काठमाडौं– नेकपा एमालेको राजनीतिबाट बिदा गरिएका डा. भीमबहादुर रावलले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो आगामी यात्राबारे औपचारिक धारणा सार्वजनिक गरेका छन् ।
उनले आफ्ना कुराहरू राख्दै भावी कार्ययोजना पनि सार्वजनिक गरेका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले नयाँ वैकल्पिक राजनीतिक शक्तिको पनि घोषणा गरे ।
नयाँ पार्टी खोल्ने वा कसरी अघि बढ्ने भन्ने सवालमा रावल केही दिनयता संवादमा थिए । उनले बुधबार देशलाई नयाँ वैकल्पिक राजनीतिक शक्ति चाहिएको बताए । त्यसका लागि राष्ट्रभक्त शक्तिहरूसँग सहकार्यका लागि आफू तयार रहेको पनि रावलले बताए ।
नयाँ पार्टी खोल्ने योजना बुधबार घोषणा घोषणा नगरे पनि चाँडै त्यसलाई मूर्तरुप दिने उनले बताएका छन् । त्यसका लागि आफू चरणबद्ध छलफलमा रहेको पनि उनले खुलाएका छन् ।
एमालेमा चार दशकभन्दा लामो योगदान दिएका रावल चितवनमा भएको दशौँ महाधिवेशनबाट एमालेबाट किनाराकृत भएका थिए । चितवन महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएपछि उनलाई किनारा लगाइएको थियो ।
एमालेमा किनाराकृत भइसकेका रावलको सुदूरपश्चिम र कर्णालीमा राम्रो पकड छ । एमालेले अछाममा अहिलेसम्म जिल्ला अधिवेशन गर्न नसकेको अवस्थामा गत पुस ११ गतेको सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गरेको हो ।
प्रतिक्रिया