गभर्नर सिफारिस समितिमा महाप्रसाद - विज्ञको टिप्पणी : ‘स्वार्थको द्वन्द्व’ | Khabarhub Khabarhub

गभर्नर सिफारिस समितिमा महाप्रसाद – विज्ञको टिप्पणी : ‘स्वार्थको द्वन्द्व’


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले गभर्नर सिफारिस समितिमा भर्खरै कार्यकाल सकेर बाहिरिएका पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

गभर्नर सिफारिस समितिका तत्कालीन सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले गत ९ वैशाखमा राजीनामा दिएपछि उनको स्थानमा अधिकारीलाई नियुक्त गरिएको हो ।

तर, भर्खरै कार्यकाल सकेर बाहिरिएका व्यक्तिलाई गभर्नर सिफारिस समितिमा नियुक्त गर्नु उचित नभएको विज्ञहरूले जनाएका छन् । भर्खरै गभर्नरको भूमिकाबाट बाहिरिएका व्यक्तिलाई नै नयाँ गभर्नरको सिफारिस समितिमा राख्दा स्वार्थ बाझिनसक्ने उनीहरूको भनाइ छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा गभर्नर नियुक्ति सिफारिस समिति बनाउँदा अर्थमन्त्रीको नेतृत्वमा एकजना पूर्वगभर्नर र एकजना आर्थिक, बैंकिङ, मौद्रिक, वित्तीय तथा वाणिज्य कानुनी क्षेत्रका लब्धप्रतिष्ठितमध्येबाट एकजनालाई सिफारिस गर्न सक्ने व्यवस्था छ ।

कानुनको कोणबाट गलत नभए पनि नैतिक र स्वार्थ बाझिने कोणबाट गलत भएको उनीहरूको तर्क छ ।

पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले सरकारले आफ्नो अनुकुलको गभर्नर नियुक्त गर्नसक्ने भनिए पनि ‘भर्खरै बाहिरिएका व्यक्ति फेरि समितिमा बसेर काम गर्न मिल्छ ?’ भन्ने विषय उठाउन सकिने बताए ।

भर्खरै राष्ट्र बैंकबाट बाहिरिएका व्यक्तिसँग जोडिएका कतिपय सवालहरू त्यहाँ बाँकी रहेका हुने उनले बताए । तिनै व्यक्तिको सिफारिसबाट नयाँ गभर्नर नियुक्त हुँदा स्वार्थ बाझिन सक्दैन भन्ने प्रश्नमा नेपालले त्यस विषयलाई उठान गर्न सकिने बताए ।

एकजना पूर्व सचिवले नाम उल्लेख नगर्ने गरी कानुनअनुसार गलत नदेखिए पनि सरकारले अत्यन्तै गलत अभ्यास गरेको बताए ।

‘यो गर्न हुने काम नै होइन, जुन सरकारले उहाँलाई मनोनीत गरेको थियो, त्यही सरकार भएको बेला उहाँ नै सिफारिस समितिमा रहनु स्वतः आग्रहीपन भइहाल्यो’, उनी भन्छन्, ‘कानुनी भन्दा पनि नैतिक र व्यवहारिक पक्ष हेरेर विश्वास आर्जन गर्नुपर्ने हुन्छ, त्यस्तो अवस्थामा भर्खरै गएको व्यक्तिले सिफारिस गरे त आफूले चाहेको व्यक्ति वा आफ्नो आग्रह वा आफूले कुनै संस्थालाई फेबर गर्न खोजेको छ भने त्योअनुसारको सिफारिस गर्न सक्नुहुन्छ नि !’

त्यस्तै अर्का एकजना पूर्वअर्थसचिवले पनि यो सरासर ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भएको तर्क गरेका छन् ।

पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले भने महाप्रसाद अधिकारी पूर्वगभर्नर भइसकेकाले सरकारले सिफारिस गर्न सक्ने बताएका छन् । उनले विगतमा गभर्नर नियुक्तिमा अहिलेको जस्तो समस्या नपरेको र सरकारले अप्ठ्यारो स्थितिमा अधिकारीलाई नियुक्त गरेको बताए ।

‘विगतमा यस्तो समस्या नै परेन नि त ! भएकैले छोडेर हिँड्दिएपछि अर्को पनि आएर म बस्दिनँ भन्दियो भने त सरकारलाई समस्या हुन्छ’, उनी भन्छन्, ‘उहाँ त्यहाँ दुईजना डेपुटी गभर्नरलाई कजाएर बस्नुभएको थियो, इन्टिग्रिटी भन्ने कुरा भने व्यक्ति आफैँले सोच्ने कुरा हो, मलाई त सरकारले गरेको यो काम अन्यथा भन्न मिलेन जस्तै लाग्छ ।’

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच अड्किएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अझैसम्म अघि बढेको छैन ।

समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिसका लागि एउटा पनि बैठक राख्न नसकेपछि भट्टराईले पद छाडेका थिए ।

मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक ऐन, २०५८ अनुसार चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । जसमा पूर्वगभर्नर डा. विजयनाथ भट्टराई र डा. विश्वनाथ पौडेल सदस्य रहेका थिए ।

तर, सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस दुवैले गभर्नरमा आफ्नो दाबी गरिरहँदा अझैसम्म सहमति बन्न सकेको छैन । यस्तोमा पूर्वगभर्नर भट्टराई समितिबाट बाहिरिएपछि सरकाले आफ्नो सहजताका लागि अधिकारीलाई भित्र्याएको हो ।

यसअघि एमाले र कांग्रेसबीच गभर्नर नियुक्तिमा सहमति भएको बताइएको थियो । दुवै दलका नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ‌ओलीबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको दुवै दलका नेताहरूले बताएका थिए ।

दुई नेताको सहमतिकै आधारमा गभर्नरको बाटो खुलेपछि भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट वैशाख ५ गते राजीनामा दिइसकेका छन् । तर राष्ट्र बैंकको नयाँ गभर्नरका लागि कांग्रेस र एमाले दुवैतिरका बिचौलियाको दौडधूप अझै जारी छ ।

भट्टले राजीनामा दिएको भोलिपल्टै नयाँ गभर्नरका लागि सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाउने चर्चा थियो । तर तीन साता हुन लाग्दा पनि त्यो काम हुन सकेको छैन ।

चैत २४ गते कार्यकाल सकिएर पूर्वगभर्नर महाप्रसाद अधिकारी घर गइसकेका छन् । राष्ट्र बैंक ऐनअनुसार गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नै सरकारले नयाँ गभर्नर नियुक्ति गर्नसक्ने व्यवस्था छ ।

गभर्नरको विषयलाई लिएर अर्थमन्त्रालयको पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड र चर्चामा रहेका पात्रबारेसमेत सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ ।

नयाँ गभर्नरको चर्चामा रहेका भट्टको योग्यता नपुग्ने भन्दै दायर गरिएको रिट सर्वोच्चमा केही दिनयता निरन्तर हेर्न नमिल्नेमा परिरहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  २ : २७ बजे

पत्रकार महासङ्घद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं– नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा निःशुल्क

गायक वासुदेवको गीत ‘बाचा गर माया’ सार्वजनिक

काठमाडौं– गायक वासुदेव मिश्र र गायिका मन्दिरा मिश्रको स्वर रहेको

शिक्षक नेतामाथि सामाजिक सञ्जालमा कटाक्ष- भुसको थैलोमा चामल कहाँ भेटिन्थ्यो?

‘विद्यालय शिक्षा ऐन’ नलिई नफर्कने अडानसहित आन्दोलनमा होमिएका शिक्षकहरूले अन्ततः

भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरण समावेश गर्ने

एजेन्सी– भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरणहरू समावेश गर्नेछ ।

लेकसाइड जाने बाटोका भित्तामा बनाइयो आकर्षक चित्र 

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ७ बुलौदीस्थित पुष्पलाल स्मृति पार्कको भित्तो