नाटकको मज्जा सिनेमाको भन्दा बेग्लै | Khabarhub Khabarhub

रंगमञ्च

नाटकको मज्जा सिनेमाको भन्दा बेग्लै

रंगकर्मीमा अहम बढ्यो, युवाको हुटहुटी कहिलेसम्म टिक्ला ?



काठमाडौं- नेपाली रङ्गमञ्चमा अशेष मल्लको नाम अग्रस्थानमा छ । वि.सं.२०११ सालमा धनकुटामा जन्मिएका उनले नाटक मात्र नभएर कथा, कविता, मुक्तक, समालोचनामा समेत कलम चलाएका छन् ।

‘तुँवालोले ढाकेको’ पहिलो नाटक (२०३२) लेखेका अशेषले पञ्चायती शासनकालमा नाटकमार्फत निरंकुशताको विरोध गरे । नाटक ‘मुर्दावादमा उठेका हातहरु’ त्यही समयमा सिर्जना भएको थियो ।

‘हामी वसन्त खोजिरहेका छौं’ जस्ता सिर्जना मार्फत अशेषले नेपालमा सडक नाटकको शुरुवात समेत गरे । ०३८ सालमा सर्वनामको विधिवतै स्थापना गरेर त्यसमार्फत नाटक मञ्चन सँगै नयाँ पुस्ताका रङ्गकर्मीहरु समेत मल्लले जन्माइरहेका छन् ।

‘अज्ञात प्रदेशहरुमा’ (मुक्तक सङ्ग्रह), ‘निरन्तर निरन्तर’ (कविता सङ्ग्रह), ‘एक्लो एकान्त’ (कविता सङ्ग्रह) र ‘अर्धविराम’ (कथा सङ्ग्रह) जस्ता उनका दुई दर्जनभन्दा कृतिहरु प्रकाशित छन् ।

उनै अग्रज रङ्गकर्मी मल्लसँग उनको साढे पाँच दशकको रङ्गमञ्चको यात्रा, सङ्घर्ष, नेपालमा हालको रङ्गमञ्चको अवस्था, चुनौती र अब रङ्गमञ्चले चाल्नुपर्ने पाइलाहरुको सेरोफेरोमा रहेर जोयनेपालकर्मी सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

बरिष्ठ नाट्यकर्मी मल्लले सिनेमा भन्दा नाटकको इतिहास धेरै पुरानो रहेको बताउँदै सिनेमा र नाटकवीचको सैद्धान्तिक भिन्नता औंल्याएका छन् । तर, पछिल्लो समय युवापुस्ताका रंगकर्मीहरुमा अहम बढेको गुनासो गर्दै उनी भन्छन्– हामीलाई अहमले ग्रसित पार्‍यो ।

 

पञ्चायतकालमा तपाईंहरुले रङ्गमञ्चको माध्यमबाट स्वतन्त्रताको लय खोज्ने त्यो कालखण्डलाई कसरी स्मरण गर्नुहुन्छ ?

त्यतिबेला कला, साहित्यमा पनि दुईधारका व्यक्ति थिए । एउटा धार चाहिँ तत्कालीन व्यवस्थाको समर्थक र अर्को धार हामी थियौं, जसलाई तत्कालीन व्यवस्था उल्ट्याउनु थियो । हामी स्वतन्त्रता र प्रजातन्त्र चाहन्थ्यौं ।

मैले ०३३–०३४ सालमा त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा मास्टर गर्ने क्रममै त्यतिबेला साहित्य र रङ्मञ्चमै मेरो रुची थियो । साँच्चै भन्ने हो भने म त्योबेला एक्लो थिएँ । एक्लो मैले किन भन्न खोजेको हो भने यो शहरमा मेरा साथमा न कोही मेरा थिए, न त मेरा कोही गडफादर नै थिए ।

नाटक गर्नलाई एउटा समूहको आवश्यकता हुन्छ, मसँग त्यो पनि थिएन । त्यसमाथि मेरो नाटक राजनीतिक विषयकै थिए । हामी नाटक गर्नेहरु त सरकारको आँखामा बिझाउँथ्यौं । त्यतिबेला बडो गाह्रो थियो ।

यति हुँदा पनि हामीले नाटक गर्‍यौं । हामीलाई नाटक गर्दागर्दै सिभिल ड्रेसमै आएका कति पुलिसहरुले पिटे । तत्कालीन मण्डले समूह (पञ्चायत समर्थक विद्यार्थीको समूह) को पनि पिटाइ खानुप¥यो । त्यो कालखण्ड सम्झँदा एकदमै कहाली लाग्छ ।

यो समयमा स्मरण गर्नै पर्दा रङ्गमञ्चमार्फत तपाईंहरुले खोज्नुभएको स्वतन्त्रताको लयमा कति सफलता र प्राप्तिहरु भए ?

त्योबेला क्रान्ति भित्रभित्रै भुँसको आगोजस्तै सल्किएको थियो । तत्कालीन राजा वीरेन्द्रको समयमा पञ्चायती व्यवस्थाको संविधानको दोस्रो संशोधन भएको अवस्था थियो । संशोधन भएपछि वाक स्वतन्त्रतामा कडा प्रतिवन्ध लगाइयो । संविधानले नै वाक स्वतन्त्रता हनन गर्ने अवस्था भयो ।

हामीले नाटक गर्दा त्यहीबेला थियो । त्यतिबेला नाटक गर्नुभन्दा अगाडि सेन्सर गर्नुपथ्र्यो । शब्द-शब्द सेन्सर गरिन्थ्यो । सेन्सर गरेको कपि लिएर शब्दहरु काटिन्थ्यो ।साधारण जनता बोल्न नपाउने अवस्थामा हामी कलाकार, साहित्यकार र रङ्गकर्मीहरुले त्यसको विरुद्धमा बोल्ने वातावरण थिएन ।

हाम्रै नाटक र साहित्यले पूरै परिवर्तन भयो भन्नचाहिँ मिल्दैन तर केही झिल्को बाल्ने काम गर्‍यो । २०३३ सालमा विश्वेश्रप्रसाद कोइराला, गणेशमान सिंहहरु भारतबाट आएपछि त्यतिबेला क्रान्तिले अर्कै मोड लियो । साहित्य र रङ्गमञ्चबाट केही न केही आगोका झिल्काहरु आइरहेको अवस्था थियो । त्यसमा हामीले केही न केही चेतना दिइरहेका थियौं ।

त्योबेलाको शक्ति नै विद्यार्थी थिए । प्रत्येकजसो कलेजले हामीलाई नाटक मञ्चन, नाटक तालिम र कार्यशालाका लागि बोलाउँथे । त्यसकारण हाम्रो प्रयासले कहीँ न कहीँ जागरणको दियो बलेको थियो ।

त्यतिबेला मैले लेखेका नाटकहरु कतै न कतै राजनीति र स्वतन्त्रतासँग जोडिएका हुन्थे । त्योबेलाका मेरा कविता हेर्दाखेरि प्रेमको कुनै लेखेको छैन रहेछु । त्यो माहोलमा प्रेम गर्नै भ्याइएनछ । नाटक, साहित्यमा खाली राजनीति र प्रजातन्त्रका कुरा थिए । ‘मूर्दावादमा उठेका हातहरु’ पनि त्यही बेलाकै थियो ।

यी नाटकहरुले केही मात्रामा भए पनि तत्कालीन समयमा जागरणको झिल्को बाल्ने काम गरेको थियो । मेरो अष्ट्रेलियन साथी जोन बारम्बार सोधिरहन्थे, ‘यति राम्रो हिमाल, गुराँस र प्रकृति छ, तँ किन यस्तो राजनीतिक नाटक मात्र लेख्छस् ?’

उसलाई मैले भन्थें, ‘तँ यसमा बुझ्दैनस् । तेरो देशमा यो समस्या छैन । हामीकहाँ गरिबी छ, अभाव छ, विभेद छ । यसको कारण राजनीति हो । हामीकहाँ कहिल्यै पनि स्थिर राजनीति भएन । हाम्रो देशमा विकास नहुनुको मुख्य कारण नै अस्थिर राजनीति हो । यस्तो देख्दादेख्दै म हिमालको बारेमा कसरी लेख्न सक्छु ?’

त्यतिबेला तपाईंहरुले तत्कालीन व्यवस्थाविरुद्ध जसरी लेख्नुभएको थियो । त्यसरी नै अहिलेका पुस्ताले पनि रङ्गमञ्चमा राज्यसत्ताकै प्रवृत्तिप्रति असन्तोष जनाउँदै पहिचानको पक्षमासमेत आवाज उठाउँदै आएका छन् । यसलाई चाहिँ कुन रुपमा हेर्नुभएको छ ?

अहिलेको यो अवस्थालाई एकदमै सकारात्मकरुपमा लिन सकिन्छ । नेपालमा २४० वर्षसम्म राजतन्त्र र १०४ वर्षसम्म राणाकाल रह्यो । राजतन्त्र र राणाकालले एकतन्त्रीय शासन प्रणाली लगायो । शासन मात्र एकतन्त्रीय होइन, भाषा र संस्कृति पनि एकतन्त्रीय बनायो । दशैं नमान्ने समुदायलाई पनि मान् भन्यो र जबर्जस्ती मान्न लगायो । संस्कृति त जाति र समुदाय अनुसार हुन्छ । नेपाली भाषीको मात्र हुँदैन । तर, त्यो मान्ने अवस्था थिएन त्यसैले थिचिएको थियो ।

जनआन्दोलन ०४६ र ०६२ ले राजनीतिक रुपमा स्वतन्त्रता र प्रजातन्त्र दियो । लामो समयसम्म दबिएको कुरा कला र नाटकका रुपमा बिस्तारै निस्किएको छ । त्यसकारण अहिले हिजो थिचिएका कुरा नै उर्लिएका हुन् । एउटा लिम्बुको बच्चाले लिम्बु भाषा नै बोल्न चाहन्छ । नबोल् भन्ने हामी को हौं ? कलामा आएका यी कुराहरु एकदमै सकारात्मक छन् ।

रङ्गमञ्चमा अहिलेको देखिएको सिर्जनाको धारमा कसरी सचेत र सजक रहनुपर्छ ?

यसमा अराजक नभइकन सौम्य रुपमा प्रस्तुत हुनुपर्छ । हिजो हामीमाथि यस्तो भएको थियो भनेर बदलाको भावना हुनुहुँदैन । एउटा शालीन, कलात्मक र सौन्दर्यात्मक तरिकाले आफ्नो कुरा भन्नुपर्छ र भन्न पाइन्छ । अहिले यसरी नै भनिरहेको अवस्था छ ।

अहिले नेपालमा विश्व रङ्गमञ्चको प्रतिस्पर्धामा उत्रने सक्ने नयाँ रङ्गकर्मीहरु आइरहेका छन् र आफ्नो कथा भनिरहेका छन् । हाम्रो नाटकमा हाम्रो माटो, संस्कृतिका कुराहरुको अभाव थियो, अहिले त्यही कुरा एकदमै जागेर आइरहेको छ । विश्वलाई देखाउने त हाम्रो कुरा हो । यसमा त मलाई निकै खुसी लागेको छ ।

कुनै समुदायविशेष कथा बोकेर आएका नाटकहरुलाई रङ्गमञ्च भित्रै पनि मूलधारको नाटक भन्दा समुदायकै नाटक मान्ने प्रवृत्ति पनि देखिन्छ । यसलाई कसरी लिनुहुन्छ ?
समुदायका कथा बोकेका नाटकहरु पनि विशुद्ध नेपाली नाटक नै हुन् । तामाङ, राई, मैथली, लिम्बुहरु जसको भए पनि संस्कृति त नेपालकै हो । बाहिर हामीले यस्ता नाटकलाई लग्यौंै भने नेपाली नाटक नै भनेर चिनाउने हो ।

हामीसँग त एउटै मात्र संस्कृति छैन । हामीसँग कयौं जाति, भाषाभाषी र संस्कृति छन् । तामाङ होस् या लिम्बु संस्कृतिका नाटकलाई पनि नेपाली नाटकै रुपमा हेर्नुपर्छ ।

रङ्गमञ्चमा नाटक लेखन, निर्देशन र अभिनयसम्म नयाँ पुस्तामा देखिएको हुटहुटीलाई चाहिँ कसरी हेर्नुभएको छ ?

यसलाई दुई किसिमबाट हेर्न सकिन्छ । एउटा पक्षबाट हेर्दाखेरि नयाँ पुस्ता आइरहेका छन् । यो सकारात्मक पक्ष मान्न सकिन्छ । तर, अर्को यसको अँध्यारो पाटो पनि छ । अँध्यारो पाटो भनेको अहिले जुन उत्साहले आइरहेका छन्, के यो दीर्घकालीन हुन सक्छ ? यो नयाँ पुस्तामा ठूलो प्रश्न छ ।

मैले ५०/५५ वर्ष नाटकमा बिताउँदा त्यतिबेला मसँगै लागेकाहरुलाई अहिले औंलामा गन्न सकिन्छ । सबै थाकेर बसेका छन् । आज भन्दा १० वर्ष अगाडिको पुस्तालाई मात्र हेर्दा पनि आजसम्म कतिजना रङ्गमञ्चमा लागिरहेका छन्, त्यो पनि हेर्न सकिन्छ । हेर्दाखेरि १० जना पनि छैनन् होला । निरन्तर लागिरहने धेरै छैनन् ।

अहिले नाटक टिकटभन्दा पनि कुनै स्पोन्सरले गर्दा चलेको जस्तो देखिन्छ । तर, सधैं स्पोन्सर प्राप्त होला भन्ने छैन । स्पोन्सर नभएका बेला के गर्ने ? यो पनि सोच्नुपर्छ   

यस्तो किन भइरहेको छ भनेर जरो कारण खोज्दा यसमा अर्थ (पैसा) नै जोडिएको छ । नेपाली रङ्गमञ्च अहिले उर्बर जस्तो देखिएतापनि आर्थिकरुपमा यसको ‘रिटर्न! छैन । यसलाई समग्र रङ्गकर्मीहरुले स्वीकार्नैपर्छ ।

यसो हेर्दा पहिलाभन्दा नाटक चलेको देखिन्छ, दर्शकको पनि भिड नै छ । तर, सिनेमा जस्तो योे होइन । सिनेमा र नाटकको उत्पादन मूल्य एकदमै फरक छ ।

अहिले नाटक टिकटभन्दा पनि कुनै स्पोन्सरले गर्दा चलेको जस्तो देखिन्छ । तर, सधैं स्पोन्सर प्राप्त होला भन्ने छैन । स्पोन्सर नभएका बेला के गर्ने ? यो पनि सोच्नुपर्छ ।

नाटक र सिनेमा दुवै आम सञ्चारका माध्यम त हुन् नै, यति हुँदाहुँदै पनि नाटकमा हाम्रा सीमितता छन् । यसबाट आउने रिटर्न एकदमै सीमत छ । यो सीमितताले सबै रङ्गकर्मीहरुलाई धान्न गाह्रो पर्छ । त्यसकारण आजका पुस्ता भोलिका दिनमा निरन्तर लागिरहनका लागि पर्याप्त आधारचाहिँ त्यति सजिलो छैन ।

रङ्गमञ्च त माथि छ, योभन्दा पनि माथि जान्छ र उर्बर हुन्छ । तर रङ्गकर्मीहरु सयमा एक प्रतिशत मात्र टिकिरहे भने त्यो ठूलो हुन्छ ।

पछिल्ला नाटकहरुमा मञ्च निर्माणदेखि कलाकारहरुको कस्ट्युम, कोरियोग्राफ जस्ता पक्षमा निकै खर्चिलोपना देखिन्छ । यसलाई कसरी लिने ?

यस पक्षमा भने मलाई बडो दुःख लाग्छ । मैले अहिलेसम्म मितव्ययी रङ्गमञ्चलाई नै अगाडि बढाइरहेको छु । खर्च गर्दिनँ नै भने पनि खाजा खर्च, यताउति गर्दा एउटा नाटकका लागि ५०/६० हजार रुपैयाँ खर्च हुन्छ । त्यो पनि कहाँबाट ल्याउने ? यही पैसा मेरा साथीभाइलाई मागेँ भने सजिलै ल्याउन सक्छु तर म ल्याउँदिन । किनभने, एउटा नाटक, या दोस्रो नाटकका लागि मगन्तेका रुपमा ल्याउन सकिएला तर कतिन्जेल मगन्ते बन्ने ? हाम्रो नाटक क्षेत्र यस्तो पनि हुनु भएन ।

हामीले माग्ने भन्दा पनि दिनेहरु नाटकबाट आफैं प्रेरित हुनुपर्छ । जसरी सिनेमामा विज्ञापन दिन प्रेरित हुन्छन्, त्यसरी नै नाटकमा यो अवस्था सिर्जना गर्न सकिन्छ ।

यसमा हामीले एउटै कुरा सोच्नुपर्छ, नाटकको ‘कस्ट अफ प्रोडक्सन’ लाई कसरी घटाउने ? मन त मलाई पनि भव्य सेट बनाउने हुन्छ । तर, यसलाई मिनिमाइज गर्नुपर्छ र गर्न सकिन्छ ।

नाटक यस्तो एउटा कला हो, यसमा हामीले सांकेतिक रुपमा जे पनि गर्न सक्छौं । एउटा सिनेमामा सगरमाथा चाहियो भने हामीले यहीँ बनाउन सक्छौं । नाटकमा हजाईजहाज चाहियो भने त्यही ल्याउनुपर्छ भन्ने छैन ।

रङ्गकर्मीहरुले रङ्गमञ्चलाई यथार्थवादी र अयथार्थवादी गरी दुई किसिमले प्रस्तुत गर्न सक्छन् । यथार्थ तरिकामा हामी रङ्गमञ्चलाई चाहिने ठूला–ठूला सेटहरु बनाउन सक्छौं । तर, त्यही सेटलाई हामी अयथार्थ तरिकाले पनि बनाउन सक्छौं । यसमा बिम्बहरु प्रयोग गरेर गर्न सक्छौं । नाटकको स्वाद नै त्यहाँ छ । त्यसकारण नै नाटक हो ।

रङ्गमञ्चको दाँजोमा सिनेमा त हिजो अस्ति मात्र आएको हो । सिनेमा आएपछि विश्वमा नाटक कोल्याप्स हुन्छ भन्थे तर भएन त । यसको दायरा अझै फराकिलो भएर माथि जान्छ । नाटकको मजा सिनेमाको भन्दा बेग्लै छ

जुन कुरा सिनेमामा हेर्न पाइन्छ, त्यही कुरा नाटकमा देखाउने हो भने नाटक किन हेर्नुपर्‍यो र ? सिनेमा नै हेर्दा भइहाल्यो नि । नाटकलाई कुनै संकेत र कलाकारको शरीरमा समेत देखाउन सकिन्छ । मेरो आफ्ना लागि स्टेज भनेको सेतो क्यानभास हो । त्यसमा अनेक बिम्वका रुङहरु लगाउन सकिन्छ । बिम्व त हाम्रो शरीरमै छ । नाटकमा यी कला, सौन्दर्य र बिम्व ल्याउन हामीले लाखौं खर्च गर्न जरुरी छैन ।

नाटक र सिनेमालाई तुलानात्मक रुपमा हेर्दा नाटकको आफ्नै उच्च ओहोदा किन ?

नाटक भनेकै सिम्बोलिजम (विम्वात्मकता) हो । सिम्बोलिजम नै यसको शक्ति हो । यसमा कला, सौन्दर्य, प्रतीक र विम्वहरु छन् । जति धेरै हामी विम्वहरु प्रयोग गर्छौं, नाटकमा त्यति नै मिठास आउँछ । रङ्गमञ्च भनेको रङ्गमञ्च नै हो । रङ्गमञ्चको इतिहास हजारौं वर्षको छ । सिनेमाको इतिहास एक/डेढ सय वर्षको छ ।

रङ्गमञ्चको दाँजोमा सिनेमा त हिजो अस्ति मात्र आएको हो । सिनेमा आएपछि विश्वमा नाटक कोल्याप्स हुन्छ भन्थे तर भएन त । यसको दायरा अझै फराकिलो भएर माथि जान्छ । नाटकको मजा सिनेमाको भन्दा बेग्लै छ । नाटक त नाटक नै हो नि ।

पछिल्लो समयका युवापुस्ताले नाटकलाई सिनेमामा भित्रिने भर्‍याङका रुपमा लिएको देखिन्छ । यो प्रवृत्तिलाई चाहिँ कसरी लिनुहुन्छ ?

एउटा सानो चिया पसल राख्नेले सोल्टीजस्तै होटल खोल्ने चाहना राख्न सक्छ । जसलाई ठूलो क्यानभासमा जाने इच्छा हुन्छ । चाहे सिनेमामा जाओस्, चाहे सिरियलमा या नाटकमा जाओस्, एक्टिङ त एक्टिङ नै गर्ने हो ।
सिनेमा, सिरियल अन्य ठाउँमा जानु कुनै अपराध होइन र जानु पनि पर्छ । एकजना नाटकमा खेल्ने कलाकारले सिनेमामा जान्छु भन्ने इच्छा राख्नु नराम्रो होइन । अझ उसले हलिउडमा जान्छु भन्ने इच्छा राख्नुपर्छ । तर, भर्‍याङ चढेपछि त्यही भर्‍याङलाई बिर्सनुहुँदैन ।

आसाम(भारत) को नाटक फेस्टिभलमा नसिरुद्दिन शाहले पनि भनेका थिए, ‘नाटकबाट पैसा आउँदैन तर मलाई सिनेमाभन्दा नाटक राम्रो लाग्छ । ११ महिना सिनेमा गरेपनि एक महिना चाहिँ नाटकलाई दिन्छु ।’

त्यत्रो ठूलो कलाकारलाई पनि नाटकको हुटहुटी रहेछ नि । त्यहाँ मैले उनको एकल अदुभूत नाटक हेरेँ । कलाकारहरु कलाका जुनसुकै विधामा गए पनि नाटकलाई बिर्सनुहुँदैन ।

तपाईंको धारणामा नाटकलाई यसकै स्थानमा दिगो रुपमा लैजान युवापुस्ता अब कसरी अगाडि बढ्नुपर्ला ?

अहिले नाटक मात्र नभएर साहित्य, सङ्गीत, सिनेमा सबैजसो विधामा मैले देखेको समस्या भनेको हामीले हाम्रो कलालाई समाज र परिवारभन्दा अलग हो भनेर प्रमाणित गर्न खोज्यौं । हामीले समाजभन्दा अलग हो है भनेर प्रस्तुत गर्‍यौं । मुख्य समस्या यहीँ छ । हामी समाज भन्दा भिन्न हुन खोज्यौं । आज एकजना कलाकार समाज र परिवारभन्दा आफूलाई अलग ठान्छ । मेरा कतिपय विद्यार्थी भाइबहिनीहरु नाटक सिक्न आएको उनको परिवारलाई थाहा हुँदैन । थाहा भएमा मार्छन् भन्ने उनीहरुको कुरा सुनेर मलाई दुःख लाग्छ । यसका मुख्य दुई कारण छन् :

पहिलो- उसलाई यहाँ अर्थाेपार्जन हुँदैन भन्ने थाहा छ । दोस्रो– यहाँ विकृति छ भन्ने छ । यी दुईवटा कुरालाई हटाउने जिम्मेवारी रङ्गकर्मीहरुलाई छ   

पहिलो- उसलाई यहाँ अर्थाेपार्जन हुँदैन भन्ने थाहा छ । दोस्रो– यहाँ विकृति छ भन्ने छ । यी दुईवटा कुरालाई हटाउने जिम्मेवारी रङ्गकर्मीहरुलाई छ । यो हटाउने प्रयास हामीले कहिल्यै गरेनौं । यसलाई जीवनभन्दा अलग्गै राखिरह्यौं ।

यसमा अहम् छ । सिनेमा, नाटक जुनसुकैको चर्चित कलाकार भए पनि यही समाजको हो । तर, त्यो स्वीकार्न हामी तयार भएनौं । हामीलाई अहमले ग्रसित पार्‍यो । एउटा, दुईवटा वा पाँचवटा मात्र नाटक गर्ने हाम्रो लक्ष्य होइन । जीवनभर नै रङ्गमञ्च विकसित भइरहोस् भन्ने हाम्रो ईच्छा हुनुपर्छ । म रहन्छु या रहँदिन भन्नु भन्दा पनि नेपाली रङ्गमञ्च दिगो र जीवित हुनुपर्‍यो भन्ने हो ।

जिउँदो हुनका लागि रङ्गमञ्च जीवनभन्दा अलग होइन । जसरी एकजना मान्छे बिहान उठेर नित्यकर्म गर्छ, कलेज, अफिस जान्छ, दिनभरि जे काम गरेर जीवित रहन्छ, बेलुका गएर नाटक गर्नुचाहिँ अलग होइन । नाटक गर्नु, रिहर्सल गर्नु पनि जीवनकै हिस्सा र पाटो हो । बाबुआमाले पनि कहाँ गएको छ भन्दा अफिस गएको छ भनेझैँ रिहर्सलमा गएको छ भनिदिओस् । हामी नै जीवनबाट अलग हुन खोजिरहेकाले यो नभनिएको हो ।

जीवन, रङ्गमञ्च र यसको सौन्दर्यलाई एकैसाथ कसरी अगाडि बढाउन सकिन्छ त ?

जीवन र रङ्गमञ्च एकै गर्नलाई अहिले नेपाली रङगमञ्चलाई दुईवटा चीजको खाँचो छ । एउटा– अर्थव्यवस्थाको सिस्टमलाई मितव्ययी बनाउने । कम खर्चमा कसरी नाटक बनाउन सकिन्छ भनेर प्लानिङ बनाउनुपर्छ । अर्को–जीवन र समाजलाई सँगसँगै अगाडि लैजान समयको व्यवस्थापन गर्न जरुरी छ । अर्थ र समयलाई व्यवस्थापन गर्न सक्यौं भने हामीले लामो समयसम्म नाटक गर्न सक्छौं ।

अहिले नाटकको सङ्क्रमणकाल हो । यो अवस्थालाई हामीले सम्झौता गर्नैपर्छ । पाँच/दश लाखमा सेट बनाउनुको सट्टा पाँचवटा जिल्लामा नाटक गरौं  । हाम्रो कलालाई समाजसँग जोडौं   

रिहर्सल गर्दै गर्दा एकजना कलाकारले नाटकसँगै घर, परिवार र जीवनलाई व्यवस्थापन गर्न जान्नुपर्छ । नाटक गर्नकै लागि अफिस वा गरिरहेको काम छोडिरहनुपर्दैन । किनकि दिनभरि काम छाडेर नाटक गर्न हामी सक्दैनौं । व्यक्तिगत खर्च धान्न पनि अरु काम गर्न हामी बाध्य छौं । मैले यसरी नै काम गरिरहेको छु । मैले घर र छोराछोरीहरुलाई हुर्काएर नै ५०÷५५ वर्षदेखि रङ्गमञ्चमा छु । मेरा विद्यार्थीहरुलाई म यही सिकाइरहेको छु ।

यसरी अगाडि बढ्यौं भने एकदिन नाटक मात्र गरेर बस्ने दिन आउँछ । मैले नाटक गर्दा महिलाहरु नै पाइँदैन थिए तर अहिले छन् । हामीले धैर्य गरेमा भोलि अर्को पुस्ता आउँदाखेरि सिनेमा जस्तै नाटक चलेमा हामी दिनभरि रिहर्सल गर्नेछौं । त्यतिबेला समय व्यवस्थापन नगरे पनि हुन्छ । अहिले नाटकको सङ्क्रमणकाल हो । त्यसकारण यो अवस्थालाई हामीले सम्झौता गर्नैपर्छ । आज पाँच/दश लाखमा सेट बनाउनुको सट्टा पाँचवटा जिल्लामा नाटक गरौं न । हामीले हाम्रो कलालाई समाजसँग जोडौं ।

एकजना कलाकारले बनाएको पेन्टिङलाई दुई लाख रुपैयाँको मुल्य राखिदिन्छ । त्यो पेन्टिङ किन्ने त समाजकै मान्छे हो । यसको मुल्य पाँच/दश हजार रुपैयाँ राखिदिउँ न भन्ने उसले ठान्दैन । उसमा अहमता हुन्छ ।

रङ्गमञ्चलाई कसरी अगाडि बढाउने भन्ने भन्दा पनि म कसरी अगाडि बढ्ने भन्ने प्रवृत्तिले रङ्गमञ्चको आजको हाल छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ११ : ३५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज विभिन्न संस्थाबाट

दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउँछौँ : मन्त्री यादव

काठमाडौं– खाने पानीमन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा

आजका समाचार :  परराष्ट्रसहित शीतल निवासमा प्रधानमन्त्री, दशैँमा पनि पानी पर्ने र माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा 

परराष्ट्रमन्त्रीसहित प्रधानमन्त्री शीतल निवासमा, राष्ट्रसंघ महासभाबारे ब्रिफिङ राष्ट्रपति रामचन्द्र पौडेल

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक

५९ पालिका संकटग्रस्त : क्याबिनेटको निर्णय गुपचुप

काठमाडौं– सरकारले असोज दोस्रो साता परेको अविरल वर्षापछि गएको बाढीपहिरो