पशुपति राईको कला संघर्ष : १८ वर्ष लामो अभिनय अनुभवले मुख्य नायिका | Khabarhub Khabarhub

पशुपति राईको कला संघर्ष : १८ वर्ष लामो अभिनय अनुभवले मुख्य नायिका


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति राईले अभिनय यात्रा थालेको २० वर्ष बितिसक्यो । वि.सं. २०६० देखि सुरु भएको उनको अभिन यात्रा धरानको ‘अनाम नाट्य जमात’ हुँदै काठमाडौंको ‘गुरुकुल’बाट निखारियो । त्यसपछि उनले फिल्मको यात्रा तय गरिन् ।

पशुपतिले फिल्म खेल्न थालेको एक दशक भइसक्यो । उनी पहिलो फिल्म कबड्डीमा बुद्धि तामाङ (हनुमान) की श्रीमती ‘गौरी’को भूमिका देखिइन् । त्यसपछि उनको अभिनय यात्रा रोकिएको छैन ।

१८ वर्ष अभिनयमा बिताएपछि ‘गाउँ आएको बाटो’ फिल्ममा केन्द्रीय भूमिकामा पाइन् । उक्त फिल्म टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भयो । त्यसपछि यो फिल्म अरु पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुग्यो ।

‘म केन्द्रीय भूमिकामा आउन यति लामो संघर्ष गर्नुपर्‍यो । पहिलो फिल्म विभिन्न देशमा पुगिरहँदा मेरो मिहिनेतको सावाँ र ब्याज मिले जस्तो लाग्छ ।’

केन्द्रीय भूमिकामा देखिनुअघि उनी दर्जनभन्दा बढीमा सहायक भूमिकामा देखिइन् । राजेश हमाल र दिलिप रायमाझी अभिनित ‘माझी दाइ’मा ‘ब्याकग्राउन्ड डान्सर’का रुपमा काम गरेको अनुभव उनीसँग छ ।

ब्याकग्राउन्ड डान्सरदेखि मुख्य नायिककासम्म पशुपतिको अभिनय संघर्षको कथा :

बाल्यकालमा टीभी–रेडियो मोह

पशुपतिको पुर्ख्यौली घर भोजपुर हो । बुवा–आमा धरान झरेपछि उनी त्यहीँ जन्मिएर हुर्किन् । केटीभन्दा केटा साथी धेरै भएकाले बाल्यकालमा उनी गुच्चा र डन्डीबियोमै रमाउँथिन् रे !

‘छोराले खेल्ने खेल खेल्यो भनेर बुवाले गाली गर्नुहुन्थ्यो । तर केटा साथीसँग जस्तै मसँग पनि गुच्चाको पोका हुन्थ्यो,’ उनी बाल्यकालतिर पुगिन् ।

गृहणी आमा, पशुपति, एकजना भाइ र बहिनी बुवाको घुम्ती पसलमा आश्रित थिए । बुवाको आम्दानी कम भएर बाल्यकालमा आर्थिक अभाव खेपेको उनलाई थाहा छैन ।

बालयकालमा बुवाकै कारण रेडियो मोहले तानेको उनलाई अहिले महसुस हुन्छ । ‘बुवा समाचार सुनिरहनुहुन्थ्यो, म पनि खुबै सुन्थेँ । रेडियो कानमै राखेर नाटक सुन्थेँ । आमाले रेडियोमै छिर्लास् भनेर गाली गर्नुहुन्थ्यो,’ उनले रेडियो मोहको किस्सा सुनाइन् ।

त्यससँगै उनी छिमेकीको घरमा टेलिभिजन हेर्न धाउन थालिन् । त्यो देखेर बुवाले सादा टेलिभिजन घरमा ल्याएको क्षण उनी सायदै भुल्छिन् ।

‘पलसमा सबै टेलिभिजन सेट खुला राख्थे, हामी परको सडक छेउ र पसलको सिसामै टाँसिएर हेथ्र्यौँ । छिमेकमा पनि टीभी हेर्न धेरै गयौं,’ उनी भन्छिन्, ‘छोरी धेरै घरबाहिर धाउन थालेको देखेर बुवाले सादा टेलिभिजन किन्नुभयो ।’

टेलिभिजन आएपछि हिरोइनको नक्कल गर्दा गर्दै नृत्यमा लगाव बढेको उनलाई अझै याद छ । ‘नक्कल गर्दा गर्दै डान्स आउन थाल्यो, त्यसपछि टोलका भाइ–बहिनी जम्मा गरेर उनीहरुलाई पनि सिकाउन थालेँ,’ उनले विगत सम्झिइन् ।

स्काउटबाट ‘अनाम’सम्म

घर–कोठामै नृत्यलाई सीमित गरेकी पशुपतिलाई दर्शकमाझ स्काउटले पु¥यायो । कक्षा ८ मा पढ्दा स्काउटको नृत्य प्रतियोगितामा भाग लिएपछि उनी धरानको चर्चित ‘अनाम नाट्य जमात’मा जोडिन पुगेकी हुन् ।

‘प्रतियोगितामा मैले नाचेको एकजना दाइले मन पराउनुभयो । एलएलसीपछि अनामको नृत्यमा मलाई सहभागी गराउनुभयो । त्यसबेला बिदाको पनि समय थियो’, उनले भनिन् ।

‘अनाम’ले धरानमा गर्ने सडक नाटक नछुटाइ हेरे पनि उनलाई त्यसबारेमा केही आधारभूत ज्ञान थिएन । तर नाच्नकै लागि उनी अनाममा जोडिइन् ।

नृत्य सिक्न थालेको केही महिनामै सांस्कृतिक कार्यक्रममा लागि चीन, उत्तर कोरिया र हङकङ जाने अवसर मिल्यो । त्यसपछि यस क्षेत्रमा गम्भीर भएर काम गर्न थालेको उनी सुनाउँछिन् ।

विस्तारै नयाँ पुस्तालाई अभिनयमा अवसर दिने योजना ल्याएपछि सडक नाटक स्वयम्सेवक हुँदै कलाकारसम्म बन्ने मौका दिएकामा उनी अनामसँग कृतज्ञ छिन् । उनले अभिनय गरेको पहिलो नाटक एचआईभीविरुद्ध जनचेतना फैलाउने ‘सावधान’ हो ।

‘म नृत्यमा गए पनि दाइहरुको अभिनय हेर्थेँ । उहाँहरुको काम देखेर मलाई पनि मोह बढ्दै गएको थियो,’ उनी सम्झिन्छिन्, ‘विस्तारै अभिनय सिकाउनु भयो । पहिला स्वयम्सेवक भयौँ, पछि कलाकारको भूमिका दिनुभयो । नाटक रमाइलो लाग्दै गयो ।’

यही क्रममा उनले राजेश हमाल र दिलीप रायमाझी अभिनित फिल्ममा ‘ब्याकग्राउन्ड डान्सर’ भएर नाच्ने मौका पाइन् । धनकुटाको हिलेमा सुटिङका क्रममा अडिसन पास भएर हिरो–हिरोइनसँगै नाचिन् । त्यसबेला उनले ५०० पारिश्रमिक लिएको धमिलो सम्झाना अझै छ ।

क्याम्पसमा अध्ययन र कलाकारितालाई एकसाथ बढाउने क्रममा रंगमञ्चका नाटकमै अवसर पाएपछि उनले यसैलाई निरन्तरता दिने योजना बनाइन् ।

गुरुकुल यात्रा

काठमाडौंको गुरुकुलमा अभिनय सिक्ने अवसर दिएको जस उनी ‘अनाम नाट्य जमात’लाई नै दिन्छिन् । वरिष्ठ रंगकर्मी सुनील पोखरेल र ‘अनाम’का कलाकारसँगको मित्रताले काठमाडौंको यात्रा सम्भव भएको उनको बुझाइ छ ।

‘गुरुकुलले आयोजना गरेको नाटक मोहत्सवमा अनाम समूह आएको थियो । म १२ को परीक्षाले आउन पाइनँ,’ उनी भन्छिन्, ‘सुनील सरले गुरुकुलको दोस्रो ब्याचका लागि भ्यालीबाहिरबाट विद्यार्थी ल्याउने भन्नुभएछ, अनि म सिफारिस भएँ ।’

यो पशुपतिका लागि मुस्किल क्षण थियो । लामो समिय थलिएपछि बुवाको निधन भएको ६ महिना मात्रै भएको थियो । घरमूली ढलेपछि आर्थिक अवस्था सहज थिएन । घरको जेठो सन्तान भएकाले कमाउनुपर्ने जिम्मेवारी उनलै लिनुपर्ने थियो । तर हङकङको भिसा रिजेक्ट भएपछि गुरुकुल आउने निर्णय गरिन् ।

त्यसबेला आमाले दिएको साथ सम्झिँदा उनी अझै भावकु हुन्छिन् । गुरुकुल आउने निर्णय सुनाउँदा उनलाई आमाले भनेकी थिइन्, ‘मनले चाहेको काम गर्न जान लागेको विचार गर् ।’

बुवाको शेखापछि घुम्ती व्यापार आमाले सम्हालिन् । त्यहीकारण उनी गुरुकुलमा पढ्न आउने बाटो खुल्यो । अनि काठमाडौं आइन् । दास्रो ब्याचमा भर्ना भइन् । गुरुकुलमा उनीसँगै पढ्नेमध्ये एक नायक प्रवीण खतिवडा हुन् ।

गुरुकुलको माहोल

घरको आर्थिक दबाबबीच ६ महिनाभित्र अभिनय नसुध्रे धरान फर्किनुपर्ने जोखिम लिएर उनी गुरुकुलमा भर्ना भएकी थिइन् । तर, आजसम्म उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।

बिहान साढे ४ बजे उठेर गुरुकुलमा गर्ने नियमित अभ्यासले उनी बिचलित भइनन् । त्यहाँको साहित्यिक मोहलसँग भिज्दै गइन् ।

‘बिहान उठेर उसु र योगा सिक्दा पनि कुनै दिन थाकेको महसुस भएन । नयाँ सिक्न पाइरहेको सोचले माहोल राम्रो हुँदै गयो,’ उनी गुरुकुलका ती दिन सम्झिन्छिन् । बरु महिनौँसम्म गुरुकुलको पर्खालबाहिर ननिस्केको क्षण उनीसँग ताजै छ ।

अभिनय सिकाइसँगै नाटक प्रचारमा खटिइन् । पोस्टर टाँस्ने र टिकट बेच्ने लगायत कामको अनुभव गर्न गुरुकुलले दियो । त्यसरी बिताएको आठ वर्ष उनलाई अहिले स्वर्ण लाग्छ ।

‘गुरुकुलबाट महिनामै ३५–४० वटा सडक नाटक गर्नुपथ्र्यो । दिनभर सडक नाटक गरेपछि बेलुका मञ्चमा नाटक पनि गर्थ्यौँ,’ उनी भन्छिन्, ‘त्यसबेला जति पनि खट्न सक्थौं । सक्दो मिहिनेत गर्थ्यौँ ।’

गुरुकुल भत्किएसँगै उनको जीवनमा पनि नयाँ अध्याय आयो । उनले काठमाडौंमा गुजारा फरक संघर्ष थालिन्, तर अभिनय छाडेर जाने कहिल्यै सोचिनन् ।

भन्छिन्, ‘गुरुकुल हुँदा त्यहाँबाट पारिश्रमिक आउँथ्यो, काम पनि हुन्थ्यो, तर भत्किएपछि नयाँ अवसर खोज्नुपर्ने चुनौती आयो ।’

त्यो संघर्षपूर्ण समयमा उनलाई काठमाडौंमा एनजीओका सडक नाटक र रेडियो नाटकले टिकाए । बाल्यकालमा मनोरञ्जन लिने माध्ययम रेडियो नाटक नै उनको जीवन धान्ने स्रोत बन्यो ।

उनी भन्छिन्, ‘त्यो कठिन क्षणमा पनि मैले अभिनय छोड्ने सोचिनँ । सानो आवाज दिनेदेखि नाटकसम्म रेडियो गर्थेँ । स्कुलहरुमा अभिनय पढाउँथेँ । यसरी नै जीवन अघि बढ्यो ।’

अनि बन्यो कबड्डी

गुरुकुलपछि ‘मण्डला’मा नाटक गर्ने क्रममा उनलाई ‘कबड्डी’ फिल्मबाट प्रस्ताव आयो । फिल्ममा लगानी कम भएकाले एकैजनाले दुईवटा काम गर्ने कलाकार खोज्ने क्रममा आफूलाई प्रस्ताव आएको हुनसक्ने उनी ठान्छिन् ।

‘निर्देशक रामबाबु गुरुङहरु मण्डलामै कबड्डीको स्क्रिप्टको काम गर्नुहुँदो रहेछ । मलाई त्यहीँ प्रस्ताव आयो,’ उनी भन्छिन्, ‘अभिनय र अर्को जिम्मेवारीको सर्त थियो, हुन्छ भनेँ । विजय बराल र बुद्धि तामाङलाई सेट डिजाइमा सहयोग गर्ने जिम्मेवारी पाएँ ।’

उनले त्यसबेला २५ हजार पारिश्रमिक बुझिन् । मुस्ताङमा फिल्मको छायांकन हुँदा खाना पकाउनेदेखि सेटमा चिया लैजानेसमेत काम गरिन् ।

‘सुटिङका क्रममा हामी बसेको घरकी आमालाई खाना पकाउन सघाएँँ । हामी सबैको प्रयास फिल्म राम्रो बनाउने थियो, जे जिम्मेवारी आए पनि तयार थियौं,’ उनले सुनाइन् ।

उक्त फिल्म हिट भएपछि अरुबाट पनि कामको प्रस्ताव आउन थाल्यो । नाटक र फिल्मले व्यस्ता बढाउँदै लग्यो । उनी सम्झिन्छिन्, ‘कबड्डीमै गरेको भूमिका जस्तो प्रस्ताव आउँथ्यो । श्रीमान् कुट्ने र छुच्ची महिलाको भूमिका । तर टाइपकास्ट हुने डरले धेरैमा काम गरिनँ ।’

उनी यही फिल्मबाट मेकरको नजरमा मात्रै परिनन्, धेरै दर्शकले यसैबाट उनलाई नोटिस पनि गरे ।

१८ वर्षपछिको अवसर

वि.सं. २०६० देखि अभिनयकर्ममा लागेकी पशुपतिले ‘गाउँ आएको बाटो’मा मुख्य नायिकाको भूमिका पाइन् । पशुपतिकै पुर्ख्यौली जिल्ला भोजपु र सुनसरीमासमे सुटिङ गरिएको यो फिल्म जेठ २५ गते प्रदर्शनमा आउँदै छ ।

यसबीचमा उनी १५ फिल्ममा सहायक भूमिका देखिइन् । दुई नाटकमा एकल निर्देशन गरिसकिन् । तीन दर्जन बढी नाटकमा अभिनय कौशल देखाइन् । कयौँ सडक नाटक र रेडियो नाटक गरिन् । जुन अहिले उनले गन्न सक्दिनन् ।

तीन फिल्ममा पर्दा पछाडिको काम गरेको अनुभव पनि उनीसँग छ । उनी फिल्महरु राजागञ्ज, कबड्डी–४ र फूलबारीको उनी ‘एसिस्टेन्ट डाइरेक्टर’ र ‘एक्टिङ मेन्टर’ हुन् ।

यति अनुभवपछि ‘गाउँ आएको बाटो’मा पाएको पहिलो मुख्य भूमिका उनको लागि विशेष त छ नै । यो फिल्म विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्रमा महोत्सवमा सहभागी भएपछि सन्तुष्टिको अर्को खुट्किलो भेटेकी छन् ।

भन्छिन्, ‘मलाई केन्द्रीय भूमिकामा आउन १९ वर्ष लाग्यो । यही फिल्म अन्तर्राष्ट्रिय महोत्सवमा पनि पुग्यो । यो फिल्म मेरो संघर्षको सावाँ–ब्याज हो जस्तो लाग्छ ।’

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ७ : ४१ बजे

अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको चुनौती

काठमाडौँ – आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा अहिले अफगानिस्तानले

बागमती प्रदेशसभा बैठक आज बस्दै

बागमती– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक विहान ११

विश्वकपमा विस्फोटक इंग्ल्याण्ड र सन्तुलित भारत

रोहित शर्माको थुप्रै आकर्षक सर्टसँगै भारतले टी-२० विश्वकप क्रिकेटमा सेमिफाइनलको

कोपा अमेरिका : कोलम्बियाको विजयी सुरुवात

काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।

ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

बागलुङ– दुई जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको