धाईआमा र फर्मुला दूधले घटायो स्तनपान गराउने आमाको संख्या | Khabarhub Khabarhub

धाईआमा र फर्मुला दूधले घटायो स्तनपान गराउने आमाको संख्या


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

एउटा जमाना यस्तो पनि थियो राजा महाराजाका सन्तान धाईआमाको स्तनपान गरेर हुर्किन्थे। बेलायतसँगै राजा भएका केही युरोपेली देश, नेपाल, जापानसहित केही राजा भएका देशमा पछिसम्म पनि धाईआमा प्रचलनमा रहे।

रानीको गर्भबाट जन्मिएका राजकुमार तथा राजकुमारीलाई आफ्नो दूध चुसाएर स्वस्थ बनाउने, पालनपोषण गर्ने, स्याहार गर्ने शारीरिक रुपमा स्वस्थ महिलाको खोजी हुन्थ्यो। स्तनपान गराएर आमाको भूमिकामा रहने हुनाले यी महिलालाई धाईआमाका रुपमा दरबारमा राखिएको हुन्थ्यो।

जसको आवश्यकताको व्याख्या फरकफरक रुपमा गरेको पाइन्छ। दरबारका शाही परिवारमा स्वास्थ्य कमजोरी निकै प्रवल रुपमा देखापर्नु र त्यसबाट उत्पन्न हुने कारणले बच्चाबच्चीको उचित लालनपालन र स्याहारसुसारमा कमी नआओस् भनेर धाईआमा राखिएको एकथरीको भनाइ छ। अर्कोतर्फ इच्छा, शान वा सौखको परिभाषामा रानी, महारानीले आफ्नो बच्चालाई दूध चुसाएमा छिटो बूढी हुने र सौन्दर्य बिग्रने डरले पनि काम गरेको पाइएको छ।

पछिल्लो समय पनि धेरै आमाले स्तनपान गराउँदैनन् भन्ने कुरा विभिन्न तथ्यांकले प्रमाणित गरेका छन्। यसमा पनि विभिन्न पक्षका आ–आफ्नै धारणा रहेका छन्। तथ्यांक अनुसार पढेलेखेका र शहरी क्षेत्रका आमाको तुलनामा ग्रामीण भेगका तथा कम पढेका आमाको सहभागिता स्तनापानमा बढी रहेको छ।

सौन्दर्य बिग्रिने डरले शहरी क्षेत्रका आमाले स्तनपान गराउँदैनन् भन्ने एकथरीको भनाइ छ भने पढेलेखेका आमा कामकाजी भएका कारण स्तनपानको सहभागितामा कमी देखिएको तर्क एकथरीको छ।

जीवनको पहिलो ६ महिनाका लागि पुर्ण स्तनपानलाई बढावा दिने उद्देश्यले साताव्यापी उत्सवका रुपमा मनाइने स्तनपान सप्ताहा शुक्रबारदेखि सुरु भएको छ। सप्ताहको यसवर्षको नारा ‘स्तनपानलाई प्राथमिकता दिनुहोस्, दिगो समर्थन प्रणाली सिर्जना गर्नुहोस्’ भन्ने छ। बच्चाको पहिलो खोपको रुपमा लिइने स्तनपानले आमा र बच्चा दुवैलाई फाइदा पुरयाउँछ। आमालाई मानसिक तथा शारीरिक स्वास्थमा फाइदा पुर्याउने विभिन्न अध्ययनले देखाएका छन्।

नेपालमा स्तनपानको अवस्था

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार नेपालमा ५६ प्रतिशत सुत्केरी आमाले मात्रै पूर्ण स्तनपान गराउने गरेको पाइएको छ। जुन संख्या जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ मा ६६ प्रतिशत रहेको थियो। तर सरकारले दिगो लक्ष प्राप्तिका लागि स्तनपान मुख्य आधार भएको भन्दै सन् २०३० सम्ममा पूर्ण स्तनपान गराउने आमाको संख्या ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ। पछिल्लो समयको घट्दो तथ्यांकले त्यो लक्ष्य पुरा गर्न भने निकै चुनौती देखिएको सरोकारवाला बताउँछन्।

सुत्केरीलाई कम्तिमा ६ महिना बिदा दिएर आमा र बच्चासँग राख्न सके स्तनापन गराउन सकिने पोषणविद् अरुणा उप्रेतीको भनाइ छ।

पोषणविद् उप्रेती भन्छिन, ‘सरकारले भनेर मात्रै हुँदैन त्यसका लागि त त्यो अनुसारको कार्यक्रम ल्याउनुपर्यो आमालाई कम्तिमा पनि ६ महिना सुत्केरी बिदा दिने, बच्चासँगसँगै आमाको पोषणबारे पनि सोच्नुपर्यो। तब मात्रै लक्ष्य पुरा गर्न सकिन्छ।’ बिगतको तुलनामा थोरै मात्रामा काम भइरहेको र स्तनपानबारे सचेतना बढिरहेको उनको भनाइ छ।

सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि बिगतका भन्दा केही मात्रामा सचेतना बढाउनका लागि कार्यक्रम थपिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण महाशाखाका प्रमुख लिलाबहादुर थापाले बताए। उनका अनुसार सार्वजनिक स्थलमा विभिन्न कामको सिलसिलामा पुग्ने आमाको लागि मापदण्ड नै बनाएर स्तनपान कक्ष बनाउनुपर्नेमा जोड दिइएको छ।

स्तनपान गराउने आमाको संख्या घट्नुको कारण

पोषण महाशाका प्रमुख थापा स्तनपान गराउने आमाको संख्या घट्नुको कारणा एउटै मात्र नरहेको बताउँछन्। विभिन्न अध्ययनमा देखिएका कुरालाई हेर्दा आमा आफैलाई पनि चेतना कम भएको पाइएको उनको बुझाइ छ। स्वास्थ्य संस्था र अस्पतालले स्तनपानलाई बढवा दिनुपर्ने कुरामा सचेतना नपुगेको उनले बताए।

‘विज्ञापनकै लागि स्तनपान भन्दा फर्मुला दूध राम्रो भनेर प्रचार गरेको पाइन्छ। यस्ता प्रचारलेसमेत आमाहरु स्तनपानमा भन्दा अन्य कुरामा केन्द्रित भएको देखिन्छ’, थापाले भने।

अध्ययनले ५ देखि १० प्रतिशत आमा स्तनपान गराउन असक्षम हुनसक्ने देखाए पनि बाँकी सबै आमाले बच्चा जन्माएपछि स्तनपान गराउने हैसियत राखेका हुन्छन्। ‘अहिले देखासिकी, सानो उमेरमा विवाह, सानो उमेरमै बच्चा जन्माउने, ९ महिना नपुगेरै बच्चा जन्माउने, बढ्दो उमेरमा बच्चा जन्माउने जस्ता प्राविधिक कारणले गर्दा पनि स्तनपान गराउने आमाको संख्या घटेको छ’, उनले थपे।

मिल्क बैंक

आमाको दूध नआउने बच्चाका लागि परोपकार प्रसूति अस्पतालमा मिल्क बंैक स्थापना गरिएको छ। जसमा ६ महिनासम्म आमाको दूधलाई भण्डारण गरेर राखिन्छ। त्यसलाई दूध नआउने आमाका सन्तानका लागि उपयोग गरिन्छ।

यो कार्यक्रम धरानको बिपी कोराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रारम्भ भइसकेको छ। यसलाई सबै प्रदेशमा विस्तार गर्ने सरकारको योजना रहेको थापाले बताए।

स्तनपान व्यवस्थापन एकाइ भनेर यसवर्ष विभिन्न आठ वटा अस्पतालमा स्थापना गर्ने र १८ वटा अस्पतालमा स्तनपानबारे परामर्श दिनका लागि दुई जना स्टाफ नर्स नेपाल सरकारको तर्फबाट करारमा भर्ना गरेर सेवा दिइएको थापाले जानकारी दिए

कार्यालयमा स्तनपान कक्ष अनिवार्य

कुनै पनि कार्यालयमा २५ जनाभन्दा बढी महिला कर्मचारी छन् भने उक्त कार्यालयमा स्तनपान कक्ष अनिवार्य रुपमा हुनुपर्ने कानूनी व्यवस्था रहेको छ।

त्यो बाहेक आवश्यकताका आधारमा हरेक कार्यालयमा स्तनपान कक्ष राखिनुपर्ने भए पनि त्यो कार्यक्रम लागू हुनसकेको अवस्था छैन। सबैलाई सूचना दिने सञ्चार माध्यम र समग्र सञ्चार गृहको नियामक निकाय प्रेस काउन्सिल नेपालको कार्यालयमासमेत स्तनपान कक्ष छैन।

काउन्सिलका सूचना अधिकारी रामशरण बाहोराका भन्छन्, ‘संरचनाको अभाव र सीमित बजेटमा काम गर्नुपर्ने भएकाले यो व्यवस्थापन हुन नसकेको हो। आगामी आर्थिक वर्षदेखि यसको व्यवस्थापनलाई अगाडि बढाउने विषयमा छलफल भएको छ।’ सम्भव भएसम्म यो आर्थिक वर्षमै स्तनपान कक्ष राखिने उनले प्रष्ट पारे।

शिशुलाई सुक्षित तरिकाले स्तनपान गराउन र आमालाई प्रेरित गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफको सहकार्यमा हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाइन्छ।

सन् १९९२ बाट मनाउन सुरु गरिएको स्तनपान सप्ताह १२० भन्दा बढी देशले आयोजना गर्ने गरेको पाइन्छ। दिगो विकास लक्ष प्राप्तिका लागि स्तनपानलाई मुख्य आधारका रुपमा लिँदै सरकारले सन् २०३० सम्ममा पूर्ण स्तनपान गराउने आमाको संख्या ९० प्रतिशत पुर्याउने लक्ष राखेको छ।

स्तनपान सप्ताहको उद्देश्य

जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढवा दिने लक्ष्य लिएर आएको यस साताव्यापी उत्सवको उद्देश्य नयाँ आमाबुबाको बीच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु नै हो।

सामान्यतया शिशुलाई आफ्नै आमाको दूध चुसाउनु नै स्तनपान हो। नवजात शिशुको आधारभूत अधिकारका रूपमा लिइने स्तनपानलाई सुरुवाती या प्रारम्भिक अनि पूर्ण गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ।

शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउन सुरु गर्नु नै प्रारम्भिक स्तनपान हो। यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्नुका साथै शिशुलाई शरीरमा ग्लुकोजको कमी हुनबाट पनि बचाउँछ। बिगौती दूधमा रोगसँग लड्ने सक्ने प्रतिरक्षा क्षमता धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भनिन्छ।

पूर्ण स्तनपान

शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु नै पूर्ण स्तनपान हो। शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्त्वसमेत आमाको दूधमा नै प्राप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना खुवाउनु आवश्यक हुँदैन।

६ महिनासम्म स्तनपान गराउँदा शिशुको शारीरिक र मानिस वृद्धि र विकासका लागि सहयोग पुग्दछ। पूर्ण स्तनपान गराएका बच्चाको दिमागी क्षमता अन्य बच्चाभन्दा राम्रो हुन्छ। सङ्क्रामक रोगबाट बच्ने र आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा हुने भएकोले स्तनपान अमृत समान मानिन्छ।

दीर्घकालीन रूपमा बच्चाको मृत्युदर घटाउन समेत स्तनपान को भूमिका रहेको छ। शिशु ६ महिना पुग्न साथ आमाको दूधका साथसाथै थप आहार खुवाउनु पर्दछ। कम्तीमा दुई वर्षसम्म थप आहारका साथ स्तनपानलाई पनि निरन्तरता दिनु पर्दछ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ९ : ४७ बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको