काठमाडौं- दोस्रो त्रैमासिक बित्ने बेला हुन लाग्दा समेत मधेस प्रदेश सरकारको विकासे बजेट खर्च एक प्रतिशतमा उक्लिन सकेको छैन । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बैंकहरू ‘साइलक’को नयाँ संस्करण बन्न नहुने बताएका छन् ।
नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जीआइएस) प्रविधिमा आधारित २२०र१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
आजका प्रमुख आर्थिक समाचारहरू
बैंकहरू ‘साइलक’ को नयाँ संस्करण नबनून्
बैंकिङ क्षेत्रबारे मेरो धेरै ज्ञान नभएको हुनाले एउटा नागरिकको नातामा यसलाई एउटा ‘अब्जर्भेसन’का रुपमा मात्रै लिइदिनुहोला । बैंकमा मेरो कारोबार पनि छैन, लगानी पनि छैन । त्यसो हुनाले मेरो कुनै रिस पनि छैन । तर, मेरो अनुभूतिचाहिँ अलिकति फरक किसिमको छ ।
हामीसँग बैंकिङ संस्थाहरु त धेरै नै छन् । बलियै पनि देखिन्छन् । लाभांशहरु बाँडिरहेको देखिन्छ । राम्रै संख्यामा काम गरिरहेको देखिन्छ । अनुभवी सीईओहरुले काम गरिरहनुभएको देखिन्छ ।
बैंकले उत्पादनशील क्षेत्रमा लगानी नगरे समस्या पर्नसक्छ
अहिले देखिएका समस्याहरू बैंकिङ समस्या मात्रै होइन, सम्पूर्ण अर्थतन्त्रकै समस्या हो । हामीले यसलाई यही ढंगले सोच्नुपर्छ । नेपालमा बैंकिङ प्रणालीले वास्तवमा वित्तीय क्षेत्रमा रूपान्तरण पनि गरेको छ । बार्टर सिस्टमबाट हामीले मनिटाइज सिस्टममा कन्भर्ट गर्यौं, त्यो रूपान्तरण हो ।
मनिटाइज सिस्टमबाट हामीले फाइनान्सलाइजेसन गर्यौं, त्यो रूपान्तरण हो । अहिले फाइनान्सियल सिस्टमबाट हामी डिजिटाइजेसनतर्फ गइराखेका छौं, यो रूपान्तरण हो ।
नेपालमा होटल-रेस्टुरेन्टको सङ्ख्या एक लाख ४२ हजार
नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० को प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या एक लाख ४२ हजार दुई सय २३ छ ।
मधेसमा विकास बजेट खर्च निराशाजनक, ०.०५ प्रतिशत मात्रै खर्च
दोस्रो त्रैमासिक बित्ने बेला हुन लाग्दा समेत मधेस प्रदेश सरकारको विकासे बजेट खर्च निराशाजनक रहेको छ । कुनै पनि आर्थिक वर्षमा प्रदेश सरकारले सन्तोषजनक रूपमा बजेट खर्च गर्न सकेको अवस्था देखिएको छैन ।
सङ्घीय सरकारले आवश्यकताअनुसार बजेट उपलब्ध नगराएको गुनासो गर्ने प्रदेश सरकारले संघीय सरकारकै अनुदानलाई आधार मानेर बनाएको बजेट खर्च गर्ने क्षमताको भने विकास गर्न सकेको छैन ।
चालु आर्थिक वर्ष २०८१-८२ को पाँच महिना बित्दा समेत विकासे बजेट खर्च अति कै न्यून रहेको छ । मधेस सरकारले चालुतर्फ १६ अर्ब ७ लाख र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार गरी चालु आवमा ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट ल्याएको थियो ।
नप्सेमा सामान्य वृद्धि, कारोबार ३ अर्बमा सीमित
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.१० अंकले बढेको छ । आज नेप्से ०.१९ प्रतिशतले बढेर २५८१.६० विन्दुमा पुगेको हो । नेप्सेमा हरियाली देखिँदा कारोबार भने निराशजनक देखिएको छ ।
आज दिनभरमा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको ९४ लाख ३४ हजार ९ कित्ता शेयर मात्र कारोबार भएको छ ।
२२० केभी क्षमताको मार्कीचोक सबस्टेसन तयार
तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जीआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत प्रवाह गरी (चार्ज) सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
फागुन १६ र १७ गते काठमाडौंमा रोजगार सम्मेलन
पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आन्तरिक रोजगार प्रवर्द्धन दशकको अवधारणालाई मूर्त रूप दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको जनाएको हो ।
समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले यस वर्ष इलाममा धान उत्पादन घटेको छ । यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ ।
गत वर्ष ११ हजार दुई सय २२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३९ हजार दुई सय ११ मेट्रिक टन धान उत्पादन भएको थियो ।
स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री
यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो । उत्पादिमध्ये ९० प्रतिशत बिक्री भएको उनले बताए।
मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याइने
मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउने सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा ‘ग्याँस इन्सुलेटेड प्रणाली’ (जिआइएस) प्रविधिमा आधारित २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको हो । त्यस्तै, मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत् प्रवाह ९चार्ज० गरी सञ्चालनमा ल्याइएको हो ।
अन्नपूर्णमा अहिले सम्मकै बढी पर्यटक, दुई लाख ४४ हजार बढी विदेशीले गरे भ्रमण
पदयात्राका लागि विश्व प्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् ।
ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।
ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित बन्दीपुर भ्रमण वर्ष २०२५ को भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज शुभारम्भ गरेका छन् ।
सांसद भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो । बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहाँको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।
प्रतिक्रिया