काठमाडौं– नेपालमा शङ्कास्पद कारोबारको सङ्ख्यामा उच्च वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको तथ्याङ्कले पछिल्ला वर्षहरूमा निरन्तर रूपमा नेपालमा शङ्कास्पद कारोबारको सङ्ख्यामा उच्च वृद्धि हुँदै गएको देखाएको हो ।
तथ्याङ्कअनुसार सन् २०१६–०१७ मा नेपालमा एक हजार ५३ वटा शङ्कास्पद कारोबार गरेको देखिएकोमा २०२३–०२४ मा उक्त सङ्ख्यामा वृद्धि भएर ७ हजार ३३८ पुगेको थियो । सन् २०२०–२१ सम्म आउँदा एक हजार ३३ कारोबार भएकोमा पछिल्लो ३ वर्षमा यो सङ्ख्या ह्वात्तै बढेर ७ हजार ३३८ पुगेको हो ।
शङ्कास्पद कारोबार मध्ये सबैभन्दा धेरै सङ्ख्या वाणिज्य बैङ्कमा छ । त्यसपछि क्रमशः विकास बैङ्क, फाइनान्स, माइक्रो फाइनान्स, बीमा, रेमिट्यान्स, सेक्युरिटी, सहकारी लगायतमा रहेको तथ्याङ्कले देखाएको छ । सन् २०१९–२० मा वाणिज्य बैङ्कमा शङ्कास्पद कारोबारको सङ्ख्या ९२४ वटा देखिएकोमा २०२३–२४ मा आइपुग्दा ६ हजार १८१ पुगेको वित्तीय जानकारी इकाईकाे प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, २०२३–२४ मा विकास बैङ्क, फाइनान्स, लघुवित्त, बीमा, रेमिट्यान्स, सेक्युरिटी, सहकारी, पीएसपी/पीएसओएसमा क्रमशः ४९१, २१७, १२, ६२, १२६, ५२, ८ र १८१ वटा शङ्कास्पद कारोबार भएको सोही इकाईको प्रतिवेदनमा जनाइएको छ ।
सबैभन्दा धेरै सङ्ख्या सम्पत्ति शुद्धीकरण सम्बन्धी
इकाईको प्रतिवेदनले नेपालमा शङ्कास्पद कारोबार भएकामध्ये सबैभन्दा धेरै सम्पत्ति शुद्धीकरणसम्बन्धी हुनसक्ने प्रतिवेदनमा उल्लेख छ । २०२३–२४ मा भएका शङ्कास्पद कारोबार मध्ये ३ हजार ४१७ वटा कारोबार सम्पत्ति शुद्धीकरणसँगै सम्बन्धित हुनसक्ने अनुमान प्रतिवेदनमा छ ।
त्यस्तै, सोही वर्षमा करसँग सम्बन्धित २ हजार ४९८, पैसा/बैंकिङ/वित्त/मुद्रा सटहीसँग सम्बन्धित २ हजार १७, फर्म/साझेदारी/कम्पनी/एसोसिएट सम्बन्धित ६८१, फ्रडसँग सम्बन्धित ९२७, चिठ्ठा/खेल/सहयोग सम्बन्धी ४२८ र भ्रष्टाचार तथा घुसखोरी ५४ वटा शङ्कास्पद कारोबार भएको हुनसक्ने इकाईको अनुसन्धानले देखाएको छ ।
प्रतिवेदनअनुसार जालसाजी, यातायात, शिक्षा, स्वास्थ्य, औषधि, मानव ओसारपसार, स्मग्लिङ, नागरिकता तथा पासपोर्ट, घरजग्गा कारोबार, अपराध, चोरी लगायतका विषयमा जोडिएर पनि ठूलो सङ्ख्यामा शङ्कास्पद कारोबार भएको हुनसक्ने देखिएको छ ।
सन् २०२३–२४ मा प्राप्त भएका कुल सीमा कारोबारको संख्यामध्ये गोएएमएल प्रणालीबाट ९१.०५ प्रतिशत रहेको र सोही अवधिमा प्राप्त भएका कुल शङ्कास्पद कारोबारको संख्यामध्ये ९९.२२ प्रतिशत उक्त प्रणालीबाट प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ । तर, इकाईले प्राप्त भएका सबै शङ्कास्पद कारोबारलाई भने पूर्ण अनुसन्धानमा लैजान नसकेको समेत देखिएको छ ।
सन् २०२३–२४ मा अनुसन्धान इकाईमा प्राप्त ७ हजार ३३८ वटा शङ्कास्पद कारोबारमध्ये जम्मा एक हजार ६३५ वटा कारोबारको मात्रै अनुसन्धान गरेको इकाईले जनाएको छ ।
सीमा कारोबारको सङ्ख्यामा भने घट्दै
वित्तीय जानकारी इकाईको प्रतिवेदनअनुसार अध्ययन गरिएको समयमा नेपालमा शङ्कास्पद कारोबारको सङ्ख्यामा तीव्र वृद्धि हुँदै गएको देखिए पनि सीमा कारोबारको सङ्ख्या भने घट्न पुगेको छ । बैङ्क, वित्त, बीमा, रेमिट्यान्स, घरजग्गा कारोबार, मुद्रा सटही, क्यासिनो लगायतका क्षेत्रमा नेपाल राष्ट्र बैङ्कले कारोबार सीमा लागू गरेको छ ।
सन् २०१९–२० मा २४ लाख ८५ हजार ३६१ वटा तोकिएको सीमाभन्दा बढीको कारोबार भएकोमा सन् २०२३–२४ मा १८ लाख ४९ हजार ६२८ मा झरेको थियो ।
‘शङ्कास्पद कारोबारको सङ्ख्या अझै बढ्न सक्छ’
वित्तीय जानकारी इकाईका निर्देशक बासुदेव भट्टराईले तथ्याङ्क तथा अनुसन्धानले पछिल्ला वर्षहरूमा नेपालमा शङ्कास्पद कारोबारको सङ्ख्यामा वृद्धि हुँदै गएको र यस्तो सङ्ख्या आगामी दिनमा थप वृद्धि हुनसक्ने बताएका छन् । खबरहबसँग कुराकानी गर्दै निर्देशक भट्टराईले पछिल्ला वर्षहरूमा गोएमएल प्रणालीमा रिर्पोटिङ गर्ने निकायहरूको सङ्ख्यामा वृद्धि हुँदै गएकाले सङ्ख्यामा वृद्धि भएको बताए ।
प्रतिवेदनअनुसार गोएमएलमा प्रणालीमा आबद्ध सूचक संस्था, कानून कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको सङ्ख्या आर्थिक वर्ष २०८०–८१ सम्म एक हजार ६३९ वटा पुगेको छ ।
प्रतिक्रिया