काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराराष्ट्रपति जेडी भेन्स र युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच शुक्रबार राति ह्वाइट हाउसमा चर्काचर्की परेको छ ।
यस क्रममा ट्रम्प-भेन्स र जेलेन्स्की एक-अर्कालाई औँलो देखाउँदै गरेको अवस्थामा सार्वजनिक भए । ट्रम्पले कयौँ पटक जेलेन्स्कीलाई हपारिरहे । उनले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध गराउने जुवा खेलिरहेको कडा आरोपसम्म लगाए ।
ह्वाइट हाउसको इतिहासमा दुई राष्ट्रअध्यक्ष सञ्चारमाध्यमसामु यसरी भिडेको पहिलो पटक हो । कुनै पनि विदेशी पाहुनासँग अमेरिकी राष्ट्रपति यसरी आक्रमक रुपमा देखिएको पनि यो पहिलो हो । तनावका कारण दुई नेताबीचको संवाद पनि पूरा हुन पाएन । अमेरिका-युक्रेनबीच मिनरल्स (बहुमूल्य खनिज पदार्थ) बारेमा सम्झौता हुनु थियो ।
वार्ता भाँडिएर ट्रम्पले ह्वाइट हाउस छाड्न भनेपछि जेलेन्स्की लण्डन पुगिसकेका छन् । जहाँ पुगेर पनि उनले अमेरिकासँग सम्झौता गर्न तयार रहेको बताउँदै तर सुरक्षा ग्यारेन्टी चाहिने बताएका छन् ।|
अमेरिकी राष्ट्रपतिसँग रातो पिरो हुनेगरी बाझाबाझपछि जेलेन्स्कीको पक्षमा अहिले पूरा युरोप उभिएको छ । फ्रान्स, जर्मनी, बेलायतसहित युरोपका शक्ति राष्ट्रले जेलेन्स्कीलाई साथ दिने बचन तत्कालै दिइसकेका छन् ।
१. सुरुमा ह्वाइट हाउसमा स्वागत गर्न पुगेका ट्रम्पले भनेका थिए- जेलेन्स्की राम्रोसँग तयार भएर आएका रहेछन् ।

जेलेन्स्की शुक्रबार राति करिब १० बजे ह्वाइट हाउस पुगेका थिए । यस्तोमा ट्रम्प उनलाई लिन ढोकासम्मै पुगेका थिए । त्यसबेला दुवैले हात मिलाउँदा वातावरण पनि सौहार्द थियो । त्यसपछि ट्रम्पले जेलेन्स्की तर्फ इशारा गर्दै सञ्चारमाध्यमका प्रतिनिधिलाई भने- यिनी राम्रोसँग तयार भएर आएका छन् ।
२. औपचारिक रुपमा वार्ता सुरू भएको केही बेरपछि जेलेन्स्कीले ट्रम्पलाई रुस-युक्रेन युद्धका तस्बिर पनि देखाए ।
त्यही क्रममा दुवै राष्ट्रपति ह्वाइट हाउसभित्रको ओभल हाउसमा पुगे । त्यहाँ सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक वार्ता सुरु भयो । त्यहीबेला ट्रम्पले भने- यदि आफू र जेलेन्स्की मिलेर रूस-युक्रेन युद्ध रोक्न सकेमा यो धेरै राम्रो हुनेछ । ट्रम्पले यति भनिसकेपछि जेलेन्स्कीले ट्रम्पलाई युद्धका तस्बिर देखाउन सुरु गरे ।
३. हात बाँधेर बसेका जेलेन्स्की केही बोल्न खोज्दै थिए, तर तत्कालै उपराष्ट्रपति भेन्सले रोकेसँगै त्यहाँ एक प्रकारको बहस सुरु भयो । जसले विश्वराजनीतिमा केही बेरमै यति खलबली मच्चाउने कसैले कल्पना पनि गरेका थिएनन् ।
जेलेन्स्कीले भने, ‘शान्तिका लागि हुने सहमतिमा रूसी राष्ट्रपति पुटिनसँग कोही समझौता हुनु हुँदैन ।’ ट्रम्पले भने, ‘हामी चाहन्छौँ कि यो युद्ध चाँडोभन्दा चाँडो सकियोस् । आशा छ हामीले धेरै सेना पठाउनु नपरोस्। म खनिज सम्झौताको प्रशंसा गर्दछु। किनकी हामीलाई त्यसको आवश्यकता थियो । हाम्रो देशप्रति अब उचित व्यवहार गरिदैछ ।’

ट्रम्पले फेरि बोल्दै भने- यदि मैले रूस र युक्रेन दुवैसँग तालमेल नराखेको भए कुनै सम्झौता हुन सक्ने थिएन । म न त पुटिनसँग छु न कोही अरुसँग । म त केबल अमेरिकाको साथमा छु ।
यसैबीच सँगै बसेका जेलेन्स्की केही बताउन खोजिरहेका थिए तर त्यहीबीचमा अमेरिकी उपराष्ट्रपति भेन्सले चिढ्याउन खोजे । ३० मिनेट बितिसकेको अवस्थामा अब संवाद बहस र विवादतिर बढिसकेको थियो ।
भेन्स : युक्रेनमा शान्ति र समृद्धिको बाटो कूटनीतिबाट नै निकाल्न सकिन्छ । राष्ट्रपति ट्रम्प यही गरिरहेका छन् । तपाईं (जेलेन्स्की) को रवैया एकदमै असम्मानजनक छ । यो सही कूटनीति होइन र हुन सक्दैन । यस युद्धलाई रोक्ने पहल लिएकोमा तपाईंले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनु पर्छ ।
जेलेन्स्की (भेन्ससँग)- सन् २०१४ मा जब रूस-युक्रेन युद्ध सुरुरू भयो, तब कयौँ पटक वार्ता भएकै हो । सन् २०१९ मा मैले एक सम्झौतामा हस्ताक्षर गरेँ । त्यसबेला मलाई युद्धविराम लागु हुने भरोसा दिइयो । सम्झौतापछि दुवैतर्फबाट कैदीलाई रिहा गरिने बताइयो । तर पुटिनले त्यस सम्झौतालाई तोडिदिएर सन् २०२२ मा हामीमाथि ठूलो हमला गरिदिए ।
जेलेन्स्की (भेन्सतर्फ हेर्दै) : यो कस्तो कूटनीति हो, जेडी भेन्स? यसको अर्थ के हो ?
भेन्स : म त्यस कूटनीतिको कुरा गरिरहेको छु, जसले तपाईंको देशमा भइरहेको बर्बादीलाई रोक्नेछ ।
भेन्स : मलाई लाग्छ, ओभल अफिसमा आएर यसलाई अमेरिकी सञ्चारमाध्यमसामु उठाउनु तपाईंको अपमानजनक रवैया हो । तपाईं सिमानामा कमजोर हुनु भएको छ, किनकि तपाईंसँग चाहिने जति सैनिक छैनन् । तपाईंले त राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुपर्छ किनकि उहाँले त युद्धमा तपाईंको साथ दिनु भएको छ ।

४. जेलेन्स्कीले भेन्ससँग चर्को आवाजमा कुरा गर्न थालेका थिए । त्यहीबेला ट्रम्पले उनलाई हपारे ।
जेलेन्स्की (भेन्सको कुरा काट्दै) : के तपाईं युक्रेन जानु भएको छ ? तपाईले कहिले देख्नु भएको छ, वहाँ हामी कस्तो संकट र दु:ख झेलिरहेका छौँ ? कृपया एक पटक आएर हेर्नुहोला…।
भेन्स : मैले यसबारेमा पढेको छु, देखेको छु । तर के तपाईंलाई लाग्न सक्छ, जुन देशको प्रशासनप्रति अपमानजनक रवैया देखाउनु सही हो, जो तपाईंको देशको बर्बादी रोक्न चाहन्छ ।
जेलेन्स्की : जब तपाईं युद्धमा हुनु हुन्छ नि, त्यसबेला सबैसँग समस्या र तनाव हुन्छन् । भविष्यमा यस युद्धको असर अमेरिकामाथि पनि पर्नेछ ।
(ट्रम्प यो संवाद सुनेपछि झस्किँदै यस संवादमा जोडिएर बहस गर्न थाल्छन्)
ट्रम्प : हामीलाई कस्तो लाग्छ र लागिरहेको छ भन्ने कुरा बताइरहनु आश्यक छैन । तपाईं हामीलाई हामी कस्तो महसुस गरिरहेका छौँ भन्ने कुरा बताइरहनु आवश्यक छैन ।
जेलेन्स्की : म तपाईंलाई बताइरहेको छैन, भनिरहेको छैन। म त केबल यिनी (भेन्स) को प्रश्नको जवाफ दिइरहेको छु… । (ट्रम्पले फेरि जेलेन्स्कीलाई चुप लगाउँछन्।)

५. ट्रम्पले भने- तपाईं मानिसहरूको जिन्दगीसँग खेलिरहनु भएको छ । त्यसबेला जेलेन्स्कीले केही नभनी नजर घुमाए ।
ट्रम्प (औँला देखाउँदै) : तपाईं अहिले हामीलाई केही पनि कुरा बताउने स्थितिमा हुनु हुन्न । तपाईंसँग चाल्न सक्ने कुनै विकल्प र चाल बाँकी बचेको छैन । तपाईं लाखौँ मानिसको जीवनसँग खेलिरहनु भएको छ । तपाईं तेस्रो विश्वयुद्धको सम्भावनासँग जुवा खेलिरहनु भएको छ । तपाईं यो देश (अमेरिका) को अपमान गरिरहनु भएको छ ।
जेलेन्स्की (बीचमा बोल्दै) : हामीले कोही चाल चालेका छैनौँ । म एकदमै गम्भीर छु । म युद्ध लडिरहेको देशको राष्ट्रपति हुँ। यस युद्धको सुरूवातदेखि नै हामी एक्लै परेका छौँ । यसका लागि हामी आभारी छौँ ।
यस संवादमा फेरि एक पटक उपराष्ट्रपति भेन्सको प्रवेश हुन्छ ।
भेन्स : के तपाईंले यस बैठकमा अमेरिकालाई एक पटक पनि धन्यवाद भन्नुभयो ?
जेलेन्स्की : हो कयौँ पटक, यहासम्म कि आज पनि…
भेन्स : होइन, तपाईं अक्टोबरमा पेन्सिभेनिया गएर त्यहाँ हाम्रा विपक्षी (डेमोक्रेटिक उम्मेदवार) का लागि प्रचार गर्नु भयो । अमेरिका र राष्ट्रपतिका लागि केही धन्यवादका शब्द त भन्नुस्, आभारी त हुनुस् । जसले तपाईंको देश बचाउने कोसिस गरिरहेका छन्, उनीप्रति अनुग्रहित हुनुस् ।
जेलेन्स्की : युद्धकोबारेमा तपाईं त्यसरी सोच्नु होला, तपाईं चर्को आवाजमा बोलिरहुन भएको छ।
(ट्रम्प उनीहरूको संवादको बीचमा अवरोध गर्दै)
ट्रम्प : उनी (भेन्स) ठूलो आवाजमा बोलिरहेका छैनन् । तपाईंको देश ठूलो संकटमा छ ।
६. जेलेन्स्की फेरि पनि आफ्नो कुरा राख्ने कोसिस गर्छन् । तर ट्रम्पले उनलाई बोल्नै दिँदैनन् ।

ट्रम्प : होइन, होइन तपाईं धेरै बोलिसक्नु भएको छ । तपाईंको देश ठूलो संकटमा छ ।
जेलेन्स्की : मलाई थाहा छ, त्यो कुरा मलाई राम्ररी थाहा छ ।
ट्रम्प (कडा रुपमा प्रस्तुत हुँदै) : तपाईं यो युद्ध जितिरहनु भएको छैन । तर हाम्रो कारण तपाईंसँग यस युद्धबाट सही र सुरक्षित रुपमा बाहिर आउने राम्रो मौका छ ।
जेलेन्स्की (ट्रम्प बोल्दा बोल्दै आफ्ना भनाइ राख्ने कोसिसमा…) : युद्धको सुरुआतदेखि नै हामी त एक्लै छौँ नि… (बीच जेलेन्स्की आफ्नो भनाइ राख्ने कोसिस गर्छन् । तर, ट्रम्प उनलाई बोल्दै दिँदैनन् ।)
ट्रम्प : तपाईं एक्लै हुनुहुन्थेन । हामीले तपाईंको मूर्ख राष्ट्रपति (बाइडेन) मार्फत् करिब ३५० अर्ब डलर दियौँ । तपाईंलाई सैन्य उपकरण दियौँ । यदि हामीले हतियार नदिएको भए त युद्ध दुई हप्तामै सकिने थियो ।
जेलेन्स्की : ३ दिन… पुटिनले भनेका थिए कि ३ दिनमा नै सबै समाप्त हुनेछ । ट्रम्प : यस कुराको कुनै तुक र अर्थ छैन… यस किसिमले सम्झौतामा पुग्न बहुत मुस्किल हुन्छ । तपाईंले आफ्नो दृष्टिकोण परिवर्तन गर्नु जरुरी छ ।
७. ट्रम्पले जेलेन्स्कीको युद्धविरामवाला भनाइको नक्कल गरे ।
(वार्ताको बीचमा एक एक पटक फेरि भेन्सको प्रवेश हुन्छ)
भेन्स : अब छोडिदिनुस्, धन्यवाद भनिदिनुस् ।
जेलेन्स्की : मैले कयौँ पटक यो कुरा भनिसकेको छु ।
भेन्स : तपाईं सञ्चारमाध्यमसामु यस्तो बोलिरहनु भएको छ। तर हामीलाई थाहा छ, तपाईं गलत हुनुहुन्छ ।
(यस वार्तामा फेरि ट्रम्पको प्रवेश हुन्छ)
ट्रम्प : तपाईंले धन्यवाद दिनु जरूरी छ । मानिसहरू मरिरहेका छन् । तपाईं युद्धमा धेरै पछाडि पर्नु भएको छ । तपाईं सदैव युद्धविराम गर्दिनँ भनिरहनु भएको छ । (जेलेन्स्कीको नक्कल गर्दै) तर तपाईंले यही गर्नु आवश्यक छ ।
ट्रम्प : यदि अहिले युद्धविराम हुन सकेमा म तपाईंलाई यही गर्न भन्छु, ताकि गोली चल्न बन्द होस् ।
जेलेन्स्की (शान्त लवजमा) : बिल्कुल, म युद्ध रोक्न चाहन्छु । म यस्तो युद्धविराम चाहन्छु, जसमा ठोस ग्यारेन्टी र प्रतिबद्धता होस् । तपाईं युक्रेनी जनतासँग सोध्नुहोला, युद्धविरामबारेमा उनीहरू के सोच्छन्, के भन्छन्, के चाहन्छन् ?
८. जेलेन्स्की ह्वाइट हाउसबाट निक्लिएर होटलतिर लागे ।

अन्तिममा ट्रम्प र जेलेन्स्कीले सामाजिक सञ्जालमा आफ्ना आफ्ना कुरा राखेर बचाउमा उत्रिए । जेलेन्स्कीले त आफूलाई अपमान गरे पनि सहयोगका लागि अमेरिकालाई धन्यवाद दिए ।
जेलेन्स्कीसँगको वार्ता भाँडिएपछि ट्रम्पले लेखे- जेलेन्स्की तब फर्किएर आऊ, जब तिमी शान्तिका लागि तयार हुनेछौ ।
ट्रम्पले ट्रुथ सामाजिक सञ्जालमा लेखे, ‘आज ह्वाइट हाउसमा हामीबीच धेरै अहम् बैठक भयो । हामीले यस्ता कुरा थाहा पायौँ, जुन दबाबपूर्ण चर्चाबिना कहिल्यै बुझ्न सकिँदैथियो । अचम्म त के छ भने भावनाहरूबीच के के अगाडि आउँछन् । मैले एउटा कुरा बुझेँ, यदि अमेरिका शान्ति ल्याउने कोसिस गरिरहन्छ भने राष्ट्रपति जेलेन्स्की शान्तिका लागि तयार हुने छैनन् । किनकि उनलाई लाग्छ, हामीबीचको वार्तामा ठूलो फाइदा मिल्नेछ । म कुनै फाइदा चाहन्न, म शान्ति चाहन्छु । जेलेन्स्कीले अमेरिकाको सम्मानित ओभल अफिसमा नै अमेरिकाको अपमान गरे । उनी फेरि आउन सक्नेछन् जब वास्तवमै शान्तिका लागि तयार हुनेछन् ।’
जेलेन्स्कीले भने- सहयोगका लागि अमेरिकालाई धन्यवाद !
विश्वराजनीतिमा तरंग ल्याउने यो वादविवादपछि पनि जेलेन्स्कीले एक्स पोस्टमा अमेरिकालाई धन्यवाद दिएका छन् । उनले लेखे, ‘धन्यवाद अमेरिका, तपाईंको समर्थनका लागि धन्यवाद ! यस यात्राका लागि धन्यवाद ! धन्यवाद अमेरिकी राष्ट्रपति, कांग्रेस र अमेरिकी जनता । युक्रेनलाई न्यायसंगत र स्थायी शान्तिको जरूरत छ। हामी ठीक त्यसैका लागि काम गरिरहेका छौँ ।

खनिज सम्झौता गर्न गएका थिए जेलेन्स्की
जेलेन्स्की र ट्रम्पबीच यस वार्ताका क्रममा खनिज सम्झौतामा हस्ताक्षर हुनु थियो । तर अब यो सम्झौता पनि रद्द भएको छ । युक्रेन सुरक्षा ग्यारेन्टी लिएर अमेरिकालाई रेयर अर्थ म्याटेरियल (दुर्लभ खनिज) दिन तयार थियो । यस सम्झौताको साटो अमेरिकाले युक्रेनमा पुनर्निर्माणका लागि सहयोग गर्ने कुरा थियो ।
ट्रम्प एक महिनादेखि युक्रेनमाथि दुर्लभ खनिज दिनु भनेर दबाब बनाइरहेका थिए । यस्तो नभएपछि ट्रम्पले युक्रेनमा अमेरिकी सहयोग रोक्ने धम्की पनि पटक पटक दिँदै आएका थिए । खनिज नदिने बताए पनि उनले जेलेन्स्कीलाई तानशाहको संज्ञा पनि दिएका दिएका थिए ।
ट्रम्पले तानशाह भन्दै धम्की दिएपछि झुक्न बाध्य भएका जेलेन्स्की ओभल हाउसमै अमेरिकालाई औँला देखाएर बेलायतको लण्डन पुगेका छन् । युरोपेली युनियनको सदस्य नभए पनि बेलायतले समेत युक्रेनलाई साथ दिने बताइसकेको छ । उता ईयु राष्ट्र प्रमुख सबैजसोले जेलेन्सीलाई आफूहरू साथमा रहेको भनेर ढाडस दिइसकेका छन् ।
प्रतिक्रिया