काठमाडौं – नेपाली महिला फुटबलको इतिहास सम्झनेलाई २३ वर्ष अघिको कुरा अझै याद छ। भारतको मणिपुरको प्रान्तीय टोली नेपाल भ्रमणमा आएको थियो। नेपालको पहिलो रोजाइको टोली नेपाल (रातो) सहित अन्य दुई टोली नेपाल (निलो) र नेपाल (पहिलो)सँग सो प्रान्तीय टोलीले फराकिलो अन्तरले जित हात पारेको थियो।
दक्षिण एसियाली महिला फुटबलमा भारतको दबदबा त्यसै घटनाले प्रस्ट पार्छ। त्यसै समयबाट उकालो यात्रा सुरु गरेको नेपाली महिला फुटबलले धेरै लामो समयपछि सन् २०१० मा ढाकामा भएको दक्षिण एसियाली खेलकुदको महिला फुटबल स्पर्धामा फाइनलको यात्रा तय गरेको थियो। सो प्रतियोगितामा नेपालले भारतबाहेक अन्य सबै प्रतिस्पर्धीलाई फराकिलो अन्तरले हराएको थियो। कुनै खेलमा प्रतिस्पर्धा नै थिएन। भारतसँग भने ५-० ले पराजित भएको थियो। प्रतियोगिताको फाइनलमा भारतसँग लामो समय १-० को अग्रता कायम गरेको थियो।
अन्तिम केही मिनेट चुकेपछि नेपाल ३-१ ले पराजित भएको थियो। पहिलो चरणको हार पछि कठोर र जब्बर रक्षापक्तिमा जोड दिने प्रशिक्षक ध्रुव केसीको सोही योजनाले नेपाल स्वर्ण पदकको नजिक पुगिसकेको थियो।
यो विगतको स्मरणको अर्थ के हो भने गएको २३ वर्षमा दक्षिण एसियाली फुटबलमा आएको परिवर्तनको विषयमा हो। सन् २०१० सम्म त भारत एक तह, त्यस भन्दा अलि तल नेपालको स्तर र अन्य सबै देश धेरै तल्लो स्तरमा रहेका थिए। समय फेरिएको छ।
स्तरको आधारमा दक्षिण एसियाली देशमा महिला फुटबल टोलीको स्तर पहिलेको भन्दा नजिकिएको छ। यस अघिको संस्करणको रि म्याच कै रूपमा नेपाल र बङ्गलादेश उपाधिका लागि बुधबार दशरथ रङ्गशालामा साँझ ६ बजे भेट्दै छन्।
कुनै समय दबदबा बनाएको भारत भने लगातार दोस्रो पटक प्रतियोगिताको फाइनल प्रवेशबाट बञ्चित भएको छ। सन् २०१० को समय दक्षिण एसियामा भारतको एकल पकड सकिएर भारत र नेपाल बराबरी तथा समान हैसियतको रूपमा रहेका थिए। ११ औँ दक्षिण एसियाली खेलकुदको फाइनलमा पहिलो पटक भारतले अन्य कुनै दक्षिण एसियाली राष्ट्रको सामना गरेको थियो। यसै कारण टोलीका तत्कालीन प्रशिक्षक ध्रुव केसीले आफूले बनाएको संरचना र शैलीमा ठुलो भरोसा जागेको थियो। सोही वर्ष बङ्गलादेशमा भएको पहिलो महिला साफ च्याम्पियनसिपमा नै नेपालले उपाधिको लक्ष्य राखे पनि फाइनलमा उसै भारतसँग १-० ले पराजित भएको थियो।
सन् २०१४ को समय नेपाली महिला फुटबल ओरालो लागेको देखिएको थियो। महिला साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग नै ६-० ले नेपाल हारेको थियो।
सन् २०१६ बङ्गलादेशको उदयको वर्ष
सन् २०१६ मा पहिलो पटक दक्षिण एसियाली फुटबलमा नेपाल र भारत बाहेक अन्य कुनै टोली उपाधिका लागि भिडन्त गरेका थिए। सन् २०१६ को अन्त्यमा भारतको सिलुगुढीमा भएको महिला साफ च्याम्पियनसिपमा बङ्गलादेशको उदय भएको थियो। प्रतियोगिताको समूह एमा रहेको नेपालले सबै खेल जितेर पहिलो स्थान पाएको थियो।
समूह बिमा रहेका भारत र बङ्गलादेश बिच गोलरहित बराबरी भएको थियो। दक्षिण एसियाली फुटबलमा भारत जित विहीन भएको त्यो पहिलो खेल थियो।
समूहमा गोल अन्तरको आधारमा भारतलाई पछि पार्दै बङ्गलादेश पहिलो भएको थियो। सधैँ फाइनलमा भिड्ने गरेको भारतसँग नेपालले सेमिफाइनलमा नै प्रतिस्पर्धा गरेको थियो। सन् २०१९ फेरि एक पटक भारत र नेपालकै बिचमा फाइनल भएको थियो। सन् २०२२ मा त बङ्गलादेशका लागि अझ यादगार बनेको थियो।
सोही प्रतियोगिताको समूह चरणमा बङ्गलादेशले भारतलाई ३-० ले हराएको थियो। फाइनलमा पनि बङ्गलादेशले नेपाललाई ३-१ ले हराएर उपाधि जितेको थियो। यसअघि भारतमा सन् २०१९ मा हिरो महिला गोल्ड कपको सेमिफाइनलमा भारतलाई हराएर नेपाल फाइनल प्रवेश गरेको थियो। सो प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी शीर्ष गोलकर्ता भएकी थिइन्।
प्रतिस्पर्धामा भुटान कुनै समय प्रतिस्पर्धामा पनि नआउने भुटानले पहिलो पटक सन् २०२२ मा काठमाडौँमा नै भएको खेलमा श्रीलङ्कालाई ५-० ले हराएको थियो। महिला फुटबलमा त्यो भुटानको पहिलो महत्त्वपूर्ण फड्को थियो। सोही वर्ष भुटान सेमिफाइनल प्रवेश गरेको थियो।
जारी प्रतियोगितामा पनि नेपाल समावेश समूहमा भुटानले पहिलो स्थान हात पार्दै फाइनल प्रवेश गरेको थियो। फाइनलका नेपालसँगको भिडन्तको तयारीमा रहेको बङ्गलादेश पहिलो चरणमा पाकिस्तानसँग बराबरीमा रोकिएको थियो।
प्रतियोगिताका यी आँकडा र तथ्याङ्कले दक्षिण एसियाली महिला फुटबल भारतको एकल प्रभावबाट सुरु भएर प्रतिस्पर्धात्मक समयमा आइपुगेको छ। सायद अबका केही वर्षमै दक्षिण एसियाली महिला फुटबलमा हरेक खेल प्रतिस्पर्धात्मक हुने क्रममा अघि बढेको छ।
प्रतिक्रिया