धनगढी– सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् ।
मन्त्री पालले शुक्रबार प्रदेश सरकार अन्तरगत रहेको पथरैया मोहना सिँचाइ व्यवस्थापन कार्यालय कैलाली र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् ।
सोही अवसरमा निर्माण अवस्था बारे निरीक्षण समेत गरेका छन् । दुवै कार्यालयका भवन शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले गत आर्थिक वर्षको वार्षिक योजना अनुसार ठेक्का प्रक्रिया मार्फत निर्माण गरेको थियो ।
शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख डम्बर धितालले एउटा कार्यालयको एक करोड ९२ लाख ६० हजार बराबरको लागत स्टमेट रहेकोमा ठेक्का प्रक्रिया मार्फत एक वर्षमै निर्माण सम्पन्न गरिएको बताए ।
उनकाअनुसार पथरैया मोहना सिँचाइ व्यवस्थापन कार्यालयको भवन निर्माणका लागि एक करोड १२ लाख १४ हजारमा ठेक्का सम्झौता भएको थियो ।
१६ वैशाख २०८१ म सम्झौता भएको उक्त भवन निर्माण व्यवसायीले सम्पन्न गरेर गत वैशाखमा कार्यालयलाई हस्तान्तरण गरेको थियो ।
यस्तै, भूमिगत जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालयको भवन पनि एक करोड १२ लाखमै सम्झौता गरिएको थियो । उक्त भवन पनि निर्माण व्यवसायीले निर्धारित समयमै सम्पन्न गरेको हस्तान्तरण गरेका थिए ।
भवनको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले दुवै कार्यालय भवन जीर्ण अवस्थामा रहेकाले आवश्यकता महसुस गरेर प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए ।
उनले कार्यालय व्यवस्थित नभएसम्म प्रभावकारी रूपमा कार्य सम्पादन गर्न समेत असहज हुने भएकाले अब भने भूमिगत जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालय र पथरैया मोहना सिँचाइ व्यवस्थापन कार्यालयलाई सहजता मिल्ने बताए । निर्माणको कामलाई गुणस्तरीय बनाउनु पर्नेमा उनले जोड दिए ।
सहज र प्रभावकारी सेवा प्रवाहका लागि कार्यालय व्यवस्थापन प्रमुख कुरा भएको उनको भनाई थियो । कतिपय निर्माण व्यवसायीले ठेक्का लिने तर समयमै काम नगर्ने प्रवृत्तिकाबीच कम बजेटमा समयमै राम्रो काम गरेर भवन हस्तान्तरण गरेको निर्माण व्यवसायीलाई समेत धन्यवाद दिएका छन् ।
भूमिगत जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालयको भवन उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा मन्त्रीसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया