उत्पीडितको आवाज दबाउने राज्यको प्रतिशोधात्मक प्रवृत्ति | Khabarhub Khabarhub

उत्पीडितको आवाज दबाउने राज्यको प्रतिशोधात्मक प्रवृत्ति


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

नेपालमा हालका दिनहरूमा देखिएको ‘राजनीतिक स्थिरता’ भन्ने शीतल आवरणभित्र राज्यले आफ्नै नागरिकप्रति अपनाएको प्रतिशोधात्मक रवैयाले गम्भीर चिन्ता जनाएको छ ।

ताप्लेजुङको मुकुम्लुङ घटनामा राज्यले देखाएको दमनकारी भूमिका र त्यसपछि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोप्रति गरिएको अमानवीय व्यवहारले नेपालको लोकतान्त्रिक प्रतिबद्धतामाथि नै प्रश्न उठाएको छ ।

यो घटना केवल एउटा नेता विरुद्धको कारबाही होइन, बरु समग्र रूपमा उत्पीडित समुदायको आवाजलाई दबाउने राज्यको सुनियोजित नीतिको प्रतिबिम्ब हो ।

हालका महिनाहरूमा सरकार गठनमा देखिएको ‘स्थिरता’ लोकतन्त्रको वास्तविक परिभाषासँग मेल खाँदैन । यो स्थिरताको नाममा राज्यले नागरिक अधिकार, विपक्षी स्वर र मानवअधिकारलाई सुन्न इन्कार गरिरहेको छ । राजेन्द्र महतोले ताप्लेजुङमा लिम्बू–राई समुदायको पवित्र स्थल मुकुम्लुङमा भएको राज्य हस्तक्षेपको विरोध गर्दै शान्तिपूर्ण आवाज उठाए । तर, राज्यले उनलाई प्रहरीकै सहयोगमा कुटपिट गर्‍यो, उनका कार्यकर्तालाई पक्राउ गर्‍यो, र अन्ततः उनको व्यक्तिगत सुरक्षाकर्मीसमेत फिर्ता लियो । यो कार्य राज्यको असहिष्णुताको चरम उदाहरण हो ।

पूर्व उपप्रधानमन्त्री, वरिष्ठ नेता र एउटा वैध राजनीतिक पार्टीका अध्यक्षको हैसियतले राजेन्द्र महतोले राज्यबाट सम्मान र सुरक्षा पाउने अपेक्षा गर्नु स्वाभाविक हो । यो सुरक्षा केवल व्यक्तिगत सुविधा नभई पदको गरिमा र सार्वजनिक जीवनमा उनको भूमिकाको सुरक्षाका लागि प्रदान गरिएको हुन्छ ।

सुरक्षाकर्मीको उपलब्धता विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि अनुसार हुने गर्दछ । जसमा सुरक्षा चुनौतीको विश्लेषण र मूल्याङ्कनपछि मात्र सुरक्षाकर्मी दिने वा फिर्ता लिने निर्णय गरिन्छ । तर, सरकारको यो निर्णयले कुनै पनि त्यस्तो प्रक्रिया अवलम्बन गरेको देखिँदैन । यसले स्पष्ट सन्देश दिएको छ कि सत्ताविरुद्ध बोल्ने, उत्पीडित पक्षसँग उभिने वा संवेदनशील मुद्दामा स्पष्ट धारणा राख्ने व्यक्ति वा पक्षलाई राज्य शत्रु ठान्दछ ।

यो लोकतान्त्रिक मूल्यमान्यताको ठाडो उल्लङ्घन हो, जसले आलोचनात्मक चेत भएका व्यक्तिहरूलाई मौन गराउने राज्यको नियतलाई उजागर गर्छ । यस्तो व्यवहारले भविष्यमा सार्वजनिक जीवनमा सक्रिय व्यक्तिहरूले राज्यका गलत नीतिहरूको विरोध गर्न हच्किने अवस्था सिर्जना गर्छ । जुन लोकतन्त्रका लागि घातक हुन्छ ।

सुरक्षाकर्मी फिर्ता बोलाइनु केवल एक प्रशासनिक निर्णय मात्र होइन । यो एक गम्भीर राजनीतिक सन्देश हो । यसले देखाउँछ कि राज्य नागरिक सुरक्षालाई होइन, सत्ता–सुरक्षालाई प्राथमिकता दिन्छ । लोकतान्त्रिक राज्यमा नागरिक सुरक्षा सर्वोच्च प्राथमिक हुनुपर्छ । प्रत्येक नागरिकको जीवन र स्वतन्त्रताको रक्षा गर्नु राज्यको प्राथमिक कर्तव्य हो ।

विशेष गरी, सार्वजनिक जीवनमा रहेका र खतरामा पर्न सक्ने विशिष्ट व्यक्तिहरूलाई राज्यले सुरक्षा प्रदान गर्नु उसको जिम्मेवारी हो । यदि कुनै विशिष्ट व्यक्तिको सुरक्षा हटाइन्छ भने त्यसको उचित कारण सार्वजनिक रूपमा स्पष्ट गरिनु आवश्यक हुन्छ, ताकि पारदर्शिता र विधिको शासन कायम रहोस् । यस्ता निर्णयहरू राजनीतिक प्रतिशोधमा आधारित हुनुहुँदैन । बरु स्पष्ट सुरक्षा मूल्याङ्कनमा आधारित हुनुपर्छ । तर, यस घटनामा सरकार मौन छ ।

र, त्यो मौनताले प्रतिशोधको रूप लिएको छ । सरकारको यो मौनताले यस निर्णयको पछाडि कुनै वैध कारण नभई केवल राजनीतिक प्रतिशोधको भावना रहेको कुरालाई पुष्टि गर्दछ । यो कार्यले राज्यले आफ्नो शक्तिलाई कसरी अङ्कुश लगाउने उपकरणका रूपमा प्रयोग गरिरहेको छ भन्ने स्पष्ट पार्छ, जसले नागरिकको मौलिक हकमाथि कुठाराघात गर्छ ।

यो घटनाले नेपालमा विरोधको अधिकार, अभिव्यक्तिको स्वतन्त्रता र बहुलवादको संस्कृतिमाथि गम्भीर खतरा उत्पन्न गरेको छ । संविधानले सुनिश्चित गरेका यी हकहरू कुनै पनि जीवन्त लोकतन्त्रका प्राणवायु हुन् । जब एक पूर्वउपप्रधानमन्त्रीलाई राज्यले असुरक्षित बनाउँछ, तब एक सामान्य नागरिकको सुरक्षाको कल्पना पनि गर्न सकिँदैन । यसले नागरिकमा राज्यप्रतिको विश्वास गुमाउने अवस्था सिर्जना गर्दछ । जुन कुनै पनि लोकतान्त्रिक प्रणालीका लागि अत्यन्तै खतरनाक हुन्छ ।

नागरिकको विश्वास बिना, राज्यका नीति तथा कार्यक्रमहरू सफल हुन सक्दैनन् । र, सामाजिक सुव्यवस्था कायम राख्न पनि चुनौती हुन्छ । यो घटनाले राज्यले फरक विचारलाई दमन गर्न सुरक्षा संयन्त्रको दुरुपयोग गरिरहेको सन्देश प्रवाह गरेको छ । जसले भविष्यमा नागरिक आन्दोलन र फरक विचारलाई झनै कमजोर बनाउन सक्छ । यस्ता कार्यहरूले लोकतान्त्रिक संस्था र प्रक्रियालाई कमजोर बनाउँदै निरङ्कुशताको मार्ग प्रशस्त गर्न सक्छन् ।

नेपालको आधुनिक इतिहासले देखाउँछ कि मधेशी, आदिवासी जनजाति, थारू, दलित, मुस्लिमलगायतका समुदायहरू लामो समयदेखि राज्यद्वारा संस्थागत विभेदको सामना गर्दै आएका छन् । यो विभेद केवल राजनीतिक पहुँचमा मात्र सीमित छैन, बरु राजनीतिक, आर्थिक, सामाजिक, भाषिक र सांस्कृतिक सन्दर्भमा ती समुदायहरूलाई द्वितीय श्रेणीको नागरिकजस्तो व्यवहार गर्दै राज्यले उनीहरूका अधिकार कुण्ठित बनाउँदै आएको छ ।

राज्यको संरचनागत विभेदका कारण यी समुदायहरू शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवामा पहुँचका दृष्टिले पछाडि परेका छन् । यो विभेदकारी नीतिले राष्ट्रिय एकता र सामाजिक सद्भावमाथि निरन्तर नकारात्मक असर पारिरहेको छ, जसले विभिन्न क्षेत्रमा असन्तुष्टि र आन्दोलनहरू जन्माएको छ ।

राजेन्द्र महतो त्यही उत्पीडनको विरुद्ध खडा भएका नेता हुन् । उनको राजनीतिक यात्रा नै सीमान्तकृत समुदायको हक अधिकारका लागि समर्पित छ । २०६२–०६३ को जनआन्दोलन, मधेश आन्दोलन र त्यसपछिका संविधान संशोधनका प्रयासहरूमा उनले अगुवाको भूमिका निर्वाह गरेका छन् । उनी मधेश मात्र होइन, समग्र रूपमा उत्पीडित समुदायहरूको पक्षमा सधैं उभिएका छन् ।

उनको राजनीतिक दर्शन समावेशी राष्ट्र र समान अधिकारमा आधारित छ । यसकारण, जब उनले लिम्बू–राई समुदायको आस्थाको केन्द्र मुकुम्लुङमा भएको हस्तक्षेपको विरोध गरे, त्यो इतिहासको निरन्तरतामा आधारित न्यायपूर्ण कदम थियो । जुन उत्पीडित समुदायको आवाजलाई प्रतिनिधित्व गर्दथ्यो । तर, राज्यले त्यसको प्रतिशोध लियो । यो प्रतिशोधले राज्य अझै पनि आफ्नो विभेदकारी मानसिकताबाट माथि उठ्न नसकेको स्पष्ट सङ्केत गर्दछ ।

राज्यले विभिन्न समुदायका ऐतिहासिक गुनासाहरूलाई सम्बोधन गर्नुको सट्टा दबाउने प्रवृत्ति देखाएको छ । जसले थप जटिलता र सामाजिक विभाजन सिर्जना गर्न सक्छ । यसले राज्यको समावेशी चरित्रमाथि गम्भीर प्रश्न उठाउँछ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता (धारा १७), शान्तिपूर्ण सभा गर्ने अधिकार (धारा १८), र जीवन र सुरक्षाको अधिकार (धारा १६) ग्यारेन्टी गरेको छ । तर, राज्यले आफ्नै कानुनलाई कुटनीतिक हतियार बनाएर विपक्षी आवाजलाई दबाउने प्रयास गरेको छ ।

पूर्व उपप्रधानमन्त्री जस्तो उच्चपदस्थ नेताको सुरक्षा फिर्ता लिनु भनेको संवैधानिक मर्यादाको घोर उल्लङ्घन हो । यदि राज्यले नै संविधानलाई पालना गर्न इन्कार गर्छ भने, एउटा साधारण नागरिकले आफ्नो अधिकारको अपेक्षा कसरी गर्न सक्छ ?

नेपालको इतिहास मधेशी, आदिवासी, थारू, दलित र अन्य सीमान्तकृत समुदायविरुद्धको संस्थागत भेदभावको इतिहास हो । मुकुम्लुङ जस्ता पवित्र स्थलमा हस्तक्षेप भनेको यसै उपेक्षाको अर्को अध्याय हो । राजेन्द्र महतोले यही उत्पीडनको विरुद्ध आवाज उठाएकाले राज्यले उनलाई निशाना बनायो । यसले देखाउँछ कि राज्य अझै पनि समावेशीताको भाषा बोल्दै पनि, आफ्नो कार्यमा पुरानो दमनकारी मानसिकताबाट मूक्त भएको छैन ।

सुरक्षाकर्मी फिर्ता लिनु कानुनी एवम् सुरक्षाको दृष्टिले प्रक्रिया पनि मिलेको छैन । यो केवल राजनीतिक प्रतिशोध हो । फरक मतको दमन लोकतान्त्रिक मूल्य–मान्यताको हत्या मात्र नभई आत्माको नै हत्या हो । यो परिघटना सामाजिक सद्भावमाथि प्रहार हो । यसले मधेश, जनजाति र अन्य समुदायमा राज्यप्रतिको रिस बढाउँछ । यदि आज एउटा राष्ट्रिय स्तरको नेता असुरक्षित बन्छ भने, भोलि आम नागरिकको अधिकारको सुरक्षा कहाँबाट हुने ?

तसर्थ अब राज्यले तुरुन्त आत्ममूल्याङ्कन गरी महतोको सुरक्षा बहाल गर्नुपर्छ । मुकुम्लुङ घटनाको स्वतन्त्र अनुसन्धान गरी त्यस घटनाप्रति जिम्मेवारलाई कानुनको दायरामा ल्याउनुपर्छ । फरक मतलाई सम्मान गर्ने संस्कृति बढाउनुपर्छ ।

नेपालले दशकौंदेखि रक्त, आँसु र सङ्घर्षबाट हासिल गरेको लोकतन्त्रलाई राज्यकै हातबाट खतरा हुँदै गरेको छ । ‘स्थिरता’ को नाममा नागरिक अधिकार दबाउनु लोकतन्त्र होइन, तानाशाही हो । विरोधिहरू प्रति यदि राज्यले यस्तै प्रतिशोधात्मक कार्यहरू जारी राख्यो भने नेपाल फेरि अशान्तिको अँध्यारो युगमा प्रवेश गर्न सक्छ । लोकतन्त्रमा यस्तो रबैयाले नै लोकतन्त्रको बदनाम गराउँछ । लोकतन्त्रको क्षयीकरण हुन्छ ।

सरकारको निजी सुरक्षाकर्मी भएको झैँ सार्वजनिक रहेको सुरक्षा संयन्त्रको बदनाम गराइएको छ । आज राज्यको रबैयाको विरोधमा रहेका राजेन्द्र महतोको सुरक्षा हटाइएको छ । आन्दोलनरत रहेका राप्रपाका नेताहरूको सुरक्षा हटाइएको छ । भोलि कसको हक हडपिने हो ? यो प्रश्न सबैले सोच्नुपर्छ । लोकतन्त्र भनेको विरोधी स्वरलाई डर देखाउने होइन । सम्मान गर्ने हो । राज्यले यो सबक सिक्न बाँकी छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ९ : १२ बजे

भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले

सालासुङ्गी हाइड्रोपावरका एक मजदुर मृत फेला

रसुवा– उत्तरी रसुवास्थित आमाछोदिङ्मो गापा–५ को सालासुङ्गी हाइड्रोपावरमा काम गर्ने

स्थानीयस्तरमा आँखाको उपचार हुन थालेपछि नगरप्रमुखद्वारा प्रशंसा

चितवन– भरतपुर आँखा अस्पतालले स्थानीयस्तरमा सेवा केन्द्रमार्फत आँखा उपचार गर्न थालेपछि

सिमकोटमा ट्याक्टर दुर्घटना : १५ जना घाइते, एकको अवस्था गम्भीर

सिमकोट–  यहाँको सिमकोट गाउँपालिका–१ बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १५ जना

एमाले पोलिटब्युरो बैठक शनिबार फेरि बस्‍ने

काठमाडौं- नेकपा (एमाले) को शुक्रबारबाट सुरू भएको पोलिटब्युरो बैठक शनिबार