काठमाडौं– मोरङको केराबारी –९ मा गत वर्ष एक जना अधबैंसे किसान घाँसको भारी बोकेर आउँदै गर्दा पानी जमेको ठाउँमा बेहोस भएर ढले । छेउछाउमा कोही थिएनन्, उनको त्यहीँ मृत्यु भयो । पहिले खासै स्वास्थ्य समस्या नदेखिएका उनलाई छारे रोगले झ्याप्प छोपेको र पानीमा टाउको डुबेपछि सास फेर्न नपाएर मृत्यु भएको हो ।
हिँडिरहेको वा काम गरिरहेको मानिस एक्कासी मुर्छा पर्ने र ढल्ने यस्तो समस्यालाई बोलीचालीको भाषामा ‘छारे रोग’ भन्ने गरिन्छ ।
चिकित्सकीय भाषामा यसलाई ‘एपिलेप्सी’ भनिन्छ । चिकित्सकहरुको भनाइमा विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा ५ करोड मानिसमा यस्तो छारे रोगको समस्या देखिने गरेको छ । नेपालमा छारे रोगका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन तर एक प्रतिशत मानिसमा यो समस्या भएको अनुमान छ ।
नेपाली समाजमा छारे रोगले ढलेको मानिसलाई मोजा–जुत्ता सुघाउने चलन छ । तर, चिकित्सहरु त्यसो गर्न नहुने बताउँछन् ।
आखिर छारे रोग के हो ? यस्तो के कारणले हुन्छ ? यसको उपचार विधि के छ ? छारे रोगका बिरामीले ध्यान दिनुपर्ने कुराहरु के–के हुन् ? यिनै विषयमा कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डाक्टर सविना दाहालसँग हामीले संक्षिप्त कुराकानी गरेका छौं ।
छारे रोगलाई हामीले कसरी बुझ्ने ?
छारे रोग भन्नाले यो एक किसिमको स्नायु प्रणालीको समस्या हो । हाम्रो मष्तिष्कमा भइरहेका कोषहरुमा अचानक केही असामान्य गतिविधि हुँदा बेहोस हुने, आँखा फर्काउने, एक्कासी ढल्ने समस्या आउँछ । त्यस्तो अवस्थालाई एपिलेप्सी अर्थात छारे रोग भन्छौं ।
यस्तो के कारणले हुन्छ ?
छारे रोग थुप्रै कारणले हुन सक्छ । जस्तै– मस्तिकमा इन्फेक्शन भएमा, टाउकोको चोट, मस्तिकमा रक्तश्राव भएमा, नाम्ले जुकाको अन्डाको संक्रमण भएमा, अत्यधिक मदिरा सेवन गरेमा, वा कुनै–कुनै चाहिँ वंशागुणत पनि हुने गर्छ ।
छारे रोगका लक्षण के कस्ता हुन्छन् ?
छारेरोग मुख्यतया दुई किसिमका हुन्छन् । एउटा कन्भर्जिभ र अर्को ननकन्भर्जिभ । कन्भर्जिभमा मूर्छा पर्ने, हात खुट्टा काप्ने, शरीर लल्याकलुलुक हुने, आँखा पल्टाउने, फिँज काढ्ने, जिब्रो टोक्ने, बेहोस हुने, लुगामा दिसा पिसाब हुने, अचानक लड्ने जस्ता लक्षणहरु देखिन्छन् ।
ननकन्भर्जिभमा केही पनि लक्षण नदेखिएर त्यत्तिकै बेहोस हुने हुन्छ । योचाहिँ छारे होइन कि जस्तो लाग्न सक्छ तर जाँच गर्दा छारे भएको हुन्छ ।
के यो एक व्यक्तिबाट अर्कोमा सर्छ ?
यदि आमाबुवा कसैमा छारे रोग थियो वा छ भने बच्चाहरुमा हुने सम्भावना रहन्छ । तर, एक व्यक्तिबाट अर्कोमा सर्दैन । यो सरुवा रोग होइन ।
नेपालमा छारे रोगको अवस्था कस्तो छ ?
शहरी क्षेत्रमा चेतनामा वृद्धि भइरहेको छ । सामान्य लक्षणहरु देखिनेबित्तिकै बिरामीहरु उपचारका लागि आउँछन् । उपचार गराउँदा निको पनि हुन्छ । तर, ग्रामीण भेगमा अझै पनि देवी देउताका कारणले भएको या अन्य कुनै शक्तिका कारण भएको हो वा सरुवा रोग हो भनेर छिछि दुरदुर गर्ने प्रवृत्ति छ, जसका कारण यो रोगलाई लुकाउने गरिएकाले त्यस्ता ठाउँका बिरामीहरुको अवस्था दयनीय छ ।
छारे रोेगले बेहोस बनाएका बेला के गर्ने ?
यसले छोपेका बेला बिरामीलाई चोटपटक लाग्नबाट बचाउने, नजिकै केही धारिलो हतियार या चोटपटक लाग्ने सामानहरु छन् भने हटाउने, रोगी बेहोस भएको या कामिरहेको अवस्था छ् भने उसलाई सफा, नरम ठाउँमा देब्रेतिर कोल्टे फेरेर सुताउनुपर्छ । टाउकोमुनि कपडा वा तकिया हाल्नुपर्छ । पोसाकलाई खुकुलो पार्नुपर्छ । मुखमा जम्मा भएको र्याल, थुक या फिँजलाई सफा रूमालले पुछ्नुपर्छ । बिरामीको मुखमा औंला हाल्ने, मोजा सुँघाउने जस्ता कार्यहरु गर्नुहुँदैन ।
यसको उपचार विधि के छ ?
छारे रोगको लक्षण देखिएमा सकेसम्म तुरुन्त अस्पताल ल्याउनुपर्छ । चिकित्सकको सल्लाह अनुसार टाउकोको सिटि स्क्यान, ईसीजी एवं रगतका जाँच गर्नुपर्छ । त्यसपछि के कारणले भएको हो पत्ता लाग्छ । जस्तै– शरीरमा नुनको मात्राको कमी वा त्यस्तै अन्य के कारण हो पत्ता लगाएर छारेरोग नियन्त्रणका लागि चिकित्सकको सल्लाहमा औषधी सुरु गर्नुपर्छ ।
कतिपय छारे रोग ब्रेन ट्यूमरले गर्दा पनि भइरहेको हुन सक्छ । यस्तो अवस्थामा ट्यूमर झिकेपछि ठीक हुन्छ । आजको आधुनिक युगमा यस्ता थुप्रै प्रविधिको विकास भएको छ, जसले गर्दा छारे रोगलाई सजिलै जित्न सकिन्छ ।
समयमै उपचार गरिएन भने यसले कस्ता समस्या निम्त्याउँछ ?
छारे रोग भनेको आपतकालीन अवस्था हो । यो जुनसुकै अवस्थामा पनि आउन सक्छ । हिँडिरहेका बेला या काम गर्दागर्दै पनि आउन सक्छ । एक्लै भएको अवस्थामा थुक सर्केर बिरामीको मृत्यु पनि हुन सक्छ । कुनै–कुनै दीर्घकालीन पनि हुन सक्छ । समयमै सुरुवाती अवस्थामा उपचार गरियो भने यो पूर्ण रुपमा निको हुन्छ । त्यसैले यसका लक्षणहरु देखिने बित्तिकै उपचार गराउनुपर्छ ।
यसबाट बच्न के गर्ने ?
टाउकोमा चोटपटक लाग्न नदिने, अनिँदो नबस्ने, धेरै तनाव नलिने र स्वास्थ्य सर्तकता अपनाएमा छारे रोगबाट धेरैजसो बच्न सकिन्छ । तर, कहिलेकाहीँ यी सबै गर्दा पनि छारे रोग लाग्न सक्छ । त्यस्तो भएमा सुरुवाती अवस्थामै उपचार गर्नुपर्छ ।
के यसमा खानपानले पनि असर गर्छ ?
अत्यधिक मदिरा सेवनका कारणले पनि छारे रोग लाग्ने सम्भावना रहन्छ ।
एकपटक उपचार गरिसकेपछि पूर्ण रुपमा निको हुन्छ ? अथवा, बल्झिने सम्भावना के छ ?
समयमै उपचार गरियो भने कतिपयलाई पूर्ण रुपमा निको पार्न सकिन्छ । तर, कतिपय बिरामीहरुले औषधि खान बीचमै छोड्ने हुँदा बल्झिने सम्भावना हुन्छ । कसैलाई औषधि सुरु गरेको २–३ वर्षपछि निको हुन्छ भने कतिपयलाई औषधिले असर गर्ने हुँदा औषधि र यसको मात्रासमेत परिर्वतन गर्नुपर्ने हुन्छ । त्यसैले चिकित्सकको सल्लाहबिना औषधि खाने र छोड्ने गर्दा झन समस्या उत्पन्न हुन्छ ।
अन्त्यमा, यहाँको सुझाव के छ ?
छारे रोग मस्तिकसम्बन्धी नसर्ने एक प्रकारको दीर्घकालीन स्वास्थ्य समस्या हो । यसमा व्यक्तिलाई पटक–पटक स्पष्ट कारणबिना कम्पन वा झट्का आइरहन्छ । छारे रोगबारे अहिले पनि हाम्रो समाजमा भूतप्रेतका कारणले लाग्ने रोग, कहिल्यै निको नहुने रोग, सरुवा रोग भन्ने जस्ता भ्रमहरु छन् । तर यो रोग कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण हुने गर्छ ।
यो वंशाणुगत रोग भएकाले आफ्ना पुर्खाहरुमा छ भने पछिका पिँढीले यसको जोखिम घटाउन अलि ध्यान दिनुपर्ने हुन्छ । त्यस्तै सवारी चालकहरुमा यो समस्या छ भने बढी जोखिम हुन्छ ।
समयमै उपचार गरे यो रोग पूर्ण रुपमा निको हुने भएकाले लक्षणहरु देखिने बित्तिकै उपचार गराउनु राम्रो हुन्छ ।
प्रतिक्रिया