वरीयताको आधारमा विश्वकपमा छनोट हुने अवसर पाउँदैनन्।

सन् २०२७ को विश्वकप क्रिकेटमा १४ टोलीले सहभागिता जनाउने छन्। यसरी तयार भएका १० भन्दाबाहेक अन्य चार टोलीको दौडमा नेपाल छ। यसैका लागि नेपाल लगायत धेरै देशले प्रतियोगिता खेलीरहेका छन्। यी ४ टोलीका लागि अन्तिम छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसरी प्रतिस्पर्धा गर्ने १० टोलीमा शीर्ष ८ वरीयता नपरेका दुई पूर्ण सदस्य राष्ट्र तथा विश्वकप डिभिजन लिग-२ का चार शीर्ष टोली रहने छन्।

चार टोली भने विश्वकप क्वालिफायर प्लेअफबाट अन्तिम छनोटमा आउने छन्। अहिले लिग-२ मा क्यानडा, अमेरिका, नेदरल्यान्ड्स, नामिबिया, स्कटल्यान्ड, ओमान, नेपाल र युएई छन्। यी मध्यका चार टोलीले अन्तिम छनोट खेल्ने छन्। पुछारका ४ टोलीले भने अर्को एक मौका फेरि पाउने छन्। यी चार टोली र च्यालेन्जर लिगका चार टिमका बिचमा क्वालिफायर प्ले अफ खेल्नेछन्।

क्वालिफायर प्ले अफका लागि प्रतिस्पर्धा गर्न छनोट हुने च्यालेन्जर लिग भने तेस्रो डिभिजनको खेल सरह हो। च्यालेन्ज लिगमा १२ टोली समावेश छन्।

सन् २०२३ को क्वालिफायर प्ले अफबाट आएका न्युजर्सी र पपुवा न्युगिनीले पनि च्यालेन्जर लिग खेल्ने छन्। यसैगरी सन् २०१९ देखि २०२२ बिचका च्यालेन्ज लिग डेनमार्क, हङकङ, केन्या, कतार, सिंगापुर र युगान्डा छन्। २०२४ मै भएको च्यालेन्ज प्ले अफबाट छनोट भएका बहराइन, इटाली, कुवेत र तान्जानिया छन्।

यी १२ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। पपुवा न्युगीनी, न्यूजर्सी, केन्या, कुवेत, डेनमार्क र कतार समूह ‘ए’मा छन्। समूह बिमा बहराइन, हङकङ, इटाली, सिंगापुर, तान्जानिया र युगान्डा छन्।

दुवै समूहमा शीर्ष दुई टोलीले नै क्वालिफायर प्ले अफ खेल्ने छन्। हरेक समूहमा एकले अर्कोसँग वर्षको १ पटकको रूपमा कुल ३ पटक खेल्ने छन्। पाँच विपक्षी विरुद्ध कुल १५ खेल हुनेछ। सन् २०२४ देखि २०२६ को बिचमा च्यालेन्जर लिग हुनेछ।

स्रोतः क्रिकइन्फो, आइसिसी