सहकारी ठगी : थुनछेक बहसमा इजलासभित्रै रोए बाबुछोरी | Khabarhub Khabarhub

सहकारी ठगी : थुनछेक बहसमा इजलासभित्रै रोए बाबुछोरी

दुई सरकारी वकिलले बोलेपछि इजलास स्थगित


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

पोखरा- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सबै सात प्रतिवादीबारे मंगलबारदेखि थुनछेक बहस सुरु भएको छ।

अघिल्लाो साता सोमबारदेखि सुरु भएको बयान मंगलबार सकिएको हो । रविसँगै इजलासमा उनका साझेदार पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङको बयान सकिएपछि थुनछेक बहस अघि बढेको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादीहरूको बयान सकिएपछि थुनछेक बहस थालिएको छ । श्रेस्तेदार राजन खनालका अनुसार प्रतिवादीमध्ये आरती गुरुङको बयान मंगलबार दिउँसो सकिए थियो ।

बहस

दिउँसो ३ बजेदेखि न्यायाधीश राईको इजलासमा सबैभन्दा पहिले जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ताहरू सुजाता पौडेल र शान्ति देवी शर्माले विषय प्रवेशको सुरुवातसहित बहस थालेका थिए ।

उनीहरूले हाल हिरासतमा रहेका सात आरोपीमध्ये कसलाई के अभियोग लगाइएको छ भन्ने कुराबारे विस्तृत रुपमा इजलासमा ब्याख्या गरेका थिए ।

मंगलबार दुईजना सरकारी वकिलले सबै आरोपीमाथि लागेको अभियोगबारे ब्याख्या गरिसकेपछि अपरान्ह ४ बज्नु केही मिनेटअघि न्यायाधीश राईले इजालस स्थगित गरेका थिए । अब यस प्रकरणमा बुधबारदेखि निरन्तर बहस हुनेछ । जाहेरवाला, वादी र प्रतिवादी तीनैतर्फबाट वकिलहरूको लाइन लगाइएकाले थुनछेक बहस सातासम्म लम्बिन सक्ने सम्भावना छ ।

रास्वपा सभापति लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले प्रतिवादीका तर्फबाट पनि वकिलहरू धेरै रहने भएकाले बहस लामो जान सक्नेछ ।

थुनछेक बहस अघि बढेपछि महान्यायाधिवक्ताको कार्यालय काठमाडौंबाट सरकारी वकिलहरु बहसका लागि मंगलबार नै पोखरा पुगिसकेका छन् ।

महान्यायाधिवक्ताको कार्यालयका न‍ायव महान्याधिवक्ताद्वय सञ्जीवराज रेग्मी र प्रकाश गौतम पोखरा पुगेका हुन् । जाहेरवालाकातर्फबाट पनि बहस गर्ने वकिल धेरै पोखरामा जम्मा भएका छन् ।

प्रतिवादी रवि लामिछानेसहितले पनि बहसका लागि वकिलहरूको लाइन लगाएका छन् । वरिष्ठ अधिवक्ताहरू नारायण सुवेदी र हरि बाँस्तोला तथा अधिवक्ताहरू नारायणदत्त कँडेलसहित प्रतिरक्षा बहसका लागि तयार भएका छन् ।

इजलासमै रोए बाबु-छोरी

मंगलबार थुनछेक बहस सुरु भएसँगै ८० वर्षीय प्रतिवादी कृष्णबहादुर गुरुङ र उनकी छोरी मीना गुरुङ न्यायाधीश राईको इजलासमै रोएका छन् ।

पूर्वबेलायती सैनिक वृद्ध कृष्ण गुरुङलाई यसअघि बयानका लागि अस्पतालबाट ल्याउने गरिएको थियो । मंगलबार थुनछेक बहसका लागि पनि उनलाई अस्पतालबाटै अदालतसम्म ल्याइयो । इजलास सकिएपछि उनलाई सहयोगीहरूले बोकेर अदालत परिसरबाहिर निकालेका थिए ।

एकजना अधिवक्ताका अनुसार गुरुङ इजलासभित्रै आफूले कुनै गल्ती नगरेको भन्दै रोएका थिए । उनीसँगै एमालेकी पूर्वप्रदेसभा सदस्यसमेत रहेकी छोरी मीना र उनीकी साथी आरती पनि रुन पुगेकी थिइन् ।

‘सरकारी वकिलले बहसको सुरुवात गरिसकेका थिए । प्रतिवादीमध्ये कृष्णबहादुर यहीँ मरिदिन्छु भन्दै रुन थाल्नुभयो । उहाँ रोएपछि गण्डकी प्रदेशी पूर्वप्रदेशसभा सदस्य मीना गुरुङ पनि रुनु भयो। इजलासमा रुवाबासी चलेपछि श्रीमानले बहस स्थगित गर्नुभयो,’ एक अधिवक्ताले भने ।

आफूले कुनै गल्ती नगरेको भन्दै गुरूङले इजलासमा आँसु खसालेका थिए । ‘मैले केही पनि गरेको थिइनँ भनेर कृष्णबहादुर रुनु भयो । मलाई नखाएको विष लाग्यो भन्ने गुनसो उहाँले गर्नु भयो’, इजलास पुगेका ती अधिवक्ताले थपे, ‘बाबुछोरी नै रुन थालेपछि इजलासमा वातावरण बिग्रिएकाले बहस स्थगित गरियो ।’

सुरुमा विषय प्रवेशसहित कृष्णबहादुरको सन्दर्भमा पनि केहीबेर बहस भएको थियो । त्यसपछि ४ बज्नुअघि बहस स्थगित गरेर भोलि निरन्तरता दिने कुरा भएको छ ।

एमालेकी पूर्वप्रदेशसभा सदस्य एवम् कृष्णबहादुर पुत्री मीना

इजलासबाट बोकेर बाहिर लगेपछि गुरुङले नगरेको अपराधमा यतिसम्म हुर्मत खेप्नु परेको गुनासो सञ्चारकर्मीहरूसँग पोखे ।

‘मैले सन् २०११ तिर सूर्यदर्शन सहकारी स्थापनका क्रममा २५ हजार रुपैयाँ अर्कै व्यक्तिलाई दिएको थिएँ । सहकारी खोल्ने क्रममा दिएको उक्त रकमबारेको अभिलेखकै कारण मलाई मुद्दा चलाइयो’, उनले रुँदै भने, ‘२५ हजार दिएको त्यही अभिलेखका कारण मुद्दा चलाइएको छ । मैले २५ हजार दिएपछि त्यो सहकारीतिर आजपर्यन्त फर्केर पनि हेरेको थिइनँ ।’

गुरुङले बेलायतबाट नेपाल आउँदा आफूलाई पक्राउ गरेर थुनिएको बताए। उनी पेन्सनको खाता रोकिएका कारण त्यसलाई बनाउन नेपाल आएका थिए । त्यहीबेला उनलाई त्रिभुवन विमानस्थलबाट सूर्यदर्शन सहकारी ठगीसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो ।

‘मलाई त दु:ख दिइयो, चित्त कुँडिएर इजलासमै रोएँ’, उनले अदालत परिसरमा भने, ‘मैले कुनै अपराध गरेको थिइनँ । त्यो २५ हजार दिएपछि मैले सहकारीतिर फर्केर हेरिनँ । म बेलायत बस्ने मान्छे पेन्सनको कागजपत्र मिलाउन आउँदा सहकारी ठगेको भनेर दिनुसम्म दु:ख दिए ।’

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गुरुङ र रास्वपा सभापति लामिछानेसहित ५१ जनाविरुद्ध डेढ अर्बभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । उक्त सहकारी ठगीका मुख्य नाइके भनिएका गोर्खा मिडियाका नेट्वर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) अहिले पनि फरार छन् ।

यस प्रकरणमा रविले दुई दिन लामो बयानका क्रममा सहकारी ठगीसहितका आरोपमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए । उता सरकारी वकिलको कार्यालयमा पनि उनले संलग्नता स्वीकारेनन् ।

सरकारी वकिलसँग कृष्णबहादुरको बयान

म ब्रिटिस आर्मीमा नोकरी गरेर अवकास प्राप्त भएपछि सन् १९७२ सालमा नेपालस्थित घरमा आई बस्दै गर्दा मेरो छोरी (मीना गुरुङ)हरूको साथी आरती गुरुङको श्रीमान् राजेश गुरुङले मसमेत ब्रिटिस लाहुरेको घरघरमा आएर तपाईं भूपू सैनिकहरूसँग मिलेर हामीले सहकारी खोल्न लागेका छौं, यसका लागि तपाईंहरूले पनि सहयोग गरिदिनु पर् न्यो, यसबाट तपाईंहरूलाई आवश्यक पर्दा हामीले बैंकले भन्दा राम्रो ब्याजदरमा सहुलियत बापत ऋण प्रदान गर्छौं भनी विभिन्न कुराहरू गरेर विश्वास दिलाएको कारण म समेतको ब्रिटिस लाहुरेहरूले जनही २५ हजार निज राजेश गुरुङलाई उपलब्ध गराएपछि निज राजेश गुरुङ समेतले मिति २०६५।०३।०१ गते म लगायतको व्यक्तिहरूलाई भेला गरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड दर्ता गरी सञ्चालनमा ल्याउने भनी निर्णय गरेर मेरो छोरी मीना गुरुङको अध्यक्षतामा म उपाध्यक्ष रहने गरी तदर्थ सञ्चालक समिति बनाएका हुन् ।

सहकारीको विधान बनाउने लगायतको कार्य पूरा गरी मिति २०६५।०३।२६ मा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीबाट उक्त सहकारी आधिकारिक रुपमा दर्ता गराएपछि पोखरा महानगरपालिका वडा नम्बर ९ सृजनाचोकस्थित घर भाडामा लिई सहकारीको कार्यालय भवन तयार गरेपछि मसमेतलाई बोलाई पूजाआजा गराई सहकारी सञ्चालनमा ल्याएको हो । सो बेला संस्थाको व्यवस्थापकको रुपमा सम्पूर्ण काम राजेश गुरुङले गरेको थियो । त्यसपछि म सन् २०१० सालको अन्तिमतिर वैदेशिक रोजगारका लागि बेलायत गएको हुँ ।

म २०६८ सालमा नेपाल आउँदा राजेश गुरुङले सहकारीको बचत रकम तथा ऋणीहरूबाट उठाएको रकम संस्थामा जम्मा नगरी आफैले लिएर भाग्यो भन्ने कुरा थाहा पाई म उक्त सहकारी पुग्दा निज राजेश गुरुङ सो स्थानमा थिएन । त्यसपछि मैले लगानी गरेको २५ हजार पैसा फिर्ता मागी म उक्त सहकारीमा जान छाडेको थिएँ ।

मिति २०६५/०५/२७ गते बसेको प्रारम्भिक साधरण सभाबाट ज्ञानबहादुर बम्जन अध्यक्ष, मेरो छोरी मीना गुरुङ उपाध्यक्ष, सूर्यध्वज न्यौपाने सचिव, आरती गुरुङ कोषाध्यक्ष, म कृष्णबहादुर गुरुङसहित पेशलकुमार राई र लीलाबहादुर गुरुङ सदस्य तथा सकुन्तला गुरुङ लेखा समिति संयोजक, मिश्र कुमारी गुरुङ र ऋतु ताम्राकारलाई लेखा समिति सदस्यमा निर्वाचित गराएको उक्त समितिको कार्यकाल मिति २०६८।०८।१७ गतेसम्म रहेको र उक्त समयअवधिमा प्रक्रिया पूरा नगरी कर्जा लगानी गरेको देखाई १,५४,४९,८३६.९९ (एक करोड चौवन्न लाख उनान्पचास हजार आठ सय छत्तीस रुपैयाँ उनानसय पैसा) हिनामिना भई हालसम्म उक्त रकमको साँवाब्याज सहकारीमा फिर्ता नभएको कुरा म पक्राउमा परेर आएपछि मात्र थाहा पाएको छु । यस सम्बन्धमा मलाई केही थाहा जानकारी छैन । उक्त रकम हिनामिना गर्ने कार्यमा मेरो कुनै पनि किसिमबाट मिलेमतो संलग्नता रहेको थिएन । यसरी कानुन विपरीत बचत रकम अपचलन भएको उक्त रकम तिर्ने व्यहोर्ने जिम्मेवारी सम्बन्धित अपचलनकर्ताको रहन्छ । म सञ्चालक समितिको सदस्यमा रहेको कारण पदीय जिम्मेवारी अनुसार मैले पनि तिर्न व्यहोर्न पर्ने दायित्व हुन्छ भने म आफ्नो जिम्मेवारी र दायित्व अनुसारको रकम तिर्न, व्यहोर्न मञ्जुर छु भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्णबहादुर गुरुङको बयान ।

मुद्दा

कास्की अदालतले सुनुवाइ सकिएपछि रवि लगायतका आरोपीलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।

त्यही अभियोगमा ५ जनालाई बिगोअनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको थियो । रवि पक्राउ परेको ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको थियो ।

लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिए पनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको थियो ।

लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो ।

रवि लामिछाने र जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेको थियो ।

सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेट्वर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी थियो । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : ०४ बजे

खराब मौसमका कारण दिल्लीमा उडान तथा रेल सेवा प्रभावित

एजेन्सी – बाक्लो कुहिरोले शुक्रबार उत्तरी भारतका उडान र रेल

चीनमा हवाई यात्रु ट्राफिक रेकर्ड उच्च

एजेन्सी – चीनको नागरिक उड्डयन क्षेत्रले गत वर्ष ७३ करोड

पृथ्वी जयन्तीमा राप्रपाले महेन्द्र सालिकदेखि पृथ्वी सालिकसम्म एकता र्‍याली गर्ने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३०३औँ पृथ्वी जयन्तीका अवसरमा

चितवन महोत्सव पुस २५ गतेदेखि, १५ दिनसम्म चल्ने

काठमाडौं – चितवनको नारायणगढस्थित नारायणी किनारमा यही पुस २५ गतेदेखि

इन्डोनेसियामा ३३ वर्ष यताकै बढी गर्मी

एजेन्सी – इन्डोनेसियाले सन् २०२४ मा ३३ वर्ष यताकै तातो