समाचार

मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता

By खबरहब

September 30, 2024

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियासँग भेटवार्ता गरेकी छन् ।

संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा सोमबार भएको सो भेटवार्तामा नेपाल अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति, मानवधिकार र प्रजातन्त्रका विषयमा कुराकानी भएको थियो ।

सो भेटमा मन्त्री डा राणाले नेपाल सदैव शान्ति, मानवअधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका बारेमा उपविदेशमन्त्री जियालाई जानकारी गराएकी थिइन् ।

मन्त्री डा राणाले नेपालले पीडितमैत्री सो कानुन पारित गरेको र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पनि छिट्टै टुङ्ग्याउने जानकारी गराएकी थिइन् ।

संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका पुगेकी मन्त्री डा राणा वासिङ्टन डिसीमा छिन् ।