सदस्य मुलुकका तनावले सार्ककै बाटोमा बिमस्टेक | Khabarhub Khabarhub

भूराजनीति

सदस्य मुलुकका तनावले सार्ककै बाटोमा बिमस्टेक

नेपालको भ्रमण परम्परामा ब्रेक !


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निरन्तर क्षेत्रीय अस्थिरता भोगिरहेको दक्षिण र दक्षिणपूर्वी एसियामा हालैका घटनाक्रमले थप तनाव निम्त्याउँदा एकपछि अर्का क्षेत्रीय सङ्गठनहरू निस्क्रिय बन्ने जोखिम बढेको छ । सार्कपछि बिमस्टेककै अनिश्चित भविष्यले एसियाको दक्षिणपूर्वी भागका क्षेत्रीय सङ्गठनहरू थप कमजोर बन्दै गएको सङ्केत गरेको हो ।

अबको तीन दिनपछि (भदौ १८ र १९) मा थाइल्याण्डको राजधानी बैंककमा गर्ने तय भएको बिमस्टेक शिखर सम्मेलन अचानक स्थगित हुँदा गोलार्धको दक्षिणपूर्वी हिस्साको महत्वपूर्ण क्षेत्रीय समीकरण निरन्तरतामा नयाँ प्रश्नचिह्न लागेको छ ।

सन्‌ १९९७ जुन ६ मा थाइल्याण्डकै राजधानी बैंककमै बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्याण्ड सहभागी बिस्टेक स्थापना भएको थियो । १९९७ डिसेम्बर २२ मा म्यानमार पनि यो क्षेत्रीय सङ्गठनको सदस्य बनेपछि बिमस्टेक नामाकरण भएको थियो ।

२००४ मा नेपाल र भुटान पनि सदस्य बनेपछि ३१ जुलाई २००४ मा बैङ्ककमा पहिलो सम्मेलन भयो । सोही सम्मेलनले नाम पुनः बदलेर बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) बनाएको थियो । बिमस्टेकका हालसम्म पाँचवटा शिखर सम्मेलन भएका छन्‌ ।

किन भयो स्थगित ?

थाइल्याण्डको संवैधानिक अदालतले त्यहाँका निवर्तमान प्रधानमन्त्री स्रेथा थाविसिनलाई नैतिक उल्लङ्घन (अनियमितता) आरोपमा साउन ३० मा पदमुक्त गरिदियो ।

शिखर सम्मेलनको तयारी गर्नुपर्ने बेलामै प्रधानमन्त्री सत्ताच्यूत भएपछि त्यहाँ राजनीतिक अस्थिरता थप बढ्यो । साउन ३२ मा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री चुनिइन्‌ ।

अदालती आदेशपछिको दुई दिने सत्ता अस्थिरता अन्त्य भए पनि नवनिर्वाचित प्रधानमन्त्री पेतोङतार्नले बिमस्टेक शिखर सम्मेलन सफल बनाउन नसक्ने आकलन गरिन्‌ ।

नयाँ सरकार गठनपश्चात्‌ संसदीय र कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुनाले बिमस्टेक सम्मेलन स्थगित गरिएको ब्यहोराको पत्र सदस्यराष्ट्रहरूलाई पठायो । सम्मेलनको नयाँ मिति बिमस्टेक सचिवालयले अझैसम्म तोकेको छैन ।

क्षेत्रीय अस्थिरताको चपेटा

विश्वमा बहुध्रुव बन्दै जाँदा क्षेत्रीय शक्तिहरू थप बलियो बनिरहेका छन्‌ । उदयीमान अर्थतन्त्र भएका मुलुकहरूको समूह ब्रिक्सले विश्वका प्रमुख ७ धनी राष्ट्रहरूको समूह जी-७ लाई नै चुनौती दिइरहेको छ । साझा मुद्रासम्मका विकल्पमा काम गरिरहेको ब्रिक्स विस्तारलाई लिएर शीतयुद्ध अन्त्यपछि एकध्रुवीय विश्वको नेतृत्व गरेको अमेरिका चिन्तित छ ।

तर, कुनै समय क्षेत्रीय शक्ति सन्तुलन मामिलामा विश्वभर नै मानक मानिएका दक्षिण र दक्षिणपूर्वी एसियाली सङ्गठनहरू भने थला पर्दै गएका छन्‌ । यस क्षेत्रमा लम्बिँदै र थपिँदै गएको अस्थिरताको चपेटाले क्षेत्रीय सङ्गठनका नियमित हुनुपर्ने सम्मेलन र बैठकसमेत प्रभावित छन्‌ ।

दक्षिण एसियाली मुलुकहरू अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, श्रीलङ्का, भारत, नेपाल, भुटान र बङ्गलादेश हुन् । यी सबै मुलुक सदस्य रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन १० वर्षदेखि हुन सकेको छैन ।

सन्‌ २०१४ नोभेम्बर २६-२७ मा काठमाडौंमा १८औं सार्क शिखर सम्मेलन भएको थियो । २०१६ नोभेम्बरमा पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने भनी तोकिएको १९औं शिखर सम्मेलन भारत-पाकिस्तान टकरावका कारण हालसम्म स्थगित छ ।

त्यतिखेर सार्क शिखर सम्मेलन हुन नदिएर पाकिस्तानलाई क्षेत्रीय मञ्‍चमा अप्ठेरोमा पार्न भारतको लबिइङले काम गरेको थियो । आठमध्ये चार अर्थात्‌ बङ्गलादेश, भुटान, भारत र माल्दिभ्सले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा सहभागी नहुने बताएपछि स्थगित नै भएको थियो ।

१९औं शिखर सम्मेलन आयोजना गरी सार्क अध्यक्षता हस्तान्तरण गर्नुपर्ने नेपाल २०१४ नोभेम्बर २६ देखि निरन्तर अध्यक्ष छ । तर, शिखर सम्मेलन नै हुन नसक्दा सार्कको औचित्यमाथि निकै प्रश्न उठेका छन्‌ ।

पाकिस्तानलाई छाड्दा सार्क अपुरो हुने र नछाड्दा आफ्नो भूमिकामा प्रश्न उठ्ने भएपछि भारतले पछिल्लो समय बङ्गलादेश, भुटान, भारत र नेपाल सम्मिलित बीबीआइएन अघि सारेको छ ।

सन्‌ २०१४ मा काठमाडौंमा आयोजित सार्क शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी (बसेका) र पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ (हिँड्दै गरेका) ।

तर, बदलिँदो क्षेत्रीय शक्ति सन्तुलन र अधिकांश छिमेकीहरूसँग भारतको बिग्रँदो सम्बन्धका कारण बीबीआइएन पनि निस्तेजजस्तै छ । सदस्य राष्ट्रहरू सार्कजस्तो कुनै समय उदाहरणीय क्षेत्रीय मञ्‍चको साटो भारत प्रभुत्वको बीबीआइएन भरपर्दो विकल्प नहुने निष्कर्षमा पुग्दैछन्‌ ।

पाकिस्तानलाई देखाएर सार्क र आफ्ना कारण बीबीआइएन खासै अघि बढ्न नसक्ने देखिएपछि भारत दक्षिणपूर्वी एसियाका थाइल्याण्ड र म्यानमार समेत सदस्य रहेको बिमस्टेकतिर बढी सक्रिय देखिएको थियो । तर, २०७३ असोज-कात्तिकमा ब्रिक्स र बिमस्टेक मुलुकहरूको संयुक्त बैठक डाकेपछि भारत बुमर्‍याङमा परेको थियो ।

गोवामा आयोजित बिमस्टेक रिट्रिट बैठकमा सबैभन्दा ठूलो क्षेत्रीय प्रतिद्वन्द्वी तथा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन हावी भएपछि भारत झस्किएको थियो । त्यसयता सरकारप्रमुख स्तरीय रिट्रिट बैठक नै हुन सकेको छैन । विदेशमन्त्रीस्तरीय केही बैठकहरू भने हुने गरेका थिए ।

सार्क, बीबीआइएन र ब्रिक्स-बिमस्टेक संयुक्त मञ्‍चकै शैलीमा पछिल्लोपटक बिमस्टेक थला पर्न खोजेको हो । स्थगित सम्मेलन गर्ने नयाँ मिति हालसम्म तय भएको छैन ।

बिमस्टेक शिखर सम्मेलन स्थगित हुनुमा आयोजक थाइल्याण्डमा सरकार परिवर्तन, अर्को दक्षिणपूर्वी एसियाली मुलुक म्यानमारमा त्रिपक्षीय आन्तरिक द्वन्द्व, बङ्गलादेशमा निर्वाचित सरकार आन्दोलनबाट सत्ताच्यूत र श्रीलङ्कमा प्रधानमन्त्री निर्वाचन लगायत अपेक्षित/अनपेक्षित घटनाक्रमलाई कारण देखाइएको छ ।

तर, यसअघि विश्वभर नै मानक बनेका दक्षिण र दक्षिणपूर्वी एसियाली क्षेत्रीय सङ्गठनहरूको निष्क्रियता, विद्यमान राजनीतिक अस्थिरता र सदस्य राष्ट्रहरूबीच सौहार्द सम्बन्ध अभावले बिमस्टेक पनि धरापमा परिरहेको हो ।

नेपालको भ्रमण परम्परामा ब्रेक !

अदालती आदेशमा थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिन सत्ताच्यूत भएकै दिन साउन ३० गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । चौथोपटक प्रधानमन्त्री भएका ओलीले औपचारिक विदेश भ्रमण थालेका छैनन् ।

यसअघि नेपालका प्रधानमन्त्रीहरूलाई दुई ठूला छिमेकी चीन र भारतमध्ये कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयले तनाव दिने गर्थ्यो । पहिले भारतको भ्रमण गरे ‘भारतपरस्त’ र चीनको भ्रमण गरे ‘चीनपरस्त’ आरोप लाग्ने गरेको थियो ।

यो विवादबाट उम्कन ओलीका लागि यसपटक पूर्वनिर्धारित बिमस्टेक बैठक महत्वपूर्ण थियो । यसअघि पहिलो र दोस्रोपटक उनले मुलुकको कार्यकारी प्रमुखको हैसियतले विदेश भ्रमणको पहिलो गन्तव्य दिल्लीलाई नै बनाएका थिए । आफू र अन्य प्रधानमन्त्रीले पछ्याइरहेको परम्परा तोड्दै ओलीले यस पटकको पहिलो विदेश भ्रमण गन्तव्य थाइल्याण्डलाई नै बनाउन चाहन्थे । अब उनी ११ दिनपछि अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको ७९ महासभामा

प्रधानमन्त्री ओली चौथोपटक प्रधानमन्त्री भएपछि पहिलो भ्रमण थाइल्यान्डबाटै गर्ने तयारीमा थिए । तर, बिमस्टेक सम्मेलन स्थगित भएका कारण अब ओली पहिलो विदेश भ्रमण निम्ति अमेरिका पुग्नेछन्‌ । सेप्टेम्बर १० मा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको ७९ औं महासभामा ओलीले भाग लिनेछन्‌ ।

तर, बिमस्टेकको छेकोमा यो कार्यकालको आफ्नो पहिलो विदेश भ्रमण थाइल्याण्डबाट गर्ने उनको योजना भने बिमस्टेक सम्मेलन स्थगित भएसँगै बदलिएको छ ।

चीन र भारतले झैँ काठमाडौंलाई ‘जिओस्ट्राट्रेजिक हब’ बनाएको अमेरिका पुगेर फर्किएपछि यताका क्षेत्रीय शक्तिहरूले दिने प्रतिक्रियाले ओलीको तेस्रो कार्यकालको परराष्ट्र मामिला व्यवस्थापन तय हुने देखिन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ३ : ४३ बजे

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष

निर्माण सम्पन्न भएको ६ महिनामा पनि सञ्चालनमा आएन कुश्मा बसपार्क

पर्वत– पर्वतको कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क निर्माण भएको ६ महिनासम्म

राष्ट्र बैङ्कको अध्ययन : गण्डकी प्रदेशमा कृषि क्षेत्र घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा गण्डकी प्रदेशमा कृषि

विवाद नमिल्दा नारायणी अस्पताल भवन निर्माण अलपत्र

पर्सा– पाँचवर्षदेखि नारायणी अस्पतालको भवन निर्माण रोकिएको छ । भवन