वीपीको बिजोग : मेसिन थोत्रे, बिरामी खचाखच | Khabarhub Khabarhub

वीपीको बिजोग : मेसिन थोत्रे, बिरामी खचाखच

८ वर्षदेखि एमआरआई बन्द, डिजिटल एक्सरे बिग्रेको ४ वर्ष बित्यो



धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स-रेका लागि पालो कुर्नेहरुको भीड

सुनसरी – ५५ वर्षीय योगेन्द्रकुमार दाहाललाई पेटमा समस्या भएपछि झापाको एक सामुदायिक अस्पतालले अल्ट्रासाउण्ड (युएसजी भिडियो एक्सरे) गर्न सुझाव दियो। कलेजो र मिर्गौलाको अल्ट्रासाउण्ड गरेर मात्र रोग पहिचान गर्न सकिने भएपछि दाहाललाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरियो।

गत साता मात्रै दाहालले झापाबाट धरान आएर सामाजिक स्वास्थ्य बीमा कार्यक्रममार्फत वीपी प्रतिष्ठानको काउण्टरमा पुर्जी काटे। त्यसपछि उनी ग्यास्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजीको ओपिडी हुँदै रेडियोलोजी विभागमा पुगे।

सीटी स्क्यान, एक्सरे र अल्ट्रासाउण्ड गर्नका लागि आएका बिरामीको खचाखच भीडमा अल्मलिँदै रेडियोलोजी विभागको काउण्टरमा पुगेर सोधपुछ गर्दा दाहालले संक्षिप्त जवाफ पाए, ‘तपाईंको पालो वैशाख दोस्रो सातापछि मात्रै आउँछ। ’

उनले सोचेका थिए, वीपी प्रतिष्ठानमा एकै दिनमा पुर्जी लिने, ओपीडीमा चिकित्सकलाई भेटेर आफ्नो बिरामबारे बताउने, फेरि बिल काट्ने, रेडियोलोजी विभागमा पुगेर अल्ट्रासाउण्ड गराउने, सोही दिन रिपोर्ट निकालेर चिकित्सकलाई भेट्ने अनि पुर्जीमा तिनै चिकित्सकले लेखिदिएको औषधी वीपी प्रतिष्ठानकै फार्मेसीबाट किनेर झापा घर फर्कने।

वीपी प्रतिष्ठानमा दुई वर्षअघि जडान गरिएको सिटी स्क्यान मेसिन

आफूले सोचे विपरीत अवस्था देखेपछि दाहालले पेटतिर छाम्दै भने, ‘यहाँ त मेरो अल्ट्रासाउण्ड र एक्सरे गर्नुभन्दा पनि यो रेडियोलोजी विभागको अवस्था नाजुक देखेँ। जता पनि भीड। मजस्तै पालो कुरेर बसेका बिरामीको चाप त्यस्तै। यति ठूलो अस्पतालमा बिरामीको चापअनुसार मेसिन त राख्नु नि। यो त बिरामीलाई उल्टो सास्ती दिएजस्तो भएन र ?’

रेडियोलोजी विभागको काउण्टर, लबी र प्रतीक्षा कक्षमा दाहालजस्तै झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, भोजपुर, खोटाङ, इलाम, पाँचथर, धनकुटा, उदयपुर, सप्तरी र सिराहादेखि भारतको बिहारसम्मका बिरामी आउँछन्। त्यतिमात्र होइन, प्रतिष्ठानभित्रै उपचाररत इमर्जेन्सी विभाग र वार्डका बिरामी पनि पालो कुरेर बसिरहेका हुन्छन्।

अधिकांश चिकित्सकले बिरामीको रोग पहिचान गर्न रगत, पिसाब, दिसाको जाँचको रिपोर्ट र रेडियोलोजीको रिपोर्ट नहेरी कुनै पनि औषधी सिफारिस गर्दैनन्। तर, वीपी प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीले रेडियोलोजी विभागअन्तर्गत एक्सरे, सीटी स्क्यान र अल्ट्रासाउण्टको रिपोर्ट लिन फलामको च्युरा चपाएजस्तै लामो संघर्ष गर्नुपर्ने बाध्यता छ।

चिकित्सक र कर्मचारीहरुको आन्दोलनका कारण लामो समय बन्द भएर खुलेको यो अस्पतालमा उपचार गर्न आउने बिरामीहरुले भीडभाडका कारण सहजरुपमा उपचार पाएका छैनन् । अस्पताल त खुलेको छ, तर व्यवस्थापन भने झूर छ ।

वीपी प्रतिष्ठानमा दुई महिना पहिले चलेको आन्दोलनको दृश्य 

वीपी प्रतिष्ठानको रेडियोलोजी विभाग अनुसार उपचारका लागि वीपी प्रतिष्ठानमा दैनिक करिब तीन हजार ५ सय बिरामी आउँछन्। तीमध्ये ८० देखि ८५ प्रतिशत बिरामीको रोग पहिचान गर्न ओपीडी (बहिरंग सेवा) मार्फत चिकित्सकले रेडियोलोजी विभागमा पठाउँछन्।

विडम्बना, वीपी प्रतिष्ठानको रेडियोलोजी विभाग भने पर्याप्त मेसिन र रेडियोलोजिस्ट (जनशक्ति) को अभावमा छटपटाइरहेको छ। एमआरआइ (म्याक्नेटिक रिजोरेन्स इमेजिङ) र पेट स्क्यान (पोसिट्रन इमिसन टोमोग्राफी मेसिन त छँदैछैन।

निजी कम्पनीको स्तरमा खुलेका अस्पतालमा समेत एमआरआई र पेट स्क्यान मेसिनको मद्दतले बिरामीको उपचार भइरहेका बेला वीपी प्रतिष्ठानजस्तो अन्तर्राष्ट्रिय स्तरको अस्पतालको ब्राण्ड बनाइसकेको तीन दशक पुरानो संस्थामा अत्याधुनिक मेडिकलका उपकरण नहुनु लाजैमर्दो भएको छ।

बिरामीको चाप खपिनसक्नु

वीपी प्रतिष्ठानका रेडियोलोजी विभागका विभागीय प्रमुख एडिसनल प्रोफेसर डा. मुकेश झाका अनुसार रेडियोलोजी विभागमा २५ जना रेडियोलोजिस्टको दरबन्दी छ। तर, अहिले ९ जना जनशक्तिका भरमा सीमित र अधिकांश पुराना मेसिन चलाएर बिरामीको रिपोर्ट दिनुपर्ने बाध्यता छ।

झाले खबरहबसँग भने, ‘तपाई आफैं हेर्नुस् र हिसाब गर्नुस्, दैनिक एक्सरे, सीटी स्क्यान र अल्ट्रासाउण्ड गर्ने बिरामीको चाप यति धेरै छ। हामी २४ सै घण्टा खटिरहेका छौं। सीमित मेसिन र एक तिहाइजति मात्र जनशक्ति भएकाले बिरामीले सोचेजस्तो तत्काल रिपोर्ट दिन सकिरहेका छैनौं। ’

 प्रतिष्ठानमा  सीटी स्क्यानका लागि पालो कुर्नेहरुको भीड

वीपी प्रतिष्ठानलाई सरकारले पूर्वी नेपालको टर्सरी सेन्टर, ट्रमा सेन्टर र रिफरल सेन्टरका रुपमा चिनाउने गरेको छ। यसको सोझो अर्थ प्राथमिक उपचार केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, सामुदायिक अस्पताल र अन्य निजी अस्पतालले उपचार गर्न नसकेपछि थप उपचारका लागि पठाउने प्रमुख थलो नै वीपी प्रतिष्ठान हो। तर, वीपी प्रतिष्ठानको रेडियोलोजी विभागमै पर्याप्त रेडियोलोजिस्ट र आवश्यक मेडिकल उपकरण अभावले बिरामीलाई अन्यत्र रिफर गर्न बाध्य छ।

रेडियोलोजी विभागमा रहेका चारवटा एक्सरे मेसिनमध्ये हाल दुई वटाले मात्र काम गरिरहेका छन्। ती पनि डेड दशक पुराना एनालग प्रविधिका हुन्। ती मेसिनबाट प्राप्त रिपोर्ट प्रतिष्ठानकै चिकित्सक पत्याउँदैनन्। अर्थात गुणस्तर खराब छ। तैपनि त्यहीँबाट दैनिक हजार बढी एक्सरे हुने गरेको छ।

भिडियो एक्सरे (अल्ट्रासाउण्ड) इमर्जेन्सी विभाग, स्त्री तथा प्रसूति विभागमा एक-एक थान छ। स्त्री तथा प्रसूतिमा रहेको मेसिन भने निकै पुरानो हो। जनरल वार्डमा दुई थान छन्। ती झनै पुराना प्रविधिका भिडियो एक्सरे मेसिनका भरमा वीपी प्रतिष्ठानले बिरामीको रोग पहिचान गरिरहेको छ।

रेडियोलोजी विभागका प्राविधिक इन्चार्ज मुकेश झाले खबरहबसँग भने, ‘एक्सरे मेसिन बारम्बार बिग्रेर हैरान भएका छौं। बिरामीको चाप भने थेग्न नसक्ने छ।’

उता सघन उपचार कक्ष (आइसीयु), एसआइसीयु (सर्जिकल), पल्मोनरीको पीआइसीयु, मुटुरोग विभागको सीसीयु र बालरोग विभागको एनआइसीयुमा तीन थान पुरानो प्रविधिका पोर्टेबल एक्सरे मेसिनले काम चलिरहेको छ। ती मेसिनले देखाउने रिपोर्टको गुणस्तर पनि दिनदिनै खराब हुँदै गएको रेडियोलोजी विभाग आफैंले स्वीकार्दै आएको छ।

वीपी प्रतिष्ठानमा भएका नवीन प्रविधिका डिजिटल एक्सरे मिसिन बिग्रेर थन्केको करिब चार वर्ष भयो। तर, त्यसलाई मर्मत गर्ने पक्षमा स्वास्थ्य मन्त्रालय, वीपीका पदाधिकारी र व्यवस्थापन पक्षले ध्यान दिएको देखिँदैन।

वीपी प्रतिष्ठानलाई ०७२ सालमा स्वास्थ्य मन्त्रालयले अनुदान दिएको करिव तीन करोड रुपैयाँ लागतको आधुनिक डिजिटल एक्सरे मेसिनले केही वर्षसम्म काम गर्यो। त्यसपछि त्यसको जेनेरेटर नै बिग्रियो। मर्मत गर्दा करिब ४० लाख रुपैयाँ लाग्ने भएपछि प्रतिष्ठानले बनाएन। उक्त मेसिनबाट दैनिक १५० जनाको एक्सरे द्रुत गतिमा गर्न सकिन्थ्यो भने रिपोर्ट आधा घण्टामा उपलब्ध गराउन सकिन्थ्यो। अहिले त्यो मेसिन कवाडी बन्न लागेको छ।

रेडियोलोजी विभागका प्राविधिक इन्चार्ज झाले खबरहबसँग भने, ‘पूरै डिजिटल मेसिन नभए पनि चलिरहेका दुई थान एनालग प्रविधिका एक्सरे मेसिन पनि बारम्बार बिग्रेर हैरान भएका छौं। एक जनाको एक्सरे गर्न कम्तिमा दुई-चार मिनेट लाग्छ। बिरामीको चाप भने थेग्न नसक्ने छ।’

बिग्रेर थन्केको डिजिटल एक्सरे मेसिन

रेडियोलोजीमा दुई थान अल्ट्रासाउण्ड (भिडियो एक्सरे) मेसिन छन्। तीमध्ये सामसुङ कम्पनीको अल्ट्रासाउण्ड मेसिन बिग्रेर थन्केको छ महिनाभन्दा बढी भयो। जापानबाट त्यसको पार्टस् मगाउनुपर्ने बाध्यता छ। त्यो पनि पुरानै हो।

‘भएको एकथान मेसिनले दैनिक कतिजनाको अल्ट्रासाउण्ड गर्ने ? झाले भने’, ‘यही कारण बिरामीलाई बाध्य भएर ‘डेट’ दिनु परेको छ। कसले बुझ्ने हाम्रो समस्या ?’

झाका अनुसार इमर्जेन्सी विभागबाट मात्रै दैनिक १३० देखि १५० जनाको भिडियो एक्सरे गर्न सेन्ट्रल रेडियोलोजी विभागमा पठाउने गरिएको छ। त्यस्तै दैनिक सरदर चार जनाको ‘कलर डप्लर’ गर्नुपर्ने जिम्मेवारी पनि छँदैछ। कलर डप्लर गर्दा एकजना बिरामीको कम्तिमा दुई घण्टा लाग्ने उनी बताउँछन्।

एफएनएसी (फाइन निडल एस्पीरेसन साइटोलोजी), बायोप्सी, फ्ल्युवीड ड्रेनेज गर्न पनि दैनिक ८ देखि १० जना रेडियोलोजी विभागमामै पठाउने गरिएको झा बताउँछन्।

विभागीय प्रमुख झाले भने, ‘यहा भएका अल्ट्रासाउण्ड र एक्सरे मेसिनले कुनै एउटा रोग राम्ररी देखाउन मद्दत गर्छ तर अर्कोले देखाउँदैन। नयाँ र आधुनिक मेडिकल उपकरण नहुनु र पर्याप्त रेडियोलोजिस्ट नभएसम्म यो समस्या यस्तै रहन्छ वीपी प्रतिष्ठानमा। ’

वीपी प्रतिष्ठानमा रहेको २५६ स्लाइसको नयाँ मेसिनले दैनिक ५० देखि ६० जनाको सीटी स्क्यान गर्न सकिन्छ। विभागीय प्रमुख डा. गुप्ताले भने, ‘सिटी स्क्यान गर्न पाँच मिनेट लाग्ला तर त्यसको रिपोर्ट तयार गर्न त समय लाग्छ। जनशक्ति नै अभाव भएपछि कसको के लाग्छ र ?’

उनका अनुसार प्रतिष्ठान आफैंले रेडियोलोजिष्ट उत्पादन गर्न सक्छ। तर विगत चार वर्षदेखि चिकित्सा शिक्षा आयोगले परीक्षा लिएर एक जनालाई मात्र पढाउने कोटा दिएको छ। पास आउट भएपछि त्यो जनशक्ति (रेडियोलोजिस्ट) लाई प्रतिष्ठानले राख्न पाउँदैन। स्वास्थ्य मन्त्रालयले अगाडि नै विद्यार्थीसँग गरेको सम्झौताका आधारमा अन्यत्र खटाउने गरेको छ।

कतिपयलाई त सीटी स्क्यान मेसिन नै नभएका ठाउँमा पनि दक्ष रेडियोलोजिष्ट खटाउने गरिएको छ। वीपीको रेडियोलोजी विभागमा भने हाल एकजना पनि प्राध्यापक तहका शिक्षक छैनन्। प्राध्यापक तहको शिक्षक नहुँदा विद्यार्थी कोटा एक जना मात्र भएको हो। कम्तिमा तीनजना प्राध्यापक भएको भए १० जनाभन्दा बढी रेडियोलोजिष्ट उत्पादन गर्न सकिने अधिकारीहरु बताउँछन्।

डा झाले भने, ‘प्रतिष्ठानले दरबन्दी अनुसार विज्ञापन खुलाउने गरेको छ तर यहाँ आउन कोही चाहँदैनन्। मासिक ८० हजार रुपैयाँ तलबका लागि को आउँछ ? अरुतिर मासिक ३ देखि ५ लाख रुपैयाँ कमाइ भएपछि यहाँ आउने वातावरण भएन। ’

उनले रेडियोलोजी विभागलाई आवश्यक मेडिकल उपकरण र दरबन्दी अनुसार जनशक्ति उपलब्ध गराउन व्यवस्थापन पक्षसँग माग गरिरहेको झाले बताए।

के भन्छन् उपकुलपति ?
वीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानमा बिरामीको चाप अनुसार जति एक्सरे, अल्ट्रासाउण्ड, सिटि स्क्यान, एमआरआई मेसिन हुनुपर्ने, त्यो अभाव रहेको स्वीकारे।

गिरी उपकुलपति भएर आएपछि नै वीपी प्रतिष्ठानले २५६ स्लाइसको अत्याधुनिक सीटी स्क्यान मेसिन जडान गरेको थियो। बलभद्रप्रसाद दासका पालामा सार्वजनिक निजी साझेदारी (पीपीपी) आधारमा डेढ दशक अघि जडान गरेको सीटी स्क्यान मेसिन बिग्रेर थन्केको ६ महिना भएको छ। उक्त मेसिन प्रयोग हुँदा आम्दानीको ४० प्रतिशत हिस्सा साझेदार कम्पनीले लाने गरेको थियो।

उपकुलपति डा. ज्ञानेन्द्र गिरी

उपकुलपति डा. गिरीका अनुसार प्रतिष्ठानमा जडान गरिएको नयाँ सीटी स्क्यान मेसिनबाट जति काम हुनुपर्ने हो, अझै भएको छैन। उनले भने, ‘मलाई थाहा छ, प्रतिष्ठानमा थप सीटी स्क्यान मेसिन आवश्यक छ। एमआरआई कम्तिमा एउटा आवश्यक छ। भए दुई थान एमआरआई र एकथान पेट स्क्यान मेसिन चाहिएको छ। तर यहाँ बढी राजनीति हुने भएकाले काम गर्न सहज छैन।’

गिरीले जनशक्ति र मेडिकल उपकरणको अभावको बहाना बनाएर प्रतिष्ठानभित्रैका कर्मचारीले वीपी प्रतिष्ठानले कमाउने गरेको मध्ये ५० प्रतिशत आम्दानी बाहिर चुहिने गरेको बताए। उनका अनुसार ५० प्रतिशत आम्दानी बाहिरिनु भनेको वार्षिक करिब १ अर्ब रुपैयाँ वीपी प्रतिष्ठानको खातामा नगएर अन्य अस्पतालको खातामा जानु हो।

प्रतिष्ठानका उपकुलपति डा. गिरीले बिरामीको चाप व्यवस्थापन गर्न छलफल भइरहेको बताए। पेइङ ओपीडीमार्फत आउने बिरामीको उपचार र रेडियोलोजीका काम आजको भोलि नै हुने तर जनरल ओपिडीमार्फत आउने बिरामीले लामो समय कुर्नुपर्ने र सास्ती खेप्नुपर्ने अवस्था किन उत्पन्न भयो भन्नेबारे आन्तरिक रुपमा बुझ्ने काम भइरहेको उनले बताए।

गिरीले खबरहबसँग भने, ‘हामी इमान्दार छैनौं भन्ने त सबैलाई थाहा भइसक्यो। कम्तिमा बिरामीको उपचार सेवा र चिकित्साशास्त्रको अध्ययन अध्यापन त राम्ररी गरौं भन्ने कुरो बिर्सनु हुँदैन। त्यसैले यो आउँदो साउनसम्म आवश्यक मेडिकल उपकरण र जनशक्ति (रेडियोलोजिस्ट) आपूर्ति गर्ने तयारीमा जुटेको छु। ’

भ्रष्टाचारसँग जोडिएको एमआरआईको भित्री कथा

धरानको वीपी प्रतिष्ठानसहित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल सरकारको प्रत्यक्ष लगानी रहेका ६ स्वास्थ्य प्रतिष्ठान छन्।

सरकारले बर्सेनी गर्ने मूल्याङ्कनमा बिरामीको उपचारका लागि ओपिडी सेवादेखि स्वास्थ्य शैक्षिक कार्यक्रममा वीपी प्रतिष्ठान अब्बल ठहरिए पनि ८ वर्ष यता एमआरआई (म्याग्नेटिक रिसोरेन्स इमेजिङ) बिहीन हुँदा उपचार गर्न आएका मध्ये कतिपय जटिल बिरामी वा घाइतेलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ। विषेश गरी विभिन्न खाले क्यान्सर पहिचान गर्ने पेट स्क्यान मेसिनको त कुरै छैन।

वीपी प्रतिष्ठानमा उपचार गर्न आएका मध्ये एमआरआई गर्न दैनिक ५० देखि ६० गम्भीर बिरामीलाई अन्यत्र रिफर गर्ने गरिएको छ।

एमआरआईका लागि अन्यत्र रिफर गर्नु भनेको सरदर वार्षिक १८ देखि २० करोड रुपैयाँ निजी अस्पताललाई लाभान्वित गराउनु हो। तर, एमआरआई मेसिन नहुँदा बिरामीले खर्चसँगै सास्ती त खेपेकै छन्, चिकित्साशास्त्र अन्तर्गत रेडियोलोजी पढ्ने विद्यार्थीको सिकाई पनि प्रभावित भएको छ।

वीपी प्रतिष्ठानलाई गैरसरकारी संस्था कादुरीले सन् २००२ मोडेलको जर्मनीको सिमेन्स कम्पनीले निर्माण गरेको ०.३ टेस्लाको एमआरआई मेसिन अनुदानका रुपमा सन् २००६ मा मा दिएको थियो। उक्त मेसिन करिब १२ वर्ष चलेपछि सन् २०१७ मा बिग्रियो। उक्त मेसिन मर्मत गरेर चलाउनका लागि निर्माता कम्पनी सिमेन्ससँग पत्राचार गरे पनि कम्पनीले उक्त मेसिनका पार्टपूर्जा उत्पादन गर्न बन्द गरिसकेको जानकारी दिएपछि प्रतिष्ठानले नयाँ मेसिन ल्याउने प्रक्रिया सुरु गरे पनि सफल हुन सकेन।

बिग्रेपछि थन्काएर राखेको ०.३ टेस्लाको पुरानो एमआरआई मेसिन

तत्कालीन उपकुलपति प्रा.डा बलभद्रप्रसाद दासका पालामा १.५ टेस्लाको एमआरआई खरिद प्रक्रिया सुरु नगर्दै रेडियोलोजी विभागका प्रमुख प्रा.डा. राजकुमार रौनियारले ३ टेस्लाको जमानामा १.५ टेस्ला काम नलाग्ने भन्दै बखेडा झिके।

केही महिनापछि प्रा.डा. रौनियार आफैं उपकुलपति बने। लगत्तै उनले एमआरआई खरिद प्रक्रिया सुरु गरे। तर, उनका पालामा १.५ टेस्लाकै टेण्डर आह्वान भएर स्वीकृत भयो। हस्पीटेक इन्टरप्राइजेजसँग सम्झौता पनि भयो। तर समयमै मेसिन आपूर्ति नगरेको भनेर उक्त सम्झौदा रद्द गरिएपछि त्यो खरिद प्रक्रिया त्यतिकै सेलायो। टेण्डर खोल्ने, स्वीकृत गर्ने र सम्झौता गर्ने तत्कालीन उपकुलपति प्रा.डा. रौनियारको निधन भइसकेको छ। प्रा.डा. दासचाहिँ अहिलेसम्म भ्रष्टाचार मुद्दा खेपिरहेका छन्।

रौनियारपछि विपी प्रतिष्ठानमा डा. ज्ञानेन्द्र गिरी उपकुलपति बनेर आए। उनले नेपाल सरकारले अनुदान दिएको १५ करोड रुपैयाँ र प्रतिष्ठानको आन्तरिक स्रोतबाट १० करोड रुपैयाँ गरी २५ करोड लागतको ३ टेस्लाको एमआरआई खरिद गर्न ०७८ जेठ २८ गते टेण्डर फर्मका लागि विज्ञापन गरे।

करिब ३० करोड लागतको ३ टेस्लाको एमआरआई खरिद गर्न वीपी प्रतिष्ठान आफैले नसक्ने र सरकारले दिएको १५ करोड अपुग भएको जनाउँदै अरु ५ करोड रुपैयाँ थप्न स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयमा बजेट निकासाका लागि प्रयास गरेका थिए।

वीपी प्रतिष्ठानको मुख्य भवन

प्रतिष्ठानका बायोमेडिकल इन्जिनियरको सुझाव अनुसार ‘वर्ल्ड क्लास’को नेदरल्याण्डको फिलिप्स कम्पनीको एलिसियन एक्स, जर्मनीको  सिमेन्स कम्पनीबाट म्याग्नेटम भिडा र अमेरिकाको जिई कम्पनीबाट सिग्मा आर्किटेक्टका ३ टेस्ला एमआरआई मेसिन लक्षित गरेर स्पेसिफिकेशन तयार गरेर टेण्डर भएको थियो।

खरिदका लागि तयार पारिएको उक्त स्पेसिफिकेशन अनुसार पिक एम्लीच्युट ४४ र स्लीउ रेट २ सय क्षमता रहेको थियो। तर, कसैले पनि बोलपत्र दाखिला गरेनन्।

टेण्डर भए पनि कुनै पनि कम्पनीले बोलपत्र दाखिला नगरेपछि बजेट व्यवस्थापनका लागि फेरि स्वास्थ्य र अर्थ मन्त्रालयमा अनुरोध गरिएको थियो। यो बिचमा उपकुपति डा. गिरीमाथि मुद्दा लाग्यो। त्यससँगै वीपी प्रतिष्ठानमा ३ टेस्लाको एमआरआई जडान गर्ने सपना तन्त्यकथा जस्तै भयो।

बिरामीको उपचारका लागि आवश्यक मेडिकल उपकरण नहुँदा समस्या भएको जनाउँदै बिरामी उपचार र स्वास्थ्य शैक्षिक अनुसन्धानका लागि सरकारले नै आफै खरिद गरेर मेसिन उपलब्ध गरिदिन अनुरोधसमेत गरेको थियो तर सरकारले सुनेन।

प्रा.डा. प्रल्हाद कार्की कायम मुकायम उपकुलपति बनेर आए। तर, उनी विवादित भएपछि प्रतिष्ठानमा आवश्यक मेडिकल उपकरण ल्याउन खासै ध्यान दिन सकेनन्। अहिले यो चुनौतीको सामना गर्नुपर्ने ठाउँमा उपकुलपति बनेर डा. ज्ञानेन्द्र गिरी पुनः आइपुगेका छन्।

डा. गिरीले आफूमाथि लागेको आरोप र मुद्दामा उच्च अदालतबाट ‘क्लिन चिट’ पाएसँगै भने, ‘करिब एक वर्षपछि पुनर्वहाली भएको छु,। मैले प्रतिष्ठान सुधार्दै बिरामीको उपचार, चिकित्साशास्त्रको अध्ययन अध्यापन र अनुसन्धानका लागि बनाएका योजनाहरुका फाइल फेरि खोतल्दै छु। ’

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १२ : ४४ बजे

बजेटमा दुग्ध व्यवसायीका अपेक्षा – भ्याट र विद्युत महसुल छुट (भिडियोसहित)

काठमाडौं – नेपालमा डेरी (दूग्ध) व्यवसाय अहिले निकै समस्यामा रहेको

सिरोहिया पक्राउविरुद्ध जनकपुर उद्योग वाणिज्य संघ आन्दोलनको तयारीमा

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा

बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्रीको कँडेलको आग्रह

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार

अपराध अदालतको घोषणाले ल्याएको तरंग

युद्ध अपराध र मानवता विरोधी अपराधका कारण जेल जान सक्ने

‘लू’बाट नागरिकलाई जोगाउन गृहको परिपत्र

काठमाडौ‌– गृह मन्त्रालयले तातो हावाको लहर ‘लू’बाट नागरिकलाई जोगाउनका लागि