काठमाडौं – पर्सामा भदौ ५ गते पुष्टि भएको हैजाको प्रकोप बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकामा मात्रै हालसम्म हैजाको संक्रमण पुष्टि भएका बिरामीको संख्या एक सय ६९ पुगेको छ ।
जसमध्ये १ सय २० जना निको भएर घर फर्किएका छन् भने ४९ जनाको पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै पोखरिया नगरपालिकामा १६ जनामा हैजाको संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ । योसंगै जम्मा संक्रमितको संख्या एक सय पुगेको छ । नयाँ केश दैनिक रुपमा बढिरहेका छन् । शनिबार बेलुकादेखि आइतबार बिहान १० बजेसम्म मात्रै ३१ जना नयाँ बिरामी थपिएका स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
सरकारले नियन्त्रण प्रयास भइरहेको दाबी गरिरहेको छ । शनिबार मात्रै गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ्य अवस्था र स्वास्थ्य उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन् ।

गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए । महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री लेखकले केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको बताए।
यसअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेल र कांग्रेस महामन्त्री गगन थापा बिरामीको अवस्था बुझ्न पर्सा पुगेका थिए ।
एक सातादेखि विद्यालय बन्द
हैजा समुदायस्तरमै फैलिएको भन्दै पर्सा लगायत आसपासका जिल्लामा त्रास फैलिएको छ । हैजाका धेरै संक्रमित रहेको वीरगञ्ज महानगरपालिकामा एक सातादेखि शिक्षण संस्था बन्द रहेका छन् ।
जोखिममा रहेका बालबालिकालाई संक्रमण हुनबाट जोगाउनका लागि विज्ञको सल्लाहमा आगामी मंगलबारसम्म शिक्षण संस्था बन्द गरिएको महानगर स्वास्थ्य शाखाका अधिकृत राजुप्रसाद साहले बताए ।
उनका अनुसार यो अवधिमा विद्यालयमा सरसफाइ गरिनेछ । समुदायमै गएर हैजा तथा झाडापखालाको प्रकोपबाट बच्नका लागि जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

कारण अझै पत्ता लागेन
साउन २८ गते वीरगञ्ज महानगरपालिका–१२ को तराई अस्पतालमा हैजा र झाडापखालाका बिरामी देखिएका थिए । भदौ ५ गते हैजाको संक्रमण पुष्टि भएको थियो ।
झाडापखालाकै कारण तीन जनाको मृत्यु भइसकेको छ । बिरामी भएर अस्पताल पुग्नेको संख्या ८२१ पुगेको छ । जसमध्ये ६ सय २२ जना निको भएर घर फर्किएका छन् भने १ सय ९९ जनाको उपचार भइरेहेको छ ।
हैजा पुष्टि भएर समुदायस्तरमा फैलिएको १० दिन बितिसक्दा पनि यसको करण पत्ता लागिसकेको छैन ।
हैजा पुष्टि भएर समुदायस्तरमा फैलिएको १० दिन बितिसक्दा पनि यसको करण पत्ता लागिसकेको छैन । यो पानीजन्य रोग भएकाले उक्त वडाबाट पानी सङ्कलन गरेर परीक्षणका लागि मधेश प्रदेश परीक्षण प्रयोगशालामा पठाएपछि रिपोर्ट नेगेटिभ आएको थियो ।
नियन्त्रणमा आउन समय लाग्छ
बिरामीको संख्या बढे पनि धेरैको अवस्था सामान्य रहेकाले हैजा तथा झाडापखालको प्रकोप नियन्त्रण हुने अधिकृत साह बताउँछन् । केन्द्र सरकारदेखि स्थानीय तह तथा विभिन्न सरोकाला निकायले समन्वय गरिरहेका छन् । समुदायमा विगतको भन्दा जनचेतना पनि फैलिएको छ।
भदौ महिनाभरी जोखिम रहेकाले व्यक्तिगत सरसफाइमा ध्यान दिन एकदमै आवश्यक रहेको साहको भनाइ छ । विशेष गरी सरसफाइमा ध्यान दिन, पानी उमालेर मात्रै पिउन, काँचो तरकारी नखान र बासी सडेगलेका खानेकुरा नखान उनले सुझाव दिएका छन् ।
छिमेकी जिल्ला तथा स्थानीय तहमा त्रास
पर्साको छिमेकी जिल्ला बाराको कलैयामा पनि एक जनामा हैजा पुष्टि भएपछि अन्य छिमेकी जिल्ला तथा स्थानीय तहमा त्रास फैलिएको छ।
संक्रमण फैलिएको क्षेत्रका मानिसले अन्यत्रको यात्रा गर्दा विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्यविद् बताउँछन् । तर स्वास्थ्य कार्यालय पर्साले भने अहिले नै कोरोना कालको जस्तो लकडाउन नै लगाउनुपर्ने अवस्था नहरको बताएको छ ।
संक्रमण फैलिएको क्षेत्रका मानिसले अन्यत्रको यात्रा गर्दा विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्यविद् बताउँछन् । तर स्वास्थ्य कार्यालय पर्साले भने अहिले नै कोरोना कालको जस्तो लकडाउन नै लगाउनुपर्ने अवस्था नहरको बताएको छ ।
कार्यालयका प्रवक्ता ठकुरीले भने, विज्ञसँगको सल्लाह अनुसार हामी अगाडि बढिरहेका छौं । व्यक्तिगत सरसफाइ तथा खानपानमा ध्यान दिनु नै यसको नियन्त्रणको उपाय भएकाले जनचेतना फैलाउने र कारण पत्ता लगाउने काम भइरहेको छ ।
प्रतिक्रिया