माधव नेपालको बेचैनी : बालकोट र बालुवाटार छाडेर किन धाउँछन् बूढानीलकण्ठ ? | Khabarhub Khabarhub

माधव नेपालको बेचैनी : बालकोट र बालुवाटार छाडेर किन धाउँछन् बूढानीलकण्ठ ?



काठमाडौं- माधवकुमार नेपाल छ न त यतिबेला फागुन २१ पछि बनेको सत्ता समीकरणमै छन् । तर उनी यो समीकरणमा पनि ढुक्कसँग बस्न सकेका छैनन् । अर्को भाषामा भन्दा उनमा पछिल्लो समय बेचैनी र छटपटी बढेको छ ।

२०८० फागुन २१ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले मात्रै नयाँ सत्ता गठबन्धन बनाएका थिए ।

त्यसबेला यी चार दलका कुनै पनि नेताले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई नयाँ गठबन्धन बनाउँदा एक बचन सोधेनन् । बरु नयाँ समीकरण बनाउने निर्णयपछि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा एमाले अध्यक्ष केपी शर्मा ओली तीन वर्ष लामो तिक्तता बिर्सिँदै नेपाल निवास कोटेश्वर पुगे।

जहाँ दुई नेतासँग आफ्ना गुनासा र तितो पोखेका अध्यक्ष नेपालले नयाँ समीकरण मिसिने निर्णय तत्कालै दिएनन्। भोलिपल्ट मात्रै उनले नयाँ समीकरणमा मिसिने निर्णय गरे ।

समाजवदी नयाँ समीकरणमा मिसिनुअघि फागुन २१ मै चार दलले ८ बुँदे सहमति गरिसकेका थिए ।

उत्साह

२०७९ मा बनेको कांग्रेस र माओवादीसहितको गठबन्धनमै कम्तीमा एक वर्ष प्रधानमन्त्री हुने आशासहित बसेका नेपाललाई प्रचण्डले धोका दिएर एमालेसँग मिसिएका थिए । नयाँ समीकरणमा पनि बाँकी साढे ३ वर्षमा एक पटक प्रधानमन्त्री हुने हुटहुटी नेपालमा थियो ।

नयाँ समीकरणमा ७ बुँदे सहमति हुनुअघि प्रचण्ड र ओलीले नेपाललाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिने आश्वासन दिएका थिए ।

एमाले र ओलीविरुद्ध प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको साथ लिएर संघर्ष गरेका नेपाल फागुन २९ को उक्त सहमतिपछि एकाएक उत्साहित भए ।

फागुन २२ मा दोस्रो तहका नेतासहित ओलीको कोटेश्वर आगमन र फागुन २९ को ७ बुँदे सहमतिपछि अब एमालेसँग एकता हुने प्रक्रिया नै अघि बढेको निष्कर्ष नेपालले फागुन ३० मा सुनाएका थिए ।

८ मार्चको अवसर पारेर फागुन ३० मा समाजवादीको भ्रातृसंगठन अनेमसंघले काठमाडौं क्षेत्र नम्बर २ कै जहरसिंहपौवामा राखेको वनभोज कार्यक्रममा अध्यक्ष नेपालले घोषणा गरे, ‘ओलीसँग मेरो धेरै कुरा मिलेको छ, अब पार्टी एकता हुन सक्छ।’

उनले त्यहाँ ओलीसँग ६० प्रतिशतभन्दा धेरै कुरा मिलेको निष्कर्ष नै सुनाउँदा सम्मानित नेता झलनाथ खनालसहित नेता कार्यकर्ताहरू चकित परे ।

तर ओलीले ६ चैतमा धनगढी पुगेर प्रचण्ड नै अबको पूरै कार्यकाल प्रधानमन्त्री हुन सक्ने संकेत गरे । ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको भन्दै प्रचण्ड नै बाँकी ३ वर्ष प्रधानमन्त्री हुने बताइदिए ।

अलमल

ओलीले पूरै कार्यकाल प्रचण्ड नै प्रधानमन्त्री हुने बताइसकेपछि कम्तीमा एक वर्ष प्रधानमन्त्री हुने नेपालको चहानामा धक्का लाग्यो ।

सम्बन्ध सुमधुर हुँदै गइरहेको समयमा ओलीले प्रचण्डलाई नै बरु पूरा कार्यकाल स्वीकार्ने तर अरुलाई प्रधानमन्त्री हुन नदिने रणनीति बनाएसँगै नेपालले दूरी बनाएका थिए ।

गत चैतयता ओली र नेपालबीच दोहोरो संवाद पनि हुन सकेको छैन । पार्टी एकता र प्रधानमन्त्रीको योजना पनि अलपत्र परिसकेपछि अहिले नेपाल यता न उताको अवस्थामा परेका छन् ।

एक पटक प्रधानमन्त्री हुने योजनामा ‌ओलीले धक्का दिएसँगै उनले सत्ता समीकरणबारे तितो पोख्न थाले । उनले ओली र प्रचण्डको मात्रै आफू भर नपरेको त्यही सन्देश दिन नेपाल वैशाख १० गते ललितपुरको गोदावरीमा आयोजित नेकपा स्थापना दिवस कार्यक्रम बहिष्कार गरे ।

बरु समाजवादीका सम्मानित नेता झलनाथ खनालसमेत उपस्थित कार्यक्रम छल्न महत्वपूर्ण भेटघाट भन्दै धुलिखेलस्थित एक रिसोर्टमा बसिसदिए ।

त्यही दिन च्यासलमा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रममा नेपालले कसैका धाकधम्की, गालीगलौज सुन्न राजनीतिमा नआएको बताए । उनले वर्तमान सत्ता गठबन्धनमा सहजता महसुस नगरेको उल्लेख गरे । गठबन्धन तलमाथि हुनसक्ने आशंका पनि गरे ।

उनले रौतहटको गौर नगरपालिका-२ को लालबकैया नदीमा झोलुङ्गे पुल उद्घाटन गर्दै उनले आफूलाई अपमान गरिए उथलपुथल गरिदिने चेतवानी दिए । आफूले पटकपटक राजा महाराजाको सामना गरेको बताउँदै आफूलाई कमजोर नसम्झन ओली र प्रचण्डलाई धम्की नै दिए ।

१७ वैशाखमा पार्टीनिकट अखिल नेपाल महिला संघ (समाजवादी) ले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले जसले जे भने पनि आफूहरूका लागि अनुकुल वातावरण बनाउने बताएका थिए ।

उनको आशय थियो आफू प्रधानमन्त्री बन्न सहज वातावरण बनाउने । नेपालले ओलीलाई लक्षित गर्दै आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका थिए ।

अनि बिग्रियो कुरा

सार्वजनिक मञ्चबाटै नेपालले कांग्रेससँग संवादमा रहेको झल्को दिने गरी बोल्न थालेपछि ओली र प्रचण्ड बिच्किए ।

नेपालले आफूसँग १० मात्रै नभएर २२ सिटको हिसाब सुनाइरहेका थिए । उनले जसपाका १२ सिट पनि आफूसँगै रहेकाले कमजोर नठान्न भनिरहेका थिए ।

यसबीचमा नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेससँग मिलेर नयाँ समीकरण बनाउन लागेको सूचना बालकोट र बालुवाटार पुगिसकेको थियो ।

वैशाख १५ गते तत्कालीन उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादव अमेरिकातिर लागे । यता अध्यक्ष नेपाल आफ्नो सचिवालयमा आफू प्रधानमन्त्री हुने सम्भावना बढेको भन्दै हिसाब सुनाइरहेका थिए ।

तर नेपाललाई उपेन्द्र यादव अमेरिका भएकै बेला झट्का लाग्यो । त्यो थियो जसपा विभाजन । वैशाख २३ गते अचानक जसपा नेपाल फुट्यो, अशोक राईले निर्वाचन आयोगमा नयाँ जसपा दर्ता गराए, त्यो पनि १२ मध्ये ७ सांसद साथमा लिएर ।

जसपाको यो विभाजन माधव नेपालका लागि ठूलो धक्का सावित भयो । जसपा र एकीकृत समाजवादीलाई तानेर १३८ सिटको अंकगणित बटुल्ने कोसिसमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि एक झट्का लाग्यो ।

जसपा विभाजनले एकै पटक कांग्रेस, माधव नेपाल र उपेन्द्र यादवलाई राजनीतिक रुपमा घाइते बनायो । फागुन २१ को समीकरण तोड्न लागेको खबरसँगै ओलीले नेपालसँगको संवादसमेत बन्द गरिदिएका छन् ।

त्यसपछि उनले तलका नेता कार्यकर्ता तान्ने तर माधव नेपाल र झलनाथ खनालसँग एकता नगर्ने आफ्नो पुरानै रणनीति दोहोर्‍याए । फागुन २१ पछि विश्वास बढेको आँकलनसहित ओलीले नेपालसँग एकताका लागि पहल पनि गरेका थिए ।

त्यही पहलको फलस्वरुप नेपालले जहरसिङपौवामा एमालेसँग एकताको करिब ६० प्रतिशत कुरा मिलिसकेको बताएका थिए ।

छटपटी

अध्यक्ष नेपालको प्रधानमन्त्री हुने चहानामा दुई पटक धक्का लागिसकेको छ । कांग्रेससँगको गठबन्धनमा पनि उनी प्रधानमन्त्री हुने उत्कट आकांक्षासहित बसेका थिए ।

तर फागुन २१ मा गठबन्धन भाँडिएपछि त्यो सम्भावना सकियो । त्यसपछि फागुन २१ को नयाँ वातावरणमा ओली र प्रचण्डले नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउन तयार भएको कुरा उनैले आफ्नो सचिवालयबाट चुहाए ।

ओली र प्रचण्ड सकारात्मक रहेको अवस्थामा नेपालले सार्वजनिक मञ्चमा नयाँ समीकरणको आलोचना गर्न छाडेनन् ।

‘हाम्रो अध्यक्षले राजनीतिक रुपमा गम्भीर गल्ती गर्नु भयो । उहाँले सार्वजनिक मञ्चबाटै आफू जसरी पनि प्रधानमन्त्री हुने अभिव्यक्ति दिइरहनु भयो’, समाजवादीका एक पदाधिकारीले खबरहबलाई भने, ‘समीकरणमा जोडिइसकेपछि अन्य नेतालाई घोचपेच गर्दै बोल्नु गलत थियो । अझ नयाँ समीकरणलाई चिढ्याउने गरी प्रमुख प्रतिपक्षीसँग नयाँ समीकरणका लागि गरिएको सम्वाद उहाँकै लागि प्रत्युत्पादक हुन पुग्यो ।’

ती पदाधिकारीले भने जस्तै माधव नेपालको कार्यशैलीलाई लिएर समाजवादीको बैठकमै आलोचना भएको थियो । उनी पार्टी बनाउने भन्दा एक पटक जसरी पनि प्रधानमन्त्री हुने छटपटीमा पर्दा समस्या भएको निष्कर्ष नेताहरूको थियो ।

यद्यपि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे ओली र प्रचण्डले सानो संख्या भनेर अध्यक्ष नेपाललाई हेपेको सुनाउँछन् । उनले नेपालको असन्तुष्टिलाई प्रधानमन्त्री दाहाल र ओलीको हेपाहा व्यवहारको परिणाम भनेका छन् । नयाँ समीकरण बनाउन सहयोग लिएका दुवै नेताले अहिले नेपाललाई कुनै पनि निर्णयका लागि हुने बैठकमा सहभागी नगराउने र बेवास्ता गरिरहेपछि अध्यक्ष नेपालले आलोचना गर्नुपरेको पाण्डले सुनाएका छन् ।

उता एमाले नेता एवम् उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले माधव नेपालको व्यवहराको खुलेर आलोचना गरेका छन् ।

उनले बिहीबार धनगढीमा सञ्चारकर्मीहरूिसँगको संवादका क्रममा सत्तामा बसेर प्रतिपक्षीसँग पनि साँठगाँठको आरोप लगाउँदै माधव नेपालको व्यवहारले उल्टै उनैलाई हानी गरिरहेको बताए ।

माधव नेपालमा पछिल्लो समय अस्थिरता र छटपटी देखिएको बताउँदै उनले यसका कारण नेपाललाई नै समस्या बढाउने बताए । भण्डारीले माधव नेपालकै कारण सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा समस्या भएको पनि सुनाए ।

भनाभन

माधव नेपालको ढुलमुले प्रवृत्ति र उनको छटपटीलाई लिएर पार्टी बैठकमै नेताहरूले प्रश्न गरेका थिए ।

यही जेठ १४ गते बसेको एकीकृत समाजवादी सचिवालयको बैठकमा अध्यक्ष नेपालको भूमिकालाई लिएर उपाध्यक्ष प्रमेश हमालले कडा प्रश्न गरेका थिए ।

उनले पार्टीको पक्षमा माहोल बनिरहेका बेला माधव नेपालले जथाभावी बोलेर कुरो बिग्रिएको भन्दै आलोचना गरेका थिए ।

‘अध्यक्ष कमरेडले सार्वजनिक रुपमा जथाभावी बोलेर कुरा बिग्रेको छ’, हमालले सचिवालय बैठकमै भनेका थिए, ‘यसरी तपाईंले किन बोल्नुपरेको ? कतिपय कुराहरू नबोलेर पनि बनाउन सकिन्छ । तपाईंले बोलेकै कारण हाम्रो पक्षमा बनेको परिस्थित भाँडियो ।’

हमालले प्रश्नसहित आलोचना गरेपछि अध्यक्ष नेपालले आफूले सञ्चारमाध्यमलाई केही नभनेको बताएका थिए । त्यसपछि उपाध्यक्ष हमालले सञ्चारमाध्यमलाई नभने पनि सार्वजनिक मञ्चमा बोलेपछि बनिसकेको कुरो पनि बिग्रिएको भन्दै आलोचना गरेका थिए । अहिले हमाल चीन यात्रामा गइसकेका छन् ।

अध्यक्ष नेपालको आलोचना गर्ने हमाल मात्रै छैनन् । संघीय सांसद प्रेम आलेसँग संसदीय दलको बैठकमै उनको भनाभन चल्यो ।

सांसद आलेले नयाँ सत्ता समीकरण बनिसकेपछि सार्वजनिक रुपमा आलोचना गर्दै हिँड्ने नेपालको प्रवृत्ति ठीक नभएको बताएका थिए । त्यसपछि आलेसँग अध्यक्ष नेपाल रिसाएका छन् ।

गत वैशाख २४ गते संसद् भवन नयाँबानेश्वरमा बसेको उक्त संसदीय दलको बैठक एकताको सन्देश दिन डाकिएको थियो। तर त्यही बैठकमा आले र नेपालबीच भनाभन भएको थियो ।

तर उक्त संसदीय दलको बैठकले पार्टी फुट्न लागेको भनेर अफवाह फैलाइएको भन्दै एकढिक्का रहेको निष्कर्ष निकालेको सन्देश नेताहरूले मिडियालाई सुनाइदिए । तर आले र नेपालको भनाभनबारेको कुरा भने लुकाइयो ।

माधव नेपालले गठबन्धनबाट दायाँबायाँ गर्न खोजेको मुभले पार्टी फुट्ने जोखिम छ।

‘संसदीय दलमा प्रेम आले र माधव नेपालको भनाभन भएको हो । बाहिर हामी एक भयौं भनेको दिन माधव नेपालको तरिका ठिक भएन भनेर आलेले आलोचना गर्नु भयो’, बैठकमा सहभागी एक सांसदले भने, ‘अहिले पनि मन्त्री नबनाए पार्टी फुटाउने धम्की आइरहेको छ सांसदहरूबाट ।’

के गर्लान् अब ?

अध्यक्ष नेपाल जसरी पनि प्रधानमन्त्री हुने दौडमा छन् । ‘उहाँ जसरी पनि प्रधानमन्त्री हुने दौडमा लाग्दा हाम्रो पार्टी बिग्रिन लागिसक्यो, उहाँलाई अहिले प्रधानमन्त्री हुनेबाहेक अरु योजना छैन’, अर्का पदाधिकारीले खबरहबलाई भने, ‘त्यहीकारण सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव जगन्नाथ खतिवडाहरू विकल्पको खोजीमा लाग्न थाल्नु भएको छ ।’

ओली र दाहालसँग दूरी बढिरहेका बेला बुधबार माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठडमा झुल्किए ।

खासमा त्यसदिन देउवाले प्रतिपक्षी दलहरूको बैठक राखेका थिए । तर नेपाललाई पनि निम्तो थियो । अनौठो के भयो भने अध्यक्ष नेपाल प्रतिपक्षी दलको मोर्चामै मिसिएर बूढानीलकण्ठमा बैठकमा सहभागी भए । देउवासँग उनको एक्ला एक्लै वार्ता थिएन ।

सत्ता गठबन्धनमा रहेको दलका अध्यक्ष प्रतिपक्षी दलको बैठकमा मिसिएपछि एकीकृत समाजवादीमा पनि तीव्र असन्तुष्टि देखिएको छ ।

एकजना पदाधिकारीका अनुसार त्यसदिन नेपाल पार्टीमा सल्लाह नगरी सांसद मेटमणि चौधरीलाई लिएर बूढानीलकण्ठ पुगेका थिए।

यद्यपि उनको बूढानीलकण्ठ भेटलाई गलत अर्थमा बुझ्न नहुने उनको सचिवालय बताउँछ । ‘२०७९ मा हामीले कांग्रेसको भोटबाट पनि चुनाव जितेका हौँ । कांग्रेससँग हाम्रो भोटको लोयालिटी त छ नि,’ नेपालका एकजना सल्लाकार एवम् समाजवादी केन्द्रीय सदस्य मोहन गौतमले खबरहबलाई भने, ‘यो भेटलाई अन्यथा लिनु हुँदैन । सत्तारुढ दलका अरु नेता पनि बूढानीलकण्ठ गएकै छन् नि, संसद्का दुई नेताबीच सामान्य कुराकानी हुनु गलत होइन। ’

तर अन्य राजनीतिक वार्तामा नेपालसहित पदाधिकारी पनि हुन्थे । देउवासँग भेट्दा उनले महासचिव भुसाल, उपाध्यक्ष र अन्य पदाधिकारी कसैलाई पनि नलगी बूढानीलकण्ठ पुगेका थिए ।

उक्त भेटमा प्रतिपक्षी कित्तामा रहेका उपेन्द्र यादवले सरोज यादव नेतृत्वको जसपा सरकार टिकाउनुपर्ने बताएका थिए । उनले मधेसमा ७ सिट रहेको समाजवादीका अध्यक्षसँग पनि सहयोग मागे ।

बुधबार भएको अध्यक्ष नेपालको बूढानीलकण्ठ यात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि झस्किएका छन्। उनले बिहीबार र शुक्रबार दुई दिन माधव नेपाल सत्ता समीकरणमै रहेको बताए । त्यतिमात्रै होइन उनले बिराटनगर पुगेर नेपालले दायाँबायाँ नगर्ने कुराम आफू ढुक्क रहेको पनि सुनाए ।

प्रचण्डले समाजवादी सत्ता समीकरणबाहिर नजाने बताइरहेका छन् । ‘माधवजी पहिलेबाै दुवैतिर जोडिन खोजेको देखिएको थियो । आज बिहान पनि कुरा हुँदा उहाँले अहिलेको समीकरण बाहिर नजाने कुरा बताउनु भएको’, प्रचण्डले भनेका थिए ।

पार्टी महाधिवेशनको मुखमा अध्यक्ष नेपालको कार्यशैलीप्रति अरु नेताहरूले रोष प्रकट गरिरहेका छन्। जुन कुरा पार्टी बैठकमै व्यक्त भइरहेको छ ।

समाजवादीका एकजना केन्द्रीय सदस्य अशेष घिमिरे भने एउटा दलको अध्यक्षका रुपमा अन्य दलसँग भइरहेको संवादलाई नराम्रो ठान्न नहुने बताउँछन् । कांग्रेससँग संवाद गर्दैमा अहिलेको समीकरणबाट समाजवादी बाहिरिन लागेको भनेर ब्याख्या गर्नु गलत हुने उनले बताए ।

‘राष्ट्रिय राजनीतिको एउटा प्राभावशाली नेताको हिसाबले विभिन्न दलहरूसँग सम्वाद हुने सामान्य कुरा हो’, उनी भन्छन्, ‘तर हाम्रो ‘’पार्टीले यो गठबन्धनको विकल्प सोचेको छैन ।’

नेपालको बूढानीलकण्ठ यात्रा प्रधानमन्त्रीकै लागि भएको समाजवादीका नेताहरू बताउँछन्। तर नेपालको प्रधानमन्त्री सपना पूरा हुन वर्तमान सत्ता समीकरणको कुनै दल किन फुट्नु पर्छ कि त एमाले, माओवादी र रास्वपामध्ये एक बाहिरिनुपर्छ । तत्कालको माधव नेपालको छटपटीलाई सम्बोधन गर्ने गरी कुनै फेरबदलको सम्भावना न्यून रहेको समाजवादीकै सम्मानित नेता झलनाथ खनाल बताउँछन् ।

अध्यक्ष नेपाल बुधबार बूढानीलकण्ठ पुगेको भोलिपल्टै सम्मानित नेता झलनाथ खनाल बालुवाटार पसेर प्रधानमन्त्री प्रचण्डलाई भेटे । जहाँ उनले अहिलेको अवस्थामा एकीकृत समाजवादी दायाँबायाँ नलाग्ने विश्वास प्रधानमन्त्रीलाई दिए ।

‘अहिलेको गठबन्धन भत्काउन विपक्षीहरू जोडका साथ लागेका छन्। मैले प्रधानमन्त्रीसँग यहीबारे कुराकानी गरेँ । प्रधानमन्त्रीले गठबन्धन बलियोसँग अघि बढ्ने बताउनुभयो। वामपन्थी सहकार्यलाई अझै कसिलो बनाउने बताउनुभयो। मैले यो गठबन्धन तलमाथि नहुने भनेको छु’, उनले बिहीबार भने ।

अध्यक्ष नेपाल बूढानीलकण्ठ पुगेको कुरामा खनाल पनि खुसी छैनन् । बुधबार अध्यक्ष नेपाल बूढानीलकण्ठ पुगेर प्रतिपक्षी दलसँग गरेको वार्ताको दृश्य आफ्ना लागि नमिठो भएको प्रतिक्रिया उनले बिहीबार दिए ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ३ : ३३ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने