एजेन्सी – भारतको अहमदाबादमा गएको जेठ २९ गते एयर इन्डियाको विमान दुर्घटना हुँदा कम्तिमा पनि २७० जनाले ज्यान गुमाए ।
७८७ ड्रिमलाइन विमान निर्माता अमेरिकी कम्पनी बोइङको सबैभन्दा आधुनिक र लोकप्रिय विमान हो । हालसम्म यो सिरिजको विमानलाई सबैभन्दा सुरक्षितमध्ये एक मानिन्थ्यो ।
एअर इन्डियाको उडान सङ्ख्या १७१ को उक्त विमान धावनमार्ग छाडेको ३० सेकेन्डभित्रै दुर्घटनामा परेको थियो । उक्त विमान दुर्घटना हुनुको कारणबारे हालसम्म कुनै जानकारी मिलेको छैन ।
जाँचबुझ गरिरहेका अधिकारीहरूले फ्लाइट रेकर्डरबाट हासिल गरेको विवरणबाट दुर्घटनाको कारण पत्ता लगाउन खोज्दैछन् ।

अहमदावादमा जुन विमान दुर्घटना भयो, त्यसतर्फ मानिसको ध्यान खिचिएको छ । बोइङको ७८७ ड्रीमलाइनर आधुनिक र कम इन्धन खपत गर्ने हिसाबले नयाँ पुस्ताको पहिलो विमान हो ।
उडान थालेको करिब डेढ दशकसम्म ७८७ सिरिजका विमान यति ठूलो दुर्घटनामा परेको र मानिसको ज्यान गएको थिएन ।
बोइङका अनुसारस यस अवधिका एक अर्बभन्दा बढी यात्रुले (टिकट सङ्ख्याका हिसाबले) यो सिरिजको विमानबाट यात्रा गरिसकेका थिए । यतिखेर संसारभर यो सिरिजका ११ सयभन्दा बढी विमानले उडान भरिरहेका छन् ।
यद्यपि; बोइङ ७८७ विमान गुणस्तर नियन्त्रणसँग सम्बन्धित कयौँ समस्याबाट घेरिएको छ । यी विमान उत्पादनमा जुन मानक पालना गरिएको छ – त्यसलाई लिएर ह्विसलब्लोअर्स (कुनै व्यक्ति या सङ्गठनले गरेका गैरकानुनी र अनैतिक गतिविधिबारे जानकारी दिने व्यक्ति) ले अनेक चिन्ता व्यक्त गरेका छन् ।
केही ह्विसलब्लोअर्सले त बोइङले निकै गम्भीर कमजोरी गरिएका खतरनाक विमानलाई पनि बोइङले उडानयोग्य बन्दै बजारमा पठाएको बताइदिएका छन् । बोइङले भने यस्ता दावीको लगातार खण्डन गर्दै आएको छ ।
सोनिक क्रुजर र ९/११ को असरपछि बनाइएको विमान
२००९ को डिसेम्बर महिनाको एक चिसो बिहानीमा एक बिल्कुल नयाँ विमान अमेरिकाको सियाटलस्थित पेन फिल्ड विमानस्थलको रनवेमा अवतरण भएको थियो ।
ड्रीमलाइनको पहिलो उडानलाई मानिसहरूले निकै उत्साहसाथ स्वागत गरेका थिए । यो उडान भर्न निकै वर्षदेखि भइरहेको प्रयास सफल पार्न अर्बौँ अमेरिकी डलर खर्च भइसकेको थियो ।
सन् २००० को सुरुमा विमानको इन्धनमा हुने खर्च एक ठूलो चिन्ता बनिसकेको थियो । त्यतिखेर तेलको मूल्य लगातार बढिरहेको थियो । त्यही अवस्थाबीच बोइङले कम इन्धन खपत गर्ने नयाँ मापदण्डसहितको विमान बनाउने योजना साकार पार्न काम थाल्यो ।
उड्ययन क्षेत्र विशेषज्ञ शिआ ओकले भन्छन्, ‘१९९० को दशकको अन्त्यतिर बोइङ कम्पनी सोनिक क्रूजरको डिजाइन गर्दै थियो । ध्वनीको गतिमा करिब २५० मानिसलाई यात्रा गराउन सक्ने विमान बनाउने उद्देश्यसाथ सो परियोजनामा काम हुँदै थियो । सम्भावित विमानको जोड इन्धन खपत कम गर्नेभन्दा पनि यात्रामा लाग्ने समय घटाउनेमा केन्द्रित थियो ।’
तर, अमेरिकामा अलकायदाले सन् २००१ सेप्टेम्बर ११ मा विमान अपहरण गरी हमला गरी पूरै हवाई उद्योगकै सातो लिइदियो । त्यसपछि हवाई सेवाप्रदायक कम्पनीहरूले बोइङलाई तीव्र गतिमा उड्नेनभइ इन्धन खर्च कम गर्ने विमान ल्याउन सुझाएका थिए ।
त्यसपछि बोइङले आफ्नो सुरु योजनामा पूर्णविराम लगाउँदै नयाँ योजनामाथि काम थाल्यो । सोही योजना साकार भएपछि बोइङ ७८७ सिरिजको विमान तयार भयो । यो विमानले वायुसेवा प्रदायक कम्पनीहरूलाई एक नयाँ व्यापार आधार पनि तयार गरिदियो ।
अब मानिसहरूलाई साना विमानस्थलबाट विमान चढेर ठूला विमानस्थलमा ओर्लन आवश्यक थिएन । अब कम चाप हुने रुटमा पनि मानिसले उडान सेवा लिन सक्ने भए ।

एअरबसको सुपरजम्बो भर्सेस बोइङ
विमान उत्पादनको सोही दौडमा यूरोपको विमान निर्माता कम्पनी एअरबसले ए-३८० सुपरजम्बो विमान विकास गर्दै थियो । उक्त विमान बढी चाप हुने हवाई मार्गमा धेरै यात्रुलाई सेवा दिन सक्नेगरी बनाइएको थियो ।
तर, धेरै इन्धन खपत गरने हुनाले एअरबसले २५१ विमान तयार गरेपछि सन् २०११ मा ए-३८० को उत्पादन नै बन्द गरिदियो ।
एरोडाइनामिक एडभाइजरीका प्रबन्ध निर्देशक रिचर्ड अबुलाफिया भन्छन्, ‘भविष्यमा ठूलो विमानस्थल बन्ने र मानिसहरू जहिल्यै फ्य्राङ्कफर्ट, हिथ्रो या नारिताजस्ता विमानस्थल पुगेर आफ्नो उडान बदल्न चाहने एअरबसलाई लागेको थियो । यस मामिलामा बोइङको अनुमान सही सावित भयो ।’
उड्ययन क्षेत्रमा ७८७ वास्तवमै एक क्रान्तिकारी विमान थियो । आल्मुनियमको साटो कार्बन फाइबरजस्ता मिश्रित सामग्री प्रयोग गरी बनाइएको यो नै पहिलो व्यवसायिक विमान थियो ।’
यसरी बनाउँदा विमानको तौल कम भयो । एडभान्स एरोडानामिक्स प्रयोग गरिएकाले यस विमान उडाउँदा बल पनि कम लाग्ने गर्थ्यो । विमानमा जनरल इलेक्ट्रिक र रोल्स रोयस निर्मित उत्कृष्ट क्षमतायुक्त आधुनिक इञ्जिन लगाइएको थियो । विमानलाई थप राम्रो बनाउन मेकानिकल र इलेक्ट्रिकल सिस्टममा पनि कयौँ बदलाव गरिएको थियो ।
बोइङले यी परिवर्तनका कारण ७८७ विमान पुरानो ७६७ तुलनामा २० प्रतिशत उत्कृष्ट भएको बताउने गर्थ्यो । नोइज फूटप्रिन्ट ६० प्रतिशत घटाइएकाले यो विमानबाट आवाज पनि कम आउँथ्यो ।
आपतकालीन अवतरण र यात्रा क्रममा भएका घटना
बोइङले उत्कृष्ट भएको दावी गर्दागर्दै पनि सेवामा आएको केही समयमै ७८७ सिरिजका विमानमा समस्या देखिन थाल्यो ।
नवरी २०१३ मा एक विमानको लिथियम-आयन ब्याट्रीमा आगो लाग्यो । उक्त दुर्घटना बोस्टन लोगन विमानस्थलमा भएको थियो । विमानस्थलमै रोकिराखिएको विमानमा त्यतिखेर आगलागी भएको थियो ।
उक्त घटना भएको एक साता नबित्दै जापानको एक आन्तरिक उडान क्रममा ७८७ को ब्याट्री निकै तात्तियो । सम्भावित दुर्घटना जोखिम टार्न विमानलाई आकस्मिक अवतरण गराइएको थियो ।
यी दुई घटनापछि बोइङले विश्वभर नै ७८७ सिरिजका सबै विमान उडान केही महिनाका लागि रोकिदियो । विमानमा भएका कमजोरी सुधार्न प्रयास भयो ।
त्यसपछि विमानको दैनिक सञ्चालनमा त सुधार भयो, तर उत्पादन क्रममै समस्या गम्भीर बन्दै गयो ।
विश्लेषकहरूका अनुसारस यसो हुनुको एक कारण बोइङको म्यानुफ्याक्चरिङ लाइन थियो, जो अमेरिकाको साउथ क्यारोलिनास्थित सियाटलभन्दा झण्डै दुई हजार किलोमिटर पर थियो ।
उक्त इलाकामा बोइङले उत्पादन गृह खोल्नुको मुख्य कारण मजदूर सङ्गठनको कम दबाब र राज्यबाट मिल्ने सहायता नै थियो ।

गोप्य सूचनादाताका आरोप
सन् २०१९ मा बोइङले गरिरहेको विमान निर्माणमा कयौँ कमजोरी भेटिएको थियो । जसकारण विमानका भागहरू गलत तरिकाबाट जोडजाड भइरहेका थिए ।
यसो हुँदा विमान उपलब्धतामा ढिलाइ भयो । २०२१ मे देखि २०२२ जुलाइसम्म बोइङ ७८७ लाई बजारमा पठाउन पूरै रोकिएको थियो । उक्त मामिलामा सबैभन्दा गम्भीर आरोप कम्पनीमा काम गरिरहेका र पूर्व कर्मचारीहरूले लगाए ।
साउथ क्यारोलिनाको फ्याक्ट्रीमा गुणस्तर नियन्त्रण व्यवस्थापक रहेका जोन बर्नेटले तीव्र गतिमा उत्पादन गर्नुपर्ने दबाबले विमानको सुरक्षा अन्त्य गरिदिएको बताए ।
उनले सन् २०१९ मा बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीलाई बोइङको प्लान्टमा काम गर्ने कर्मचारीले कयौँ कडा नियम पालना नगरेको बताएका थिए । फ्याक्ट्रीमा विमानको पाटपुर्जा सटिक जाँच गर्न त्यस्ता कडा मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।
त्यस्तो लापरवाही हुँदा विमानका पुर्जाको त्रुटियुक्त हिस्सा पहिचान हुनै नसकेको आशङ्का भइरह्यो । बोइङका कर्मचारीहरूले कवाडदानीबाट विमान उत्पादन छिटो गर्न जानीजानी कम गुणस्तरका हिस्सा जोडेको बर्नेटले बताएका थिए ।
उनले यो पनि दावी गरे कि विमानको डेकलाई सुरक्षित गर्न भन्दै गरिएको जडानमै कैफियत थियो । त्यसरी जडान गरिएको भाग जाँच गर्ने क्रममा धातुको निकै तीव्र झिल्का निस्किएको थियो । यस्तो झिल्का विमानको तल्लो भागमा निकै धेरै वायरिङ गरिने भागमा समेत जम्मा हुने गरेको भेटिएको थियो ।
यी आरोपलाई गरिएको विमानको जाँच प्रतिवेदन पहिले पनि अमेरिकाको हवाई नियामक फेडरल एभिएशन एड्मिनिस्ट्रेशन (एफएए) मा पठाइएको थियो । एफएएले केही दावी सही रहेको ठहर गरेको थियो ।
एफएएले गरेको एउटा जाँचबुझ क्रममा ७८७ विमानको तल्लो भागबाट धातुका अनावश्यक टुक्राहरू नै भेटिएको थियो ।
बोइङले त्यतिखेर विमानको बोर्डमा देखिएको समस्याबारे समीक्षा गरेको र त्यो विमानको सुरक्षा मामिला नै नभएको जिकिर गर्यो ।
यद्यपि; यो पार्टको रि-डिजाइन नै गर्यो । पुर्जा विश्वसनीयताबारे एफएएले जनाएको आपत्ति हट्नेगरी समस्या पूर्ण रूपमा सुल्झाइएको र भविष्यमा यस्ता घटना दोहरिन नदिन आवश्यक कदम चालिएको पनि बोइङको दावी थियो ।
बर्नेटले त्यसअघि नै सेवामा पठाइएका विमानमा दोष हुन सक्ने बताउँदै भनेका थिए, ‘मलाई लाग्छ कि ७८७ सिरिजको विमान ठूलो दुर्घटनामा पर्नु समयको कुरा हो ।’
सन् २०२४ मा बर्नेटले आत्महत्या गरे । त्यतिखेर बोइङले कम्पनीका कमजोरी बाहिर ल्याएका एक जानकारविरुद्ध हालेको मुद्दामा बर्नेटले प्रमाण दिँदै थिए ।
बर्नेटले आफूलाई यो मामिलामा बोइङले प्रताडित गरेको बताएका थिए । तर, बोइङले उक्त आरोप पनि अस्वीकार गरेको थियो ।

बर्नेटले लगाएका अधिकांश आरोपहरूले सोही प्लान्टकी एक पूर्व गुणस्तर व्यवस्थापक सिन्थिया किचेन्सको दावीलाई पुष्टि गर्थ्यो । सिन्थियाले सन् २०११ मा एफएएलाई विमानमा खराब पुर्जा जडान गरिएको जानकारी दिएकी थिइन् । यस्तो विमान उत्पादनलाई जारी राख्न बोइङले भनेको पनि उनले बताएकी थिइन् ।
सिन्थियाले सन् २०१६ मा बोइङ छाडिन् । कम्पनीले कर्मचारीहरूलाई सानातिना कमजोरी नजरअन्दाज गर्न भनेको पनि सिन्थियाले बताएकी थिइन् ।
विमानमा सर्ट सर्किट निम्त्याउन सक्ने खराब तारको मुठा जोडिएको सिन्थियाको दावी थियो । त्यसो गम्भीर आरोपबारे पनि बोइङले त्यतिखेर कुनै प्रतिक्रिया दिएको थिएन ।
तेस्रा ह्विसलब्लोअरले बोइङबारे गत वर्ष अमेरिकी सिनेटको एक समितिसामू वयान दिँदै चर्चा बटुलेका थिए । साम सेलहपर नामका ती कर्मचारीले बोइङले छोटोछरितो प्रक्रिया अपनाइ विमान उत्पादनको गति बढाएको बताएका थिए ।
उनले त्यतिखेर भनेका थिए, ‘बोइङले विमान निर्माण क्रममा सुरक्षा मामिलामा जस्ता कमजोरीहरू गरिरहेको छ – त्यसलाई समयमै सच्याइँदैन भने व्यवसायिक उडान भरिरहेका बेला जुनसुकै विमान गम्भीर दुर्घटनामा पर्न सक्छ, त्यस्तो दुर्घटनामा सयौँ यात्रुले ज्यान गुमाउनेछन् ।’
त्यस्तो वयान दिएका साम गुणस्तर इञ्जिनियरको हैसियतमा बोइङमा सन् २०२० को अन्त्यसम्म ७८७ विमान निर्माणमा काम गरिरहेका थिए । बोइङले ७८७ विमानमा खराब आशङ्का गरिएका पाटपुर्जा जोडिएको उनले बताएका थिए । आफूले जाँच गरेका अधिकांश विमानमा गम्भीर परिस्थिति निम्त्याउन सक्ने त्यस्ता कमजोरी भेटिएको उनको दावी थियो ।
बोइङले यतिखेर भनेको छ कि ७८७ विमान निर्माण क्रममा जुन कमजोरी औँल्याइएका थिए या दावी गरिएका थिए – त्यसबारे एफएएको निगरानीमा कठोर अनुसन्धान दायरामा ल्याइएको छ । ह्विसलब्लोअरहरूले औँल्याएका त्रुटिले विमानमा कुनै सुरक्षा जोखिम पैदा नगर्ने पनि बोइङको दावी छ ।
जे-जस्तो दावी गरे पनि पछिल्ला केही वर्षयता बोइङले कर्पोरेट संस्कृति र उत्पादन मापदण्डलाई लिएर चर्को दबाब झेलिरहेको छ ।
सबैभन्दा बढी बिक्री भएको ७३७ म्याक्स सिरिजका दुई विमान डरलाग्दो दुर्घटनामा परिसकेका छन् । पछिल्लो वर्ष अर्को एक गम्भीर घटनामाथि पनि कम्पनीमाथि आर्थिक लाभका लागि यात्रुको सुरक्षासँग सम्झौता गरेको आरोप लाग्यो ।
कम्पनीको छवि सुधार्न र यस्ता धारणा बदल्न भन्दै गत वर्ष बोइङको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका केली अटबर्गले निकै प्रयास गरिरहेका छन् । उनले कम्पनीको आन्तरिक प्रक्रियामा परिवर्तन ल्याएका र एफएए जस्ता नियामकसँग मिलेर सुरक्षा तथा गुणस्तर नियन्त्रण योजनामा निकै काम गरिरहेको दावी हुने गरेको छ ।
तर के ७८७ सिरिजको विमान सुरक्षा मामिला पुराना कारणले प्रभावित भएको हो त ? रिचर्ड आबुलाफिया यस्तो मान्दैनन् ।
उनी भन्छन्, ‘यो सिरिजको विमान १६ वर्षदेखि उडिरहेको छ । १२ सय विमान र एक अर्बभन्दा बढी यात्री ! अहिलेसम्म कुनै दुर्घटना भएको थिएन । सुरक्षाका हिसाबले यो एक शानदार रेर्कड हो ।’
विमानमा कुनै समस्या भएको भए हालसम्म थाहा भइसक्ने तर्क गरेका उनले थपे, ‘उत्पादनसँग जोडिएको समस्या एक छोटो समयावधिको हो । पछिल्ला केही वर्षमा ७८७ को उत्पादन क्रममा कडा निगरानी भइरहेको छ । पुराना विमान पनि कुनै समस्या भएको भए त्यो अहिलेसम्म उजागर भइसक्थ्यो ।’

अहमदावादमा दुर्घटित एअर इन्डियाको विमान ११ वर्ष पुरानो थियो । उक्त विमानले पहिलोपटक सन् २०१३ मा उडान भरेको थियो ।
तर, अमेरिकाको एक संस्था फाउन्डेशन फर एअर सेफ्टीले अहमदाबाद दुर्घटना अघि पनि बोइङको ७८७ सिरिजको जहाजप्रति आफ्नो केही चिन्ता रहेको बताएको छ । यो संस्थाको स्थापना बोइङकै एक पूर्व ह्विसलब्लोअर्स एड पियर्सनले गरेका थिए ।
पियर्सनले भने, ‘हो ! यसमा (७८७ सिरिजका विमानमा) सुरक्षा जोखिम सम्भावना थियो । हामीले कुनै पनि घटना र नियामकको दस्तावेजमा नजर राखिरहेका हुन्छौँ । जब उडानको योग्यता निर्देशन जारी हुन्छ – तब कयौँ मामिला उठ्ने गर्छ र सोच्न बाध्य बताउँछ ।’
उनका अनुसारस विमानको शौचालयको पानी नलीबाट चुहिएर विद्युतीय उपकरण इकाइमा जान सक्ने सम्भावना पनि यस्तै एक मुद्दा थियो । उजुरी परेपछि गत वर्ष एफएएले बोइङलाई यो मामिलामा नियमित परीक्षण गर्न आदेश दिएको थियो ।
अहमदाबादमा भएको विमान दुर्घटनाको कारण हालसम्म पत्ता लागेको छैन । दुर्घटनाउपर चाँडो जाँचबुझ हुन सके विमान, इन्डियन एअरलाइन्स या अन्य कतैबाट निम्तिएको समस्याबारे स्पष्ट हुनेछ ।
(बीबीसी कलेक्टिभ न्यूजरूमका लागि थियो लेगेटले तयार पारेको सामग्री अनूदित, सम्पादित र प्रकाशित ।)
प्रतिक्रिया