थियान्चिन- साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा एउटा दृश्यले धेरैको ध्यान खिचेको छ ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी द्विपक्षीय बैठकका लागि एउटै कारमा यात्रा गरेको दृश्यले धेरैको ध्यान खिचेको ।
यस क्षणलाई भारत–रूसबीच मजबुत हुँदै गएको मित्रता र आपसी विश्वासको प्रतीकका रुपमा व्याख्या गरिएको छ । दुवै नेता मुस्कुराउँदै एकै कारमा यात्रा गरेको विषयलाई अमेरिकाप्रति जवाफका रुपमा व्याख्या गरिएको छ ।
बैठकअघि उनीहरूको एकै कारको यात्राले विश्व कूटनीतिक वृत्तमा चर्चा पाएको छ । यसलाई भारत–रूसको गहिरिँदो सम्बन्ध र भविष्यको साझेदारीको संकेतका रूपमा लिइएको छ।
अमेरिकाले भारतमाथि २५ प्रतिशत ट्यारिफ र २५ प्रतिशत पेनाल्टीसहित ५० प्रतिशतको चर्को कर लगाएको अवस्थामा देखिएको यो दृश्य डोनाल्ड ट्रम्पलाई पनि बिझाउने देखिएको छ ।
रसियालाई युद्धका लागि साथ दिन भारतले अर्बौँ डलरको तेल किनिरहेको आरोप अमेरिकाले लगाउँदै आएको छ । भारतले तेल किन्न बन्द नगरेसम्म अझै ट्यारिफ थप्ने चेतावनी अमेरिकाले दिइरहेको छ ।
तर यता भातरले भने आफूलाई जहाँबाट सहज हुन्छ, त्यहाँबाट तेल किन्ने सार्वभौम अधिकार रहेको तर्कसहित आफ्नो अडान राखिरहेको छ । अमेरिकी दबाबबीच भारतले रसियाबाट तेल किन्ने प्रक्रियालाई निरन्तरता दिइरहेको छ ।
एससीओ शिखर सम्मेलन बाहिर हुने यस द्विपक्षीय वार्तामा ऊर्जा सहयोग, रक्षा सम्झौता, व्यापारिक सम्बन्ध र अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल हुने अपेक्षा छ।
यसअघि पनि मोदी–पुटिनको भेटघाटलाई साँचो मित्रताको उदाहरणका रूपमा लिइँदै आएको थियो। अब थियान्चिनमा उनीहरू एउटै कारमा आएको तस्बिर भाइरल भइरहेको छ ।
यसैबीच, चीनमा जारी एससीओ सम्मेलनको दोस्रो दिन भारतलाई ठूलो सफलता मिलेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। घोषणापत्रमा पहलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरिएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
चीन भ्रमणको अन्तिम दिन प्रधानमन्त्री मोदीले एससीओको अन्तिम बैठकलाई सम्बोधन गरे। उनले आतंकवादलाई विश्वका लागि ठूलो खतरा भएको बताए।
मोदीले पहलगाम आक्रमणको प्रसङ्ग उठाउँदै यसलाई आतंकवादको सबैभन्दा खराब रूप भने। उनले भने, ‘भारतले चार दशकदेखि आतंकवाद सहेर आएको छ।’
प्रधानमन्त्री मोदीले प्रश्न गरे– ‘केही देशहरूलाई आतंकवादलाई खुला समर्थन दिन कसरी स्वीकार गरिएको छ ?’
एससीओ सम्मेलनको प्रमुख आकर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बने । पुटिन, मोदी र चिनफिङ लामो समय कुराकानीमा व्यस्त देखिए।

अलास्कामा ट्रम्प र पुटिनले चढेका थिए एउटै कार
यसअघि अमेरिकाको अलास्कामा १५ अगस्टमा भएको शिखर वार्ताका क्रममा रूसका राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटै कार चढेका थिए । प्रतिष्ठित र कडा सुरक्षासहितको अमेरिकी राष्ट्रपति लिमोजिन (द बिस्ट) मा त्यसबेला यी दुई नेता सवार हुँदा विश्वभर प्रतीकात्मक कूटनीतिक क्षण बनेको थियो।
युक्रेन युद्ध रोक्नका लागि भएको उक्त वार्तामा उनीहरू दुवै नेता भेटघाटको लागि जाँदै गर्दा लिमोजिनमा सँगै यात्रामा देखिएका थिए ।
यो शैलीको सहयात्रा विश्व कूटनीतिमा धेरै दुर्लभ मानिन्छ। त्यसबेला त्यो दृश्यले विश्वास र कूटनीतिक सद्भावको संकेत गरेको थियो ।
अमेरिकी राष्ट्राध्यक्षले पुटिनलाई आफ्नो सुरक्षित र प्रतीकात्मक कारमा सवार गराउँदा अब युद्ध रोकिने अनुमान थियो । तर त्यसको ठीक विपरीत अहिले रुसले युक्रेनमाथि झन् ठूलो हमला गरिरहेको छ ।
प्रतिक्रिया